Saturday, April 1, 2023

लाली गुराँसको दस वर्ष : चार चरणको प्रगति उत्सव

नारायण काफले



 पाहाड-तराइ-डुवर्स क्षेत्रभरि सक्रिय रहेको लाली गुराँसका दस वर्षगाँठ मनाउन विगत मार्च महिनाको प्रत्येक आइताबार चार चरणमा ‘प्रगति उत्सव’को आयोजना गरियो। महिनाव्यापी रूपमा सम्पन्न प्रगति उत्सव राजाभातखावादेखि सुरु भएर बाग्राकोट कालेबुङ हुँदै दार्जिलिङमा पुगेर सम्पन्न भएको थियो। विविध जनवादी सांस्कृतिक, साङ्गीतिक, साहित्यिक कार्यक्रमका भव्य प्रदर्शनीका साथ सम्पन्न ‘प्रगति उत्सव’मा प्रमुख रूपमा सडक नाटक, गीत, कविता र कलाका विविध प्रदर्शनी रहेका थिए।


पूर्वी डुवर्सको राजाभातखावामा सम्पन्न पहिलो चरणको कार्यक्रममा लालीगुराँस नाटक टोली, सिलगढीका उत्ताल नाट्य समूह, मुर्शिदावादबाट ब्रीहि नाट्य समूह र नेपाल झाँपाबाट आएका परिवर्तन थिएटर समूहहरूद्वारा सडक नाटकहरू प्रस्तुत गरिएको थियो। यो कार्यक्रम विशेष सडक नाटक महोत्सवकै रूपमा आयोजित थियो र साँझमा चर्चित गायक र हाम्रा शूभाकाङ्क्षी पुष्पण प्रधानका समाज सरोकारका गीतहरूले कार्यक्रमलाई अझ महत्वपूर्ण बनाएको थियो। यस कार्यक्रममा कवि गोष्ठी साथै स्थानीय अन्य कलाकारहरूले पनि आफ्नो साङ्गीतिक र सांस्कृतिक प्रस्तुति गरेका थिए। राजाभातखावा फरेस्ट भिलेज क्षेत्रका तमाम आम मानिसहरूले उत्साहका साथ यस उत्सवमा आफ्नो सहभागिता जनाएका थिए। 



दोस्रो चरणको कार्यक्रम बाग्राकोटमा रहेको थियो। विश्व साहित्यका चर्चित दुई पुस्तक नेपालीमा अनुदितरूपमा विमोचित भए। निकोलाई अस्त्रोभ्स्कीको How the steel was temperd-बाट गङ्गाप्रसाद प्रधानद्वारा नेपालीमा ‘क्रान्ति योद्धा’ र एन फ्र्याङ्कको Diary of a young girl बाट छेवाङ योञ्जनद्वारा नेपालीमा अनूदित ‘गोप्य कोठा’ पुस्तकका विमोचनमा प्रगतिशील साहित्यप्रेमी जमातको भव्य उपस्थिति रहेको थियो। यसै समारोहमा ‘समाज प्रगतिको पक्षमा लेखन’माथि प्यानल डिसकसन राखिएको थियो जसमा लेखक छुदेन काविमो, अनुवादकद्वय गङ्गाप्रसाद प्रधान र छेवाङ योञ्जन साथै शोधार्थी मायादेवी शर्मा रहेकी थिइन् र यस प्यानलमा नारायण काफ्लेले मध्यस्थता गरे। यसै कार्यक्रममा फूलबारी (लिस रिभर) चियाकमानका किशोरीहरूद्वारा बालविवाह विरूद्धको जनचेतनामूलक नाटक प्रदर्शनी भयो। यस कार्यक्रमको अर्को प्रमुख आकर्षण जनवादी साङ्गितिक साँझ रहेको थियो। अशोक राई स्कुल अफ म्युजिकका साङ्गीतिक टोली र चर्चित गायिकाद्वय ‘श्रीध्या सिस्टर्स’ साथै नीलमणि थापा, लालीगुराँस समूह, सार्थक-सप्तक-ईशान, विशेष दाहाल, लीलादेवी शर्मा, लोकगायक गोकुलसिंह थापाहरूको जनवादी गीत लहर जमेको थियो।



