Saturday, April 1, 2023

 


सन् 2012-को कुरा हो। ‘नयाँ विचार, नयाँ सङ्घर्ष, नयाँ समाज’को नारा लिएर केही युवा-विद्यार्थीहरू साथै सामाजिक र सांस्कृतिक कर्मीहरूको संयुक्त प्रयासमा एउटा नयाँ पहल सुरु गरीयो-- ‘लाली गुराँस’। खासमा यसभन्दा पछिल्लो सालहरूमै केही नयाँ गर्नुपर्छ भन्ने हेतुले गतिविधि चलिरहेका थिए। गोर्खाल्यान्ड आन्दोलनबारे वृत्तचित्र निर्माण – मजदुरहरूबिच सर्वेक्षण - सान्दर्भिक सङ्गोष्ठीहरू - प्रगतिशील पत्र पत्रिका प्रकाश - अनि केही स्टडी सर्कलहरू। एक दशकभन्दा पहिलाको त्यो समयलाई पछि फर्केर हेर्दा आज अचम्मै लाग्छ। केन्द्रमा आजझैँ फासीवादी प्रवृत्तिको उग्र सरकार थिएन, तर भ्रष्टाचारी काँग्रेस थियो, जो भारतमा आक्रामक नव-उदारवादी नीतिको रूपकार हो। राज्यमा गलत बाटो हिँड्दै वामपन्थलाई नै बदनाम गर्ने माकपाको जनविरोधी-नीतिविरुद्धको जनआन्दोलनको भरमा राज्यमा तृणमूल काँग्रेस फस्टाउँदै थियो। अनि पहाडमा भने दागोपापको गह्रौँ भारीलाई उखेलेर फ्याँक्दै भर्खरै उठेका नयाँ आन्दोलनले निकासको बाटो खोजिरहेको थियो। यस्तै समयमा अर्थपूर्ण समाज चिन्तन र सामाजिक-राजनैतिक गतिविधि लिएर अलमलिँदै भए पनि सुरु भयो हाम्रो यात्रा। पाहाड-तराई-डुवर्सका यस क्षेत्रबाट वर्ग-जाति-जातपात-लैङ्गिक समानताको आवाज उठाउँदै जन्मियो ‘लाली गुराँस समूह’, अनि अक्टोबर 2012 देखि नेपालीमा ‘लाली गुराँस पत्रिका’ प्रकाशित हुन थाल्यो। प्रथम अङ्कको पछिल्लो आवरणमा लेखिएको थियो पारिजातको ‘बढी दुःख झेल्ने एक थरी समूहसँग’ लेखबाट उद्धरण—“बाँच्दै छु अझ बाँच्नु छ, दुःख-सुख दुवै पोल्टामा सँगाल्दै। समय सतत परिवर्तनशील छ। म सङ्कोचका पर्दाहरू च्यात्दै छु आफैलाई अभिव्यक्त गर्दै छु। कसैको जीवन कष्टप्रद नहोस्, कोही मौन रुवाई नरोओस्, अथवा नक्कली हाँसो नहाँसोस्, म पनि यही चाहन्छु। तर जीवनमा कष्टहरू आउँछन् त्यसैले त सामना गर्न सकिन्छ, सङ्घर्ष गर्न सकिन्छ। परिणामस्वरूप आफ्नो सुख र व्यथाहरूलाई बढी दुःख झेल्ने एक थरी विशाल समूहसँग छ्यासमिस पार्न सकिन्छ, नत्र व्यक्तिगत सुखको परिभाषा के?” सामूहिकताको यो परिभाषा अङ्गाल्दै अघि बढ्यौँ हामी।

