फर्किएपछि उनले रेडियो पाकिस्तानका निर्देशकबाट टेलिग्राम पाए-- ‘खान साहब एक पटक रेडियो स्टेसनमा आउनुहोस्’। खान साहब गए। सुगन्धित चिया र मुखभरी जर्दापान हालेपछि रेडियो निर्देशकले बोल्न थाले, ‘एउटा सानो बिन्ती छ उस्तादजी, गीतको मुखरा चैँ अलिकति छोडिदिँदा हुन्थ्यो...’ खान साहबले बुझेनन्। अब खोलेर व्याख्या गर्दै रेकर्डिङबाट बजाइयो आकाश बतास उदास बनाउने उनको ठुमरी गीतको पहिलो पङ्क्ति “याद पिया कि आए, हाय राम!” यी दुईवटा शब्द ‘हाय राम’ काटिदिनुस् उस्तादजी, यी दुई शब्द छाड्दा तपाईँको असीम मीठो गीतलाई केही फरक पर्दैन!
“तपाईँहरूले ‘राम’लाई छाड्नुस्, म बरू तपाईँहरूलाई छाड्छु।” कराँची रेडियो स्टेशनमा सिंह जस्तै गर्जे खान साहब! त्यसको भोलिपल्टै उनले स्वतन्त्र भारतका प्रथम राष्ट्रपति राजेन्द्र प्रसादलाई पत्र लेखे-- “हृदयनिचोर्ने प्रेम, पर्खाइ र पीडाले बनेको गीतलाई बचाउन म धर्मनिरपेक्ष भारतको नागरिक बन्न चाहन्छु।” त्यसको ठिक दुइ हप्ता पछि उस्ताद बडे गुलाम अलि खान साहबले आफ्नो जन्मभूमि पाकिस्तान छोडेर सधैँका लागि भारत हिँडे। हो, भारतको कलकतामा। यता सङ्गीतको संसारमा ठाउँ थिएन कट्टरवादको। उनलाई कहाँ थाहा थियो त्यही भारत बदलिँदै जान्छ भनेर?
हालैमा रामनवमीको होहल्ला हेर्दा अचम्मै लाग्यो। भक्ति हो? ईश्वर साधना हो? कि राजनैतिक चलखेल हो? कबीर, मीराबाई, सूरदासको सुमधुर संगीतलाई मारेर कुरूप भक्ति गीतहरूको जगजगी देखिँदैछ। व्हाटसएपदेखि बाटोघाटो भरिँदै जाँदैछ त्यस्ता गीतहरूले। हामीले त अझै पनि फैज खान साहबको ‘खेलतो नन्दकुमार’, बडे गुलाम अली खानको ‘हरि ओम’ र भीमसेन जोशीको मजा लिइरहेका छौँ। जबकि धर्मको नाममा नरसंहार गर्नेहरूले नानीहरूको दिमागमा विषाक्त गेरुवा धार्मिक कट्टरवाद भर्न खोज्दैछन्! राती पहिलो प्रहरको बेहाग, मध्यरातको दरबारी कानारा र मालकोश रागहरूलाई मार्न चाहनेहरूले कबीर, लालन, सूरदास जस्ता साम्प्रदायिक सद्भावका प्रवक्ताहरूलाई मौन बनाइदिन खोज्छन्। रामनवमीको जुलुसमा हिँड्ने र धार्मिक उन्मादमा लिप्त हुनेहरूमध्ये धेरजसो यिनै हुन्। जय सियारामको कोमलतालाई ‘जय श्रीराम’को हुङ्कारमा फेरिदिने यिनै हुन्।
तर उन्माद दीर्घस्थायी हुँदैन। सामाजिक सद्भावको दह्रो आधारमाथि बनिएको हो यस देशको समाज। विविधताको बेजोड रङ छ यस देशभित्र। संवेदनशीलताको पनि दीर्घ छ इतिहास। अन्तसम्म जीत त्यसकै हुनेछ।
(इन्टरनेट संगृहीत)
No comments:
Post a Comment