Monday, March 11, 2019

असमानताको रिपोर्ट : पुरुष र नारी

अम्बिका राई

अन्तर्राष्ट्रिय संस्था OXFAM-ले वर्ल्ड इकोनोमीक फोरमको वार्षिक सभामा अक्सफम इनइक्युलेटी रिपोर्ट सार्वजनिक गरेको छ। यस रिपोर्टमा महिलाहरू बढ्दो आर्थिक असमानताको सिकार भइरहेको तथ्यको उल्लेख गरेको छ। भारत पनि यसै शृङ्खलामा परेको रिपोर्टले जनाएको छ।
अक्सफमको रिपोर्ट अनुसार, सहरी महिलाहरू दिनमा 312 मिनट बिना पैसा अर्थात् सित्तैमा काम गर्दछन्, जसमा घरेलु कामहरू पर्दछ (खाना बनाउनु, नानी अनि वृद्धहरूका हेरचार गर्नु, कपडा-बर्तन धुनु आदि)। अर्कोतिर, सहरी पुरुषहरूले चाहिँ यस्ता कामका लागि दिनमा 29 मिनट मात्र समय खर्च गर्छ भन्ने तथ्य रिपोर्टमा उल्लेख छ। रिपोर्ट अनुसार, ग्रामीण क्षेत्रका (Rural) महिलाहरूले दिनमा 291 मिनट अनि पुरुषहरूले केवल 32 मिनट यस प्रकारका काम (बिना पैसा)-का काम गर्छन्। भारतमा यदि यो काम बिना पैसा नगर्नु हो भने, घरेलु कामबाट मात्र करिब 3.1% देशको जीडीपी GDP आउने छ। संसारभरिका महिलाहरूले वर्षभरिमा 710 लाख करोड रुपियाँ बराबरको घरेलु काम गर्छन्, जुन काम गरे बापत उनीहरूले केही पनि पाउँदैनन्। 
उक्त रिपोर्ट अनुसार, घरेलु काममा महिलाहरूका धेर समय खर्चिने हुनाले उनीहरू घर बाहिरका आय आर्जन हुने कामहरू गर्न पाउँदैनन्। अथवा महिलाहरू घरेलु कामदेखि फुर्सद निकालेर मात्र अन्य आय आर्जनका काम गर्न बाध्य हुन्छन् वा भनौँ गरिबीको कारण महिलाहरू जुनसुकै काम गर्न बाध्य छन्। यो रिपोर्टले प्रस्ट पारेको छ कि 'आर्थिक असमानतापूर्ण यो विश्वमा महिलाहरू झनै धेर शोषित बनिरहेका छन्।' 
जब जब महिला सशक्तीकरणको प्रसङ्ग आउँछ, तब चाहिँ महिलाहरूले एकजुट भएर अनि साहसपूर्वक पितृसत्तालाई चुनौती दिनुपर्ने जस्ता भनाइहरू सुन्न पाउँछौँ। तर पितृसत्तलाई चुनौती दिनु ती भनाइहरू जस्तै सहज काम भने होइन। अक्सफमको रिपोर्ट अनुसार, यस संस्थाले भारतको विहार, झारखण्ड, छत्तीसगढ, उत्तर प्रदेश जस्ता राज्यहरूमा सर्वे गरेको थियो। यी राज्यहरूको लगभग 1 हजारवटा घरको सर्वे गरेको थियो। जुन सर्वेबाट निम्न तथ्यहरू प्राप्त भएको छ—
54% परिवारले यदि कोही पनि महिलाले परिवारलाई नजनाई बाहिर निस्के उनीहरूलाई परिवारकाले शारीरिक प्रताड्ना दिन्छ। (कुट-पिट गर्छ।)
33% महिलाहरू आफ्ना बाल- बच्चाको हेरचाह राम्रोसँग नगरे शारीरिक प्रताड्नाको सिकार हुनुपर्दछ। 
परिवारका रोगी सदस्यहरूको ठिकसँग स्यार-सुसार नगरे 36% महिलाहरू घरेलु हिंसाको सिकार बन्दछन्। 
परिवारका निम्ति खाना नबनाए 41% महिलाहरूमाथि कुट-पिट हुन्छ।
पानी र दाउराको व्यवस्थापन नगरे 42% महिलाहरूमाथि परिवारबाट हातपाई हुन्छ।