लाली गुराँस समूहको एक दशक लामो यात्रा केवल चुनौतीपूर्ण थिएन बरू निकै चाखलाग्दो रह्यो। समाज प्रगतिको पक्षधर हामीले सामान्यतया सही वामपन्थी अडानमा उभिने कोसिस गर्‍यौँ। 2011 भन्दा अघि राज्य सरकारमा सत्तासीन सीपीएम-ले सिङ्गुर-नन्दीग्राममा खटिखाने मानिस विरोधी भूमिका देखायो। गोर्खाल्यान्ड आन्दोलनमाथि दमनकारी भूमिकाबाट उत्पीडित राष्ट्रियताको आत्मनिर्णयको अधिकार भन्ने आधारभूत वामपन्थी अवस्थितिविरुद्ध आफ्नो नकारात्मक भूमिका उदाङ्गो पारिदियो। माकपा-को जनविरोधी र अवसरवादी भूमिकाविरुद्ध जन्मिएका गुनासोको रापमा रोटी सेक्दै 2011 मा राज्यमा तृणमूल काँग्रेस सत्तासीन भयो। धेरैले ‘परिवर्तन’को आशा गरेको थिए, तर सत्तामा परिवर्तनको साटोमा व्यवस्थामा परिवर्तन ल्याउनु पर्छ भन्ने कुरालाई आत्मसात् गर्दै हामीले पाइला चाल्यौँ। सत्तामा बसे लगत्तै जीटीए गठन गरेर पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले जति नै पहाड हाँसिरहेको छ भनुन्, पहाडको गुम्सिएको रुवाई सबैले सुनिरहेका थिए, बुझिरहेका थिए। चिया मजदुरहरूलाई सकेसम्म कम ज्याला दिइन्छ। अन्य उद्योगमा पनि त्यति नै खराब छ स्थिति। राज्यमा सरकार बदलियो, अनि त्यसपछि जीटीए बनियो। तर खासैमा परिवर्तन देखिएन। यताका युवाहरूको पलायन चलिरह्यो। रोजगारका निम्ति, शिक्षाका निम्ति हरेक दिन रित्तो भइरह्यो पाहाड-तराइ-डुवर्स। स्कुल-कलेजको बेहाल स्थिति। स्वास्थ्य संरचनाको नाजुक हालत। समाजमा नारीहरूप्रति अवहेलना-अत्याचार, अनि धर्म र जातपातको नाममा भेदभावले थिँदैथ्यो। यस्तै समयमा चिया-सिङ्कोना बगानहरूमा जनचेतना कार्यक्रम गर्दै,बन-बस्तीहरूमा जनआवाज उठाउँदै, गाउँ-सहरहरूमा गीत-नाटक-कविता-फिल्म प्रस्तुतिसँगै लाली गुराँस समूहले बाटो हिँड्दै, गोरेटो कोर्दै सङ्कटग्रस्त कुना-काप्चामा पुगिरह्यो। सत्ता लोभी भ्रष्ट वामपन्थ होइन, समानताको समाज-निर्माणको लक्ष्य राख्ने सही वामपन्थले हामीलाई दिशा निर्देश गर्नेछ र मानिसको सिर्जना र सङ्घर्ष हाम्रो उत्प्रेरणा बनिनेछ भन्ने कुरामा हामी विश्वस्त थियौँ। हामीले पारिजातबाट सिक्यौँ भने हामीले भगत सिंहबाट पनि सिक्यौँ। कार्ल मार्क्सबाट सिक्यौँ भने अम्बेडकरबाट पनि सिक्यौँ। चे ग्वभारादेखि गणेशलाल सुब्बा—हामीले सबै जनाबाट सिक्यौँ। सबभन्दा ज्यादा सिक्यौँ मानिसबाट। समाजलाई अग्रगतिको बाटोमा लाने मानिसको सिर्जना र सङ्घर्षबाट सिक्दै अगाडि बढ्यौँ हामी।

