नेपाली साहित्यका विख्यात हस्ती तथा विशिष्ट प्रतिभा इन्द्रबहादुर राई (इबरा)को 6 मार्च, 2018 को दिन हृदयघातका कारण निधन भयो। उनी कुल 91 वर्ष, 1 महिना 2 दिन बाँचे। तर, उनको साहित्यिक कर्म, सिर्जना र विचार उनको उमेरभन्दा धेरै लामो समयसम्म बाँचिरहनेछ। सर्जकहरू बाँच्ने भनेको आफ्ना सिर्जना र कर्ममा नै हो। त्यसैले इबराको निधनपछि पनि उनका कृति र रचनाहरूमाथि बहस भइनै रहनेछ। उनका लेखनपक्षसँग सहमति र विमतिका प्रक्रियाहरू पनि लगातार चलिरहनेछन्। साहित्यमा यो सामान्य गतिशीलताकै परिचायक र प्रक्रिया हो। यदि यस्तो नहुँदो हो त, आज हामी अढ़ाई हजार वर्षअघिका प्लेटोको बारेमा चर्चा गर्नेथिएनौं; उनका योगदान र कमजोरीहरूबारे खुलेर बहस हुनेथिएन। साहित्य गतिशील अवस्थामा हुँदा नै यस्ता बहसहरू पनि हुन्छन्। यसैले साहित्यमा पथानुगामी मात्र होइन, प्रश्नकर्ताहरू पनि हुन आवश्यक छ।
झण्डै डेढ़ दर्जन प्रभावशाली कृतिहरूका सर्जक इबराको मृत्युपछि सामाजिक सञ्जालका भित्ताहरूमा निकै प्रतिक्रिया देखिए। भारत, नेपाल र विश्वका विभिन्न ठाउँमा रहेका नेपाली साहित्यकारहरूले आ-आफ्ना दृष्टिकोणअनुसार उनको मूल्याङ्कन गरे। केही लेखकहरूले यतिसम्म आशय प्रकट गरे, इन्द्रबहादुर राईबारे यसअघि आलोचनात्मक लेखहरू लेख्ने साहित्यकारहरूलाई राईलाई श्रद्धाञ्जली दिने वा उनका परिवारप्रति समवेदना प्रकट गर्ने हक छैन। एउटा खेमा यस्तो पनि देखियो, इन्द्रबहादुर राईमाथि केही भन्ने र लेख्ने अनि श्रद्धाञ्जली प्रकट गर्ने अधिकार उनीहरूसँग मात्र बाँचेको छ। नेपाल र भारतका पत्र-पत्रिकातिर उनलाई लिएर धेरै लेखहरू लेखिए। खासगरी, यस्ता प्रतिक्रियामा इबराका कृतिहरूप्रति आलोचनात्मक दृष्टि राख्ने साहित्यकारहरू नै तारो पनि भए। केहीको भनाई रह्यो- इन्द्रबहादुर राई लेखनजीवनमा सक्रिय हुँदा नै उनका कृतिहरूमाथि आलोचनात्मक कुराहरू राख्नुपर्थ्यो। वार्धक्यले जवाफ दिन नसक्ने स्थितिमा उनीमाथि अनेकन् आरोप वा आलोचना गरिए, त्यो राम्रो भएन...आदि। एक विद्वान साहित्यकारले ‘कान्तिपुर’मा लेखे- “लीलालेखनले सामाजिक समस्याहरूलाई आँखीओझेल गऱ्यो र लेखन दायित्वविहीन लेखन बन्यो भनेर वामपन्थी साहित्यकारहरू इबरासँग रिसाउनसम्म रिसाए। उनलाई सैद्धान्तिक प्रतिवाद गर्न नचाहेर हो वा नसकेर हो, कतिले त उनको व्यक्तिगत जीवनको समेत धज्जी उड़ाए। उसो त आयामकालदेखि नै वाममार्गीहरू उनीप्रति रुष्ट थिए। स्थानीय समाचारपत्रतिर एकापट्टि