Saturday, April 1, 2023

चार दसकपछि प्रकाशित भयो -- ‘क्रान्तियोद्धा’

शमीक चक्रवर्ती


कथाजस्तै यो कहानी नसुनाएर बस्न सकिन।

गत वर्षको अक्टोबरमा विमल लामाको बाङ्ला उपन्यास ‘नुन चा’लाई नेपालीमा मैले अनुवाद गरिसकेपछि त्यो ‘नुनको चिया’ लाली गुराँस प्रकाशनबाट प्रकाशित भयो। पुस्तक लोकार्पण कार्यक्रमको श्रृङ्खलामा थियो नेपाली साहित्यको एउटा धरोहर भनेर चिनिने डुवर्सको बाग्राकोट चिया बगान पनि। त्यो दिन भव्य समारोहको आयोजना गरिएको थियो। क्षेत्रका धेरै अग्रज र विद्वान व्यक्तिहरूको उपस्थिति रहेको थियो त्यस कार्यक्रममा। त्यही कार्यक्रमका आयोजकहरूमध्ये एकजना थियो नारायण भाइ। केही पछि सिलगढीमा ऊसँग भेट भयो मेरो। नेपाली स्नातकोत्तर अध्ययनरत हाम्रा कमरेड नारायणको घर बाग्राकोटमै हो। पछिल्लो त्यो कार्यक्रम सकिएपछि साँझ गाउँका अवकाशप्राप्त शिक्षक गङ्गाप्रसाद प्रधानले उनलाई केही भन्न बोलाएका थिए। के भन्न? त्यही कुरा भन्नलाई नारायणले गोजीबाट एउटा चिट्ठा निकाल्यो, र “गङ्गा सरले एउटा पुस्तक अनुवाद गर्नुभएको छ, हामीले त्यसलाई प्रकाशन गर्छौँ कि भनेर सोधिरहेका थिएँ। मूल पुस्तकको नाम... पर्ख भन्दैछु... हाउ दा स्टील... वज टेम्पर्ड अरे...!” उसले भन्यो। 

नेपालीमा कविता-निबन्ध लेख्ने सिद्धहस्त नारायण नेपाली साहित्यको राम्रो अध्येता भए तापनि अङ्ग्रेजी भाषा र साहित्यको धेर ज्ञान ऊसँग नभएकोले यो किताबको नाम उसको लागि अपरिचित थियो। तर त्यतिञ्जेल म त जुरुक्क उठेर खडा भएसकेको थिएँ। 

पाभेल... स्वयं पाभेल कोर्चागीन टुप्लुक्कै देखा पऱ्यो मेरो दिमागभित्र, साथमा छ तोन्या, शान्त पोखरीमा माछा मार्न बसेकी छ। रूसी क्रान्तिमाथि आधारित अजम्बरी उपन्यासका पात्रपात्राहरूले स्वात्तै फर्काइदिए हाम्रो किशोरावस्थामा झलझली। 

घोडचडी पार्टिजानहरूले घोडाको खुर बजार्दै दौडिरहका छन्... लालसेनाहरू मजदुर-किसानको मुक्तिका सन्देशसित पार गरिरहेका छन् एकपछि एक जनपद... 

निकोलाइ अस्त्रोभस्किको उपन्यास हो-- बङ्गला अनुवादको नाम हो ‘इस्पात’, जुन पढेर हामी हुर्केका हौँ।

म उत्तेजनाले दङ्ग परेँ, “के भन्दैछौँ? इस्पात अनुवाद गर्नुभो गङ्गा सरले?”

“हो, तर अहिले होइनँ। सत्तरीको दशकमै गर्नुभाको थियो अरे! त्यतिकै फाइलमा थन्काइ राखिएको थियो। जसलाई पढ्न आवश्यकता थियो उसले हस्तलिखित पाण्डुलिपि नै लिएर जान्थे रे। एउटै पाण्डुलिपि हात-हातमा घुमेको थियो।”

घोडचडी पार्टीजानहरूको हुललाई जति परावास्तव भनेर लाग्दैथ्यो, यो घटना पनि त्यति नै अनौठो लाग्यो। म भन्दै गएँ, “तिमीलाई थाहा छ! इस्पात भन्ने किताबले हाम्रो लागि के अर्थ राख्छ! तिमीलाई थाहा छ! हाम्रो अघि-पछिका पुस्ताहरूका कतिजनाको नाम पाभेल थियो...!” 

यस पुस्तकको महत्व बुझाउन हजारौँ किसिमको कोसिस गर्दै छु म। तर नारायणले सायद बुझेनन्, यति मात्रै बुझे होला कि केही न केही ठूलो कुरा पक्कै छ यसभित्र। र म भने सोच्दैछु, त्यस्ताकका सोभियत सङ्घबाट आउने मोटो सेतो पन्नाको मिशा वा सोभियत देश पत्रिका वा इश्कुल कि त इस्पात जस्ता उपन्यासको फ्ल्यासब्याक, जुन जनसमुदायको कलेक्टिभ मेमोरीमा छैन, त्यसको अबको पुस्ताले यो पुस्तकलाई लिएर कति उत्तेजित हुन्छ र!

