संगीता खेवा
[यो लेख पहिला नै लाली गुरासमा प्रकाशित भएतापनि यो अङ्क लैङ्गिक र यौन असमानता र उत्पीडन माथि प्राथमिकता दिंदै प्रकाशित भइरहेको कारणले यस लेख पुनर्मुद्रण गरिरहेकाछौं।]
आज कसैलाई सोधे पनि ८ मार्च ‘अन्तराष्ट्रिय नारी दिवस’ हो भनेर उत्तर दिन सक्छ। तर धेरै कम्ती मानिसहरूलाई मात्रै यो दिनको इतिहास र महत्व थाहा हुने गर्छ। अन्तराष्ट्रिय नारी दिवसको खास नाम ‘अन्तराष्ट्रिय श्रमजीवी नारी दिवस’ हो र यसको अस्तित्व धेरै पुरानो र गौरवमय छ। आज ८ मार्चलाई नारी दिवसको रूपमा संसारभरिनै मनाइन्छ तर वर्तमान परिपेक्षमा यसको रूप भने अवश्य पनि परिवर्तित भएको छ। वास्तवमा भनौ भने यो दिन नारीहरूको समाजमा समान अधिकारको माग र उनीहरूको दोस्रो स्तरको नागरिकतालाई लिएर प्रतिवादको रूपमा मनाइने दिन हो। अन्तराष्ट्रिय नारी दिवस श्रमजीवी नारीहरूको सङ्घर्षबाट जन्मेको दिन हो। आफ्नो हक-अधिकारको निम्ति लडेर, लाखौ नारीहरूको प्राणको उत्सर्ग पछाडि यो दिन नारी दिवसको रूपमा स्थापित भयो र आजसम्म विभिन्न तरिकाले पालन गरिन्छ। अन्तराष्ट्रिय श्रमजीवी नारी दिवसको इतिहासलाई कोट्याँउदा हामी यसको उत्पत्ति र क्रमश: विकासको बाटोमा नारीहरूले झेल्नुपारेको यस्तो मार्मिक कथा भेटाउँछौँ र कसरी नारीहरूले अत्यन्त साहससाथ चरम अत्याचारको सामना गर्दै यो दिवसको स्थापना गरे त्यो साँचै नै प्रशंसनीय र अनुकरणीय छ।
उन्नाइसौ सताब्दीको अन्त्य र बीसौ सताब्दीको सुरुवातमा जब औद्योगिक क्रान्तिले पश्चिमका देशहरूमा बेसी भन्दा बेसी श्रमिकको माग हुन् थाल्यो त्यसबेला भर्खरै विकसित हुँदै गरेको पुँजीवादी व्यवस्थाले हजारौँ-लाखौँको सङ्ख्यामा नारीहरूलाई घर भित्रबाट बाहिर ल्याएर फ्याक्ट्री, घरेलु कामकाज वा अन्य कामहरू मार्फत तिनीहरूबाट श्रम लिन थाल्यो।
नारीहरूको कार्यस्थल वा काम गर्ने वातावरण त्यस्ताक एकदमै ठिक थिए र सबैभन्दा ज्यादा शोषण यस्तै ठाउँहरूमा हुने गर्थ्यो। विषेशगरी कपडाको फ्याक्ट्रीमा नारी श्रमिकहरूनै बेसी हुने गर्थे। यी श्रमिकहरूले पुरुष श्रमिक भन्दा धेरै कम्ती ज्याला पाउँथे, सुरक्षाको कुनै प्रावधान थिएन कामको घण्टा धेरै लामो थियो र तिनीहरूले मालिकवर्गद्वारा गरिने यौन शोषण पनि खप्नु पर्थ्यो।
सामाजिक श्रममा नारीहरूको बराबरको भागीदारी भएता पनि तिनीहरूलाई भोट दिने अधिकार भने थिएन। यसरी समाजमा पुरुष भन्दा तल्लो स्तरको भएर बाँच्नु परेको र श्रम चाँही बराबर र कहिले काँही ज्यादा दिनु परेको क्षोबले प्रतिवादको रूप लिँदै गयो, यहीबाट नारीदिवसको बिजारोपण भयो। ८ मार्च १८५७ को दिन न्यूयोर्कको कपडा कारखानाका नारी श्रमिकहरूले हड्ताल गर्दै जुलुस निकाले। उनीहरूको