Saturday, April 1, 2023

ड्रग्स, आत्महत्या, बेरोजगारी, दिशाहीन युवा -- सिक्किम भर्जन : ए केस स्टडी

अनुदीप शर्मा




भारतका उत्तरपूर्वी क्षेत्रका उही सात दिदीबहिनी राज्यहरूको 1975 मा जन्मिएको वा भनौ गोद लिईएको एक मात्र भाई, भारतको सर्वोच्च शिखर कञ्चनजङ्घाको काखमा अटल र अडिक उभिएको सिक्किम राज्यलाई संसारको सबैभन्दा शान्त र सबैभन्दा सुन्दर भाग मानिन्छ। भारतीय सङ्घीय गणतन्त्रमा जोडिएपछि उत्कृष्ट प्रगतिको बाटोमा लागी परेको स-साना जनजातिले निर्मित सिक्किमेली समाजलाई गोल्डन स्टेटकाे रूपमा प्रायः चिनिन्छ।

7046 वर्ग किलोमिटरमा फैलिएको भारतको 22 औं गणराज्य, मात्र 6,71,730 जनसंख्याको साथ प्रति व्यक्ति आयको आधारमा दोस्रो सबैभन्दा धनी राज्य हो। कुनै समयमा यसको साक्षरता दर भारतको सातौँ उच्च थियो। 2008 मा यसलाई भारतको पहिलो खुला दिसामुक्त राज्य घोषणा गरिएको हो। 2016 मा यो देशको पहिलो र एकमात्र जैविक राज्य बन्यो र यसले महिलाहरूको लागि उत्तम काम गर्ने परिवेश भएका राज्यहरूमा पनि राष्ट्रव्यापी सर्वेक्षणमा शीर्ष स्थान पायो।

डोकोभरी यति धेरै उपलब्धिहरू बोकी छाती फुकाएर उभिएको सिक्किमलाई बाहिरबाट हेर्ने आँखालाई यहाँको समाजको वैभव र समृद्धिले आश्चर्यचकित बनाउँछ तर यो सुन्दर राज्यको गर्भमा पनि गहिरो कथाहरू र फिल्टर नगरिएका तथ्यहरू छन्। यस्ता कथा जसले हामीलाई प्रगतिको अचम्मको गति र सिक्किमका आदिवासी युवाहरूमा परेका विभिन्न प्रभावहरूका बारेमा फेरि सोच्न बाध्य पार्दछ। कोहीबेला मनमा प्रश्न उब्जिन्छ, “यस्तै विकासको होडबाजी र अचानक उठी आएको प्रतिस्पर्धाले पाे राज्यको विनाशकारी लागूपदार्थ दुरुपयोग वृद्धि दर र आत्महत्या वृद्धि दरलाई निम्त्याएको त होइन?” यो लेखले सिक्किम राज्यको यही पक्ष वरिपरीका कुरा बुन्ने प्रयास गरेको छ। यसको ध्येय विचार र चिन्तन गर्नका निमित्त परिवेश निर्माण गर्नु हो। 

सिक्किमको अहिलेको परिस्थिति विचारणीय कसरी बन्छ, बुझ्न खोजौँ। वैज्ञानिक आधार लिएर सग्लो तथ्याङ्कमा कुरा राख्दा सबै उपलब्धिहरू र चौतर्फी विकासका बावजुद सिक्किममा आत्महत्या दर 42.5 % [2020 DATA] हृदयविदारक छ, जबकी विश्वव्यापी औसत 10.02 % छ जुन तुलनात्मक रुपमा निम्न हो। राज्यको बेरोजगारी दर 20.71% [2023 DATA] छ जुन राष्ट्रिय औसत 7.45% [2023 ANNUAL DATA] भन्दा झन्डै तीन गुणा बढी हो। यसमा थप कुरा - राज्यले हालको समयमा अझ धेरै लागुऔषध दुरुपयोग रिपोर्ट गर्दछ। लागु पदार्थादिको प्रयोग यति सामान्यीकरण भएको छ कि सिक्किमका जनताले अब यसलाई समाजको एक अङ्गका रूपमा ग्रहण गरेका छन् र लागुऔषध दुव्र्यसनका समाचारहरू प्रायः आउने र हराईजाने खबर बनेको छ। राज्यवासीले यसलाई समाजको एउटा नयाँ वर्गको रूपमा ग्रहण गरेका छन् जुन विशाल ब्ल्याक होलजस्तै दिनप्रतिदिन बढ्दै र विस्तारित हुँदै गएको छ र राज्यलाई भित्रबाट खोक्रो बनाउँदै, मयेल ल्याङ (Mayel lyang - historic lepcha name for Sikkim) राज्यको सम्पूर्ण मानव संसाधन खाइरहेछ। 

