Thursday, April 12, 2018

नारीदिवस : अतीत र वर्तमान

संगीता खेवा र निकिता लामा

उन्नाइसौ शताब्दीको अन्त र बीसौ शताब्दीको शुरुवातमा जब औद्योगिक क्रान्तिले पश्चिमका देशहरूमा बेसी भन्दा बेसी श्रमिकको माग हुन् थाल्यो त्यसबेला भर्खरै विकसित हुँदै गरेको पुँजीवादी व्यवस्थाले हजारौँ-लाखौँको सङ्ख्यामा महिलाहरूलाई घर भित्रबाट बाहिर ल्याएर फ्याक्ट्री, घरेलु कामदारी वा अन्य कामहरू मार्फत तिनीहरूबाट श्रम लिन थाल्यो।
महिलाहरूको कार्यस्थल वा काम गर्ने वातावरण त्यस्ताक एकदमै ठिक थिएन र सबैभन्दा ज्यादा शोषण यस्तै ठाउँहरूमा हुने गर्थ्यो। विषेशगरी कपडाको फ्याक्ट्रीमा महिला श्रमिकहरूनै बेसी हुने गर्थे। यी श्रमिकहरूले पुरुष श्रमिक भन्दा धेरै कम्ती ज्याला पाउँथे, सुरक्षाको कुनै प्रावधान थिएन, कामको घण्टा धेरै लामो थियो र तिनीहरूले मालिकवर्गद्वारा यौन शोषण पनि खप्नु पर्थ्यो।
सामाजिक श्रममा महिलाहरूको बराबरको भागीदारी भएता पनि तिनीहरूलाई भोट दिने अधिकार भने थिएन। यसरी समाजमा पुरुष भन्दा तल्लो स्तरको भएर बाँच्नु परेको र श्रम चाँही बराबर र कहिले काँही ज्यादा दिनु परेको गुनासोले प्रतिवादको रूप लिँदै गयो, यहीबाट नारीदिवसको बीज रोपण भयो।
8 मार्च 1857 को दिन न्यूयोर्कको कपडा कारखानाका महिला श्रमिकहरूले हड्ताल गर्दै जुलुस निकाले। उनीहरूको माग थियो कार्यशालाको वातावरण राम्रो हुनुपर्छ, कामको अवधि घटाएर 10 घण्टा बनाउनु पर्छ र महिलाहरूले पनि कामको समान ज्याला पाउनु पर्छ। त्यसपछि विरोधको सिलसिला चलेको चलेकै भयो। 8 मार्च 1907 मा न्युयोर्कको सडकमा ओर्लेर त्यहाँको कपडा कारखानामा काम गर्ने महिलाहरूले काम गर्ने वातावरणको दुर्गति र एकदमै न्यूनतम ज्यालाको विरुद्ध आवाज उठाए। 1857 जना महिला श्रमिकहरूले दिलो ज्यान लाएर यो विरोधमा हिस्सा लिए। सरकारले पुलिस लाएर महिलाहरू माथि आक्रमण गर्दै यिनीहरूलाई छाल्ला-बिल्ला त पारिदियो तर यिनीहरू भित्र रहेको विद्रोह र बेहतर समाजको कल्पनालाई मार्न सकेन। यस घटनाको दुई महिना भित्रै यी महिलाहरूले ट्रेड युनियनको गठन गरे।
फेरी एक वर्ष पछि 8 मार्च कै दिन न्यु योर्ककै एउटा सियो बनाउने फ्याक्ट्रीको 15 हजार महिला मजदुरहरूले कामको अवधि घटाउनु, ज्याला बढाउनु, सङ्गठन गर्नु पाउने अधिकार हुनुपर्छ भनेर व्यापक विरोध प्रदर्शन, बन्दहरू गरे। विरोध गर्ने महिला श्रमिकहरूमा धेरै जसो महिलाहरू कपडाको कारखानामा काम गर्नेहरू थिए, यिनीहरूले ज्यादै सङ्कीर्ण ठाउँमा मान्छे खाँदा-खाँद भएको एउटा सानो कमराभित्र धेरै लामो अवधि सम्म काम गर्नुपर्थ्यो, यही श्रमिक महिलाहरूले म्यानहटनको पूर्वी क्षेत्रमा आफ्नो विरोध प्रदर्शन गरेका थिए। यस घटनाको एक वर्ष पश्चात् महिला श्रमिकहरूले 13 हप्ता व्यापी कारखाना बन्द गरे, जुन ‘राइजिङ्ग अफ द 20, 000’ नामले विख्यात छ। यसले अमेरिकामा महिला श्रमिकहरूलाई पहिलो चोटि सङ्गठन खोल्न सिकायो।