इबरा र अर्कापट्टि वामधर्मी मोहन दुखुन र बद्रीनारायण प्रधानमाझ निकै चर्चाचर्की बहस चल्यो। पछि इबराले ‘साहित्यको अपहरण’ नामले पुस्तिकै पनि छापे। यो क्रम उनको अन्तिम कालसम्मै कायम रह्यो। ‘पाण्डुलिपि’ पत्रिकामा पनि उनलाई वामधर्मीहरूले गरेको उछितो पढ्न पाइन्छ।” यी प्रतिनिधि मन्तव्य राखेपछि इन्द्रबहादुर राई, बहस र नेपाली साहित्यको भविष्य र सम्भावनाबारे छोटो चर्चा गरौँ।
निःसन्देह इन्द्रबहादुर राई नेपाली साहित्य र समाजले पाएका एक विशिष्ट प्रतिभा हुन्। तर, उनी ‘ईश्वरप्रदत्त’ होइनन्। सङ्घर्ष, समर्पण र त्यागबाट निर्मित प्रतिभालाई कुनै चामत्कारिक जलप नलगाई उनीहरूकै क्षमता र योग्यतामा बुझ्न नसक्ने हाम्रो समाजमा एउटा रूढ़ प्रवृत्ति छ। विशिष्ट व्यक्तिलाई बुझ्ने सवालमा हामी यो अवैज्ञानिकता लिएरै बाँचिरहेका छौँ। इबराले नेपाली साहित्यमा सामाजिक यथार्थवादी धारा, आयामेली धारा र लीलालेखन जस्ता तीनवटा साहित्यिक धारा तथा आन्दोलनको दर्बिलो नेतृत्व गरेका छन्। त्यसैले नेपाली साहित्य र यसको गतिमयता जीवन्त रहुञ्जेल इबराको साहित्यिक र वैचारिक प्रभाव पनि रहनेछ। त्यस अर्थमा, नयाँ पुस्ताले उनीमाथि बहस, उनका कृतिहरूको पुनर्मूल्याङ्कन (अरूले गरेका मूल्याङ्कनबाट सन्तुष्ट नभएर) अनि प्रश्नको उठान गरे भने के नेपाली साहित्यलाई ठूलो बित्यास पर्छ वा नयाँ पुस्ताले ठूलै अपराध गरेको ठहर हुन्छ? अहिलेको सन्दर्भमा यो सोधनी यसकारण पनि आवश्यक छ कि, एकातिर एउटा बौद्धिक समूह इबरा जस्ता प्रतिभा नेपाली समाजमा भविष्यमा सायदै जन्मनेछन् भन्ने भावनात्मक आवेग पोखिरहेका छन् भने तिनै समूहका साहित्यकारहरू नेपाली साहित्य अब इन्द्रबहादुर राईभन्दा अघि बढ्न सक्दैन कि भनेर चिन्ता पनि जताइरहेका छन्। यो ‘चिन्ता’ले तर प्रश्न र बहसको उठानलाई ‘अति’को रूपमा बुझ्नु चाहिँ थप चिन्ताको विषय भएको छ। जब नेपाली साहित्य अहिलेको ठाउँबाट थप गतिमान अवस्थातर्फ जानुपर्छ, त्यसबेला अघिल्ला साहित्यिक कार्यहरूप्रति सन्देह र प्रश्न राख्नु समय र युगको माग बन्नजान्छ। प्रगतिको नियम भनेकै जस्तै महान् उपलब्धिमा पनि स्थिर भएर नबस्नु हो; अझ अग्रगामी बाटो पहिल्याउनु हो। ज्ञान-विज्ञानका हरेक शाखा-प्रशाखाहरूमा यो नियम लागू हुन्छ। इबराले आफ्ना अघिका साहित्यकारहरूको साहित्य ‘चेप्टो’ भयो, यसले ‘सम्पूर्णता’ उचाल्न सकेन भनेर प्रश्न मात्र उठाएनन् त्यसलाई निषेध गरेर नयाँ धारा ल्याए। उनको लीलालेखनमा