Saturday, April 1, 2023

जति विकसित देश, उत्ति खतरामा प्रकृति!? -- जोशीमठबाट सिक लिँदै...

महिमा विश्वकर्मा


अहिले प्रकृतिको परिवर्तन हामीले देखिरहेको छौँ, भोगिरहेका छौँ। पहिले हिउँद अक्टोबरको अन्त्यदेखि सुरु भएर अप्रिलको सुरुमा खतम हुन्थ्यो। ग्रीष्मकाल अप्रेलदेखि सुरु हुँदै जुलाई वा अगस्तसम्म रहन्थ्यो, अगस्तदेखि बर्खा सुरु हुने गर्थ्यो तर आजकाल खासै त्यस्तो हुँदैन। बेला न बखत पानी पर्ने गर्छ, गर्मी अचम्मै बढ्दै गएको छ। चर्को घाममा न त हावा नै चल्छ। यसको विशेष कारण के हो त? के यसरी प्रकृतिमा परिवर्तन हुन पछाडिको कारण समयको परिवर्तन हो? होइन? तर के हो त? त्यसको विशेष कारण हो सडकमा मानिसभन्दा धेरै वाहन, रुखहरू जम्मै काटेर देशको विकास भन्दै ठुलठुला बाटाघाटा अनि बिल्डिङहरू बनाइनु, र औद्योगिक प्रदूषण लगायत विभिन्न कारण। अहिले हालैमा सिलगढीको चाँदमनि छेउको बाटोका रुखहरू जम्मै काटेर बाटो खाली गरिँदै छ। सुन्नमा आएको थियो बाटो बनाउने रे..यसरी आर्टिफिसियल सुन्दरताले गर्दा प्राकृतिक सौन्दर्य अनि त्यसको फायदा मासिँदै जाँदै छ।

हामी त्यसको उदाहरणको निम्ति धेरै टाढा जान पर्दैन। पहाडमा के भइरहेको छ त? टिस्टा नदी कुरा लिन सक्छौँ। गत प्राय दुई-तीन सालदेखि पश्चिम बङ्गाल र सिक्किमको विभिन्न क्षेत्रमा नदी अस्वाभाविक बढ्नाका कारणले सडकमा हिँड्ने जम्मै वाहनहरू फसेर विभिन्न प्रकारको कठिनाइहरू खडा भएको थियो। नदी त्यसरी बढ्नु वा घट्नु पछाडि कुनै प्राकृतिक कारण छैन, कुनै कुनै बाँधमा धेरै समयदेखि पानी सञ्चय गरेर राखिएको हुन्छ। नदीको छेउछाउमा बसोबास गर्ने मानिसहरू चिरकालदेखि लड्दै आइरहेका छन्। कुन नदी कहिले कुन प्रकारले बदलिन्छ अनि पहाड भत्काई दिन्छ त्यसको कुनै स्थिरता छैन।

टिस्टा उपत्यकामा अहिले जलवायु परिवर्तनको प्रभावले माथिल्लो भागमा निर्माण भएका जलविद्युत योजना र गजलडोबा बाँध पनि सम्बन्धित छ। हिमालयमा मनसुनको ढाँचा द्रुतगतिमा परिवर्तन हुँदै छ। पहाड होस् वा तराई, टिस्टामा बसोबास गर्ने व्यक्तिहरुले चिन्ताजनक दिन-रातहरु बिताउने गर्छन्। पानी कति बढ्यो ? बाँधबाट कति पानी छोडियो? कहिले खोलामा अचानक बाढी आउँला, अनि घर, खेतबारी, पहाड, जङ्गल सबै तानेर लग्ने छ कि? कि पुरै छेउछाउको जमिन साथ साथै घरहरू, मानिसहरू बगाएर लाने हो?

 टिस्टा जलविद्युत योजना निर्माण भएको ठाउँमा हरेक वर्ष पहिरो जान्छ। सरकारी एजेन्सी एनएचपीसीका दुईवटा परियोजना 25 किलोमिटर क्षेत्रभित्र सम्पन्न भइसकेका छन्, थप तीनवटा प्रस्तावित छन्। बाँध वा त्यसका लागि अन्य निर्माण सुरु हुनु अघि पनि कालिम्पोङ-देखि सिक्किम सडक वरिपरिका पहाडहरू अलिक कमजोर थिए, प्रत्येक साल पहिरो जानु यताको नियमित घटना हो। बाँध बनाएपछि अर्थात् पहाड फुटाएर निर्माण सुरु गरेपछि पहिरोको घटनामा धेरै वृद्धि भएको छ। 