पत्रिकासाथै समवेत गीत र सडक नाटकको पहल लियौँ। नयाँ र पुराना जनपक्षीय गीतहरू, अन्य भाषाका जनवादी गीतहरू अनुवाद गर्दै जनसाधारणबिच प्रस्तुति सुरु भयो हाम्रो। गीतकै कुरामा सम्झिन्छौँ अर्को प्रकरण पनि। सन् 2013मा जादबपुर विश्वविद्यालयमा हाम्रै साथीहरूको पहलबाट उत्पीडित राष्ट्रियताको पक्षमा चर्को आवाज गुन्जिँदै सम्पन्न भयो म्युजिकल ऱ्यालि। विभिन्न जनसमुदायका विद्यार्थीहरूले ‘टिस्टा-रङ्गित झुक्दैन’ गीतसितै बङ्गलामा ‘एक झाँक इच्छेडाना’ अनि अङ्ग्रेजीमा ‘वी शाल ओभरकम’ गाउँदै बेमिसाल उदाहरण तयार गरे। सन् 2013मै नाटक वर्कसपबाट बन्यो लाली गुराँसको सडक नाटक टोली। यस भेकमा सामाजिक अभियन्ताहरूबाट सडक नाटकको पहल सायद धेरै दिनपछि देखियो। कहिले लाली गुराँस टोली, वा कहिले ‘दृश्य समूह’को नाममा नारी शोषण-उत्पीडनविरुद्ध “आधा आकाश”, मजदुरहरूका हक-अधिकारको पक्षमा “मेशिन”, साम्प्रदायिकताको विरुद्धमा ‘इनसानिस्तान’, युवाहरूको पलायनमाथि “विश्वकर्मा” आदि नाटकहरूको एकपछि एक प्रस्तुति देखियो। नाटक मात्रै होइन, नाटकमा सान्दर्भिक गीत पनि जोडियो, नाटकको उत्कर्ष बढाउँदै, अनि जन साधारणका लागि ती नाटकहरूलाई आकर्षक र प्रोत्साहनदायी बनाउँदै।


सन् 2014 मा सुरु भयो पाहाड-तराइ-डुवर्सका चिया बगानमा मिनिमम वेज लागु गर्ने माग लिएर एकताबद्ध बेजोड सङ्घर्ष। चिया मजदुर युनियनहरूको जोइन्ट फोरमको नेतृत्वमा यो सङ्घर्ष दह्रिलो रूपमा सुरु भयो। लाली गुराँस समूह धरना-जुलुस-प्रचार अभियानमा त थियो नै, साथमा थियो ‘मेशिन’ नाटक पनि जसको प्रदर्शनी अनगन्ती भयो त्यस समयमा। समूहका युवा कलाकारहरूको ऊर्जा सङ्घर्षका लागि प्रोत्साहनको स्रोत बन्न पुग्यो। नाटक मात्रै कहाँ हो त, निम्नतम ज्यालाका लागि चलिरहेको सङ्घर्षलाई मद्दत पुर्‍याउँदै ‘चाय गरम’ वृत्तचित्र निर्माण अनि बनिसकेपछि गाउँ-बस्तीमा प्रदर्शनमा पनि सामेल भए लाली गुराँसका कर्मीहरू। हरेक साल अन्तर्राष्ट्रिय श्रमजीवी नारी दिवस, मई दिवसदेखि लिएर अचानक आइपरेका नानाथरिका कार्यसूचीसँगै अघि बढ्यौँ हामी। रङमुक-सिडर्स, पान्दाम आदि सरकारी चिया बगानहरूका निजीकरणविरुद्ध सङ्घर्ष, डन्कन्स-गोइन्काका बगानहरू वा एलकेमिस्टका बागानहरू एकासी बन्द भएपछि कैयौँ कार्यक्रम र पहलहरू चलिरह्यो। यसै गरी खटिखानेका खस्रा आवाज, दबिएका राष्ट्रियताको राजनीतिक आकाङ्क्षा, जातपातको भेदभावको यन्त्रणाविरुद्धको आवाजसँगै लाली गुराँसले आफ्नो स्वर जोड्दै हिँड्यो। आधा आकाशको अधिकार खोज्ने आधा नारी आबादीको मागलाई र किरानीकृत लैङ्गिकताको न्यायिक आवाजलाई पनि हामी साथ दिन्छौँ। पहिचानका लागि पैदल यात्रा, ज्यालाका लागि जुलुस, गणतन्त्रका लागि गीतसँगै हिँड्दै हामीले दस वसन्त पार गऱ्यौँ। 