शब्दहरूले ‘अर्थ’ दिँदैन। भाषासँग शब्द र प्रतीकको सम्बन्ध विच्छेद् गर्नुको अर्थ यसको सामाजिकतालाई अस्वीकार गर्नु हो। अर्थहरूको सामाजिक प्रतिविम्बनलाई उनले ‘जड़’ र ‘निर्मिति’ बताए अनि ‘भ्रम लेखन’ भने। ‘बित्थामा बित्थाहरू’ लेख्न आह्वान गरे। सत्तर र अस्सीको दशकमा यो चिन्तनले थुप्रै साहित्यकारहरूलाई सकसमा पाऱ्यो। यता आफूले ‘भ्रम’ लेखिरहँदा हीनताबोधको शिकार होइने उता इबराले जस्तो ‘बित्थामा बित्था’ लेख्ने बौद्धिकता आफूसँग नहुने! साहित्यिक अवसादमा जानभन्दा धेरै लेखकहरूले बौद्धिक आत्मसमर्पण गरे, थोरै लेखकहरू ‘उछितो काढ्ने’, ‘वाममार्गी’ र ‘पार्टी साहित्यका पक्षधर’मा दरिए/दराइए। यसैले इबराले आफ्ना अग्रज साहित्यकाहरूमाथि प्रश्न तेर्साएर जुन ‘नयाँ चिन्तन’को निर्माण गरे, इबराका पछिल्ला पुस्ताले त्यो प्रश्न गरेर नेपाली साहित्यमा अग्रगामी बहसको थालनी गर्ने हक राख्छन् कि राख्दैनन्? यो प्रश्न बहसको केन्द्र हुनसक्छ। तर युवा पुस्ता जब यस्ता बहसको गहनतातिर जान्छ, त्यसबेला उसले आफूलाई गम्भीर, संवेदनशील र वैचारिक/सैद्धान्तिक/दार्शनिक तार्किकता (जुन क्षमता इबरामा थियो)को गहिर्यावइसम्म पुर्यारएर आफूलाई तयार पार्नैपर्छ। हचुवाको भरमा इबरामाथि केही शब्द वा आरोप दाग्नेबित्तिकै नेपाली साहित्यले सगरमाथा छुन्छ भन्ने भ्रम कसैले पाल्नुहुँदैन। संसार/समाज/सिद्धान्त/विचार/दर्शन बुझ्ने सवालले स्रष्टालाई गाम्भीर्यतातर्फ डोहोर्यााउँदछ। त्यही गाम्भीर्यताको समर्पित प्रक्रियाबाट समाजले प्रतिभा पाउँछ; प्रतिभाले समाज बनाउँछ।
इबराको सक्रिय साहित्यिक जीवन खासगरी सन् 1960 देखि 2000 सम्म (यही अवधि उनका महत्वपूर्ण कृतिहरू प्रकाशित भएका छन्) भारतीय नेपाली साहित्यमा उनको एकक्षत्र प्रभाव रह्यो। इन्द्रबहादुर राईको प्रभावकारी सामाजिक यथार्थवादी लेखन; अभेद्य (त्यससमय) बौद्धिकता र दुरूहताले भरिएको आयामेली र लीलालेखनबाट तत्कालीन अधिकांश साहित्यकारहरू कायल थिए/आज पनि छन्। उनको लेखनको दुरूहता, क्लिष्टता, बौद्धिकता र दार्शनिकताका गुह्य पक्ष नबुझेरै पनि धेरै साहित्यकार उनका लेखनका अनुगामी बने। सबैले त्यससमय बद्रीनारायण प्रधानले जस्तो भन्नसकेनन्,“असलमा उहाँका लेखनीहरू म निकै कनेर पढ्नुपर्छ। कन्दै पनि पढ़ें।” इन्द्रबहादुर राईको आयामेली लेखनविरुद्ध पहिलोपटक कलम चलाए गुमानसिंह चामलिङले। त्यसबेला इन्द्रबहादुर राई सक्रिय लेखनमा थिए। त्यसपछि आयामेलीको