एनएचपीसीको पहिलो बाँध अर्थात् टिस्टा लो-ड्याम परियोजना-4 देखि दोस्रो बाँध अर्थात् टिस्टा लो-ड्याम परियोजना-3 सम्म बाँध निर्माण सुरु भएदेखि नै कम्तीमा 16-20 पल्ट पहिरो गए, जसमध्ये 10वटा नयाँ ठाउँमा छन्, 2004मा बाँधको काम सुरु भएयता देखियो। कतिपय ठाउँमा पूरै पहाड भत्किरहेको छ, टिस्टा लो ड्याम परियोजना-3 को ठिक अगाडिको पहाडमा ढुंगाका पर्खाल बनाएर पहिरो रोक्ने प्रयास भइरहेको छ। बाँध वरपरका ठाडो पहाडमा रहेका गाउँहरू, जस्तै 27 माइल उकालोमा देउराली, वा कालीझोरामाथिको करमट लगायत गाउँहरूमा बाँध निर्माण र बाटो फराकिलो बनाउन डाइनामाइट फुटाइरहेका छन् । त्यसले गर्दा घरको भित्ता र पाहाडको पाखा चर्किँदैछ। 

27 माइलदेखि टिस्टा लो ड्याम परियोजना-3 को कारण टिस्टा अवरुद्ध भएको छ, जलाशयमा पानीको बहाव हरेक बर्षा बढ्दै गएको छ । 29 माइल बस्ती मुनि पानीले प्रहार गरिरहेको छ, जुनै दिन 29 माइल र त्यसपछि गेलखोला बस्ती समेत राष्ट्रिय राजमार्ग 31 नै खोलामा बगेर जाने छ। सडकको हेरचाह गर्ने मिलिट्री अधिकारीहरूले यो बाटो टिक्ने छैन भनी निष्कर्षमा पुगेकोले नयाँ सडक निर्माणको काम भइरहेको छ ।

27 माइलदेखि टिस्टाबजारसम्मको सडकमा करिब 350 परिवार बसोबास गर्दै आएका छन्, 27 माइल बाँधदेखि मुनि छन् रियाङ बस्ती, थप 80 वटा परिवार त्यहाँ छन्। सेभोकदेखि कालिझोरा भएर टिस्टाबजार मल्ली रङ्पोसम्मको सडक वरीपरी र दुवैतर्फ पहाडमा हजारौँ परिवारहरू छन्। धेरै पानी पर्दा 27 माइल र कालीझोरा जलाधारमा पानी बढ्यो भने यी मानिसहरू जहिल्यै पहिरोले मर्न सक्छन् वा खोलामा बगेर जानेछन्। यी मानिसहरूलाई के हुनेछ? पहाड र खोलाको घना जङ्गल, पशुपक्षी र रुखपातको पनि के होला नतिजा?

टिस्टा लो-ड्याम परियोजना-3 र 4 को इनभाइरोन्मेन्ट इमप्याक्ट एसेस्मेन्ट-इआइए प्रतिवेदनअनुसार भूकम्प-सम्भावित नाजुक पहाडहरूमा बाँध निर्माणका यस्ता ठूला परियोजनाहरूले डरलाग्दो जोखिम निम्त्याउन सक्छ। पहाड फुटाउँदा र सडक निर्माण गर्दा पहिरोको जोखिम बढ्न सक्छ। सुषुप्त पहिरो पुन: जागृत हुन सक्छ। नयाँ पहिरो पनि बनिन सक्छ। यस EIA को अंशको रूपमा, भारत सरकारको भूवैज्ञानिक सर्वेक्षणको पूर्वी क्षेत्रीय शाखाद्वारा एक भूवैज्ञानिक सर्वेक्षण गरिएको थियो, जसको प्रतिवेदनमा पहिरो जोखिमबारे विस्तृत विवरण थियो। भूवैज्ञानिक प्रतिवेदनले भूकम्पको जोखिममा रहेका क्षेत्रमा बाँध नबनाउन पनि सचेत गराएको छ। नदीमा बाँध बनाएपछि जुन जलाधार तयार हुन्छ, त्यसले वरपरका पहाडलाई थप लचिलो बनाइ तुल्याउँछ, किनकि लामो समयसम्म जलाधारमा सञ्चित पानी पहाडको माटोबाट भित्र शोषिएर पस्ने छ ।

भारीमाथि सुपारिझैँ सेभोकदेखि सिक्किम सिमानाको रङ्पोसम्म ब्रोडगेज रेलवेको काम चलिरहेको छ। बाँध बनाउनु, जलाशय निर्माण गर्न साथसाथै रेलमार्ग बनाउन पहाड खन्ने काम भइरह्यो भने यस कमुलो पहाडको के हालत हुन्छ? सोच्नु नै डर लाग्छ। रेलवे अधिकारीहरूले भन्छन् कि जमिनको धेरै गहिराइबाट सुरुङ खन्दैछन्, माथि केही पनि हुँदैन अरे। यी कुराहरूको कुनै अर्थ छैन, कुनै वैज्ञानिक आधार छैन। सुरुङ खनिने क्षेत्रका पहाडहरू रुखहीन हुनाले पाहाडको पाखामा नयाँ दरारहरू देखिन थालेका छन्। नयाँ पहिरोहरू आउँदैछन्। धेरै ठाउँमा पहाड दबिएर बस्दै छ। यसबाहेक, 40 किलोमिटर सुरुङ खन्दा जुन जुन ढुङ्गा-माटो निक्लिँदै छ, त्यो पनि टिस्टा खोलामै जाँदैछ। त्यसै पनि अब बाँधका कारण टिस्टा खोला राम्रोसँग बगिरहेको छैन।

