छेवाङ योञ्जन
विश्व कम्युनिस्ट आन्दोलनको महत्त्वपूर्ण नेत्री हुन् जर्मनीको रोजा लुक्समबर्ग। मजदुर आन्दोलनमा आजीवन सङ्घर्षरत रहेकी रोजाले कम्युनिस्ट आन्दोलनको विकासमा अतुलनीय योगदान दिएकी थिइन्। सन् 1919मा रोजा अनि त्यसताका अर्को नेता कार्ल लिब्नेख्टलाई हत्याराहरूले मारे, जुन अफिसरहरू पछि गएर हिटलरको जमानामा ठुलो अफिसर बने। कम्युनिस्ट राजनीतिबारे रोजा को विचार र उनले आफ्ना समयमा उठान गरेका बहसहरूलाई हालमा पनि चर्चाको केन्द्रमा राखिन्छ। उनै कम्युनिस्ट चिन्तक रोजा लुक्समबर्गले मई दिवस र मजदुर आधिकारका विषयबारे गहन लेखहरू लेखेकी थिइन्।
आठ घण्टा कामको माग गर्दै सन् 1856 मा अस्ट्रेलियाका मजदुरहरू सडकमा उत्रेका थिए। यसै प्रसङ्ग बारे रोजाले लेखेकी छन् – ‘सन् 1856 मा अस्ट्रेलियाका मजदुरहरूले आठ-घण्टे कामको माग गर्दै कारखाना बन्द गरे। र हर्ष उल्लासको साथमा बैठक गर्दै विरोध प्रदर्शन गरे।’
सन् 1856 तिर 21 अप्रेलको दिनलाई मजदुरहरूले मालिक समक्ष आफ्नो मागहरू राख्ने र विरोध प्रदर्शन गर्ने दिनको रूपमा निर्धारण गरेका थिए। सुरुमा त अस्ट्रेलियाका मजदुरहरूले त्यही वर्ष मात्र विरोध प्रदर्शन गर्ने निश्चित गरेका थिए। तर त्यो विरोधको प्रभाव मजदुरहरूमा यति प्रखर रूपमा पुग्यो कि, यसले सर्वसाधारण जनतासमेतलाई सडकमा उतार्न सफल भयो। यसैले त अब मजदुरहरूले प्रत्येक वर्ष नै विरोध प्रदर्शन गर्ने र मालिक समक्ष आफ्ना मागहरू राख्ने सङ्कल्प गरे।
मजदुरहरूको यही इतिहासलाई अध्ययन गर्दै रोजाले लेखेकी छन् – ‘वास्तवमा सामूहिक काम बन्दको निर्णय बाहेक अन्य कुनैले पनि मजदुरहरूलाई आफ्नो शक्तिमाथिको विश्वास दिँदैन थियो। युगौँदेखि कारखानामा दास झैँ रहेका मजदुरहरूलाई आफ्नै टोलीहरूलाई सङ्गठित गर्न बाहेक अन्य कुनै उपाय थिएन। त्यसैले सर्वहारा एकताको यही सोच सम्पूर्ण मजदुरहरूमा विकसित भयो र विभिन्न राष्ट्रहरूमा फैलिन थाल्यो’।
अस्ट्रेलियाली मजदुरहरूका उदाहरणलाई अनुसरण गर्दै पहिला आए अमेरिकीहरू। सन् 1886 मा तिनीहरूले 1 मईको दिन सार्वजनिक छुट्टीको दिन हुनुपर्छ भन्ने निर्णय लिए। यस दिन तिनीहरूमध्ये 20,0000 जना काम छोडेर आठ-घण्टा कामको माग गर्दै विरोध प्रदर्शनमा भाग लिए। त्यसपछि, पुलिस र कानुनी कारबाहीले गर्दा धेरै वर्षसम्म मजदुरहरूलाई यस्तो ठुलो प्रदर्शन गर्नबाट रोक्यो। तर सन् 1888 मा मजदुरहरूले आफ्ना निर्णयमा सुधार गर्दै 1 मई 1890-को दिनलाई पुनः पालन गर्न तय गरे।
ठिक यही समय युरोपमा पनि मजदुर आन्दोलनले निक्कै तीव्र गति लिइरहेको थियो। सन् 1889 को अन्तर्राष्ट्रिय मजदुर सम्मेलनमा मजदुर सङ्घर्षको शक्तिशाली रूप देखा पऱ्यो। उक्त सम्मेलनमा 4 सय मजदुर प्रतिनिधिहरू उपस्थित थिए। उनीहरूले नै आठ-घण्टा कामको मागलाई मजदुर वर्गको प्रथम मागको रूपमा पारित गरे। फ्रान्सेली युनियन टोलीका प्रतिनिधि बोर्दोबाट लेभाइन भन्ने एक जना मजदुरले प्रस्ताव पेस गर्दै भनेका थिए – ‘आँठ घण्टा कामको माग गर्दै सबै राष्ट्रका मजदुरहरूले काम बहिष्कार गर्नुपर्छ’। यता अमेरिकी मजदुर प्रतिनिधिले पनि सन् 1890 को 1 मईको दिन गरेको बन्द बारे जनाउँदै हर्ष उल्लासको साथमा विरोध प्रदर्शन गर्ने दिन भनेर तोके।