आममानिसहरूसित मिलेर गरिरहेका यी अभियानहरूले हामीलाई नै समृद्ध बनाउँदै गए। हाम्रै साथीहरूले आफ्नै समाजलाई अनि सामाजिक बिसंगतिहरूलाई गहिराइसित चिन्न थाले, अनि सुरु हुन थाल्यो एकपछि एक पहल। हाम्रा साथीहरू चिया मजदुरका न्यायिक माग उठाउनलाई नागरिक सङ्गठन चिया बगान सङ्ग्राम समितिमा सामेल भए। चिया उद्योगका सङ्कटलाई बुझ्न समीक्षाको काम, सङ्कट निकासका लागि सङ्घर्षको काम—दुवै रह्यो हाम्रो यात्रा पथमा। चुनाव अनि चुनावी राजनीतिको होहल्लाले खासै परिवर्तन ल्याउँदैन भनी बुझ्दै हामीले चुनावलाई मानिसले आफ्नो गुनासो पोख्ने हतियार बनाउने आह्वान राख्यौँ। तर चुनावी राजनीतिकै भरमा झुटो हल्ला र आश्वासनको पाहाडमाथि उभिएर उग्र हिन्दुत्व फासीवादी प्रवृत्तिका तत्त्वहरू—बिजेपी-आरएसएस केन्द्र सरकारको सत्तामा बसे। राज्यको सत्तामा बसिरहेको तृणमूल कङ्ग्रेसले ‘परिवर्तन’को मखुन्डो फालिदिएर आक्रामक रूप लिन थाल्यो। स्थानीय जीटीए पनि निष्प्रभावी रहेछ भन्ने कुरा छर्लङ्ग देखिन थाल्यो। पाहाड हाँस्दै छ भनेर राज्यका सत्ताधारीहरूले भने तापनि हाँसो त छदै थिएन, तिनीहरूको मनपरी निर्णयविरुद्ध गुनासोले अब विस्फोटको रूप लियो। सुरु भयो 2017को आन्दोलन। क्षेत्रीय सत्ताधारी पार्टीहरू आफ्नै नियतमा हिँडिरहे। हामीले जनताको पक्ष लिँदै विचार मिल्दा साथीहरूसित मिलेर ‘पहल सांस्कृतिक अभियान’मा सामेल भयौँ। सुरु भयो पहलको पैदल यात्राका चरणहरू। अनि त्यसपछि कलकाता र दिल्ली अभियान। उत्पीडित राष्ट्रियताका आत्मनिर्णयको अधिकार चाहिन्छ। त्यसैले चाहिन्छ छुट्टै राज्य भन्ने जन-आवाजसित हामीले जोड्यौ महत्त्वपूर्ण संयोजन। छुट्टै राज्यले मात्र हुँदैन, हामीलाई चाहिन्छ उत्पीडित खटिखाने वर्गको हक-अधिकार, अनि जात-जातपात-लैङ्गिक समानताको समाज। त्यसैले चाहिन्छ गणतान्त्रिक गोर्खाल्यान्ड। पैदल यात्राको बाटो हिँड्दै नै यो अडान बनियो। बाटोले नै कोरिदियो समस्या निकासको वैचारिक बाटो। 

हामीले समूहको जन्म कालदेखि नै यस क्षेत्रबाहिरको न्यायिक सङ्घर्षहरूलाई साथ दिँदै आएका हौँ। त्यसैले त गणतान्त्रिक गोर्खाल्यान्डको आवाजसित जोड्यो बङ्गाली लगायत अन्य भाषाभाषी गणतान्त्रिक व्यक्ति वर्ग पनि। पैदल यात्रामा हिँडे, कोलकाता-दिल्लीमा साथ दिए हामीलाई। केवल उत्पीडित राष्ट्रियताको लडाइँ होइन, गणतन्त्र र समानताका लागि पनि हामी यसरी नै लड्ने छौँ। साथी-सहयात्री-सहभागीहरूलाई खोज्दै, समेट्दै किनकि गणतान्त्रिक गोर्खाल्यान्ड मात्र होइन, एउटा समाजवादी भारत पनि चाहिन्छ हामीलाई अनि साम्यवादी संसार। हरेक दिन, हरेक पल थोपा थोपा रगत-पसीना बगाएर यस संसारलाई बनाउने मानिसहरूको कसम खाँदै लागिपरेका छौँ हामी। त्यसैले त यस भेकका चिया मजदुरहरूले बोनस नपाउँदा, हरियानाका मारुतीका मजदुरले सङ्घर्ष गर्दा सजायको सामना गर्दा, केरलाका चिया मजदुरहरू सडकमा ओर्लिँदा, नेपालका पलायन मजदुरहरूले दुख झेल्दा, अमेरिकाका आप्रवासी श्रमिकहरू जुलुस हिँड्दा एकबद्धतामा आवाज उठायौँ हामीले पनि। देशमा सत्तासीन सरकारले किसान विरोधी कृषि कानुन, मजदुर विरोधी श्रम कोड, वनवासी विरोधी वन कानुन ल्याउन खोज्दा श्रमजीवी अधिकार अभियान निकाल्छौँ हामी, साथीहरूसित मिलेर।   

