Thursday, April 12, 2018

पुर्वोत्तरको मुर्ति तोड्नुको जवाफ पश्चिम किनारको पैदलयात्रामा

प्रकाश विश्व

पूर्वोत्तरको सानो राज्य त्रिपुरा लिएर हिजअस्ति ठुलो हलचल भयो। धेरै वर्षदेखि त्यहाँ सत्तामा बसेको सीपीएम सरकारको पतन भयो, र बीजेपी सत्तारुढ भएको छ। हुनु त संसदीय राजनीतिको खेलमैदानमा यस्ता कुराहरू भइबस्छ। झुटो आश्वासन र घोडा किनबेच अनि पैसा-रक्सीको खेल त उहिलेदेखि नै थियो। हालैमा इभिएमको गढ़बढीको प्रकरणहरू पनि सुन्नमा आउँदैछ। उसोभए संसदीय चुनावको फलबाट जम्मै स्थितिलाई बुझ्ने कोसिस नगर्दा हुन्छ। तरपनि त्रिपुराको चुनाव लिएर कतिवटा कुरा भन्नु पर्नेछ जस्तो लाग्यो।
नब्बेको दशकदेखि सीपीएम त्रिपुराको सत्तामा बसिरहेको थियो। तिनीहरूको मुख्यमन्त्री मानिक सरकार देशको सबभन्दा गरीब मुख्यमन्त्री हो भनेर हल्ला देशभरि नै थियो, र उनको सरल जीवनचर्याको उल्लेख पनि बेलाबेला हामीसम्म आइपुग्थ्यो। त्यसको सच्चाई हामीलाई थाहा छैन। हुनुपनि सक्छ, तर हाम्रो यता पनि त हामी सीपीएमलाई देखेकै छौँ! सत्तारुढ मुख्यमन्त्रीको आफ्नो जीवनको इमेज जेसुकै होस्, ‘वामपन्थ’को नाम लिएर ‘वामपन्थ’सँग गद्दारी गर्नुमा सीपीएमको कुनै तुलना छैन! हाम्रो राज्यमा भूतपूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्य त नब्बेको दशकमा, आफ्नै पार्टी सत्तासीन भएको बेलामा राज्यको मन्त्रीमण्डललाई ‘चोरहरूका मन्त्रीमण्डल’ भन्दै आफ्नो मन्त्रीको पदबाट राजीनामा दिएको थियो। पछि फेरि त्यही बुद्धदेव भट्टाचार्य मुख्यमन्त्री भएर सिंगुर-नन्दीग्राम काण्डमा सीपीएम पार्टीको पुँजीपति-तुष्टीकरणको स्वरूप देखाई हालेको थियो। ठेकेदार-कन्ट्राक्टर-गुन्डा र मालिकहरूको दलाल युनियन लिडरको पार्टीको हिसाबले वास्तव जमीनमा सीपीएमको भूमिका हामी पटक्कै बिर्सेका छैनौ। यहाँनिर राष्ट्रियताको आत्मनिर्णयको अधिकार भन्ने कुरोलाई कसरी सीपीएमले कुल्चियो, त्यसको उल्लेख फेरि नगर्दा हुन्छ। यसको दुखद इतिहास अहिले पनि यताका गाउँ-बस्ती-बजार-गल्लीहरूले बोकिराखेको छ। त्रिपुरामा बङ्गाली बाहेक पनि आदिवासी-जनजातिको मानिसहरू ठुलो सङ्ख्यामा छन्। लाखौँ सङ्ख्यामा शरणार्थीहरू पनि छन्। त्यस्तो आवादीहरू कसरी आज सीपीएमको विपरीतमा गयो, त्यसको लागि हामीलाई त्रिपुरासम्म जानु पर्दैन। यताको पहाड-तराई-डुवर्समा अथवा जङ्गलमहलमा अल्पसङ्ख्यक राष्ट्रियताको मानिसहरू प्रति तिनीहरूको आचरण र यस राज्यको कुनाकुनामा गरीब खटिखाने मानिसहरूलाई आवास-बजार-जीवन-जीविकादेखि विस्थापित गर्ने क्रमबाट गरीब खटिखाने मानिस-अल्पसङ्ख्यक राष्ट्रियताहरूप्रति तिनीहरूको मनोभावको प्रमाण हामीले पाएकै छौँ। त्रिपुरामा त्यसकै एक्सन रिप्ले बाहेक अरू के हुनु सक्छ र? टाढा बसेर अरू राज्यकोहरूले मानिक सरकारको सरल जीवन वा ज्योति बासुको ज्ञान र शिक्षा लिएर प्रशंसामा मस्त हुन्सक्छ, तर आ-आफ्नो राज्यमा बस्ने भुक्तभोगीहरू त आफ्नो दिनहुँ जीवनको अनुभवबाट नै निष्कर्षमा पुगिन्छ। त्यहाँनिर कसरी पो चल्छ त सच्चाईलाई ढाकछोप?
