Saturday, April 1, 2023

छोटा रङ्गितको छेउछाउ -- आशंकाको धेरामा परेर अन्योलमा वासिन्दाहरू

सागर थापा


मानेभंज्याङ ओरालोबाट सुरु भएर छोटा रङ्गित उत्तरतिर जोरथाङतर्फ बग्छ। त्यसपछि बडा रङ्गितमा मिसेर पूर्वतिर बग्दै त्रिवेणीतिर टिस्टाखोलामा मिसिन्छ। यी जम्मै उपत्यकाभरी नै छ उदार प्रकृति, जसले मानिसलाई जीवन-जीविकाको आधारहरू दिएका छन्। र नै त बनिएका छन् जनपदहरू-- बजार अनि गाउँवस्तीहरू। बिजनबारी, पुलबजार, रेलिङ, चुङथुङ, जामुने लगायत विभिन्न ठाउँहरू त्यो छोटा रङ्गितको उपत्यकामा पर्छन्। यही जनपदहरूका इतिहास र जीवन-सङ्घर्षका बेजोड कथाहरू बोकेर बगिरहेछ छोटा रङ्गित। आज त्यो छोटा रङ्गित वरिपरि नयाँ सङ्घर्षको जन्म भइरहेको छ। वासिन्दाहरूले खोलालाई रक्षा गर्ने अठोट लिएका छन्।

खोला-नाला, वन जङ्गल, हावा-पानी प्राकृतिक धन हुन्। प्रकृति र मानवको सम्बन्ध मानव सभ्यताको सुरुवातदेखि नै अपरिहार्य छ। प्रकृतिको अङ्ग हो मानव। मानवलाई बाँच्नका निम्ति सम्पूर्ण रूपमा प्रकृतिको आड लिनुपर्छ। प्रकृतिका संसाधनको प्रयोगद्वारा नै मानव सभ्यता जीवित रहन सक्छ। तर मानव सभ्यताको द्रुत विकास र संसाधनहरूको सञ्चय गर्ने प्रवृत्ति सुरु भएदेखि प्रकृतिमाथि एकाधिकार हक जताउने र प्रकृतिलाई हानि पुर्याउने काम मात्रै भइरहेको छ। 20 औँ शताब्दीको सुरुवातदेखि स्मार्टफोनको अविष्कार भयो। यसको लागि विभिन्न टावरहरु बनिन थाले। चराचुरुङ्गीहरुलाई श्वास फेर्न गाह्रो भयो। टावरका रेडिएसनहरू यसका कारक थिए। रूखहरू असङ्ख्यौँ काटिन थाले र ठूला ठूला महल बनिन थाले। बन जङ्गल नै स्वाहा पार्दै मानव बस्ती बनिन थाले। प्राकृतिक धनलाई भरपुर प्रयोग गरेर धन्धा गर्ने केही तप्काका मानिसहरुले यहाँ अवसर देखे। त्सपछि वन जङ्गल र प्रकृतिको अतिरिक्त दोहन गर्दै व्यक्तिगत स्वार्थपूर्तिका लागि प्रकृतिलाई बिमारी बनाउने कार्य त निरन्तर नै छ। जसको प्रभाव स्वरूप जलवायु परिवर्तन जस्ता प्राणघातक समस्याहरूसँग आजको मानव सभ्यता र सम्पूर्ण पृथ्वी नै जुझिरहेको छ।

नाफाखोरहरू जहिल्यै आफ्नो प्रोफिटको चक्करमा हुन्छन्। नदीमा विद्धुतीय पावर प्लान्ट बनाएर पैसा छाप्ने सम्भावना प्रवल छ र यस्तो सुलभ अवसर देखेर हाइड्रोपावरहरू निर्माण गर्न थाले। टिस्टा खोलाको प्रोजेक्ट नै हेरौँ। राष्ट्रिय राजमार्ग 10 मा पर्छ National Hydroelectric Power Corporation (NHPC) का प्रोजेक्टहरू। राजमार्गको छेउछाउमा धेरै अघिदेखि बसी आएका रैथाने बासिन्दाहरूका लागि केही लोभ्याउने काम गरियो र यी ठाउँ छाडेर अन्य ठाउँमा जग्गा-जमिन दिन्छौँ, रोजगार दिनेछौँ-- आदि कुराहरू बताए र आफ्नो काम थाले। राष्ट्रिय राजमार्ग छेउछाउका बासिन्दाहरूले यस प्रोजेक्टको बिरोध गरेता पनि पब्लिक हिएरिङमा नै फेरबदल गरि NHPC-पावर हाउसको निर्माण भयो। अर्कोतिर, सेभोक-रम्फु रेल्वे प्रोजेक्टले कस्तो असर पार्नेछ, वा पारिरहेको छ, त्यसबारे अर्कै चर्चा पूर्णरूपले गर्नुपर्छ। अहिले राष्ट्रिय राजमार्गको हालत के कस्तो छ हामी अगाडि प्रत्यक्ष्य छ। टिस्टा बजार र 29 माइल बिचमा सडकको एक भाग त पानीले खोतलेर झर्न थालेको छ। यस्तै धेरै उदाहरण छन् बगरमा काम गर्नेहरू, रिवर राफ्टिङ गर्नेहरूको। उनीहरूलाई परिवारको जीविका धान्न गाह्रो परिरहेको छ। बगर नै बन्द भइसकेको छ। जुन परिवारहरूले बगरमाथि जीवन निर्भर गर्थे आज उनीहरूको जीवन के कस्तो छ? सरकारलाई खासै मतलब छैन। 

