Thursday, April 12, 2018

बन्द पानीघट्टा चियाबगानको कथा

अम्बिका राई


“बगान बन्द भए पछि अरू बगानमा बिघावाला भएर काम गरे। अरू बगानमा भने खाली पत्ती टिप्ने काम पाइन्छ त्यो पनि केवल 4-5 महिनाको लागि। हिउँदोको बेला छेउको बालासन खोलामा रूझीभिजी काम गरे। बगान वरिपरिका ठाउँहरूमा झाल्मुरी पनि बेचे। पैसा कमाउनको लागि मुम्बई पनि गए। तीन हफ्ता भयो त्यहाँ बाट फर्केको”— भन्दै आफ्नो घरको आँगनमा बसिन् देवीका दर्जी। लगभग 50 पुग्न लागेकी देवीका मात्र केही दिन अगाडि आफ्नो घर फर्केकी थिइन्। खासमा उनी पानीघट्टा चियाबगानको पर्मानेन्ट श्रमिक हुन्। बगान बन्द भएको कारण देवीका अनि उनी जस्तै धेरै पर्मानेन्ट अनि बिघावाला चिया श्रमिकहरू धेरै समस्यामा छन्।
10 नवम्बर 2015-को दिन सधैँ झैँ पानीघट्टाका श्रमिकहरू घरबाट कामतिर लागे। बाटोमा जाँदै गर्दा फ्याक्ट्रीमा ताला लगाएर मालिक राती नै भागेको कुरा सुने। त्यस वर्षको बोनस 20% को दरले दिने कुरा पक्का भएको थियो। तर मालिक पक्षबाट दसैँ भन्दा पहिला केवल 15% अनि दसैँ पछि 5% बोनस दिने कुरामा सम्झौता गरियो। तर बोनस दिन भन्दा अगाडि नै मालिक अनि म्यानेजर भागे। दसैँको छेकमा बगान बन्द हुँदा श्रमिकहरूले बुझ्न सकेनन् अब के गर्ने। तर मनको एक कुनामा बगान दुई–तीन दिनपछि खोलिन्छ भन्ने आशा पनि थियो कारण यो भन्दा अगाडि पनि 3 पल्ट जस्तो बगान बन्द भएको थियो। प्रथम पल्ट 6 अप्रेल 2006-मा 15 दिनको लागि बगान बन्द भएको थियो अनि 2009 -मा पनि 10 दिनको लागि फ्याक्ट्रीमा ताला झुन्डाएर मालिकहरू भागेका थिए।  फेरी 27 डिसेम्बर 2011-को दिन बगान बन्द भएर केवल 8 फरवरी 2012 -को दिन बगान फेरी खोलिएको थियो। जुन ठाउँमा चिया-बगान एउटा मूल आयको श्रोत हो, त्यही श्रोत घरी घरी बन्द हुँदा त्यहाँका मानिसहरूले कस्तो दुख भोग्नु पर्छ त्यो त शायद हामी कल्पना पनि गर्न सक्दैनौ।
एक समयमा राम्रो चिया उत्पादन गर्ने तराईको पानीघट्टा चिया बगान आज त्यसको जल्दोबल्दो प्रमाण बोकिरहेको छ।
यसरी बगान बन्द गरेर मालिक भागेपछि आफ्नो अनि आफ्नो परिवारको पेट पाल्न, नानीहरूको स्कूलको खर्च उठाउन यहाँका मजदुरहरूलाई धेरै साह्रो पऱ्यो। कोही छेउछाउका बगानहरूमा बिघावाला भइ काम गर्न थाले। कोही बालासन खोलाको बगरमा रोड़ा अनि बालुवा चाल्ने काम गर्दै छन् अनि कोही ठुलो ठुलो ढुङ्गा फुटाउने काम। हरेक घरबाट 1 देखी 3 जनासम्म यो सब काम गरेर जीवन निर्वाह गरिरहेका छन्। तर यो काम गरेर वर्षभरि पैसा कमाउनु सक्दैनन्। अरू बगानमा 4-5 महिना काम हुन्छ भने खोलामा केवल हिउँदो महिनामा काम हुन्छ। पलायन हुनेहरूको सङ्ख्या पनि धेरै छन्। यहाँबाट दुवै पुरुष अनि महिला धेरै सङ्ख्यामा मुम्बई, दिल्ली, केरेला, बंगलोर कामको खोजीमा जान्छन्। कोही पुरुष नेपाल अनि दुबईमा पनि काम गर्दै छन्।