यहाँ एउटा प्रसङ्ग जोड्दा सिक्किमको परिस्थिति प्रष्टसँग बुझ्न सकिन्छ। यो वार्ता उही नशामा हिलिएको गोरेटोहरूमा हामी हिँड्दै गरेका दिदी भाइको गफ हो।
उमा दिदी भन्दै थिईन्, “जब म 6 वर्षसम्म ‘प्रिस्क्रिप्शन ड्रग्स’ दुरूपयोग गरेपछि, 2005 मा पुनर्वासमा वा रीहाब गएँ, त्यहाँ मेरा उमेरका अन्य चार केटीहरू थिए। तर आज म एक्लो छु र निको भएकी छु वा भनौँ बाँचेकी छु। तिनीहरूमध्ये दुईजना बेपत्ता भए र तिनीहरूका परिवारले कहिल्यै सोधपुछ गरेनन्। एकजनाको त शायदै तस्करी भएको हुनसक्छ, र अर्कोले यौन उत्पीडन र लाजमा परेपछि आफ्नो विवेक गुमाइन्। म भाग्यमानी थिएँ। मसँग राम्रो सल्लाहकर थिए जसले मसँग नियमित रूपमा सम्पर्क राख्थे, काउन्सिलिङ दिन्थे र मैले हार मान्नु हुँदैन भन्ने भावना उनले सधैँ जागृत गरिरहन्थे।

सिक्किममा तीनवटा पुनर्स्थापना केन्द्रहरू (रिहाब सेन्टर) छन् जसले महिलाहरूलाई स्वीकार गर्छन्, तर धेरै महिलाहरू जसलाई पति वा परिवारले केन्द्रहरूमा छोडिदिन्छन् उनीहरूलाई परिवारले कहिल्यै फिर्ता लिँदैनन् र उनीहरू लागूपदार्थमा फर्किन्छन्।” दिदीले अन्तिम वाक्य भनिसक्नुभयो। गम्भीर भएर हो वा होइन, उनको अनुहारको भाव मैले पढ्न सकिन.... 

यस्ता अनेक घटना हुन्छन्, अनेक मानिस मर्दै बाँच्दै अघि बढ्छन् तर यसको डाटा अर्थात् यसको लालपुर्जा भने त्यति पाइँदैन। समस्याको जरो समाउन बाधा गर्ने यो पनि एउटा कारक तत्व हो। यस्तै कुराकानीमा गान्तोकका एक सामाजिक कार्यकर्ताले डाटाको अभावको विषयलाई स्वीकार गर्दै बताउँछन् - “यसै क्षेत्रका सामाजिक कार्यकर्ता हुनाले के भन्न सक्छु भने सिक्किमका 10 किशोर किशोरीहरूमध्ये कम्तीमा 7 जनाले लागू पदार्थ सेवन र औषधी दुरुपयोग गर्छन्।”

ड्रग्स, आत्महत्या, बेरोजगारी, दिशाहीन युवा

• आत्महत्या गर्ने लगभग 27% सिक्किमे बेरोजगार भएको जानकारी हामीले प्राप्त गर्दा हाम्रो मनमा एउटा प्रश्न छ! के लागूपदार्थको प्रयोग र बेरोजगारी आपस्थमा सम्बन्धित छ? किनभने यी परिस्थिति र यी दर छ्याङ्गै आपसमा आश्रित देखिन्छन्। सिक्किममा बेरोजगारी र आत्महत्याबीचको सम्बन्ध यस हदसम्म बलियो देखिन्छ कि 2014 मा सिक्किममा आत्महत्या गर्नेहरूमध्ये 27 % भन्दा बढी (244 आत्महत्याहरू मध्ये 67) बेरोजगार थिए। (2014 राष्ट्रिय अपराध रेकर्ड ब्यूरोको तथ्याङ्क अनुसार) 

• अर्को तथ्य :  आत्महत्या गर्नेको उमेर समूह 21 देखि 30 वर्षसम्मको देखिन्छ, जुन आयु दर राज्य गाभिएपछि जन्मिएका व्यक्तिहरूको हो।