यसरी 1 मईले आठ घण्टा कामको माग उठान गरेको थियो। माग पुरा भए तापनि मजदुरहरूले मई दिवस पालन गर्न बन्द गरेनन्। मई दिवस पालन गर्दै मजदुरहरूले सङ्घर्ष अवधि सहिद बनेका आफ्ना क्रान्तिकारी मित्रहरूलाई श्रद्धाञ्जली अर्पण गर्न थाले। मजदुरहरूसँग सम्बन्धित मागहरूलाई अझ तीव्र रूपमा उठाउन थाले। र मजदुर सङ्घर्षमा एउटा महत्त्वपूर्ण इतिहास बोकेको यस दिनलाई आजसम्म पनि क्रान्तिकारी मजदुर वर्गले भुलेका छैनन्।
अहिले पनि विश्वभरि नै मजदुर वर्गले मई दिवसलाई क्रान्तिको प्रतिकको रूपमा पालन गर्ने गर्छन्। हो, आज पनि विश्वव्यापी रूपमा मजदुर वर्ग भीषण आर्थिक शोषणमा छन्। नाफाखोरी पुँजीवादको आक्रामक गतिले आजका मजदुर वर्गलाई पिरोल्नसम्म पिरोलिरहेको छ। पुँजीवादी व्यवस्थाको नाफाखोरी नीतिहरूले गर्दा आजका मजदुरहरूले पनि 18औँ शताब्दीकै जस्तो जीवन धान्न बाध्य बनिरहेका छन्। ‘आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जन’ भन्ने 18औँ शताब्दीको शक्तिशाली मजदुर आन्दोलनले जीत हासिल गरे तापनि आजको पुँजीवादी षड्यन्त्रको कारण मजदुरहरूले अधिक समयसम्म कारखानामा खट्नु परिरहेका छन्। आजको समय अबेर रातीसम्म खटिरहेका ‘गिग वर्कर्सहरू’ यसको ज्वलन्त उदाहरण हो। चियाबारीमा ‘मुनलाइट प्लकिङ’लाई पनि के भन्नु र?नयाँ नयाँ मजदुर कानुन र नाफाखोरी प्रणालीहरूले मजदुरहरूलाई युगौँ पुरानो स्थितिमा पुऱ्याएको छ भन्दा दुई मत हुँदैन। मजदुरहरूबाट अतिरिक्त श्रम लुट्नलाई हाम्रा देशमा पनि विगत केही वर्ष यता नयाँ नयाँ मजदुर विरोधी नीतिहरू पारित गरिसकेको छ। मजदुर वर्गले वीरताका साथ हासिल गरेका अधिकारहरूलाई वञ्चित गर्दै हिंसक लेबर कोडहरू पारित गरेर वर्तमान भारतीय जनता पार्टी सरकारले यस देशका मजदुरहरू लुट्नसम्म लुटिरहेको छ। राज्य सरकार पनि कम छैन।
युनियन गठन गर्न नदिने, गेट मिटिङ गर्न नदिने, धर्ना-प्रदर्शन गर्न नदिने जस्ता कानुनहरू लेबर कोडमा छ। केन्द्रले पारित गरेको लेबर कोडहरूले भए भरको कानुनी अधिकार केवल मालिकहरूलाई मात्र दिएको छ। मालिकहरूलाई आफू खुसी मजदुरलाई काममा लगाउने र कामबाट निकाल्ने अधिकार दिएको छ। दिनरात रगत पसिना बगाए तापनि मजदुरहरूले उचित ज्याला पाउन सकिरहेका छैनन्।
यस्तो भीषण परिस्थितिमा अब मजदुरहरूले आफ्नो विरासतको इतिहासलाई पुनः एक चोटि दोहोर्याउनु पर्नेछ। इतिहासका क्रान्तिकारी मजदुरहरूले विश्वलाई नै परिवर्तन गरेका ती रक्तिम सङ्घर्षका पाठहरूलाई आलो बनाउनु पर्नेछ। अघि बढ्नु पर्छ उज्यालो दिन ल्याउनलाई।
No comments:
Post a Comment