अमेरिका सोसलिस्ट पार्टीले 28 फरवरी 1909 लाई प्रथम पल्ट राष्ट्रिय नारी दिवसको रूपमा स्थापित गऱ्यो, र महिलाहरूको निम्ति राजनैतिक अधिकारको माग गर्दै देशको विभिन्न ठाउँमा प्रदर्शन र जुलुसहरू निकाल्यो।
1910 मा समाजवादी महिलाहरूको अन्तराष्ट्रिय काँग्रेसमा सोसलिस्ट डेमोक्रेटिक पार्टी अफ जर्मनीको सक्रिय सदस्य क्लारा जेट्किंगले 8 मार्च श्रमजिवी नारीहरूको सङ्घर्षलाई स्मरण गर्ने उदेदेश्यले प्रत्येक वर्ष उक्त दिनलाई अन्तराष्ट्रिय नारी दिवसको रूपमा मनाउने प्रस्ताव राखे।
1911 को 19 मार्च क्लारा जेटकिनको आह्वानमा सारा युरोपभरि नारीहरु सडकमा उत्रेको थिए, आफ्नो मागहरु लिएर। भोट दिनु पाउने, जनप्रतिनिधिको हिसाबले चुनिने, अनि समान कामको लागि समान बेतनको अधिकार|
1912को लरेन्स टेक्सटाइल स्टाइकको उल्लेख यसपछि गर्ने पर्छ। अमेरिकाको मेसाचुसेट्सको आप्रवासी मजदुरहरू मुख्यतः महिला मजदुरहरूको नेतृत्वमा संगठित भएर आफ्ना मागहरू उठाउदै कविताको पंक्तिलाई स्लोगन बनाए—"हामीलाई रोटि त चाहिन्छ, तर हामीलाई गुलाफ पनि चाहिन्छ”।
6 साल बाद। रसियाको पेत्रोग्राद। 8 मार्च 1917को दिन शहरभरिका नारीहरु आम हड्तालको लागि सडकमा उत्रिए| उनीहरुको माग —रोटि अनि शान्ति। युद्धको अन्त्य होस्| महान रुसी नोभेम्बर क्रान्तिको शुरुवाती दौर यसरी फरवरी क्रान्तिबाट  नारीहरुको गुन्जायमान आवाजबाट शुरु भयो। दह्रिलो स्थापना भयो अन्तर्राष्ट्रिय श्रमजीबी नारी दिवसको।
नोभेम्बरको ‘संसार हल्लाउने दश दिन’पछि मंचमा उभिएका थिए अलेक्जान्द्रा कोलोन्ताइ, एम्मा गोल्डम्यान, रोजा लुक्सेम्बर्ग। नयाँ सोभियत संघले अन्तराष्ट्रिय श्रमजीवी नारी दिवसलाई न्याशनल होलिडे घोषणा गरेको थियो| यसैबीच जम्मै युरोपभरि सङ्घर्षको छालहरू फैलिनु थाल्यो। इंग्ल्यान्डमा नारीहरूका भोटको अधिकार माग्दा शहिद भए एमिली डेभिडसोन नामकी एक नारी। भारतमा स्वतन्त्रता सेनानीहरू माथि ब्रिटिस सरकारले जुन अत्याचारको जुन जुन पद्धतिहरूका उपयोग गर्थ्यो, भोटको अधिकार माग्नेहरू माथि पनि त्यही अत्याचार चल्थ्यो— जेलमा अनशनरत महिलाहरूका घाटी वा नाकबाट जबर्जस्ती नल पसाएर तिनीहरुलाई खुवाउने कोसिस चल्थ्यो। नारीहरुको भोटको अधिकार माग्ने त्यो ऐतिहासिक साफ्राजेट मुभमेन्टको आज शतवर्ष चल्दैछ।
यसैबीच सोभियत युनियनमा कोलोन्ताइको प्रयासमा नयाँ सिभिल कोड लागु भयो। डिभोर्स, एबोर्सनको स्वतन्त्रता, लैंगिकता र मातृत्व बारे यतिखेरसम्म नारीहरुका विभिन्न सङ्घर्षको फलस्वरूप धेरै अधिकारहरू स्वीकृत भयो। एकपछिएक ऐतिहासिक थिसिस रच्नुभयो कोलोन्ताई, जेटकिन, लुक्सेम्बुर्गले। प्रेम-माया-विवाह-यौन-लैंगिकता-परिवार-मातृत्व-सम्पत्ति-उत्तराधिकार— सबै प्रश्नहरूमा नै नारीहरु समक्ष एक नयाँ चेतनाको मार्ग पनि खोलियो |