यस्तै घटना देखिँदैछ बिजनबारी-पुलबजार भेकतिर पनि। आजभन्दा 8 वर्षअघि 2015 मा छोटा रङ्गितमाथि बिजनबारीमा हाइड्रोपावर निर्माणका निम्ति काम चालु भएको थियो तर त्यसबखत स्थानीय बासिन्दाहरूले प्रतिरोध गरे र त्यस समयका लागि काम स्थगन गराईयो। त्यसको केहि सालपछि 2022 दिसेम्बरमा फेरि हाइड्रोपावरको कामका लागि उक्त विभागबाट परीक्षणमा लागे। अत: हाइड्रोपावर बनाउने कुरा स्थानीय मानिसहरुले दुई महिनापछि मात्र जानकारी पाए।

बिजनबारी भ्यालीमा बग्ने छोटा रङ्गित पहिल्यैबाट सुकिसकेको छ। यसमा पहिल्यैबाट 2 मेगावट-को हाइड्रोपावर निर्माण भइसकेको छ र खोला सुकेर नाली जस्तै भइसकेको छ। यसपालीको प्रोजेक्टमा 18 मेगावट-को हाइड्रोपावर बनाउने योजना छ। 18 MW-ले खोलोको गति के बनाउँला?




यस प्रोजेक्टले क-कसलाई प्रभावित बनाउँछ त?

छोटा रङ्गित बिजनबारी भेकको आकर्षणको केन्द्र हो। बिजनबारीमा अचेल टुरिज्म फस्टाउनका लागि पनि छोटा रङ्गितको योगदान महत्वपूर्ण छ। बिजनबारी-पुलबजार भ्यालीमा बग्दै गरेको छोटा रङ्गितको वारी चियाबगान छ भने पारी खेतीपाती गर्ने बस्ती छ। यी दुवैको सुन्दर मिश्रण ठाउँ हो बिजनबारी। यहाँका‌ केही परिवारहरूका लागि आयस्रोतको माध्यम नै टुरिजम हो। खोला नै सुकेपछि टुरिजम र मुख्य आकर्षणको हालत के हुनसक्छ? यस क्षेत्रका बासिन्दाहरूका निम्ति यो गम्भीर विषय हो।

खोलाका छेउछाउमा बसोबास गर्ने, खोलामाथि निर्भर हुनेहरू टुरिजममा मात्र छैनन्। धेरै परिवारहरू गिटी कुटेर, ढुङ्गा-बालुवा बोकेर आफ्ना जीविका चलाइरहेका छन्। खोला सुकेपछि न ढुङ्गा न बलुवा, जीविकाको आधार नै कसरी रह्यो? छोटा रङ्गितको वारी चियाबगान छ, र पारी खेतीपाती। खेतीपाती गर्ने किसानहरूले टमाटर, मकै, सिमी आदि उत्पादन गरेरै जीवन धान्छन्। खोला नै सुकेपछि खेतीमा पानी सिँचाई गर्न गाह्रो हुन्छ। पानीबिना खेती सप्रिने कुरो आउँदैन, किनकि नदीको पानी ट्याप लगाएर बारीमा पानी दिने गर्छन्। छोटा रङ्गितमा हाइड्रोपावर बनाएर खोला सुकेपछि खेतबारी पूरा बाँझो हुनेछन् अनि किसानहरू विचल्लीमा पर्ने निश्चित छ। हामीसमक्ष प्रत्यक्षरूपमा उदाहरणका लागि यस्ता धेरै हाइड्रोपावरहरू छन् जो कालान्तरमा गएर पर्यावरणका निम्ति र मानव सभ्यताका निम्ति हानिकारक प्रमाणित भएका छन्।

खोला-आधारित जीवन-जीविका उम्रिएका छन् भने संस्कार-संस्कृतिहरू पनि जन्मिए। खोला बगरमा धेरै धर्म-विश्वासका चाडहरू पालन गरिन्छन्। यस क्षेत्रका प्रायः खोलाहरू उत्तरदेखि दक्षिणतिर बग्ने गर्छन्, तर छोटा रङ्गित दक्षिणबाट उत्तरतिर बग्छ। यस ‘उत्तरबाहिनी’ खोलोमा विभिन्न धार्मिक कार्य हुन्छन् जस्तै पूजापाठ, माघे संक्रान्ति, सन्सारी पूजा, जङ्गलका देवीदेवताको पूजा। मरेका मान्छेहरूका देह पारम्परिक मान्यता अनुसार खोलामा नै जलाउने र अन्त्यष्टि कार्यपछि अस्तुहरु बगाउने संस्कारको पालन गरिन्छन्। छोटा रङ्गित उनीहरूका लागि स्वच्छ गङ्गा हो।

यी गम्भीर बिषयहरूमा सम्बन्धित विभागले कस्तो विचार राखेको छ? कुरा स्पष्ट छैन। यी तमाम कुराहरूको चिन्तन् मनन गरी सम्पूर्ण बासिन्दाहरू पानी सुकिने आशंका गर्दै यो घातक प्रोजेक्टविरूद्ध उभिएका छन्, ‘छोटा रङ्गित बचाउँ अभियान’ बनाएर।


No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...