चुनाव अर्थात् ‘ड्रिम मिसिन’
चाहे जुनै स्तरको चुनाव होस्, यो केवल जनतामा नयाँ नयाँ सपना थोपार्न मात्र आउँछ। नवीन सपनाहरूका भारी बोकेर आउने चुनावले फर्केपछि झनै धेर समस्याहरू छोडिराख्छन्। 2014 मा जनतालाई ‘अच्छे दिन’को स्वर्णिम सपना देखाइयो। यो अच्छे दिनको सपना यतिसम्म पीडादायक भयो कि सम्झेर अहिले पनि मानिसहरू रगतको आँसु रुन्छन्। उसै त सपनाहरू नराम्रा थिएनन्। 10 करोड युवाहरूलाई नोकरी दिने, गरिबको ब्याङ्क खातामा 15 लाख, 23 रुपियाँ लिटर पेट्रोल, 4 सय रुपियाँमा ग्यास सिलिन्डर, किसानहरूलाई लोन माफ, मजदुरहरूलाई उचित ज्याला, स्वास्थ्य र शिक्षामा सुधार। चुनावअघि देखाइएको यी सपनाहरू सम्झँदा अहिले ‘पुरानै दिन ठिक थियो कि’ जस्तो लाग्छ। मोदीले वाचा गरेको अच्छे दिन त केवल ‘अच्छे अच्छे’हरूका निम्ति मात्र रह्यो। नोटबन्दीको घोषणा गरेर किसान-मजदुरलगायत खटिखाने जनताले रगत-पसिना बगाएर कमाएको पैसा जम्मै ब्याङ्कमा राख्न लगाइयो। अनि ब्याङ्कमा पैसा जम्मा भएपछि मोदीको अच्छे व्यक्तिहरू (उद्योगपतिहरू)-लाई लोन दिइयो। तिनै उद्योगपतिहरू चैँ देशलाई करोडौँ रुपियाँको ऋण लगाएर देशै छाडेर भागे। देशका अर्थशास्त्रीहरूले अहिले गणित निकाल्दै छन्। मोदी सरकारको कार्यकालमा देशको ऋण 49% बढ्यो। अब यो ऋण चुकाउने भार पनि देशकै किसान-मजदुर र आमजनतामाथि आइपरेको छ। किन कि देशप्रेमको मायाजालमा त जनसाधारण नै त फस्दो रहेछ। यता, नोटबन्दी गर्नसाथ लघु उद्योग ठप्प भयो। जसको कारण एक महिनाभित्रै 10 लाख नोकरी समाप्त। अच्छे दिनले 10 करोड नौकरी दिने वाचा गरेको थियो। तर उल्टै नौकरी पो लुट्यो। अनि त प्रधानमन्त्रीले घोषणा गरे – ‘पकौडा बेच्नु, त्यो पनि नौकरी नै हो’। नहुने कुरा हुँदा साह्रै गजब हुँदो रहेछ। नौकरी पाउने आशामा बसेका शिक्षित युवाहरूलाई यो अच्छे दिनले साह्रै सुर्तामा पाऱ्यो। पेट्रोलको दाम 83 रुपियाँ प्रति लिटरसम्म पुग्यो। जसको कारण आवश्यकीय सामाग्रीहरूको मूल्य वृद्धि भयो। दैनिक साग-भात-दाल पाक्ने जनताको चुह्लामा आर्थिक सङ्कट देखा पऱ्यो। अब अच्छे दिनले देखाएको गुलियो सपनाहरूको आयु पनि 5 वर्ष पुग्दै छ। यी सपनाहरू यतिसम्म गुलियो थियो कि जनताले अहिले तितो अनुभव गर्न थालेका छन्। उखानै छ नि ‘चिनी धेर खाए तितो हुन्छ’।
यता गोर्खाहरूलाई त झनै ठुलो सपना देखाएको थियो। ‘गोर्खाको सपना मेरो सपना’— सिलगढीको जनसभामा गुञ्जिएको यो नाराले अझै पनि गोर्खाहरूलाई लट्याइ रहेको छ। यसो भनौँ मोदीले देखाएको यो सपनाले गोर्खाहरू चिर निन्द्रामै परे। र अझसम्म बिउँझेका छैनन्। उता अच्छे दिनले देखाएको सपनाहरूको परिभाषा बुझ्नेहरूले ‘चौकीदार ही चोर है’ जस्ता नारा लगाउँदै छन्। यता, प्रधानमन्त्रीको नाराले लट्टिएका गोर्खाहरू चैँ मोदीको सपनामै कुम्भकर्णे निन्द्रामा सुतिरहेका छन्। तर बर्खामा पैह्रोजाने कच्चा बाटो र चुनावमा देखाउने स्वर्गीय सपना दुवैको कुनै ग्यारेन्टी हुन्न। नभए अहिलेसम्म देखाइएको प्रत्येक चुनावी सपनाहरूको स्मरण गर्नुहोस् त। ती जम्मै सपनाहरू पुरा हुने भए आज देशको अनुहार नै ढकमक्क फुल्ने थियो।
