Saturday, April 1, 2023

8 मार्च -- अन्तराष्ट्रिय श्रमजीवी नारी दिवस

अम्बिका राई


 


संसारभरि नै 8 मार्च अन्तर्राष्ट्रिय नारी दिवसको रूपमा मनाइने गरिन्छ। यो दिनको आउनुभन्दा अघिदेखि नै हरेक ठाउँमा महिला दिवसको विज्ञापन देख्न सकिन्छ। मोबाइलको स्क्रिनदेखि टेलिभिजन स्क्रिन, खबरकागज देखि ठुलो ठुलो होर्डिङ, सबै ठाउँ नै 8 मार्चको विज्ञापन गरिएको हुन्छ। यी सबै विज्ञापन एउटै किसिमका देखिन्छन्। जहाँ हेरे पनि कम्पनीहरूले आ-आफ्नो प्रडक्ट बिक्री गर्ने होडबाजीमा ‘डिस्काउन्ट’-को लोभ देखाएर नारी दिवसको अस्तित्व नै मेटी दिने गर्छ। यी कम्पनीहरूको विज्ञापनमा कहीँ कतै नारी दिवसको इतिहासको चर्चा गरिएको हुँदैन र धेरै कमलाई मात्र यस दिनको महत्त्व थाहा होला। त्यसै कारण यस दिनको पालन सालमा केवल एक दिन ‘Happy Women’s Day’ भनेर महिलाहरूलाई एउटा मेसेज पठाउनु मात्र नभएर यसको खास इतिहास बुझ्नु र बुझाउनु जरुरी छ। 

8 मार्चको इतिहास

8 मार्चको इतिहासलाई बुझ्नको निम्ति महिला मुक्तिको सङ्घर्षको इतिहासलाई नियालेर हेर्न जरुरी छ। यी सङ्घर्षहरूको सुरुवात 20 औँ शताब्दीको सुरुमा उत्तरी अमेरिका अनि युरोपमा भएको थियो। यी नै देशको महिला मजदुरहरूले गरेको सङ्घर्षको फल हो अन्तर्राष्ट्रिय श्रमजीवी नारी दिवस। 

28 फरबरी 1909 को दिन Socialist Party of America-को नेतृत्वमा न्यु योर्क सहरमा प्रथम पल्ट ‘National Women’s Day’ को पालन गरिएको थियो। यसको गर्नको एउटा मुख्य कारण रहेको थियो। लगभग 50 वर्ष अघि, 8 मार्च 1957 –को दिन न्यु योर्क का कपडा फ्याक्ट्रीहरूमा काम गर्ने महिला मजदुरहरूले मालिक वर्गको अत्याचार अनि शोषणको खिलाफमा जुलुस गरेका थिए। र त्यही दिनको स्मरण गर्दै न्यु योर्कमा 1909 –मा महिला मजदुरहरूले ‘National Women’s Day’ पालन गरेका थिए। 

अगस्त 1910 डेनमार्कको कोपेनहेगेन सहरमा International Socialist Women’s Conference भएको थियो। यो कन्फ्रेन्स अनुसार सालमा एक दिन ‘Special Women’s Day’ मनाउनु पर्छ भन्ने मुद्दा उठेको थियो। तर यो कुन दिन मनाउनु भन्ने कुराको निष्कर्ष त्यहाँ हुन सकिएन। यो कन्फ्रेन्स भएको केही महिना बाद, 25 मार्च 1911 को दिन न्यु योर्क सहरको Triangle Shirtwaist फ्याक्ट्री, जुन एउटा कपडा बनाउने फ्याक्ट्री थियो, त्यहाँ ठुलो आगो लाग्यो। यस घटनामा 146 मजदुरहरूको मृत्यु भएको थियो। ती मध्ये 123 जना केटी नानी अनि महिलाहरू थिए भने 23 जना पुरुष मजदुरहरू थिए। हामी भित्र यो प्रश्न पनि उठ्न सकिन्छ की त्यति धेरै महिला मजदुरहरू किन मारिए भनेर। यसो हुनको कारण के थियो भने, त्यस समय फ्याक्ट्रीहरूमा बेसी सङ्ख्यामा महिला अनि सानो केटा-केटीहरूलाई काममा लगाइने गरिन्थ्यो। यसो गरेमा मालिक वर्गलाई धेरै फाइदा हुने गर्थ्यो। किन भने ‘महिला वर्ग अनि नानीहरू’ सस्तो श्रमको मुख श्रोत थिए। कम भन्दा कम ज्यालामा उनीहरूले धेरै काम गर्न पर्थ्यो। फ्याक्ट्रीको काम गर्ने परिवेश पनि राम्रो हुन्थेन। कोठामा अटन सक्ने मात्राभन्दा बेसी मजदुरहरूलाई एकै साथ काम गराइन्थ्यो। यस्तो किसिमको भेदभाव अनि शोषणको खिलाफमा महिला मजदुरहरू न्यु योर्क सहरको फ्याक्ट्रीहरूबाट निक्लिएर सडकमा उत्रेका थियो – आफ्नो हक अनि अधिकारका निम्ति। समान ज्याला, 8 घण्टाको काम, सालाना छुट्टी त्यो पनि आफ्नो वेतन नकाटिने, पुरुष मजदुरहरू सरह कानुनी अधिकार, प्रजनन अधिकार अनि अन्य मागहरूको नारा लगाउँदै अनि आफ्नो अधिकारको निम्ति मालिक वर्गको विरोधमा अघि खडा भएका थिए। यी सबै माग सँगै एउटा एकदमै महत्त्वपूर्ण अधिकारको निम्ति पनि महिला मजदुरहरूले सङ्घर्ष गरेको थिए। त्यो थियो महिलाहरूले भोट हाल्ने अधिकार, जुन अधिकार त्यस समयमा केवल पुरुषहरूलाई मात्र दिएको थियो। किन भने महिलाहरूलाई पुरुष भन्दा कम मानिने चलन थियो अनि महिला वर्गलाई दोस्रो दर्जाको नागरिकको रूपमा हेरिने गर्थ्यो। महिलाहरूले पनि भोट हाल्न पाउने अधिकारको सङ्घर्ष अमेरिका अनि युरोपको देशहरूमा पनि देखा पर्न थाल्यो। तसर्थ महिला मजदूरहरले पुँजीपति अनि पितृसत्ता, यी दुवैको खिलाफमा सङ्घर्ष गरे। 