यस दशक-दीर्घका सुनौला सफरमा हक-अधिकारको आवाज बोकेर देशका अन्य ठाउँहरूको भ्रमण गऱ्यौँ, राहत बोकेर सिमाना पारीको यात्रा पनि गऱ्यौँ। मानव समाजमाथि आइपरेका हरेक अत्याचार, शोषण र असमानताविरुद्ध प्रतिवादको स्वर उठाउँदै गणतान्त्रिक आवाजलाई सुदृढ र बलियो बनाउने पक्षमा हामी उभिएका छौँ। पुँजीवादी व्यवस्था र जडसूत्रवादी विचार तथा फासीवादी र तानासाही शक्तिहरूले समाजलाई खर्लप्पै खाइरहेको समयमा हामी समाजको प्रगतिशील परिवर्तनको वकालत गर्दछौँ। त्यसैले त हामीले सङ्घर्षको बाटोमा दिशा देखाउने कार्ल मार्क्सको दुई सय जन्म जयन्ती मनाउँदै टिस्टा-रङ्गितको दोभानमा ‘सृजना उत्सव’ मनायौँ भने भगत सिंहको सहादत दिवसमा ‘प्रतिज्ञा समारोह’ पालन गऱ्यौँ।

वैचारिक तथा सांस्कृतिक मोर्चा, गीत-नाटक, पोस्टर-पर्चाको माध्यमबाट समाजका भेदभाव र विसङ्गतिविरुद्ध आवाज उठाउँदै छौँ। हामी बगानका कामदारी-श्रमिक, गाउँ-सहरका खटीखाने मानिस, बनवस्तीका सर्वसाधारण, किरानीकृत राष्ट्रियताका आमजनता, उत्पीडित लिङ्ग-जातपातका मानिसहरू र युवा-विद्यार्थीहरूका न्यायिक लडाइँमा सहभागी र साथी बन्दै आइरहेका छौँ र यो क्रम जारी नै रहने छ।

‘लाली गुराँस’ पत्रिका लिएर हामी सर्वसाधारणको दैलो अघि उभिरहेका छौँ। समाज सरोकारका यो नियमित पत्रिका बाहेक पनि कैयौँ प्रकाशन कार्य गर्दै आइरहेका हामीले अन्ततः प्रकाशन गृहबाट प्रसिद्ध कृतिहरूको अनुवादका साथै अन्य पुस्तकहरू प्रकाशित गरिरहेका छौँ। लाली गुराँस समूहको गीत-नाटकको सांस्कृतिक टोलीले दार्जिलिङ पाहाड-तराई-डुवर्स लगायत विभिन्न ठाउँहरूमा पुगेर हाम्रो समाजको प्रतिवादका आवाजहरूलाई बुलन्द गर्दै आइरहेको छ र साथमा साथ दिइरहेको छ अन्य क्षेत्रका न्यायिक सङ्घर्षहरूलाई पनि। त्यसैले त हाम्रा सहयोद्धाहरू देखिन्छन् हरेक न्यायिक सङ्घर्षमा— देश-विदेशमा। फासीवादी विचार र शासनविरुद्ध, तानासाही शासकविरुद्ध, सामाजिक असमानताका हरेक जराविरुद्ध जारी रहने छ सम्झौताहीन सङ्घर्ष। जमर्को कसौँ।

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...