अब प्रश्न के हो भने जनतामाथि थिचोमिचोले गर्दा सरकारमाथि भरोसा घट्दाघट्दै बनिएको शून्यतामा को आउँदैछ त? त्रिपुरामा बीजेपीले त्यो शून्यस्थान लियो। देशभरि नै बीजेपी सरकार आएदेखि एकपछिएक आक्रामक नीतिले गर्दा जनता हैरान छ। आमजनताको दिनहुँ जीवनको आधारभूत विषयहरूमा भयानक नीतिहरू लादेर र कहिल्यै नदेखेको घृणाको अर्थहीन राजनीतिमा जनतालाई अस्तव्यस्त पारेर बीजेपीले अब पूर्वोत्तर राज्यहरूतिर ध्यान दिएको छ। जन्म त्रिपुरामा भए तापनि कलिलो उमेरदेखि दिल्लीमा बिताएको जिम-इन्स्ट्राक्टर विप्लव देव र महाराष्ट्रको मान्छे भए पनि टिचर राखेर बङ्गला सिक्ने बीजेपी नेता सुनील देवधरहरूले आरएसएस-को निर्देशनमा त्रिपुरा पुगेर नयाँ उभार तैयार गर्न कोसिसमा लाग्यो। उच्चवर्ण हिन्दु ब्राह्मणवादी विचार बोक्ने आरएसएस नयाँ कौशलहरू अपनायो— आदिवासी वेशभुषामा भारतमाताको नक्सा बनाएर फैलाउन थाल्यो! यसले भारतमाता या आदिवासीहरू— कसलाई पनि फायदा नपुगोस्, बीजेपीको भोटब्याङ्कलाई निकै फायदा पुग्यो! भारतभरि फेल हुने तिनीहरूको विकास मोडेलको ढाक पिट्दै त्रिपुरामा बीजेपीले चुनाव जितियो अनि नयाँ सरकार बनायो। बनायोस्, केही छैन। केही मान्छेलाई धेर दिनसम्म, र धेर मान्छेलाई केही दिनसम्म मूर्ख बनाएर राख्नु सम्भव छ, तर धेर मानिसलाई धेरै दिनसम्म मूर्ख बनाई राख्नु सम्भव छैन!
अहिलेसम्म जनताको गुनासोलाई पुँजी गरेर अगाडी बढ्ने बीजेपीले जित्नु बितिक्कै अर्को अनुहार देखाउनु थाल्यो। राज्यभरि आक्रमण हुनु थाल्यो गरिब मानिसहरूमाथि। घरहरू तोड्नु, आगलागी, मर्डरको सिलसिला शुरु भयो। यस्तै उथलपुथल बीच एउटा घटना निकै हलचल मचायो। बिलोनिया भन्ने ठाउँमा बुल्डोजर ल्याएर बीजेपी कार्यकर्ताहरूले एउटा लेनिनको मूर्ती भत्काई दियो। सुन्नुमा आउँदैछ, त्यो बुल्डोजरको मालिक एक जना ठेकेदार हो, अघिल्लो दिनसम्म जो सीपीएमको समर्थक थियो र बीजेपी जित्नु बित्तिकै बीजेपीलाई समर्थन गर्दै बुल्डोजर सप्लाई गरेको छ। खटिखाने जनताको हतियार वामपन्थलाई सीपीएमले मूर्तीमा सीमित गरेको थियो, बीजेपीले त्यसलाई तोडी दियो! आशा गरिन्छ, को थियो लेनिन भन्ने चर्चा अझ पाठकको लागि गर्नु पर्दैन। विश्वमा सबभन्दा चाखलाग्दो जनक्रान्तिको सिर्जना गर्ने रुशदेशको लेनिन केवल त्यो देशकै हो भन्ने कुरा भन्नु गलत नै हुन्छ। उन्मुक्तिको सपना बोक्ने संसारको करोडौं मानिसहरूका मुटुमा लेनिनको जग्गा छ। फेरि भन्नु पर्छ, लेनिनको विचार र उनको जीवन र कामको शिक्षालाई आत्मसात् गर्नको सट्टामा सीपीएमले उनलाई औपचारिक प्रतीक मात्रै बनाएको थियो। त्यो औपचारिक देखावटी चाहिँ मुर्तीसित तोडियो!
