Tuesday, March 12, 2019

नरेन्द्र मोदी : बाघ गर्ज्यो...गर्ज्यो बाघ...मियाउ!

कपिल तामाङ

भारतको इतिहासमा कहिले नभएको चमत्कारी नायकको जन्म भयो 2014 को ठिक चुनाव अघि, जसको नाम थियो नरेन्द्र मोदी। मोदी लहर यसरी आयो, मानौँ कुनै सुखौरो यामपछिको बर्खे झरी झैँ, शान्त पछिको तुफान झैँ, बादलको गर्जन पछिको चट्याङ झैँ! भ्रटाचार अनि भाइभतिजाबादमा डुबिसकेको देशलाई बचाउन एउटा ‘चायवाला’ आयो जसले देशको ‘चौकीदारी’ गर्ने प्रण लिए! नरेन्द्र मोदीले नेतृत्व गरेको पार्टी भारतीय जनता पार्टीले 2014को चुनाव बहुमतले जित्यो। विकास अनि भारत निर्माणको कामलाई प्राथमिकता दिने बाचासँगै नरेन्द्र मोदीले प्रधानमन्त्रीको पद सम्हाले। अहिले 2019 हो, 5 वर्ष पछि फेरि चुनाव हुने साल। 2014 को नायक नरेन्द्र मोदीको चमत्कारिक रूप के आज पनि त्यतिकै छन् त? आउनु होस् छलफल गरौँ। 

2014 नरेन्द्र मोदी को उत्पत्ति
नरेन्द्र मोदीको अकस्मात उत्पत्ति हुनु कुनै संयोग थिएन। 2002 को गोधरा हिंसादेखि कुख्यात भएका मोदी दक्षिणपन्थी राजनीतिको परिचित अनुहार हो। देशको राजनीतिमा दुर्बलता अनि पुँजीवादको गम्भीर सङ्कटको अवस्थामा कट्टरपन्थी राष्ट्रिय स्वयम् सेवक सङ्घ(आरएसएस)-को छत्रछायामा निर्माण गरियो एउटा चमत्कारिक विकल्प- ‘जसले देशलाई उचाइमा लाने छ, एउटा शक्तिमान जो निडर, इमानदार अनि अटल छ! जसले मुख्यमन्त्री हुँदा आफ्नो राज्य गुजरातलाई विश्वको सबै भन्दा राम्रो राज्य बनाए’। 56 इन्चीको छत्ती लिएर उभेको ती परमवीर विकल्प नरेन्द्र मोदी थियो। यहाँ यो भन्न भुलेछु कि — माथि लिखित वाक्यहरू काल्पनिक हुन् जसको वास्तविकतासँग कुनै प्रकारको सम्बन्ध छैन। किन भने वास्तवमा व्हाट्सएप अनि अन्य सोस्यल मिडियामा त्यस बेला पपुलर भएको यी सबै भनाइहरू केवल भनाइ मात्रै रह्यो वास्तविकतामा देखिएन।
2004 अनि 2009 मा निरन्तर बनेको यु.पी.ए सरकारदेखि जनता वाक्कै भइसकेका थिए। दिनदिनै बढ्दै गएको भ्रष्टाचार, गरिबी, बेरोजगारी, हिंसादेखि दिक्क बनेका आमजनता विकल्पको खोजीमा थिए। देशका पुँजीपतिहरू पनि करिस्मेटिक अनि अथोरिटेटिभ पार्टीको खोजीमा थिए। जसले सङ्कटमा परेका पुँजीपतिहरूलाई साथ दिउन् अनि आउने दिनहरूमा जनसुविधाहरूमा कटौती (austerity measures) द्वारा पुँजीको सुरक्षा गरुन्। 2014 को चुनाव त्यसैले धेरै महत्त्वपूर्ण बन्न पुगेको थियो। 
नरेन्द्र मोदीको इमेज 2012-13 देखि नै बनाउने प्रक्रिया सुरु भइसकेको थियो। गुजरात मोडलको खबर सोस्यल मिडियामा पपुलर हुन थाल्यो। मोदीले संसदीय चुनावलाई अमेरिकी राष्ट्रपति चुनावको जस्तो ढाँचामा प्रचार गर्न थाले। मोदीको प्रतिद्वन्दीको रूपमा राहुल गान्धीलाई हेर्न थाले। उसको सोस्यल मिडियामा खुब खिल्ली उड्न थाल्यो। 2014 को चुनाव प्रचारमा केवल जनसभा अनि ठाउँ ठाउँ प्रचार बाहेक सोस्यल मिडिया क्याम्पेनको पनि ठुलो भूमिका रहेको छ, जसलाई बीजेपीले खुब सतर्क भएर उपयोग गरे। फेक न्युज अनि ट्रोलिङको लागि आइटी सेलहरू ठाउँ ठाउँमा बनाइयो। भाजपाले मूल मध्यम वर्गलाई आफ्नो निगरानीमा राख्यो। हिन्दुत्वको हल्का तड्कासँग विकासको रोटी झुटो खबरको घिउमा चोपेर मध्यम वर्गीय जनतालाई खुवाए, हातमा राखे अनि जसको अनुहार बने नरेन्द्र मोदी। 
सपना देखाउनमा माहिर मोदी आम जनताबिच धेरै पपुलर भए। उनको भाषण दिने तरिका अनि ‘आपका सपना मेरा सपना’ भन्ने तरिकाको सामु राहुल गान्धी टिक्न सकेनन्। आर.एस.एस.को साथ, अम्बानी, अदानी जस्ता पुँजीपतिहरूको हात पाएपछि 2014 को चुनाव भाजपाले बहुमतले जित्यो। यस्तो जीत 1984 मा इन्दिरा गान्धीको हत्या पछिको चुनावमा भएको थियो। 