यसले कतिपय क्षेत्रीय समूहहरूलाई के पुर्वाग्रहपटि औँल्याएको छ भने-- “सन् 1975 मा भारतसँग राज्यको विलय भएपछि जन्मिएका मानिसहरूका उच्च अपेक्षा र कमजोरीहरूले उनीहरू लागूपदार्थ र आत्महत्यातीर लागेका छन्।” यसलाई यस्तो Hypothesis परिकल्पना भित्र बुन्न सकिन्छ - “राजतन्त्रको विघटनपछि एउटा सानो राज्यको आर्थिक वृद्धिको तीव्र गतिले विकासको प्रक्रियामा राज्यले सामाजिक पक्षलाई बेवास्ता गरेकाले त्यहाँका जनतालाई अहिले आएर यही अवहेलना महँगो परेको छ। राज्यको तीव्र वृद्धिसँगै जनताको अपेक्षा बढ्दै गयो र ती अपेक्षा पूरा हुन नसकेपछि जनताले यथार्थ रूपी ढुङ्गे झटारोको प्रहारबाट जोगिने बाटो खोज्न थाले र लागुऔषध दुर्व्यसनीको शिकार बने।” तर यसरी मात्रै नहेरेर राष्ट्रव्यापी परिस्थितिलाई हेर्ने हो भने सबै ठाउँका जनमानस र त्यसमा पनि विशेषगरी युवाहरू लागुऔषध दुर्व्यसनीको शिकार भइरहेका छन् अनि राज्यलाई यसबारे पुर्ण अवगत हुँदा हुँदै पनि गान्धी जी-का तीनवटा बाँदरको भूमिका निर्वाह गर्नु सिवाय अरू केही गरेको देखीन्न। अनि यस्तो खुल्ला छुट पाएपछि केही तस्कर र व्यापारीहरूले यसमा नाफाको व्यापार मात्रै देखिरहेका छन्।

जहाँ सम्म हाम्रो बुझाई छ : युवाहरूमा, किशोरावस्थामा सुरु हुने पहिलो लागू पदार्थसँगको परिचय सस्ता औषधिबाट सुरु हुन्छ र पछि साना साना पाइलाले आत्महत्या गर्ने परिस्थिति निम्त्याउँछ। सिक्किमेली समाजमा लागुऔषध दुरुपयोगको जरा हो औषधि कारखानाको ठूलो मात्रा। हामीलाई के थाहा छ भने भारत विश्वमा औषधि उत्पादन गर्ने तेस्रो ठूलो देश हो, यो मान्नमा केही अनर्थ न होला की यही उत्पादनमध्ये केही उत्पाद लागूपदार्थ दुरुपयोगका लागि बजार भरी घुमी रहन्छन्। यसबेला जोरथाङको मझिटार क्षेत्रको तुलनामा रम्फु नजिक नामथाङ क्षेत्र लागुपदार्थ आकर्षणको क्षेत्र जस्तो देखिन्छ। सोचनीय बिषय के हो भने, अहिले लागुऔषध ग्रामीण क्षेत्रमा छ्याप्छ्याप्ती पुगेको छ। सिक्किमको सन्दर्भमा “खोला तर्नु र सस्तो दाममा सस्ता नशा प्राप्त गर्नु यहाँका दमित, मानसिक रूपमा उत्पीडित मानिसहरूका लागि उत्तम उपाय बन्यो।” सिक्किममा लागूपदार्थको दुरुपयोग मात्रा अत्यधिक बढेको छ तर सिक्किमको ठूलो समस्या यो हो कि सरकारले प्रशासनिक र बजेट स्तरमा राज्यको लागूपदार्थको समस्यालाई पूर्ण रूपमा बेवास्ता गरेको छ। यसका साथै सरकारले संयन्त्रमार्फत सीमा जाँचलाई कडाइ गर्ने समस्या बुझ्न सकेको छैन या त बुझेर पनि बुझ पचाएको छ, त्यो अनुमान गर्न सकिने कुरा हो। 2018 - 20 को कुरा हो, सीमानाको छेउको वाकवेको ओहोर दोहोरमा र चेकजाँचमा कहिल्यै गम्भीर नरहेकाे भनी सरकारमाथि ठूलो प्रश्न उठेको थियो। यसका साथै सरकार राज्यको आफ्नै एसएनटीलाई नि: शुल्क पास किन दिन्छ? भन्ने पनि ठूलो प्रश्न छ। ड्रग कार्टेल बस्टिङ भनेको आइसबर्गको टुप्पो मात्र हो। वास्तविक बाटो त यो चेन भित्र पसेर थप दुरुपयोग रोक्न, र दुरुपयोगको नेतृत्व गर्ने कारकहरूलाई सीमित गर्ने हुन पर्ने हो। रू 40,000 तिरेर जमानतमा निस्किए पछिका गतिविधिको मापन गरिनु वास्तवमा ड्रग अल्कोहल माफियालाई ठम्याउने एउटा नयाँ दिशा हुन सक्छ।