 महिलाहरूमाथि पारिवारिक हैकमवाद अनि सामाजिक कुदृष्टीले गर्दा ज्यानको खतरा अझ बढी रहन्छ। यस्ता शोषित महिलाहरूले सामाजिक जडता अनि घरेलु कामको बोझबाट मुक्त हुन कुनै प्रकारका सहयोग पाइरहेका छैनन्। वर्ष 2012 को एउटा रिपोर्ट अनुसार भारतमा हरेक 1 हजार बिरामीहरूका निम्ति केवल 0.7 मात्र डाक्टर छन्, त्यस कारण रोगीको स्यार-सुसार गर्ने दायित्व महिलाहरूको काँधमा छ। निम्न आयको देशहरूमा महिलाहरूले स्वास्थ्य क्षेत्रमा दिएको श्रमको नपाएका मूल्य ती देशहरूका जीडीपीको ३% जति हो।
अर्कोतर्फ, सरकारी सुविधाहरूबाट पनि महिलाहरू वञ्चित बनिरहेका छन्। कुनै शैक्षिक संस्थानहरूमा सरकारी सुविधाहरू पाइन्छ भने महिला अनि पुरुषबिचको भेदभावको कारण त्यहाँ पुरुषहरूकै सङ्ख्या धेर हुन्छ। र समाज विकासको गतिमा महिलाहरू चाहिँ पछाडिँदै जान्छन्। सार्वजनिक भएको तथ्याङ्कहरू अनुसार, भारतको निजी शैक्षिक संस्थानहरूमा महिला अनि पुरुषबिच व्यापक भेदभाव छ, जहाँ महिलाहरू भन्दा पुरुष विद्यार्थीहरूको सङ्ख्या धेर हुन्छ। 
भारतमा महिलाहरूका निम्ति ज्याला श्रम (Paid work) को अवसर पर्याप्त छैन। सन् 1999-2000 सम्म दैनिक मजदुरीमा 34.1% महिलाहरूको सहभागिता थियो भने अहिले यो आँकडा घटेर 27% पुगेको छ। अन्य रिपोर्ट अनुसार, महिला मजदुरहरूको सहभागिता घटेर 10% पुगेको छ। जति पनि महिलाहरू मजदुरी गरिरहेका छन् उनीहरूको ज्याला एवं वेतन पुरुषहरू सम्मान छैनन्। वर्ष 2011-2012 मा जेन्डर-पे-ग्याप (Gender Pay Gap) 34% थियो। यसको अर्थ हो, महिलाहरूले पुरुषहरू भन्दा 34% कम ज्याला एवं वेतन पाउँछन् तर महिला-पुरुष दुवैले गर्ने काममा भने कुनै फरक हुन्न। 
उक्त रिपोर्ट अनुसार, “जब सरकारले शिक्षा, चिकित्सा आदिका निम्ति मजदुरहरूबाट राशि कटौती गर्छ, तब महिलाहरू यस कटौतीको नराम्रासँग सिकार बन्न पुग्छन्।” 
रिपोर्ट अनुसार - 20% सम्पन्न (Top 20%) परिवारका महिलाहरूले 9 वर्षसम्म पढाई गर्ने अवसर पाउँछन् (On an average), अर्कोतर्फ 20% विपन्न (bottom 20%) परिवारका महिलाहरू चाहिँ स्कुल जानसमेत पाउँदैनन्। यस्ता वर्गका महिलाहरूलाई शिक्षा आर्जन ठुलो चुनौती हुने गर्छ। परिवारको आर्थिक अवस्था राम्रो नभए विद्यालयबाट पनि उनीहरू लखेटिन्छन्। यस बाहेक पनि प्रति वर्ष 23 मिलियन छात्राहरू विद्यालयमा शौचालयको व्यवस्थापन नभएको कारण स्कुल जाँदैनन्। 
महिला अनि पुरुषबिच गरिने सामाजिक भेदभाव गम्भीर चिन्ताको विषय हो। सामाजिक शोषणमा परेका महिलाहरूको ठुलो सङ्ख्या यस्ता लैङ्गिक भेदभावको नराम्रासँग सिकार भइरहेका छन्। 
अक्सफम रिपोर्टले एउटा गम्भीर तथ्याङ्क उजागर गरेको छ। रिपोर्टमा उल्लेख छ – एक जना दलित महिला उच्चवर्णका महिला भन्दा 15 साल कम बाँच्दछन्। 
अक्सफम (OXFAM)-ले विश्वकै स्त्री-पुरुष असमानता तालिका (Index) अनुसार 2018-मा भारतको खराब स्तर (108 रैङ्क)-को उल्लेख गर्दै भनेको छ कि, 2006 को तुलनामा खराब स्तरको सूचीमा भारतको केवल 10 स्थान कम आएको छ। यो सूचीमा भारत चिन अनि बङ्गलादेशभन्दा पनि पछि परेको छ।



No comments:

Post a Comment