चुनाव पछिको यात्रा
बहुमतले चुनाव जीतेपछि भाजपाले सरकार गठन गऱ्यो अनि कुनै दुइमत बिना नरेन्द्र मोदी बने प्रधानमन्त्री। सत्तामा आउनसाथ भाजपा सरकारले धेरै कुराहरू फेरबदल गऱ्यो, ती मध्ये मूल बदलाव प्ल्यानिङ्ग कमिसनलाई बदलेर नीति आयोगको गठन गर्नु थियो। धेरै मेम्बरहरूलाई निकालेर मिनिमम गभर्नमेन्ट म्याक्सिमम् गभर्नेन्सको नाम दियो। त्यसपछि एकपछि एक स्किमहरू लियो जसमध्ये धेरै जसो पुरानोलाई नाम बदली मात्र गरेको थियो। स्वच्छ भारत अभियान, डिजिटल इन्डिया, मेक इन इन्डिया जस्ता नयाँ स्किम सुरु गरेपछि मोदी आफै चैँ विदेश भ्रमणमा व्यस्त भए। सबके साथ सबका विकास, प्रति वर्ष 2 करोड रोजगारको कुरा गरेर सत्तामा आएको भाजपाले सरकार गठन गरेपछि एउटै मात्र कुरा गर्न थाल्यो— “गाई”। 
भ्रष्टाचारको विरुद्धमा मास्टर स्ट्रोक भन्दै नोट बन्दी 8 नोभेम्बर 2016 मा लागु गऱ्यो। जसले आम जनताबिच हाहाकार ल्यायो। कारण नोटबन्दीको लागि कुनै प्रकारको तयारी थिएन। हजारौँको सङ्ख्यामा आमजनता लाइनमा उभिए तर पनि देशको लागि गरेको भन्ने भ्रम बोकेरै मोदीको भ्रष्टाचारमाथि मास्टर स्ट्रोक भन्दै गुणगान गरियो। धेरैले ज्यानसम्म गुमाए तर सब चुपो लागे। त्यसको क्षतिपूर्ति नभई अर्को ठुलो कदम भाजपा सरकारले जी.एस.टी लागु गरेर गऱ्यो। जीएसटीको पनि कुनै तयारी थिएन। यसले सानो व्यापारीहरूलाई ठुलो धक्का लाग्यो। यस्ता असफल स्किमहरू प्रतिको आक्रोशबाट ध्यान भटकाउन मिडिया अनि सोसियल मिडियाको मदतले हिन्दु-मुस्लिम विवाद, गौ-रक्षा, देशभक्तिको ढोल बजाउन थाल्यो भाजपा सरकार। यसमा ठुलो मदत आर.एस.एस. अनि हिन्दु कट्टरपन्थी संस्थाहरूले गरेको छ। देशले विकासको सट्टा धार्मिक विभाजन अनि कट्टरपन्थी अनि रुढीवादी बाटो चुन्यो। भीड हत्या, दङ्गा, मस्जिद चर्च आदि भत्काउने काम समाजमा आम हुन् थाल्यो। धार्मिक अल्पसङ्ख्यक, दलित आदिहरूमाथि आक्रमण पनि धरै हुन थाल्यो। यी सबबिच विदेश भ्रमणमा व्यस्त मोदी चाहिँ मौन बसिरहे। 