पोस्टमर्टम गर्दै अनेपाली तर नेपाली साहित्यमा दह्रो दखल भएका मणिपुर निवासी प्रो. चन्द्रेश्वर दुबे (मूल निवास मुजफ्फरपुर, बिहार)ले लेखे ‘तेस्रो आयामको शव-परीक्षा’ (1981)। खासगरी, यो कृति तेस्रो आयामका तीन प्रणेतामध्ये एक ईश्वरवल्लभका ‘आगोका फूलहरू हुन्: आगोका फूलहरू होइनन्’ आयामेली कविताहरूको साङ्गोपाङ्गो अध्ययन र चिरफार गर्ने क्रममा लेखिएको बलियो समालोचना हो। दुबेले आयामेली लेखन र लीलालेखनका घोषणाहरू, इन्द्रबहादुर राईका उद्धहरणहरू ठाउँ-ठाउँमा दिएर तेस्रो आयामको तार्किक खण्डनमात्र गरेनन्, यसको सैद्धान्तिक आधारहरू पनि पहिल्याएका छन्। 69 पृष्ठको यो पुस्तिका सानो भए पनि यसले दूरगामी साहित्यिक महत्व, समाचोलनाको नयाँ आयाम र धर्मितालाई समेत संवहन गर्दछ। यस समालोचना पुस्तिकाको गहिरो अध्ययन धेरै कम साहित्यकारहरूले गरेका हुनन्। किनभने यसको खासै चर्चा सुनिँदैन। यस्ता पुस्तकलाई बाहिर-बाहिरै टकटकाउने पाठक (साहित्यकार) साहित्यमा एउटा ‘रूढ़ता’ भत्काउन त सफल होलान्, तर अर्को प्रकारको ‘रूढ़ता’बाट उम्कन सक्दैनन्। त्यसैले हिजोआज ‘चेकलिस्ट’, ‘क्वेश्चन फर डिसकसन एण्ड रिभ्यू’, ‘सजेस्टेड फर्दर रिडिङ्ग्स’ तथा ‘एसक्युआरआरआर’ (सर्वे, क्वेश्चन, रिड, रिकल, रिभ्यू) जस्ता अध्ययनपद्धति आउन थालेका छन्। यस्ता ‘क्रस एक्जामाइन थ्योरी’ले अध्ययनको तीक्ष्णता, नयाँ खोजतर्फको उन्मुखता तथा सम्भावना बढ़ाउँदछ। यो विधिविकास सतही अध्ययनबाट सम्भव छैन।
मार्क्सवादी साहित्यलाई ‘पार्टी साहित्य’मा खुम्च्याउँदै अनि साहित्य र राजनीतिको सम्बन्धलाई ‘लेखकीय स्वतन्त्रताको हनन’को रूपमा व्याख्या (अपव्याख्या) गर्दै इन्द्रबहादुर राईले लेखे,“प्रगतिवादी लेखक उत्तरोत्तर प्रगति भए केही कालमा कामरेड हुन्छ, त्यत्ति हो।” 1983 मा ‘साहित्यको अपहरणः मार्क्सवादिक प्रतिबद्धता’ पुस्तिकाको रूपमा निस्कनअघि उनले यो लेख ‘कलश’ नामक पत्रिकामा धारावाहिक रूपमा छपाए। शुरुमै उनले लेखेका छन्,“भाइहरू कतिले साहित्यमा ‘कमिटमेन्ट’-का कुरा गरिहिँड़ेको खबर सुन्छु। साहित्यिक एक दाज्यूको साइनोले भाइहरूलाई यहाँ ‘कमिटमेन्ट’ सम्बन्धमा मैले बुझेको बताउँछु। नबुझेको सोध्छु।” निकै होच्याहट र व्यङ्ग्यमिश्रित ‘भाइहरू’ वास्तवमा अरू कोही नभएर भीम योञ्जन, नन्द हाङ्खिम, मोहन दुखुन, रत्न बान्तवाहरू हुन्। यो समूहले उसबेला (1980 को शुरुआती वर्षहरूमा) प्रगतिवादी साहित्यिक संस्था तथा पत्रिका ‘विकल्प’ शुरु