Tuesday, March 12, 2019

सडक नाटक: एक अभिव्यक्ति (सृजना उत्सवको अनुभव)

नारायण काफ्ले


२३ डिसेम्बर २०१८ मा सम्पन्न ‘सृजना उत्सव’ले सामाजिक सरोकारका मुख्य एजेन्डाहरू र कार्ल मार्क्सका सिद्धान्तद्वारा यसका समाधानको सम्भावनामाथि विशेष चर्चा-परिचर्चा गर्ने उद्देश्यले राखिएको थियो। खटिखाने वर्गहरू पुँजीवादले सृजना गरेको जाँतोमा पिस्सीरहेका छन्, र समाजमा यस्तो मानसिकता भएको छ कि मानौँ खटिखाने मानिसहरू मानिस नै होइनन्, उनीहरूको आफ्नो इच्छा, आशा-अभिलाषाहरू केही छैनन्। आर्थिक असक्षमताको कारणले आज खटिखाने वर्गका थुप्रै कलिला बाल-बच्चाले अशिक्षाको अन्धकारमा बसिरहनु परेको छ औ देशको भविष्य निरन्तर अन्धकारमय बन्दै गइरहेको छ। शिक्षाको लागि आज हाम्रो देश १४५ औँ स्थानमा छ जब कि अर्थव्यवस्थामा १० औँ स्थानमा छ। यसर्थ देशका मुट्ठीभर जनता मात्र शिक्षित भएर देशको भविष्य कसरी उज्यालो हुन सक्छ र? यस्तो जटिल विषय जसको चेतना सबैमा छ तर कसरी यसलाई उठान गर्ने भन्ने कुरामा कसैको ध्यान नपरेको हुँदा यसलाई सडक नाटकद्वारा प्रस्तुत गर्ने र समाजका शिक्षित, अशिक्षित सबै वर्गलाई यसबारे सचेत गराउने जिम्मेवारी “प्रगतिशील युवा”-ले आफ्नो दायित्व ठान्यो र यसको अवसर हामीलाई “कृष्णमाया मेमोरियल नेपाली उच्च माध्यमिक विद्यालय”-ले प्रदान गऱ्यो जसलाई हामी धन्यवाद नभनी सक्दैनौँ। 

सडक नाटक एउटा माध्यम
समाजलाई चेतनशील बनाउने, जहाँ पनि प्रस्तुत गर्ने सकिने अनि हरेक व्यक्तिले नजिकबाट हेर्न र बुझ्न सक्ने एउटा माध्यम हो सडक नाटक। जब समाजमा विसङ्गति बढ्छ र यस्तो अवस्थामा समाजलाई धकेलेर पुऱ्याउँछ जहाँबाट समाज अन्धो गति तर्फ बढ्छ यस बेला समाजलाई सडक नाटकको मध्यमद्वारा जुन चेतना दिन सकिन्छ सायदै त्यो अन्य विधाबाट हुन सक्ला। 

प्रगतिशील युवा र सडक नाटक
प्रगतिशील युवाले सडक नाटक ‘सृजना उत्सव’बाटै सुरु गरेको हो। यो हाम्रो पहिलो र सफल प्रयास रहेको छ। सबै जना साथीले आफ्ना उत्कृष्ट प्रयास दिएका छन्। साथीहरू महिमा, सरस्वती, प्रज्ञा, आकाश, सृजन, रेवन्त, मोहिन, र म आफै यस नाटकमा भाग लिएका थियौँ, यस पश्चात् पनि बग्रागोटमा ३० दिसम्बरमा सम्पन्न भएको अगमसिंह गिरी स्मृति कार्यक्रममा पनि निम्तो पाएर हामीले उक्त नाटक प्रस्तुत गर्ने मौका पायौँ।