यी उपर्युक्त त लागुपदार्थ भित्रिनेसम्मको मात्र कुरा हो। नशामा डुबीसकेका व्यक्तिहरूको जीवन समस्याको अर्को मूल पक्ष हो : लागू सेवन गर्ने व्यक्तिप्रतिको व्यवहार र सामाजिक न्याय - सामाजिक र नागरिक सुधारहरूमा सिक्किमको अन्यथा प्रगतिशील दृष्टिकोण लागूपदार्थको दुरुपयोगसँग सम्बन्धित छैन। सिक्किमे समाजले यस समस्यालाई विशुद्ध रूपमा कानून र व्यवस्थाको मुद्दाको रूपमा व्यवहार गर्दछ। हुन त सिक्किम लागूपदार्थ नीतिको मस्यौदा तयार गर्ने पहिलो राज्यहरू मध्ये एक थियो तर यसको अधिनियम, सिक्किम एन्टी ड्रग्स एक्ट (SADA), 2006 ले लागूपदार्थ प्रयोगकर्ता र व्यापारीहरू बीच कुनै भेदभाव गर्दैन। यसले लागूपदार्थको प्रयोगलाई अपराधीकरण गर्छ, साना अपराधका लागि दुर्व्यसनीकर्ताहरूलाई कैद गर्दछ र पुनर्स्थापना वा रिकभरीमा थोरै मद्दत प्रदान गर्दछ। राज्यको जनस्वास्थ्य प्रणाली पनि लागूऔषध प्रयोगकर्ताहरूले सामना गर्ने स्वास्थ्य समस्याप्रति उदासीन छ।
संयुक्त राष्ट्र संघको लागूऔषध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि जसको भारत एक हस्ताक्षरकर्ता हो, त्यसका अनुसार SADA कठोर छ र उपचारको आवश्यकता भएको लागूपदार्थ प्रयोगकर्ताहरूको स्वास्थ्य र मानव अधिकारलाई समर्थन गर्दैन। फिलिपिन्समा झैँ सिक्किममा पनि लागूऔषध प्रयोगकर्ताहरू वा कुलतमा बाध्यताले जीर्ण बनी फसेका व्यक्ति र तस्कर एवम् माफियाहरूलाई कानूनको समान खण्डहरू र समान घेरा अन्तर्गत मुद्दा चलाइन्छ। यो आफैमा कतीको युक्तिसङ्गत छ भनी सोच्न आवस्यक छ। 

तथ्यपूर्ण रूपमा सरकारी जानकारी लिन (HepCos) दायर गरेको राइट टू इन्फर्मेसन (R.T.I) मा राज्यको स्वास्थ्य सेवा विभागले बताए अनुसार -- यी नशाले ग्रस्त बनेर आफ्नो घरबार गुमाएका भुइँयाहरूको शिक्षा, उपचार, हेरचाह, पुनर्स्थापना र दुर्व्यसनीकर्ताहरूको सामाजिक पुन: एकीकरणका लागि कुनै सरकारी कोष छैन। तर SADA अन्तर्गत, यी कार्यक्रमहरू सञ्चालन हुननपर्ने हो। यस्तो काँचो प्रणालीका साना साना टोडकाबाट नै सामाजिक असामञ्जस्यता जन्मिन्छ।

वास्तवमा राज्यको र समाजको रवैयाले नै आजको दिनमा लागुऔषध दुर्व्यसनीलाई झन् झन् अन्धकारमा धकेलेको छ। प्रयोगकर्ताहरूलाई अपराधीकरण गरेर, सिक्किमले संवेदनशीलताका साथ मुद्दालाई सम्हाल्न असफल भएको छ। फलस्वरूप, यहाँ कुनै चेतना छैन र लागूपदार्थ प्रयोगकर्ताहरूलाई नीच मानेर भेदभाव गरिन्छ, किनारिकरण गरिन्छ। हामीले आफूलाई मन नपर्ने सबै कुरालाई अपराध बनाएका छौँ। त्यसैले आज ती कलिला जीवनलाई प्रायः समाज विरोधी घटना गर्न, यौन कार्य र आत्महत्या गर्न सडकतिर धकेल्छ। जानेका माध्यमले सकेसम्म जीवन धान्न खोज्छन् उनीहरू र अन्त्यमा मर्छन। सरकार सिक्किमलाई प्रदूषणमुक्त, रोगमुक्त राज्यको रूपमा चिनाउन चाहन्छ। तर के हामी सबैले निरन्तर संघर्ष गरिरहेको युवक-युवतीहरूसँग काम गर्ने प्रयास गरेका छौँ र ? यस महत र गम्भीर विषयमा अहिले नै ठोस पहल नगरे सिक्किमले आफ्नो भावी पुस्ता गुमाउनेछ।

