Tuesday, March 12, 2019

विज्ञानको भद्दा मजाक, 'सिउडो-साइन्स'को आगमन

विज्ञान प्रधान

हालैमा भएको 106 औँ इन्डियन साइन्स काँग्रेसमा धेरै ठुला-ठुला वैज्ञानिक, नोबेल पुरस्कार प्रापक लगायत 60 वटा देशका प्रतिनिधिहरू उपस्थित थिए। हर साल हुने यस काँग्रेसको यस सालको थिम ‘Future India: Science and Technology’ थियो। तर केही वर्ष यता इन्डियन साइन्स काँग्रेस हाँसोको पात्र हुँदै आइरहेको छ। यस वर्ष भारत रत्नले सम्मानित प्रोफेसर सी.एन.आर राव-ले आफूलाई इन्डियन साइन्स काँग्रेसबाट विछिन्न गरेका छन्। विज्ञानलाई लिएर युक्तिहीन कुराहरू खुला रूपमा गर्दै आएको इन्डियन साइन्स काँग्रेस विज्ञानको लागि लजास्पदक कुरा बनिसकेको छ। विगत केही वर्षदेखि विवादकपूर्ण कुरा इन्डियन साइन्स काँग्रेसमा निस्कने गर्छ, जसलाई आम मानिसहरू हाँसो बनाउँछन्। तर कुरा गम्भीर छ। विश्वभरि विज्ञान अनि ज्ञानका निम्ति परिचित भारत आज विज्ञान लिएर लै हाँसोको पात्र बनिरहेको छ।
2018 मा पनि केही त्यस्ता विवादक कुराहरू इन्डियन साइन्स काँग्रेसबाट आएको थियो। आन्ध्र विश्वविद्यालयको भाइस-च्यान्सेलर प्रोफेसर जी. नागेश्वर, जो इनर्गानिक केमिस्ट्रीका प्रोफेसर हुन्। तिनले भने कि महाभारतका कौरवहरू जो एक हजार सालअघि जन्मिएका थिए। वास्तवमा ती कौरवहरू स्टेम सेल रिसर्च अनि टेस्ट ट्युब फर्टीलाइजेसनद्वारा जन्मेका थिए अनि भारतको इतिहासमा विज्ञानको प्रगति यी सबलै यस्तो उम्दा थियो। अझ थप तिनले भने कि रामायणमा रावण सँग 24 प्रकारका हवाईजहाजहरू थिए अनि एयरपोर्ट पनि थियो। अर्को एक जना डक्टरेट के.जी. कृष्णन भन्छन् न्युटन अनि आइन्स्टाइनका फिजिक्स सम्बन्धित ज्ञान सब झुटो हुन् जसले मानिसहरूलाई गलत दिशामा लाँदै छ। उनको विचारमा उनको आफ्नो ग्राभिटेशनल थ्योरी सही हो, जसले ग्राभिटेशनल वेभबारे सही ज्ञान दिनेछ अनि उनले यो अपिल पनि गरे कि त्यस ग्राभिटेशनल वेभको नाम 'नरेन्द्र मोदी वेभ' राख्नु पर्छ साथै ग्राभिटेशनल लेन्सिंगलाई हर्षवर्धन इफेक्ट (साइन्स एन्ड टेक्नोलोजी मन्त्रीको नाममा) राख्नु पर्छ भने। यो भन्दा केही दिनअघि उच्चशिक्षा मन्त्री सत्यपाल सिंहले भने “डार्विनको थियोरी गलत हो किनभने हाम्रा पुर्खाहरूको कुनै दस्ताबेजमा पनि बाँदरबाट मानिस भएको कुरा उल्लेख छैन, त्यसैले स्कुलहरू अनि कलेजहरूमा डार्विनको थ्योरी हाल्नु हुँदैन”। 2014 मा प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम्ले भने “प्लास्टिक सर्जरी, क्लोनिङ, इन-भिट्रो फर्टीलाइजेसन्— सब प्राचीन भारतमा गर्ने गरिन् थियो”। 
यस्ता अर्थहीन, युक्तिहीन कुराहरू पढे-लिखेका मानिसहरूले त खिल्लीमा उडाए तर आम मानिसहरूमा भने यसको छाप गहिरो हुँदै जान्दै छ। व्हाट्सएप अनि फेसबुक जस्ता माध्यमहरूबाट यस्ता खबर प्रचलित हुन्छ जसले यस्ता खबरहरूलाई मान्य बनाउँछ अनि स्वाभाविक हो भनेर मनाइन्छ। यस्ता प्रथाले आउने पिँडीलाई ठुलो हानि हुनेछ। यति मात्र नभएर इन्डियन साइन्स काँग्रेस जस्ता संस्थाहरू, या वैज्ञानिक प्रथाहरू केवल भद्दा मजाक भएर जाने छ, जो देश अनि देशको आम मानिसहरूको लागि चिन्ताको विषय हो।
आज देशभरिका वैज्ञानिक समुदायहरू यस्ता बकवास बयानहरूलाई विरोध गर्दै सडकमा उत्रेका छन्। देशका वैज्ञानिकहरू, शिक्षकगण, विद्यार्थीवर्ग आदिको यस्ता कुप्रथा प्रति आवाज उठाउनु अति नै जरुरी भएको छ। वैज्ञानिक रिचर्ड फाइनम्यान भन्छन्— “विज्ञान आफैलाई मूर्ख हुनुबाट बचाउने एउटा बाटो हो”। आज विज्ञानलाई मूर्ख हुनुबाट बचाउने बेला आएको छ।

No comments:

Post a Comment