Monday, March 11, 2019

#मार्क्स२०० : सृजना उत्सवबारे प्रतिक्रियाहरू

दिलीप प्रसाद, टिस्टा बजार
टिस्टा जस्तो ग्रामीण क्षेत्रमा कार्ल मार्क्स जस्ता विश्व स्तरीय दार्शनिक, चिन्तकको 200औँ जन्म वर्ष कार्यक्रममा देशका विभिन्न राज्यहरूबाट विद्वान, युवा, किसान, सर्जक स्रष्टाहरूको उपस्थितिमा लाली गुराँस समूहद्वारा सुसम्पन्न हुन अतिसराहनीय कदम ठानेको छु। यस कदमले टिस्टासँगसँगै यसका संलग्न क्षेत्रका जनसाधारणमा समाजका शोषित, वञ्चित, किसानवर्गका विषय अनि साहित्यिक सृजनात्मक आदि क्षेत्रमा छुट्टै अनि विशिष्ट चेतनाको सञ्चार गर्न सफल बनेको छ। 

विनु राई, बाग्राकोट
महान् दार्शनिक तथा विश्वका समाजवादी चिन्तक कार्ल मार्क्सको 200औँ जन्म वर्ष लाली गुराँसको आयोजना अनि फुलबारी साहित्य समिति टिस्टा बजारको सहआयोजनामा "सृजना उत्सव" को रूपमा भव्यताका साथ 23 डिसेम्बर आइतबारको दिन त्रिवेणीमा पालन गरिएको थियो। जतिको जमघट हुनुपर्ने थियो त्यत्ति देखिएन त्यस दिनको उत्सवमा। तर महान् दार्शनिक कार्ल मार्क्सको 200औँ जन्म वर्ष आयोजना गर्ने आँट चाहिँ देखियो लाली गुराँसको, त्यसलाई सलाम छ मेरो। अहिलेको समाज भनेको अव्यवस्थित समाज हो जसलाई पुँजीवादी हैकमवादले दबाउँदै लगेको समय हो। यस्तोमा कार्ल मार्क्सको जन्म वर्ष पालन गर्नु भनेको ठुलो चुनौती अनि जोखिमपूर्ण कार्य पनि हो भन्नमा दुइमत नहोला। कम्युनिस्ट अथवा रातो झन्डा देख्ने वितिक्कै जोती बसु, अशोक भट्टाचार्य र बुद्धदेवलाई (कोलत्तालाई) मात्र बुझ्ने दार्जीलिङ्गले कार्ल मार्क्सको 200औँ जन्मवर्षलाई पचाउन सक्छ के भन्ने मनमा प्रश्न उठिरहेको थियो। कार्ल मार्क्स भनेको कसैको निजी पेवा होइन भन्ने उदाहरण बनेको छ लाली गुराँस। जे होस् कार्ल मार्क्सको 200औँ जन्म वर्ष पालन गरेर सराहानीय कार्य गरेको छ। कार्ल मार्क्सको जन्म वर्ष पालनले प्रगतिशील विचारधारालाई मजबुत पारेर रूढीवादी व्यवस्थालाई जरैबाट उखेलेर फ्याँक्न ठुलो ऊर्जा प्रदान गरेको छ, त्यस दिनको समारोहले। त्यस दिनको कार्यक्रममा साहित्य परिक्रमा परिवार, बाग्रकोटलाई दिएको निम्तो स्वीकार गर्दै परिवारको तर्फबाट आफू सहभागी हुन पाएकोमा खुबै हर्षित छु। अन्तमा आयोजक समितिलाई मुरी मुरी धन्यवाद दिँदै आउँदो दिनहरूमा अझ यसलाई व्यवस्थित अनि वृहत् रूपमा पालन गर्न विशेष अनुरोध गर्छु।