सडक नाटकका अनुभवहरू
विशेषतः नाटक भन्न साथ आज मनोरञ्जनको विषय भन्ने सोच बस्दै आएको छ। यसैले टिभी-मा धरवाहेक हेर्ने प्रवृत्ति छ, तर वास्तवमा नाटकका विभिन्न कलाकारहरूको अनुभव सुन्ने हो भने उनीहरू क्यामेरा अगाडी भन्दा मान्छे अगाडी आफ्नो प्रस्तुति दिन रुचाउँछन्। यसैमा उनीहरूलाई मनोरञ्जन महसुस हुन्छ तर चलचित्र वा धरवाहेकमा भने यसको ठिक विपरीत कुरो हुन्छ। सडक नाटक गर्दा मान्छेसँगको प्रत्यक्ष देखादेख हुन्छ जसले कलाकारहरूलाई बढी उत्साह र ऊर्जा प्रदान गर्छ। सबै नाटकहरू हास्यास्पद र मनोरन्जनात्मक मात्र नभएर गम्भीर पनि हुने गर्छन् जसको उद्देश्य समाजमा परिवर्तन ल्याउनु हुन्छ, सामाजिक विसङ्गतिमाथि कडा प्रहार गर्नु हुन्छ। 
सडक नाटक गर्दा विभिन्न प्रकारका दर्शकहरू अगाडी पर्नुपर्छ र विभिन्न प्रकारका स्थान औँ अवस्थाहरूको सामना गर्नुपर्छ जसले कलाकारहरूको अनुभव बढ्छ, अभिनयमा परिपक्वता आउँछ साथै आत्मविश्वास पनि बढ्छ। 
त्यसै त समाज सुधारका निम्ति विभिन्न विधामा काम गरिन्छ औँ विशेष गरेर प्रगतिशील साहित्यले यसमा टेवा पुऱ्याइरहेको हुन्छ र राजनैतिक भूमिका पालन गरिरहेको हुन्छ, तर सडक नाटकबाट भने सहजै सबै वर्गका मानिसहरूलाई दिन चाहेको सन्देश दिन सकिन्छ औँ यसको प्रभाव समाजमा प्रत्यक्ष देख्न पनि पाइन्छ। यसर्थ, सडक नाटक मूल रूपमा प्रभावकारी रहेको पाइन्छ।

प्रस्तुत नाटकमाथि छोटो समीक्षा 
नाटक “शिक्षा र व्यापार”- तयार गर्नुको उद्देश्य समाजमा वर्तमान समयमा रहेको शिक्षा व्यवस्थाको अवस्थामाथि उजागर गर्नु हो। भेदभाव र आर्थिक सङ्कटले शिक्षाबाट थुप्रै-थुप्रै युवाहरू वञ्चित छन्। उनीहरूका दबिएको अधिकारको आवाज बन्ने सानो प्रयास हो नाटक “शिक्षा र व्यापार”। शिक्षा सामूहिक अधिकार हो भन्ने गरिन्छ तर अहिले शिक्षालाई लिएर जुन प्रकारको व्यापार चलिरहेको छ यसले मानिसलाई शिक्षित बनाउने होइन तर केवल स्तरको अन्तर बढाउने कोसिस गरिरहेको छ। जबसम्म हाम्रो समाज, राज्य र राष्ट्र यो कुचक्रबाट बाहिर निक्लन सक्दैन तबसम्म आदर्श राष्ट्र बन्न सक्दैन। आदर्श राष्ट्रको सपना तब सम्भव छ जब हामी र हाम्रो सोच एकजुट हुनेछ।

प्रयोग
वर्तमान शिक्षा व्यवस्थामा केवल परीक्षा पास हुनका निम्ति पढ्ने प्रवृत्ति आइरहेको छ, ज्ञानभन्दा सर्टिफिकेटको ज्यादा महत्त्व देखिन्छ। विद्यार्थीहरू सटिक ठाउँमा बोल्न डराउँछन्। आधुनिक समयमा सञ्चार माध्यम र इन्टरनेटले युवाहरूलाई जतिको फाइदा गरेको छ त्यसभन्दा कयौँ गुना नोक्सान गरेको छ। आज मान्छेको जीवन भोगाइमा होइन मोबाइलमा टिकेको छ, यो एक प्रकारको विनाश नै त हो। 
विद्यार्थी वर्गलाई यस दलदलबाट बाहिर निकाल्नु प्रत्येक विद्यालयले आफ्नो वियार्थीहरूलाई यस्तो सडक नाटक गर्ने प्रोत्साहन दिनु पर्छ जसले युवा वर्गले वास्तविक जीवनको नजिक रहने सिख पाउँछन् र यस अनुभवले सकारात्मक परिवर्तन ल्याउन सक्छ।

No comments:

Post a Comment