Saturday, April 1, 2023

कसका निम्ति विकास? विकासको नाममा पहाडमा हकर विस्थापन

सुमेन्द्र तामाङ


 

दार्जीलिङको चौरस्ताको प्राङ्गणमा, सधैँ झैँ विभिन्न प्रकारका गतिविधिहरू चलिरहेको थियो। भानुभक्तको मूर्ति अगाडि एक जना व्यक्ति उभिएर हात जोड्दै फोटो खिचिरहेको देखेँ। अर्को तिर, टुरिस्टहरू रमाउँदै नेपाली भेष-भूषा लगाएर हातमा डोको बोकी फोटो सुट गरिरहेका थिए। घोडामा चढेर माल रोडको सवारी गर्ने जमात पनि उतिकै थियो। कलेज पढ्ने युवा-युवतीहरू पनि गिटार, काहोन, उकुलेले बजाउँदै गीत गाउँदै थिए। तिनीहरूलाई वरिपरि घेरेर एक जमात कलेजका विद्यार्थीहरू पनि उभिरहेका थिए। मानिसहरूको भीडले भरिएको नेहरू रोडको उकालो बाटो, साइडमा केएफसी, त्यसको अलिक उकालो मोमो बेच्दै धेरै ससाना दोकानहरू थापिएका थिए। त्यसको छेउमा एउटा ठुलो 3-4 तले बिल्डिङको निर्माण कार्य भइरहेको थियो। त्यो निर्माण कार्यलाई हरियो रङ्गको जालीले आधा छोपिएको थियो। अलिक माथि आरामले गफ गर्दै एक हुल मानिसहरू रमिता हेर्दै लामो कुर्सीमा बसिरहेका थिए। 

एकै शब्दमा भन्नु पर्दा, सबै आ-आफ्नु संसारमा रमाइरहेको दृश्य थियो। हो त्यही समय म नेहरू रोडको उकालो हुँदै चौरस्ताको पुगेँ। चौरस्ता काटेर महाकाल मन्दिर जाने बाटोको छेउमा-छेउमा स-साना दोकान थाप्ने गर्छन् एक हुल दिदीहरू। मलाई चौरस्ताको सबैभन्दा मन परेका दृश्यहरूमध्ये मन परेको कुरा नै यही दोकानको लस्कर हो। 2012 भन्दा अगाडि यी हकरहरू नेहरू रोडमा स्थित थिए जहाँ अहिले हालैमा केएफसी जस्ता ठुल्ठुला दोकानहरूले आफ्नु बजार बसाएका छन्। जहाँ अहिले ठूलठूला बिल्डिङले कञ्चनजङ्घा समेत ढाक्ने गरी आफ्नु उचाइ निर्माण गरिसकेका छन्। आज भने त्यो न्यू महाकाल मार्केटको बोर्ड तल अलिक अचम्म लाग्ने दृश्य देखेँ। पाल लगाएर बनाइएका ती हकरका सबै दोकानहरू गायब थिए। त्यसको साटो भुईँमा कागजका कार्टुन च्यातेर एक हुल महिलाहरू बसिरहेका थिए। त्यसको साइडमा केही युवाहरू भित्ते खेला खेलीरहेका थिए। सन्दर्भ थियो, अप्रेल 4 तारिख, 2023 देखि अचानक ती हकरहरूलाई माल रोडमा आफ्नु दोकान नथाप्ने मुखौली आदेश दार्जिलिङ नगरपालिकाबाट आएपछि ती हकरहरू बाटोमै आफ्नु जीविकाको निम्ति बसिरहेका थिए। मैले हकरहरूलाई यसरी जबरजस्ती अनि अन्यायपूर्वक रूपमा आफूले थापेको दोकानबाट निकाला गरेको कुरा भने दुई तीन दिन अघि देखि नै सुनिसकेको थिएँ। 

मैले त्यहाँ भुईँमा बसिरहेकी एक जना दिदीलाई सोधेँ, ‘दिदी तपाईँहरू किन यहाँ बस्नु भएको?’ त्यसको उत्तर मलाई दिदीले भन्नु भयो, ‘अब दोकान थाप्नु नदिए पनि यहाँ बस्नु त पाइन्छ होला नि!’ म चुपचाप भएँ। फेरि सोधेँ, ‘तपाईँहरूसँग एकछिनका लागि बात गर्न सक्छु होला? त्यसको उत्तर आयो, ‘बसौँ न भाइ’। अर्को एक जना दिदीले मेरो लागि पनि एउटा च्यातिएको कार्टुनको टुक्रा बन्दोबस्त गरिदिनुभयो। म त्यही बसेर गफ गर्न लागेँ। जम्माजम्मि 106 जना हकरहरू जसमा ज्यादातर महिला अनि 30 देखि 80 वर्षसम्म उमेर भएका यस ठाउँका नागरिकहरू आन्दोलनरत थिए। त्यसमध्ये एक जना महिला 8 महिनाको गर्भवती पनि छिन्। भर्खर, कक्षा 10 अनि 12 को परीक्षा सकिएर यी हकरका नानीहरूको आउँदो शिक्षा प्रणालीमा ठुलो प्रश्न चिह्न आइपरेको छ। बिक्री गर्ने सामाग्री किन्नुको निम्ति बन्धन ब्याङ्कबाट ऋण अनि साहुबाट ब्याजमा पैसा लिएर यी हकरहरू एउटा ठुलो सङ्कटमा परेको कुरा प्रकाशमा आयो। त्यसमा धेरै जना आफ्नु परिवारमा एकल कमाई गरेर जीवन यापन गर्ने पनि थिए। कोही 14 वर्षीय बाल्यकाल देखि नै यो काम गर्दै आएका थिए भने कोही आफ्नु जीवनको आधा-उधि भाग नै यसै पेसामा लागि आएका पनि थिए। 