रिमल, पेशोक
गत वर्ष 23 दिसम्बरको दिन टिस्टा त्रिवेणीको प्राङ्गणमा प्रख्यात दार्शनिक कार्ल मार्क्सको जन्म वार्षिकी एवं सृजना उत्सव सम्पन्न भयो। लाली गुराँसको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सरिक हुने अवसर भाइ छेवाङ्ले दिए बापत उपस्थित बनेँ। कलेजभेल्ली,पेशोक अनि संलग्न क्षेत्रका मानिसहरूको उपस्थितिमा सरिक बन्ने मौका पाउँदा गर्व बोध भयो। 
चियाबारी विषयमा गरिएको ओजपुर्ण सम्भाषणहरू, चीत्कार र क्रान्तिले भरिएका कविता, गीतहरूले मानौँ हामी कार्ल माक्सको जीवन कालमा छु। अपेक्षा गरिए भन्दा थोरै उपस्थितिमा यतिका भावहरू, अभिव्यक्तिहरू प्रत्येक वक्ताहरूले व्यक्त गरेका थिए भने चियाबारी क्षेत्रका पलायन हुन् बाँध्या जिन्दगीहरूको उत्थान साथै युवा पीढीहरूको वर्तमान भाव भङ्गीलाई यथार्थको नौकामा सवार गराउन उकेराको खाँचो अनुभव गरे। चियाबारी सङ्ग्राम समितिले ती अघोषित रूपमा बन्द चिया बगानहरूको लागि गरेका कार्यहरूको (जति मलाई जानकारी छ) सराहना गर्दछु। 
सुझाव: यदि उक्त सृजना उत्सव माघे सङ्क्रान्तिको अवसर पारेर आयोजना गरिएको भए माघे स्नान,त्रिवेणी दर्शनमा आउने सबैले ओजपुर्ण कुरोहरूको ज्ञान, सूचनासँगै कार्ल मार्क्सको जीवनी र उनले गरेका योगदानको जानकारी पाउने थिएँ।

एनबी घिमिरे, सिक्किम प्रोग्रेसिभ युथ फोरम
विश्वको सत्य भनेको परिवर्तन हो। जो रोकेर रोकिन्न। छेकेर छेकिन्न। मार्क्सको 200 वर्ष बित्यो। तर अहिले पनि सान्दर्भिक छन्। र भोलि पनि रहनेछन्। तर कुन सन्दर्भमा भन्दा, गतिशीलतामा। मार्क्सवादी दर्शन कुनै जमेर बसेको कुवा होइन। यो त वैज्ञानिक दर्शन हो। र गतिशील छ। यसले समाजलाई हेर्ने र अध्ययन गर्ने द्वन्द्वात्मक दृष्टिकोण त दिन्छ नै तर परिवर्तनको बाटो पनि देखाउँछ। मार्क्सले दुई सय वर्षअघि विश्लेषण गरेको पुँजीवादी व्यवस्थाको क्राइसेसहरू आज हाम्रा अघि प्रशस्तै छन्।
तर कम्युनिस्ट हुनु चानचुने कुरा होइन। र यसको नाटक गर्नु पनि हास्यास्पद कुरा हो। र सत्ताले भन्ने गरेको कम्युनिस्ट, चुनावी दलले लेखेको कम्युनिस्ट आदि, ‘कम्युनिस्ट’ शब्द र विचारधाराको बेइज्जती मात्रै हो। यो व्यवस्थाभित्र कम्युनिस्ट हुनु गाह्रो छ। तर हामी आफ्नो जीवन व्यवहारमा यस विचारधारालाई उतार्ने प्रयत्नसम्म त गर्न सक्छौँ। हामी यस वैज्ञानिक दर्शनलाई सामाजिक सङ्घर्षसँग जोड्न त सक्छौँ। हल्लावादी दृष्टिकोणले ‘म मार्क्सवादी हुँ’ भन्दै हिँड्नेहरूदेखि पर सरेर आफ्नै जीवनमा यस दर्शनलाई दाजेर हेर्न त सक्छौँ। कमसेकम हामी एउटा तार्किक मानसिकता त तयार पार्न सक्छौँ।
प्रजातान्त्रिक मूल्य र मान्यताको विकाससम्म राम्रो नभएको यस सामाजिक स्थितिमा हामी कमसेकम आफ्ना हक अधिकारका निम्ति आवाज उठाउनेसम्म त हुन सक्छौँ। मार्क्सले यो ऊर्जा दिन्छन्। हजारौँ वर्षको यो वर्ग विभाजित समाजमा साम्यवादी विचारधाराको विकास हुनु कठिन कुरा त हो तर असम्भव होइन। र यसको निम्ति हामी सङ्घर्षरत रहन त सक्छौँ।
सम्पूर्ण समस्याहरूको समाधान यस व्यवस्थाभित्र छैन। तर नयाँ व्यवस्था बनाउनका निम्ति केही कदम अघि बढ्न त सक्छौँ। चुपचाप बस्नुभन्दा केही गतिशीलता त देखाउनुपर्छ। लाली गुराँसले यहीँ गर्छ। एसपीवाईएफ-ले यहीँ गर्छ।
मार्क्सको विचारलाई चुनावी नारा बनाएर र कम्युनिस्ट नामलाई अघि सारेर जनतालाई झुक्क्याएर सत्ताको कुर्सी चढ्नेहरूदेखि अलिक पर बसेर सर्वहारा वर्गका निम्ति आमूल क्रान्ति कुन बाटोबाट सम्भव छ। विश्लेषण गरौँ।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...