मोदी अहिले कतिको करिस्मेटिक छन् त?
56 इन्ची छाती भएको मोदीले आजसम्म पनि जाबो एउटा खुल्ला प्रेस कन्फरेन्स गर्न मान्दैनन्। सबै कुरामा बोल्ने मोदी सोसियल मिडियाको हिरो, क्यामरा असाद्धै मन पराउने मोदी कुनै हिंसा भए, अल्पसङ्ख्यकमाथि आक्रमण भए, मूर्ती जस्तो मौन बस्छन्। झुटो आश्वासन अनि ठूलाठूला कुरा गर्ने मोदीको जुम्ला राजनीति अब आम जनताले बुझिसकेका छन्। हालैमा भएको विधानसभा चुनावमा तीन राज्य छत्तीसगढ, राजस्थान अनि मध्य प्रदेश— हिन्दु बहुसङ्ख्यक, जुन राज्यहरू भाजपाको पहिले देखिको हातमा रहेको राज्यहरू हुन्— त्यहाँ भाजपाले हारको सामना गर्नु पऱ्यो। एक समय थियो नरेन्द्र मोदीले प्रचार गर्न गएको कुनै पनि क्षेत्रमा भाजपा हारेको थिएन— मणिपुरदेखि आसाम, जम्मु-कश्मिरदेखि गोवा— सबैमा भाजपाले सरकार गठन गरेको हो। तर अहिले भने मोदी-म्याजिक खतम भए झैँ आफ्नो भरपर्दो राज्यहरू, जहाँ मोदीले सक्दो प्रचार गरेका थिए, त्यहाँ हारको सामना गर्नु पऱ्यो। जसले गर्दा अन्य पार्टीहरू जोसेका छन्। पुँजीपति-कर्पोरेटहरूको एक अंशले पनि बीजेपी-आरएसएसको साथ छोडेर अर्कोपट्टि ढल्केकोले गर्दा राहुल गान्धीले मोदीलाई टक्कर दिन आफ्नो तरिकाले नयाँ इमेज बनाउन थालेका छन्। साथै अन्य पार्टीहरूसँग मिलेर भाजपालाई टक्कर दिने प्रण लिएका छन्। हालैमा प्रियङ्का गान्धी पनि उत्तर प्रदेश काँग्रेसको भार सम्हाल्न राजनीतिमा प्रवेश गरेकी छिन्। अर्कोतिर थर्ड फ्रन्टको हल्ला पनि चल्दै छ। नरेन्द्र मोदी पहिले जस्तो चमत्कारिक नभए पनि अझै पनि पपुलर नै छन्। आउने दिनहरूमा कस्तो इमेज रहने छ त्यो त समयले नै बताउँछ। आरएसएस-ले पनि त्यसको हिसाब गर्दैछ। लोकप्रियताको गणितमा तिनीहरूले मोदीको स्थिति खराब देखे भने फेरि अर्को कुनै अनुहारलाई अगाडी सार्छ तिनीहरू। बाजपेयी, अडवाणी, मोदीको यस्ता फेरबदल हामीले देखेकै हो। जे होस्, यस पालिको चुनाव भने युद्ध भूमि भन्दा कम नहोला भन्ने आशङ्का चैँ धेरै छ।

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...