गरेको थियो। उनीहरूले विभिन्न पत्रिकाका लेख तथा भाषणहरूमा लेखक र लेखनको सामाजिक दायित्व, जनवादी साहित्यको ध्येय तथा लेखनमा पक्षधरताको कुराहरू गरिरहेका थिए। कङ्ग्रेस पार्टीसँग आबद्धता भएका इबराको यो विमति साहित्यिक मात्र होइन, वैचारिक र सैद्धान्तिक पनि थियो। यसैले उनले व्यङ्ग्य, हेय, आलोचना, उद्धरण तथा अनेकौँ आरोपहरूले भरिएका ‘साहित्यको अपहरण’ लेखे। इन्द्रबहादुर राईले ‘भाइहरू’ भनेपछि उनीहरूबाट जवाफ दिइँदा त्यसको मनोवैज्ञानिक प्रभाव कम पर्ने र साहित्यकारहरूको ठूलो समूहले ‘नपत्याउने’ भएपछि ‘विकल्प’ले त्यसको जवाफ दिन बद्रीनारायण प्रधानको विकल्प देखेन। किनभने प्रधान त्यसबेला प्रगतिवादी साहित्यमा स्थापित भइसकेका थिए। उनको अनूदित कृति ‘आमा’ (1976) प्रकाशित भइसकेको थियो। ठूला व्यक्तित्व (उमेरले पनि इबराभन्दा बद्रीनारायण प्रधान 17 दिनले जेठा हुन्)लाई प्रगतिवादीहरूले अघि सारे। प्रगतिशील सामयिक पत्रिका ‘छाल’को तेस्रो अङ्क (अक्टोबर 1981, सम्पा. रत्न बान्तवा)बाट बद्रीनारायण प्रधानले ‘श्री इन्द्रबहादुर राईको कमिटमेन्ट’ शीर्षकमा धारावाहिक लेख लेखे। राईका सबै आरोपहरूको प्रधानले तर्कसङ्गत खण्डन गरेका छन्; राईका साहित्यिक र वैचारिक आधार पनि केलाएका छन्। भारतीय नेपाली प्रगतिवादी समालोचनाको सर्वेक्षण गर्नपर्दा बद्रीनारायण प्रधानको यो लेख एक महत्वपूर्ण अध्ययन सामग्री बन्नसक्छ। इबराले उनका धारावाहिक लेखहरूको सङ्कल निकाले- ‘साहित्यमा अपहरणः मार्क्सवादिक प्रतिबद्धता’ नाम दिएर।
नेपालमा इन्द्रबहादुर राईको आयामेली र लीलालेखनको सबैभन्दा चर्को विरोध एवं विश्लेषण गर्ने व्यक्ति हुन् डा. ऋषिराज बराल। भारतीय नेपाली साहित्यको सन्दर्भ निस्कनेबित्तिकै उनी इन्द्रबहादुर राईका यी दुर्बोध्य लेखन र तिनमा अन्तरनिहित सैद्धान्तिक चुरोको अन्तरकुन्तर खोतल्न पुग्छन्। 23-25 फरवरी, 2000 मा उत्तर बङ्गाल विश्वविद्यालयमा तीन दिवसीय साहित्यिक सङ्गोष्ठी भएको थियो, जहाँ इन्द्रबहादुर राई र ऋषिराज बराल दुवै उपस्थित थिए। कार्यक्रम सकिएको लगत्तैपछि बरालले इन्द्रबहादुर राईका लेखनविरुद्ध एउटा लेख ‘सुनचरी’मा छपाए। उनको लेख प्रकाशित भएपछि ‘सुनचरी’मा झण्डै तीन महिना लगातार बहस चल्यो, जसमा यस क्षेत्रका अनेकौँ स्थापित र नवोदित साहित्यकारहरू पनि सम्मिलित भए। म स्वयं पनि बहसमा सहभागी बनेको थिएँ। चर्काचर्की बहस हुँदा पनि इबराले बराल जस्ता ख्यातिप्राप्त समालोचकलाई पनि केही जवाफ दिएनन्। त्यसै बहसमा ‘क्याक्टस’ (बी.