तर समाज-सभ्यताको दुश्मन बीजेपी-आरएसएसले त्यतिमा कहाँ रोक्नेवाला छ त? लेनिन विदेशी हो, हाम्रो देशमा उनको मूर्तीको कुनै औचित्य छैन भन्ने लजिक बीजेपी-आरएसएसकोहरूले फैलाउँदा-फैलाउँदै तिनीहरूको साथीभाइहरूले तमिलनाडुमा रामस्वामी पेरियारको मूर्ती, उत्तरप्रदेशमा बीआर अम्बेडकरको मूर्ती, मध्यप्रदेशमा सुभाषचन्द्र बोसको मूर्ती, केरलामा महात्मा गान्धीको मूर्ती भत्काईसकेको देखियो। पक्का देशी छाप बोक्ने यी महान् मानिसहरूलाई ‘भारतमाताको नयाँ सन्तानहरू’ले पटक्कै छोडेन! भनेपछि अब गान्धीको हत्याराको उत्तराधिकारीहरूले अब दक्षिण भारतमा आर्य वर्चस्व र ब्राह्मणवाद विरोधी आन्दोलनको जनक पेरियारलाई, जातिवादविरोधी सङ्घर्षको प्रतीक अम्बेडकरलाई, आजाद हिन्दको आवाज उठाउने सुभाषचन्द्र बोसहरूको अस्तित्व टिक्न नदिने रहेछ। यस्तै भारत मनपराउछन् मोदी’भक्त’हरूले! कर्पोरेटको बोलवाला, प्रतिवादको मुखमा ताला!
मूर्ती तोड्ने छालको तरङ्ग फिका हुँदाहुँदै महाराष्ट्रमा अर्कै प्रकरण देखा पर्न थाल्यो। नासिकबाट शुरु भएको किसान पैदलयात्रामा दिनदिनै भोको, रित्तो, खालीखुट्टा किसानहरूको भिड बढ्नु थाल्यो। त्यो जुलुसमा मानिसको सङ्ख्या 50 हजारसम्म पुगेको थियो हरे। 200 किलोमिटर पैदलयात्रा गरेर ती हजारौँ नरनारी मुम्बई पुगे। दिउसो जुलुस गर्दा बाटोमा ज्याम भएर परीक्षार्थीहरूलाई समस्या हुन्छ भनेर रातीको अँध्यारोमै अधिकार र दायित्वको उज्यालो मशाल बोकेर त्यो जुलुस महाराष्ट्रको बिधानसभा समक्ष पुग्यो। ऋणको बोझले थिचिएका किसानहरूको मुख्य मांग ऋण माफीको निम्ति थियो। त्यससित थियो आदिवासी-किसान भूमि आवन्टनसित सम्बन्धित मामिलाहरूका निप्टारा, किसानहरूलाई फसलको उचित समर्थन मूल्य, जङ्गल र जमिनमाथि मालिकानाको अधिकार आदि मागहरू। सत्तारुढ बीजेपीको मन्त्रीहरूले आशा गरिएझैँ नै यस सङ्घर्षलाई शुरुमा अनदेखा गर्ने, फेरि निन्दा गर्ने, अनि त्यसपछि यसमा नक्सलवादी, माओवादीहरू छन् भनेर आरोप लगाउने कोसिस गरेर हत्तु भएर, अन्तमा त्यो पैदलयात्राबाट गुन्जिएको सबै मांगहरू महाराष्ट्र सरकारले मानीलिने बाध्य भयो।
लामो हिडाईले गर्दा पैतालाको तलतिर आएको पानी फोका लिएर ढुक्कसँग साँस फेरे 'हाम्रा भारतमाता'हरू! अनि चिरनिन्द्रामा लेनिन र पेरियर-अम्बेडकर-सुभाषचन्द्र बोसहरू ढुक्कसँग साइड फेरे! थिचिएका जनताका यस्ता जुलुसहरूमा बाँच्छन तिनीहरू। कुनै मूर्तीभित्र भने होइन!

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...