1180-मा ब्रिटिशद्वारा स्थापित गरिएको यो पानीघट्टा बगान निकै पुरानो हो। ब्रिटिशले बगान छो़डेपछि यो बगान डल्मिया नाम भएको कम्पनीले लिएको थियो। डल्मिया ग्रुपको पवन बाउले 35 वर्षसम्म बगानलाई राम्रोसँग चलाइरहेको थियो सुनियो। त्यसपछि कन्सल बाउले 2011 -सम्म बगान चलाउन सके। 2011- देखि बगान सरफ परिवारको हातमा आयो। यसरी केही वर्षको अन्तरालमा नै बगानको मालिकाना अरू अन्य मालिकहरूको हातमा गएको कारण बगानले आफ्नो अस्तित्व गुमाउन थाल्यो। एक पछि एक मालिकहरू खाली नाफा कमाउने बिचार लिएर आए। तर कसैले बगान अनि त्यहाँका श्रमिकहरूको निम्ति सोचेनन्।
चियाको बुट्टा 50 वर्ष पुगेपछि उखेलेर नयाँ बोट लगाउनु पर्ने हुन्छ। 50 वर्ष भन्दा बेसी उमेर पुगेका बुट्टाहरूले राम्रो उत्पादनशीलता दिन सक्दैनन्। तर पानीघट्टामा भने यसो भएको थिएन। यतिका वर्ष बितेर जाँदा पनि केवल 8 नम्बर अनि 63 नम्बर विभागमा मात्र नयाँ बोट लगाईएको थियो। 4 नम्बरमा भने पुरानो चियाको बोट उखालेको थियो तर नयाँ चियाको बोट भने रोपेको थिएन। चियापत्ती ज्यादा आवोस् भनेर मालिकले बेस्सरी बगानमा दबाई हाल्न लगाउने गर्थे। यसले गर्दा चियापत्तीको क्वालिटी पनि बिग्रिँदै गएको थियो।
दबाईवालाहरूलाई यो काम गर्दा न त मुखमा लगाउने मास्क दिन्थ्यो न त कुनै किसिमको साबुन वा पन्जा।
मालिकबाट पाउनु पर्ने बाकीको त हिसाब नै छैन। सुन्नमा आयो की 2003- देखि त प्रोभिडेन्ट फण्डको पैसा पनि पीएफ आफिसमा जम्मा भएको छैन । 42 हफ्ताको रासिन, 2015-को बोनस, दुई हफ्ताको खर्च पनि बाकी नै छ। त्यति मात्र होइन, बगान चालु हुँदा पनि मालिकले चप्पल, छाता, झोली, दौरा आदि दिएको थिएन।
हालैमा सुन्नमा आयो कि 26 मई 2017 -को दिन कलकत्ता हाईकोर्टले बगानको फ्याक्ट्रीमा ताला झुन्डाएको छ। अनि बगानकै 6 जना पुरुष मजदुरहरूलाई सेकुरिटी गार्डको काम पनि दिएको छ। बाकी मजदुरहरू भने कहिले यो काम, कहिले त्यो काम, कहिले यता र कहिले उति गर्दै जीवन चलाइरहेका छन्।
श्रमिकहरू दिनरात बगान खोलिन्छ की भन्ने आशा अनि नयाँ मालिकको प्रतीक्षामा छन्। उनीहरू यस्तो मालिक चाहन्छन् जो मजदुरहरूलाई नठगि बगान चलाउन सकोस्। उनीहरू भन्छन् सही कामको सही दाम। एक दिनको हाजरी 250-300 रुपियाँसम्म भयो भने मात्र बगानको मजदुर अनि उनको परिवारको जीविका राम्रोसँग चल्न सक्छ। तर खै त त्यसको इशाराहरू!

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...