नारायण भनिरहेको छ, ‘पन्नाहरू पुरानो भइसकेको थियो, अब फेरी फेयर गरेर लेख्दै हुनुहुन्छ सरले, अलिकति सम्पादन पनि गर्नुहुँदैछ रे। प्रथम खण्ड फाइनल भइसक्यो, दोस्रो खण्डको केही पन्ना बाँकी छ। जाउँ न! एक दिन हामी सबैजना सरलाई गएर भेटौँ।”

अर्को हप्ता, बाग्राकोटमा हाम्रो जनस्वास्थ्य क्लिनिकको दिन। साँझपख हामी गङ्गा सरकोमा गयौँ। नारायणसँग म र छेवाङ। सरले पानी–चिया–बिस्कुटसँगै त्यो फाइल पनि ल्याइदिनुभयो। चियाको चुस्की लिँदै छेवाङ कथामा हराएको देखियो। 

मलाई सम्झना आउन थाल्यो पुस्तकको प्रथम दृश्य, “केकमा खरानी कसले मिसाएको छ?- फादरको प्रश्नले कक्षाकोठामा केटाहरूको हुल आत्तिरहेको छ। केही बेरपछि, छेवाङले आफ्नो अनुहार उठायो, “दाम्मी छ अनुवाद, मलाई त यो अनुवाद पढेको जस्तै लागेन।”

अब चाहिँ पाण्डुलिपि मेरो हात पऱ्यो। सफा र सुन्दर हस्ताक्षर, पाभेलहरूको यो कहानी पढ्ने उमेरमा जस्तो हस्ताक्षरलाई आदर्श मानिन्थ्यो, ठिक त्यस्तै हो। बाङ्ला हस्ताक्षर मेरो राम्रै थियो, तर आजकल कम्ती नै लेख्छु, र हातले त झनै कम। नेपाली लेख्नु त मैले टाइपिङबाटै सिकेको हुँ, र मेरो हस्ताक्षर बिल्कुलै राम्रो छैन। केही क्षणका लागि आफ्नो सुन्दर हस्तलेखन गुमाएकोमा अलिक दुखी महसुस गरिसकेर मैले सरको फाइलपट्टि ध्यान फर्काएँ। आफ्नो गोजीबाट मेरो फोन निकालेँ र गुगल लेन्स एप निकालेर ओसीआर गर्नेसाथ निक्लेर आयो सपाट टेक्स्ट, जसको लगभग 95 प्रतिशत नै सठिक देखियो। 

त्यसपछि, त्यही दिन गङ्गा सरले आफ्ना बहुमूल्य सिर्जनाको तयारीबारे खुलासा गरे। उनले विश्व साहित्य र भारतीय भाषाका चुनिन्दा कथाहरू पनि अनुवाद गर्दै आएका छन्। उनले चुपचाप काम गरेका छन्, अथक रूपमा। यस्ता व्यक्तिसामु नतमस्तक हुन मन लाग्छ।

हामीले यो पुस्तक प्रकाशन गर्ने निर्णय गरिसकेकै थियौँ। अरुहरू पनि गर्नेछौँ। लाली गुराँसको 10औँ वर्षगाँठ मनाउँदै गर्दा यो पुस्तक, एन फ्र्याङ्कको डायरीसँगै विमोचन गरिने छ... यो भन्दा राम्रो के हुन सक्छ र?

लामो छलफलपछि नेपाली संस्करणको नाम ‘क्रान्तियोद्धा’ राखियो। पुस्तक समयमै प्रकाशित भयो। सायद पहिलो दिनको मेरो विस्मित हुने कुरालाई सम्झनामा राख्दै कार्यक्रमका सञ्चालक नारायणले पुस्तक परिचय गराउन फेरि मलाई नै बोलाए। मैले वक्तव्यमा मेरो कुरा राखेँ, तर अनुवादकको भनाइले फेरि अचम्ममा परेको छु- बहुप्रतिभाशाली गङ्गाप्रसाद प्रधानले आफ्ना विद्यालय-शिक्षकको नयाँ जीवन सुरु गर्दा जुन किताब अनुवाद गरेका थिए, आज शैक्षिक पेशाबाट अवकाशपछि मात्रै त्यो किताब प्रकाशनमा आउँदैछ। 

कस्तो आश्चर्यको कुरा! त्यसपछि हाम्रा साथी रबिनले बोले। रबिन खवास। डुवर्स नेपाली साहित्य विकास समितिको प्रमुख सङ्गठक मध्ये एक हुन्। उनी निकै भावुक भए। जुन पुस्तकको हस्तलिखित पाण्डुलिपि पढेर ऊ र उनका साथीहरूले एक हलचलपूर्ण युवावस्था बिताए। आज 44 वर्षपछि त्यो पुस्तक प्रकाशित भएकाले उनलाई धेरै हर्षित देखिएको थियो। 

हर्षित हामी पनि छौँ। यत्रो लामो समयसम्म स्तब्ध भइरहेको किताब अब अन्तमा पाठकका हात-हातमा पुग्नेछ भनेर!

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...