पी.बजगाईं?)को नाममा लीलालेखनमाथि तार्किक बहस गरियो। उनले उपनिषद्का उद्धरण र भाष्यहरूद्वारा लीलालेखनको चिरफार गरेपछि इबराले त्यसको सानो जवाफ दिए। आफ्ना कृतिहरूमाथिका आलोचना र स्पष्टीकरण माग गरिएका लेखहरूप्रति ध्यानकेन्द्रित गराउनभन्दा इबरा आफ्ना सिर्जनकार्य र लेखनमा नै व्यस्त रहे। युवा पुस्तामा मनोज गिरी, राजा पुनियानी, मनोज बोगटी, रूपेश शर्माहरूले पनि धेरथोर उनीमाथि प्रश्न तेर्साएका छन्। उसबेलाका ‘भाइ’हरू जस्तै अहिलेका ‘फुच्चे’हरूलाई जवाफ दिइरहने इबरालाई आवश्यकता पनि परेन। केही अपवाद छोड़ेर यस्ता बहसहरूमा सहभागी नहुनु वा त्यसबारे चर्चा नगर्नु इबराको विशेषता थियो। उसो त, अहिले पनि नेपाली साहित्यमा एउटा ठूलो सोपानतन्त्र (हायारर्की) छ, जहाँ ठूला र नामचलेका साहित्यकारहरूले छोटा कदका र ‘साना’ साहित्यकारहरूलाई गन्ती गर्दैनन्। कति ‘ठूला’ साहित्यकारहरूलाई यतिसम्म लाग्दो हो, उनीहरूले नयाँ पुस्ताका साहित्यकारबारे केही लेखिदिएनन्, बोलिदिएनन् वा भनिदिएनन् भने ती नयाँ छिमल साहित्यमा स्थापित नै हुन सक्दैनन्। निकै मीठो भ्रमको एउटा परत नै लागेको छ नेपाली साहित्यमा।
अहिले उठेका बहसहरूमा ‘उछितो काढ्ने’, ‘वाममार्गी’ वा ‘खराब आलोचक’ जस्ता शब्दढालद्वारा प्रश्न उठाउने प्रवृत्तिलाई निरुत्साहित गर्ने प्रयास भए पनि प्रश्न उठाउनु एकप्रकारले इन्द्रबहादुर राईकै विरासत पहिल्याउनु पनि हो। उनले ‘प्रश्न’ उठाएरै नेपाली साहित्यलाई अघि बढ़ाए भन्ठान्ने साहित्यकारहरूले नयाँ पुस्ताले त्यसो गर्नेबित्तिकै किन कड्के नजरले हेर्छन्? भारतीय नेपाली साहित्यमा यो ठूलो समस्या र पूर्वाग्रह छ। तर यति चाहिँ पक्का हो, इबरामाथि प्रश्न उठाउनअघि इबराका कृति, उनका साहित्यिक सिद्धान्त, दार्शनिक पृष्ठाधार, लेखनका पहलुहरू सबै बुझेर त्यसमाथि बहस हुनुपर्छ नकि चर्चा बटुल्ने साधनको रूपमा बहसको उपयोग। प्रतिभाहरूको तुलना प्रतिभासँगै हुन्छ। नेपाली साहित्यको भविष्य इन्द्रबहादुर राईभन्दा अघि बढ्नुपर्छ वा यही नै यसको अन्तिम गन्तव्य हो? दोस्रो प्रश्नको जवाफ खोज्नेहरूले भने नयाँ सम्भावनाहरूलाई कड्के नजरले हेर्न छोड्नुपर्छ। किनभने प्रश्न नउठाई विश्वमा कहीं कतै प्रगतिले फड्को मारेको छैन। प्रगतिको यो अनिवार्य नियम हो। यसैले ‘सयौं फूलहरूलाई फूल्न दिनुपर्छ, चेतनाका ढोका सबै खुल्न दिनुपर्छ।’
No comments:
Post a Comment