Monday, April 10, 2023

सम्पादकीय : अङ्क 45


गत केही दिन अघिको कुरा हो। जेल सुनवाइमा लैजाँदै गरेका दुई गुण्डा-राजनीतिज्ञ अतीक अहमद र उनका भाइ अशरफ अहमदलाई सशस्त्र पुलिस र मिडियाको उपस्थितिमा दिनदहाडे नै पत्रकारको भेषमा आएका हत्याराहरूले गोली हानेर इन्काउन्टर गरेर हत्या गर्यो।  तपाईँलाई चिन्ता लागेन? 

सन् 1940को सम्झना गर्नुहोस्। क्रूर शासक हिट्लरले जर्मनीमा विरोधीहरूलाई टुङ्गो लगाउन सर्वसाधारणको विभिन्न झुन्डहरू गठन गरेका थिए। किशोर अवस्थादेखि युवाहरूसमेतको त्यो झुन्डले यहुदीहरूलाई खेदो गर्दै मारेका थिए। असङ्ख्य यहुदीहरूले यसरी ज्यान गुमाए। नाजी टोलीले यहुदीहरूको जनसंहार गरेको थियो। ठिक यस्तै परिस्थिति अहिले भारतमा देखा पर्दै छ। सन् 2014 देखि देशको बागडोर सम्हालेको क्रूर भारतीय जनता पार्टीले विभिन्न उग्र बाहिनीहरू गठन गरेर आफ्ना विरोधीहरूको हत्या गर्दै आइरहेको छ। विशेष गरी दलित र मुसलमान समुदाय भाजपाको यस्ता उग्र बाहिनीको प्रमुख सिकार भइरहेका छन्। गुजरात र उत्तर प्रदेश भाजपाको फासिस्ट शासनको प्रयोगशाला भइरहेको स्पष्ट रूपमा बुझिन्छ। 

उत्तर प्रदेशमा भएको असद दाजु-भाइको इन्काउन्टर काण्डबारे सर्वसाधारणबाट समर्थन र विरोधका दुवै थरिका आवाजहरू उठिरहेका छन्। विशेष गरी भाजपा समर्थक एवं हिन्दु राष्ट्र समर्थकहरूले यस घटनालाई सही ठानिरहेका छन्। उनीहरूका निम्ति असद दाजु-भाइ दोषी थिए। र उनीहरूले सही सजाय पाए भन्ने मत प्रकट गरिरहेका छन्। यस्ता बयानले सर्वसाधारण जनतालाई समेत अन्यौलतामा पारेको छ।

तर प्रश्न उठ्छ। के हरेक दोषीलाई इन्काउन्टर गर्नु नै समाधान हो त? यति यस्ता इन्काउन्टर नै सही सजाय हो भने देशमा कानुनी व्यवस्थाको भूमिका किन चाहियो र? सुनियोजित तरिकाले असद दाजु-भाइको हत्या गरेर योगी सरकारले आफ्नो उग्र चरित्र स्पष्ट पारेको छ। जनताअघि यही तरिका सही हो भन्ने भ्रम फैलाएर अब भाजपाले आफ्ना हरेक विरोधीहरूको यसरी नै सुनियोजित शैलीमा हत्या गर्ने छ। र छोपिदिनेछ तिनीहरूको विरूद्धमा उठेको हरेक विवादित मुद्दालाई। 

मानवअधिकार सङ्गठनहरूले यस हत्यामा पुलिसको भूमिकाबारे शृङ्खलाबद्ध प्रश्नहरू खडा गरेको छ, र चिन्ता व्यक्त गरेको छ कि ‘ऐनको शासन’लाई नतिजासम्म पुग्न नदिएर योगी सरकारको खतरनाक नीतिले संवैधानिक लोकतन्त्रको आधारभूत स्तम्भलाई खतम पार्छ अनि अराजकता र क्रूर शक्तिको लागि मार्ग प्रशस्त बनाउँछ। 

यस अघि पनि भाजपाको उग्र बाहिनीले लेखक-पत्रकार गौरी लङ्केश, कलबुर्गी, गोविन्द पानसरे लगायत तमाम गणतान्त्रिक आन्दोलनका कर्मीहरूको हत्या गरिसकेको छ। आफ्नो अधिकारको आवाज उठाउने र सरकारको क्रूर नीतिविरुद्ध आन्दोलन गर्नेहरूलाई जेल बन्दी गर्ने प्रथा आज साधारण भइसकेको छ। 

भारत एउटा बृहत् गणतान्त्रिक देश हो भनिन्छ। यहाँ दोषीले कानुनी प्रक्रिया अनुसार सजाय पाउँछ। तर आज देशको कानुन व्यवस्थाभन्दा ठुलो भाजपाको उग्र बाहिनी भइसकेको छ। जसले हरेक दोषी र आफ्नो दलका विरोधीहरूको दिनदहाडे हत्या गरिरहेको छ। यसैले भाजपाको रामराज्यको स्वरूप र चरित्र योगीको उत्तर प्रदेशले प्रस्ट पारेको छ। रामराज्यमा अल्पसङ्ख्यकहरूको अवस्था के होला? दलित/आदिवासीहरूको स्थिति कस्तो रहला? मजदुर/किसानहरूको जीवन स्तर कस्तो हुन्छ भन्ने तथ्य बुझ्न आजको योगी सरकारको प्रशासनिक कार्यशैलीले स्पष्ट पारेको छ। 

देशको जुन जुन राज्यहरूमा भाजपाको सत्ता कायम छ, ती राज्यहरूमा आज सर्वसाधारणले खुलेर आफ्ना अधिकारका मागहरू राख्न पाउँदैनन्। दलित र मुसलमान समुदाय त झनै उग्रताको सिकार भइरहेका छन्। गणतान्त्रिक मूल्यमान्यता दिनदिनै खोक्रो हुँदै गइरहेको छ। भारतीय जनता पार्टीको फासिस्ट प्रवृत्ति अझ तीव्र भएर जाने सम्भावना प्रबल बनेको छ। सर्वसाधारणलाई दिनदिनै आर्थिक बोझले पिरोलिरहेको छ। जनहितमा आवाज उठाउनेहरूले आफ्ना ज्यान गुमाउनु परिरहेका छन्। यस्ता क्रूर फासिस्ट आक्रमणविरुद्ध लड्न अब हरेक क्षेत्रका सर्वसाधारण एकजुट हुन आवश्यक छ। 

भाजपाको उग्र बाहिनीले दिनदिनै गरिरहेको हत्याहरूको डटेर विरोध गरौँ। देशको न्यायपालिकालाई अक्षुण्ण राख्न साथै गणतान्त्रिक मूल्य मान्यतालाई सुरक्षित राख्न बृहत् एकताको आह्वान गरौँ।


No comments:

Post a Comment