त्यति बेलासम्म पनि अन्तर्राष्ट्रिय श्रमजीवी नारी दिवस मनाउने दिन तोकिएको थिएन यसै कारण यो दिन कोहि बेला फरबरी महिनाको अन्त्यमा नत्र मार्च महिनाको सुरुमा मनाउने गरिन्थ्यो। अमेरिकामा महिला दिवस फरबरीको अन्तिम आइतबारमा मनाउन सुरु गरियो। रसियामा 1913 मा प्रथम पल्ट महिला दिवसको पालन गरियो। यो दिन फरबरी महिनाको अन्तिम शनिवारमा परेको थियो। 8 मार्च 1914 को दिन प्रथमपल्ट जर्मनीमा अन्तर्राष्ट्रिय नारी दिवसको पालन गरियो अनि यो आइतबारको दिन थियो। अनि यस दिनलाई महिलाहरूको भोटको अधिकारको सङ्घर्षको सम्झनामा पालन गरियो। अनि त्यसै कारण सारा संसारमा नै 8 मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसको रूपमा पालन गरिन सुरु भयो। 

मार्च 8, 1917 को दिन रसियाको पेट्रोग्राड भन्ने ठाउँमा, कपडा फ्याक्ट्रीमा काम गर्ने महिलाहरूले एउटा प्रदर्शन गरेका थिए। विश्व युद्ध 1 –को अन्त्यको माग गर्दै उनीहरू ‘रोटी अनि शान्ति’ को नारा लगाएर जम्मै सहरमा प्रदर्शन गरे। विश्व युद्ध 1-ले गर्दा देशमा भएको अनाजको अभाव अनि जारहरूको शोषणको विरुद्धको लडाई थियो 8 मार्चको यो प्रदर्शन। प्रदर्शन रोकनको निम्ति सत्तामा बसेकाहरूले धेरै चेष्टा गरे पछि पनि महिला मजदुरहरू पछि हटेनन्। अनि 7 दिन बाद रसियामा महिलाहरूले भोट हाल्ने अधिकार हासिल गरे। सोभियत रसियामा 8 मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसको दिन भनेर घोषणा गरे पछि, विश्वभरि कै कम्युनिस्ट देशहरूमा यस दिन नारी दिवस पालन गरिने चलन बनियो। 

आजको महिलाहरूले जे जस्तो पनि सुविधाहरू पाएका छन्, ती सबै त्यसै सित्तैमा पाएका हैनौ। हामी भन्दा धेरै वर्ष अघिका महिलाहरूको सङ्घर्ष अनि बलिदानको फलस्वरूप आज हामीले यी पड्ने अधिकार, भोट हाल्ने अधिकार, काम गर्ने अधिकार अनि अरू सुविधाहरूको आनन्द उठाउन सकी रहेका छौ। तर पनि महिला मुक्तिको सङ्घर्ष अहिलेसम्म समाप्त भएको छैन। अझ पनि हाम्रो समाजको महिलाहरू केही न केही समस्यासँग लडी रहेका छन्। यौन उत्पीडन, लैङ्गिक असमानता, कन्या भ्रूण हत्या, महिला बेचबिखन, फेमिसाइड (महिला हत्या), घरेलु हिंसा, समान ज्याला अनि अरू किसिमको समस्याको सिकार बन्न पुगी रहेछन्। र यी सबै देखि मुक्त भए मात्रा महिलाहरू पूर्ण रूपमा स्वतन्त्र हुनसक्ने छ।

हामी यस्तो समाज बनाउने कल्पना गरौँ जहाँ यी सबै हिंसाबाट महिलाहरू मुक्त होस। महिलाहरूले पनि पुरुष जात सरह सम्मान जनक जीवन ज्ञापन गर्न सकोस्। जहाँ कुनै मानिसलाई उसको लिङ्गको आधारमा शोषण गर्न नसकोस्। अबको आउने अन्तर्राष्ट्रिय श्रमजीवी नारी दिवस मनाउँदा यस दिनको खास इतिहासलाई न भुलौँ अनि महिला मुक्तिको सङ्घर्षमा सहभागी बनौँ।



No comments:

Post a Comment