तेस्रो चरणको कार्यक्रम कालेबुङमा फिल्म फेस्टिभलमा रहेको थियो। 19 मार्चको दिन झरीको प्रकोप भएपनि धेरैजना दर्शकहरूको उपस्थितिमा सम्पन्न भयो फिल्म स्क्रिनिङ अनि त्यसमाथि चर्चाको कार्यक्रम। कालेबुङका केही फिल्ममेकरहरू र यसबारे चासो राख्ने महानुभवहरू, युवा-विद्यार्थी-सांस्कृतिक कर्मी-पत्रकारहरूको यसमा जमघट थियो। आञ्चलिक, राष्ट्रिय स्तरका र नेपालबाट चुनिएका समाज-सरोकारका वृत्तचित्र अनि सर्टफिल्महरू थिए-- सङ अफ मार्गरेटस् होप, छोरी, कुलैनबारीका कुराहरू, द साउन्ड अफ एङ्गर, माचिसको सिङ्का, भोइसेस् अफ टिस्टा, स्टोरी अफ दार्जिलिङ (असित राइ), रित्तो गाउँ, गाँव छोडब नही, जब तक रात बाकी है, द रियलिस्टस् आदि।



चौथो र अन्तिम चरण दार्जिलिङमा गएर सम्पन्न भयो। लालीगुराँस समूहको जनवादी साङ्गीतिक प्रस्तुतिबाट सुरु भएको कार्यक्रममा कविता, गीत, वक्तव्य, फोटो एक्जिबिसन, नृत्य आदि प्रदर्शित भए। जनवादी गायिका मौसुमी भौमिक, लोकगायक गोकुलसिंह थापा, आर्क व्याण्ड, प्रोजेक्ट ब्ल्याक ब्याण्ड, र्‍यापर अभिनन्दन बर्देवा आदिका जनवादी गीत प्रस्तुत भए‌। नेपालका चर्चित कवियत्री उज्ज्वला महर्जन, योगिता राई, कवि मिलन थुलुङ, प्रितम मैनाली आदिका कविता वाचन साथै प्रतिकारका निम्ति कला विषयमा फोटो प्रदर्शनी भयो। युवा गायक प्रज्ज्वल गजमेरको ‘तिम्रो आवाज’-म्यूजिक भिडियोको विमोचन भयो। विद्यार्थी-युवाहरूको अवस्था र समाजप्रति उनीहरूको भूमिका विषयमा धोत्रे चियाबगानका युवा कर्मी आशिष लामा, सिक्किम प्रोग्रेसिभ युथ फोरमका कार्यकर्ता रूपेन कार्की र लालीगुराँस समूहका एक्टिभिष्ट सुमेन्द्र तामाङद्वारा महत्वपूर्ण भाषण सम्प्रेषित भयो। 

महिनाव्यापी ‘प्रगति उत्सव’-को भव्य सफलतापछि लालीगुराँस समूह अहिले नयाँ ऊर्जा र उत्साहका साथ भावी कार्यका निम्ति प्रतिबद्ध बन्दै अघि बढीरहेको छ। केही प्रगतिशील सचेत विद्यार्थी युवाहरूको सक्रियतामा सुरू भएको समूहको यात्राले एक दशक लामो बाटो छिचोलिसकेको छ। यस यात्रामा समूहले तमाम अनुभव कमाएको छ। तमाम सामाजिक सरोकारका विषयमा सहभागिता दिएको छ। आफ्नो सामर्थ्य अनुरूप समाजमा वैचारिक बहस र सकारात्मक सामाजिक क्रियाकलापको माहौल सिर्जना गर्न भरपूर प्रयास गर्दै आइरहेको छ‌। यो क्रमलाई निरन्तरता दिने प्रतिबद्धताका साथ हामी समुहका तमाम सहयोगकर्ताहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।

No comments:

Post a Comment