यसैबीच नोभेम्बर क्रान्ति सक्नु वितिकै आफ्नो प्रेमीलाई भेट्नु 10 दिनको लागि लापत्ता भए आलेक्सन्द्रा कोलोन्ताई। नयाँ सोभियत सरकारको उनी मन्त्री हुन्। दायित्व छोडी राखेर यसरी जानु भएको छ भनेर सोभियतको डेलिगेटहरुले सजायको माग उठायो। लेनिनले सबै सुनेपछि दिल्लगी गरेर भन्नु भयो— यसको सजाय हो, कोलोन्ताई आफ्नो प्रेमीलाई विह गरी हालोस।
1928 मा इंग्ल्यान्डको महिलाहरुले भोटको अधिकार पायो। त्यसपछि बितियो कति दशकको इतिहासहरू। सारा विश्वकै महिलाहरुले सङ्घर्षको मिसालहरू स्थापना गऱ्यो। आफ्नो भोट माग्ने अधिकार, आफ्नो सम्पत्तिको अधिकार, आफ्नो पढ्ने अधिकार र आफ्नो शरीर माथि आफ्नो अधिकारको माग लिएर अघि बढ्दै एक पछि एक सफलता बिस्तारै र लगातार रूपमा प्राप्त हुदै गयो|
1977 मा युनाइटेड नेशन्सले 8 मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसको रूपमा संसारभरि पालन गर्ने प्रस्ताव पास गरे। तर “श्रमजीवि” शब्दलाई सरासर छोडीदिए| अन्तर्राष्ट्रिय श्रमजीवी नारी दिवस केवल नारी दिवसमा रुपान्तरणको प्रवृत्तिको शुरुवात यहाँदेखि नै हो।
उत्तरबङ्गाल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय
श्रमजीवी नारी दिवस उदयापन, 2018
समयको साथसाथै संघर्षको सम्झानाहरु हराउदै गए, अनि अर्को तर्फ नारी दिवस कर्पोरेटहरुको चलखेलले गर्दा तिनीहरुको सामान बेच्ने दिनमा रुपान्तरणको षडयन्त्र चल्नु थाल्यो। महिलाहरुको जुन संघर्षहरूले गर्दा धेरै हक र अधिकार हासिल भएका थिए त्यसलाई लुप्त अनि भ्रष्ट पार्दै गए| आफ्नो सामानहरुको बिक्रीलाई बढाउदै महिला संघर्षको इतिहासलाई लुप्त पार्दै गए| यस दिनको महत्वलाई अर्कै मोड दिन थाले। आजकल त महिला दिवसको संघर्षलाई महत्व होइन तर ‘नारीत्व’को उदयापन गर, ‘आइडियल वुमेन’ भएर अफिसको काम साथसाथै घर पनि चलाउ भन्ने हल्लालाई जोरतोरको महत्व दिन थालेका छ| आफ्नो सामान बिक्रिको लागि ‘नारी’ बन्नलाई आजकल त लोरिअल, चनेल, बुर्बेर्री, भर्सस इत्यादी जस्ता प्रोडक्टहरुको उपयोग नै नापदण्ड बनाउने कोसिस चल्दैछ। के तपाइलाई आइडियल वुमेन बन्न मन छ? त्यसोभए हाम्रो प्रोडक्ट उपयोग गर्नुहोस अनि महिला दिवसको उपलक्ष्यमा यति % डिसकाउन्ट पाउनुहोस, यसो भनी आजकल महिला दिवस मनाइन्छ तर खास संघर्ष बारे कुरानै गरिंदैन। किन? नारी दिवसको सही बिरासतलाई अगाडी आउन नै दिदैन| तर जतिनै संघर्षको इतिहासलाई छेक्न खोजे पनि छेक्न सक्ने छैन तिनीहरु! हरेक दिननै नयाँ हजारौ महिला मुक्तिको कार्यकर्ताहरु सडकमा ओर्लिनै रहने छन् आफ्नो हक र अधिकारको मांग लिएर|
महिला, नारी, आधा आकाश... यिनीहरुलाई इभ्निंग गाउनको घेराबन्दीले कैद गर्ने क्षमता कुनै कर्पोरेटहरूको छैन! लोरियलले धेर कोसिस गरे पनि स्ट्रबेरी फ्लेभरको लिप ग्लोस ओठमा लगाएर यिनीहरुलाई मौन गराउन सकिंदैन।

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...