अस्तिसम्म यो हिमाली पाखाहरू बन्जर थियो। अनिकालले कमिलाहरू आत्महत्या गरिरहेका थिए। जात-जातमा बाँडिएका जङ्गली सुनाखरीहरू सिर निहुराएर झुकिरहेका थिए। तर अहिले चुनावको मौसमसँगै फुल्न थाल्यो रङ्गीबिरङ्गी सपनाका फुलहरू। ‘संविधानको डस्टबिनमा पुग्यो नि त्यो त’ भन्थेँ। फेरि त जबरजस्ती रोप्दो रहेछ जनताको आँखामा ‘छौटौ अनुसूची’को सपना। यो पालि हुन्छ भनेको वर्षौँ भइसक्यो। फेरि पनि हुन्छ कै सपना लिएर आउँदै छ ‘जनजाति मुद्दा’। बरु जङ्गलमा उन्यौ हजारचोटी फुल्लान् तर गरिबको आँखामा चुनावले रोपेको सपनाको फुल पटक्कै फुल्दैन। उसै त सपना देखाउनु र सपना देख्नु खराब होइनन्। तर सपना देखाएर जनताको आकाङ्क्षालाई लुट्नु चैँ संसारको महान् खराब मध्ये एक हो। 2014 मा मोदीले त्यसै गरे। जीटीए ग्रहण गरेर बिमल गुरुङले त्यसै गरे। जीटीए-2 मा बसेर विनय-अनितहरूले त्यसै गरे। मुख्यमन्त्री ममता ब्यानरजीले त हदै गरेकी छन्। यिनीहरू जम्मै सपना देखाएर जनताको आकाङ्क्षा लुट्ने वर्गमा पर्छन्। रहल दलहरू चैँ यस चोटि जनताको आँखामा कुन सपना रोप्नु पर्ने हो भन्नेमा सोच मग्न छन्। त्यसैले त भन्न कर लाग्छ चुनाव एउटा ‘ड्रिम मिसिन’ मात्र हो। जसले जनताको आँखालाई झन् धमिलो बनाइराखेर जनमुद्दाहरूको चिहान खन्छ।
यस चोटि यसो गरौँ। उनीहरूले जबरजस्ती ल्याएको सपनाहरू फर्काइ दियौँ। मुख्यन्त्रीले गोर्खाहरूका निम्ति ‘स्थायी समाधान’ भन्दै छिन। उनलाई भनौँ— ‘चाहिन्न तिम्रा सपना। बरु हामीलाई हाम्रो गणतान्त्रिक मूल्य रक्षा गर्नदेऊँ, राज्यभित्रका जन आन्दोलनहरूमा गोली चलाउन छोड। चिया श्रमिकहरूलाई न्यूनतम ज्याला देऊ, बनवासीलाई बन अधिकार कानुन देऊ’। मोदी आउँला र भनेर जाला ‘अब पाँच वर्ष देऊ’। उनलाई पनि भनौँ — ‘भो चाहिन्न तिम्रा अच्छे दिन। हामीलाई पसिनाको कमाइमा बाँच्न देऊ। तिमी अम्बानीहरूलाई भोट माग्न जाऊ’। यस चोटि राहुल गान्धीको बैसाखी टेकेर थुप्रै भूमिपुत्रहरू आकाशबाट झर्नेछन् र चोक-गल्लीतिर देखा पर्नेछन्। किन कि भूमिपुत्रहरू पनि सपना बेच्ने आउनेछन्। मजदुर-किसानको नारा लगाएर तिनीहरूलाई चकनाचूर पार्नेहरूले 86 को घाउहरूलाई जनताले बिर्सेका छन् सोचेर भित्तैभरि टाल्ने छन् सर्वहारा सपनाका मेनिफेस्टोहरू। बस् जनताले दह्रोसँग मुठ्ठी उचाल्नु छ, बलियोसँग एकताको साङ्गलोमा बाँधिनु छ। ध्यान राख्नु होस् है— चुनाव अर्थात् ‘ड्रिम मिसिन’ हो।
No comments:
Post a Comment