अब उत्तरदायित्व सिक्किमे समाजका नागरिकहरूको काँधमा छ। आफ्ना प्रियजनहरूलाई लागुऔषध दुर्व्यसन र यातनापूर्ण आत्महत्याको चपेटामा परेको कसैले पनि हेर्न चाहँदैन। यदि हामी भविष्यको चिन्तक हौँ भने आजका युवा भोलिका समाज नायक हुन् भन्ने हामीले बुझ्नुपर्छ। यदि यस समाजका नागरिकहरूले लागुऔषध दुव्र्यसनमा परेका मानिसहरूलाई टाढा राख्छौँ भने यो धरोहर, यो राज्य, यो देश कुनैको भविष्य हुँदैन। केही अवशेष रहँदैन यो सभ्यताको किनभने यो नशाको रोगले व्यापक रूपमा ग्रस्त युवा त्यतिञ्जेलसम्म सधैँभरिका निम्ति ब्ल्याक होलमा धकेलिनेछन्।

राज्यले हरेक क्षेत्रमा हासिल गरेको उपलब्धिप्रति जनता, समाज र सरकार सबैलाई गर्व छ। तिनीहरूपटि पक्कै ध्यान हुनुपर्छ। तर, यदि कुनै भविष्य नै रहँदैन भने ती उपलब्धि के का लागि हो? हामीले लागूऔषध दुव्र्यसन र आत्महत्याका घटनाहरूको मनोविज्ञान बुझ्ने प्रयास गरेका छैनौँ। हामीले मानसिक र भावनात्मक रूपले अनि आर्थिक रूपले कमजोर जनताको खप्परलाई कहिल्यै हेरेका छैनौँ।
द्रुत विकासतर्फ दौडँदै र जीवनको अनुभव नभएका बेरोजगार युवाहरूबाट पनि त्यही गतिको माग गरेर समाज र सरकारबाट पछि पूरा गर्न नसक्ने अपेक्षा राखेर हामीले मरेका सपना र महत्वाकांक्षाका ठुलठुला खाडल बनाएका छौँ। मानिसहरूलाई जीवन प्रक्रिया बुझ्न नदिई हामीले पारम्पारिकता तर्फ धकेल्यौँ र उत्कृष्टताको लागि दबाब दियौँ, तर यसो हुँदा हामीले प्वालै प्वाल पारेका छौँ मानवको प्राकृतिक कलालाई। यी प्वाललाई कसरी ढाक्ने हो? 

एम.जी मार्केटमा घुमेर र राज्यलाई यसको पूर्ण चमक र सुनौलो भव्यतामा हेर्दा हामीलाई र दर्शकलाई हाम्रो विकसित राज्यका बारेमा धारणा बनाउन पर्याप्त साबित हुँदो हो। तर जागौँ! किनकि हामी कहिल्यै नहिँडेका बाटोहरूमा, अँध्यारा गल्छिडाहरूमा डुब्दै गरेको समाजको भविष्य लुकेको छ, जो कमजोर छ, नशायुक्त धुवाँमा उडिरहेको छ। यो हाम्रो भोलिको स्तम्भ हो जो गहिरो हुँदै जाँदै छ, विशाल विस्फोटसाथ धस्कन तयार छ।

1980 को दशकमा पंजाबमा झैँ शिक्षित समाजमा ठूलो बाढी आउन बाँकी छ। सिक्किमेली समाजसँग अझै पनि यसका प्रभावहरू संकीर्ण गर्ने समय र तरिकहरू छन्, तर दिन दिनै स्थिति नाजुक बन्दै छ। सुरक्षित भोलिको लागि सचेत बनौँ र जीवनभरिको ज्ञानको उपयोग गरौँ। मलाई उमा दिदीकै एउटा भनाई याद आयो-- “भाइ! Sikkim will lose its people if it doesn’t act now.” वास्तवमा सिक्किमेली जनताले आफ्नो चिन्हारीका निम्ति आज अथक सङ्घर्ष गरी रहँदा यही वाक्य घरी घरी दोहोरिन्छ, ‘कुबाटोमा हिँडेको आधा आकाश र आधा धर्तीको भार थाम्ने युवा र अधबैंसे जनसङ्ख्या नै मानसिक र बौद्धिक रूपले निमिट्यान्न भएपछि यो सबै के का लागी ? एक पाटोको ज्ञानामृत त यता पनि सीचौँ न। होइन र! 

No comments:

Post a Comment