तथाकथित विकासको नाममा उत्तरबङ्गाल र सिक्किमका पहाडहरूमा ठूलाठूला निर्माण कार्यहरू गरेर पाहाडलाई ध्वस्त पार्ने काम भइरहेका छन्। 2015 को पहिरोमा व्यापक क्षयक्षतिसाथै कम्तिमा पनि चालीसजनाले ज्यान गुमाएका थिए। त्यसपछिका वर्षहरूमा पनि एकपछि अर्को पहिरो देखियो। दार्जिलिङ खर्साङ कालिम्पोङ मिरिक सुनादा आदि सहरी क्षेत्रहरू सहित लगभग सबै जनपदहरू अवैध कंक्रीट ढाँचाहरूले ढाकिएको छ। अर्थात् उत्तराखण्डको जोशीमठ क्षेत्रमा जे भयो, भइरहेकोछ, त्यही घटना यता पनि दोहोरिरहेको छ ।

सिक्किममा 1,200 मेगावाटको टिस्टा-3 र 500 मेगावाटको टिस्टा-6 परियोजना-हरू लामो समयदेखि रोकिरहेका छन्, मुख्यतया क्षेत्रका जनताको विरोधका कारण। उत्तर बङ्गालको टिस्टा क्षेत्रका बासिन्दाहरूले सेभोक-रोङ्पो रेलवे लाइन निर्माणको अनुमति दिन अस्वीकार गरेका थिए, किनभने यस क्षेत्रको जङ्गल र नदीको प्रकृतिमाथिको उनीहरूको कानुनी अधिकारलाई सरकारले मान्यता दिएको छैन। त्यो स्वीकृति बिना नै यस परियोजनाको काम अब सक्नु आँटेको छ ।

हिमालय तथा उत्तर बङ्गालको यस क्षेत्रको भू-प्राकृतिक संरचना र वातावरण बहुतल्ले पक्का निर्माण वा ठूला जलविद्युत र रेलवे परियोजनालाई धारण गर्न सक्ने बलियो नभएको बारम्बार भनिएको छ। पहाडभित्र सुरुङ खन्ने र सडक फराकिलो बनाउने काम जमिन र जङ्गललाई नोक्सान नगरी सम्भव छैन। त्यसैगरी, जुनसुकै ठाउँमा नदीको धारामाथि बाँध बनाउनु भनेको यसलाई अस्वाभाविक बनाउनु हो। यसले माटोको क्षय धेरै बढाउँछ, नदीको बगरलाई भरिभराउ र उचाइमा पुर्याउछ। यस्तो परिस्थितिमा आज हिमालय-नजिकका सबै विकास परियोजनाहरूको विस्तृत र निष्पक्ष समीक्षाको खाँचो छ। यस समीक्षामा अन्तर-राज्य, (जस्तै पश्चिम बंगाल, सिक्किम) र अन्तर्राष्ट्रिय (जस्तै भुटान, बंगलादेश, नेपाल) मुद्दाहरूको बृहत्तर परिप्रेक्ष्यलाई ध्यानमा राख्न आवश्यक छ।

जोशीमठ प्रकरणले चेताउनी दिँदैछ यस क्षेत्रलाई। नियन्त्रनहीन निर्माणकार्यको भार सहन नसकेर त्यहाँका घर-बाजार-सहर-पाहाड चर्किँदै जाँदैछ। परित्यक्त घोषणा गर्न पर्दैछ त्यसको विभिन्न ठाउँलाई। यताका पाहाडमा पनि आशङ्काको पाहाड छ। र त्यसको लागि प्रतिरोधको काम गर्न सरकार असक्षम भए जनताले नै पनि विशेष पहल लिनुपर्छ । विपद् आयो भने के हुन्छ भनेर छलफल गर्नुभन्दा प्रकोप रोक्न धेरै महत्त्वपूर्ण छ। नदी, पहाड, जङ्गलले भरिएको उत्तर बङ्गाल वा सिक्किममा प्राकृतिक प्रकोपको खतरा, कारण र उपचारका बारेमा जनमत निर्माण गर्न, पर्यावरणसित सुहाउने, स्थितिक, दीर्घकालीन र भेदभावरहित विकास मोडलबारे चर्चा चाहिन्छ, र आवश्यक भएमा चाहिन्छ जनआन्दोलन पनि। 


No comments:

Post a Comment