क्रोनोलोजी बुझौँ

कुरा सुरु गरौँ जी-20 मिटबाट। पहाडको सोचनीय व्यवस्थापन अनि प्रशासनिक प्रणालीबिच विकासको होडबाजी जति नै प्रचार भए पनि विकासको एक पक्षीय चरित्र हामीसमक्ष छर्लङ्ग छ। एकतर्फ बेरोजगारीको दर चरम भने अर्कोतर्फ विकासको नाममा भाइ-भतिजावाद र भ्रष्टाचारको सीमा छैन। यस्तो समयमा दैनिक ससाना सामान बिक्रि गरेर जीविका चलाउने हकरहरूलाई विस्थापन गर्नु कतिको नैतिक हो? धेर जस्ता यी हकरहरू अप्रेल अनि मई महिनाको टुरिस्ट सिजनको कमाइले पूरा साल बिताउने पर्ने अवस्थाका छन्। 31 मार्चको दिन दार्जीलिङ नगरपालिकाबाट मौखिक रूपमा यी हकरहरूलाई सूचना आयो कि आउँदो दुई-तीन दिनभित्रमा जी-20 को मिट दार्जिलिङको विभिन्न ठाउँहरूमा हुने कुरा छ र यस कारण दोकान नराखिदियोस्। यसपश्चात् न्यू महाकाल मार्केटका 106 जना हकरहरूले 3 दिन आफ्नु दोकान बन्द गर्ने निर्णय गरे। त्यसपछि अचानक अप्रिल 3 तारिखको दिन यी हकरहरूले माल रोडबाट पूर्ण रूपमा विस्थापित गरिएको खबर पाए। त्यो पनि मौखिक रूपमा मात्र। 4 तारिख अप्रिलको दिन माल रोडको न्यु महाकाल मार्केटमा पुलिस प्रशासनले बल तैनात गरेको कुरा पनि सुन्नमा आयो। अब यहाँ प्रश्न के आयो भन्दा, दुई-तीन दिन जी-20का प्रतिनिधिहरूबाट दार्जिलिङको जैविक यथार्थता लुकाएर दार्जिलिङलाई ‘स्विट्जरल्याण्ड’ झैँ टुरिस्टको स्वर्ग भन्दै देखावटी धारणा निर्माण गर्ने यो राजनैतिक ड्रामाको बहाना गरेर, विस्थापन गराउने यी खटिखाने जनता विरोधी विकासलाई हामीले सामूहिक विकास भनेर मानिलिने? विकास गरिबको पेट काटेर हुन सक्दैन। विकास भनेको समाजको हरेक तप्काको सामूहिक विकास हुन पर्दछ। विशेष गरी समाजमा तल्लो स्तरमा अवहेलित भएका श्रमजीवी जनताको विकास हुनु नै समाजको प्रगति मानिने गर्दछ। हुने खानेको ठूलठूला बिल्डिङका मालिकलाई पूर्ण स्वीकृति अनि अर्को तर्फ सडकको एक कुनामा दोकान थाप्ने यी निमुखा, असहाय जमातलाई पूर्ण रूपले अवहेलना गरिने यो विकासको मोडेलले समाजमा समानता त परै जाओस्, बरू बढ्दो शोषणपूर्ण परिवेशको निर्माण गर्दछ। 

सुन्दरीकरणको नाममा जे पाए त्यै?

जी 20 को यो देखावटी ड्रामाको निम्ति मतिगडाको फोहोर फ्याल्ने ठाउँ देखि लिएर खरसाङ स्थित धोबी खोला हुँदै सोनादा छेउ डम्पिङ ग्राउन्ड अनि अरू यस्तै थुप्रै फोहोर फ्यालिने ठाउँहरू सबै हरियो जाली अनि फ्लेक्सले छोपिने काम भयो। दिनको हाजिरा 232 रुपियाँ पाउने कमाने श्रमिकको भूमिमा ठुल्ठुला रिसोर्ट अनि होटेलमा भ्रमण गर्न आएका जी-20 का प्रतिनिधिहरूलाई दार्जिलिङको झुटो अनि कृत्रिम धारणा पस्किने काम भयो। आम मानिसको गोजीबाट ट्याक्सका नाममा उठाइएको करोडौँ रुपियाँ खर्च गरेर, प्यासेन्जर गाडीहरू घण्टा घण्टा जाम गरेर, स्कुलहरू छुट्टी दिएर विकासको पाठ पढाउने काम भयो। पहाडको सुन्दरीकरणको नाममा पहाडको समस्यालाई छोप्दै, पहाडको जनतालाई टोपी ओढाउने काम भयो। पहाडको पुरानो गरिमा फर्काउने आश्वासन गर्दै पहाडका समस्या अनि सङ्कटलाई लुकाउने काम भयो। जे भयो, त्यो उग्र रूपमा टोपल्ने कार्य मात्र भयो।

जी-20 को मुख्य उद्देश्य नै दिगो विकास (sustainable development) अनि पुँजीवादको आन्तरिक सङ्कटलाई नियन्त्रणमा ल्याउनु हो। दार्जिलिङमा मुख्य रूपमा जी- 20 को मिट गर्नुको मुख्य उद्देश्य नै टुरिजमलाई अझै विकास गर्नु थियो। तर यहाँ विकास अनि टुरिजमको नाममा सुन्दरीकरणको बहाना गर्दै श्रमजीवी मानिसको जल्दो बल्दो मुद्दा अनि सङ्घर्षलाई लुकाएर, व्यवस्थाको खोक्रोपनलाई ढाक्ने काम भइरहेको छ। यसबाट पूर्ण रूपमा हामीले यस पुँजीवादी व्यवस्थापन अनि त्यसलाई चलाउने राजनैतिक ब्रोकरहरूको अयोग्य चरित्रलाई बुझ्न सक्छौँ। महोदय, समस्याको समाधान समस्यालाई लुकाएर होइन त्यसलाई प्रत्यक्ष रूपमा अझै संसार सामु उदाङ्गो परेर मात्र सुरु हुन सक्छ। निमुखा जनताको राजनैतिक, सामाजिक अनि आर्थिक सशक्तीकरण अनि चेतनाको विकासको क्रमलाई धमिलो बनाउने यो खोक्रो सुधारवादी राजनीतिले समाजको बहुसङ्ख्यक जमातलाई सधैँ नै अँध्यारोमा राखीरहने काम गर्दछ।

अब त्यसो भए समाधान के ?

यी हकरहरूले ती ठुलठुला बिल्डिङ अनि मालिकहरूले जस्तो जग्गा जमिनको माग गरेका छैनन्। यिनीहरूले केवल न्यायको निम्ति लडाईँ गरीरहेका छन्। यिनीहरूको कुरा क्लियर छ। घरी-घरी यसरी खेलौना झैँ व्यवहार गरिने यो प्रवृत्तिको विरोध गरी रहेका छन् यी 106 जना हकरका जमात। एउटा स्थायी पुनर्स्थापनाको मागमा एक भएर यी हकरहरू आन्दोलनरत छन्। स्थायी पुनर्स्थापनाको नाममा व्यवसाय नचल्ने ठाउँ दिए नमान्ने साथै माल रोडको न्यु महाकाल मार्केट नै प्राथमिक चयन भएको दाबी गरिरहेका छन् यी सङ्घर्षरत हकरहरू। दार्जिलिङ न्यायपालिकासँग बारम्बार मीटिङ भइरहेको तर ठोस कुनै समाधान ननिस्किएको स्थिति रहेको छ उनीहरूको। अर्को तर्फ माल रोडमा पनि रूखहरू काटिने काम भइरहेको छ। हरियो जालीले छोप्ने काम भइरहेको छ। सुन्दरीकरणको नाममा विस्थापन गर्ने अनि त्यस पछि रूख काटेर प्राकृतिक विनाश गर्ने विकासको मोडेललाई हामीले राम्ररी चिन्न अनि यसको खोक्रो नीतिलाई समाज सामु उदाङ्गो पार्न जरुरी भइसकेको छ। 

बस् समस्याको समाधान हुन्छ त, निरन्तर अनि सामूहिक एकताले मात्र हुन्छ। समाजको प्रगतिशील जमातले यस समस्याको गहिरोपनलाई बुझेर यी निमुखा अनि असहाय हकरहरूलाई ऐक्यबद्धता अनि साथ दिन जरुरी छ। 

जे होस्! भुइँमान्छेहरू भुईँमा नै बसेर विरोध प्रदर्शन गरी रहेका छन्। के तिनै भुइँमान्छेका भोटले न्यायपालिका गठन गरेर तिनै ‘जनताका सेवकहरूले’ भुइँमान्छेका आकाङ्क्षा अनि अधिकारलाई मार्ने कार्य गर्नु नैतिक रूपमा कतिको उचित हो?
ती जनताका प्रतिनिधिले आफ्नो नैतिक जिम्मेवारीबारे विचार गर्लान् त? अहिलेलाई यो नै असली अग्निपरीक्षा हो।

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...