माग थियो कार्यशालाको वातावरण राम्रो हुनुपर्छ, कामको अवधि घटाएर १० घण्टा बनाउनु पर्छ र नारीहरूले पनि कामको समान ज्याला पाउनु पर्छ। त्यसपछि विरोधको सिलसिला चलेको चलेकै भयो। ८ मार्च १९०७ मा न्युयोर्कको सडकमा ओर्लेर त्यहाँको कपडा कारखानामा काम गर्ने नारीहरूले काम गर्ने वातावरणको दुर्गति र एकदमै न्यूनतम ज्यालाको विरुद्ध आवाज उठाए। १८५७ जना नारी श्रमिकहरूले दिलो ज्यान लाएर यो विरोधमा हिस्सा लिए। सरकारले पुलिस लाएर नारीहरू माथि आक्रमण गर्दै यिनीहरूलाई छाल्ला-बिल्ला त पारिदियो तर यिनीहरू भित्र रहेको विद्रोह र बेहतर समाजको कल्पनालाई मार्न सकेन। यस घटनाको दुई महिना भित्रै यी नारीहरूले ट्रेड युनियनको गठन गरे। फेरी एक वर्ष पछि ८ मार्च कै दिन न्यु योर्ककै एउटा सियो बनाउने फ्याक्ट्रीको १५ हजार नारी मजदुरहरूले कामको अवधि घटाउनु, ज्याला बढाउनु, सङ्गठन गर्नु पाउने अधिकार हुनुपर्छ भनेर व्यापक विरोध प्रदर्शन, बन्दहरू गरे। विरोध गर्ने नारी श्रमिकहरूमा धेरै जसो नारीहरू कपडाको कारखानामा काम गर्नेहरू थिए यिनीहरूले ज्यादै सङ्कीर्ण ठाउँमा मान्छे खाँदा-खाँद भएको एउटा सानो कमराभित्र धेरै लामो अवधि सम्म काम गर्नुपर्थ्यो, यही श्रमिक नारीहरूले म्यानहटनको पूर्वी क्षेत्रमा आफ्नो विरोध प्रदर्शन गरेका थिए। यस घटनाको एक वर्ष पश्चात् नारी श्रमिकहरूले १३ हप्ता व्यापी कारखाना बन्द गरे, जुन ‘राइजिङ्ग अफ द २०, ०००’ नामले विख्यात छ। यसले अमेरिकामा नारी श्रमिकहरूलाई पहिलो चोटि सङ्गठन खोल्न सिकायो। अमेरिका सोसलिस्ट पार्टीले २८ फरवरी १९०९ लाई प्रथम पल्ट राष्ट्रिय नारी दिवसको रूपमा स्थापित गऱ्यो, र नारीहरूको निम्ति राजनैतिक अधिकारको माग गर्दै देशको विभिन्न ठाउँमा प्रदर्शन र जुलुसहरू निकाल्यो।
१९१० मा समाजवादी नारीहरूको अन्तराष्ट्रिय काँग्रेसमा सोसलिस्ट डेमोक्रेटिक पार्टी अफ जर्मनीको सक्रिय सदस्य क्लारा जेट्किंगले ८ मार्च श्रमजिवी नारीहरूको सङ्घर्षलाई स्मरण गर्ने उदेदेश्यले प्रत्येक वर्ष उक्त दिनलाई अन्तराष्ट्रिय नारी दिवसको रूपमा मनाउने प्रस्ताव राखे। यो प्रस्ताव राख्नु पछाडि अर्को मूल उदेश्य नारीहरूमा वर्ग चेतना बढाउनु, राजनैतिक र कार्य सम्बन्धित सङ्गठनमा सहभागिता बढाउनु साथै नारीहरूले पनि भोट दिने अधिकार पाउनुपर्छ भन्ने आह्वानलाई विश्वव्यापी बनाउनु थियो। कङ्ग्रेसमा भाग लिन आउने १७ वटा समाजवादी देशबाट आएका नारी प्रतिनिधिहरूले सहस्र यो प्रस्तावलाई स्वीकार गरे। त्यसको अर्को वर्ष १९ मार्चको दिन अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विजरल्याण्ड इत्यादि ठाउँमा दस लाख नारी र पुरुषहरूले पहिलो पल्ट अन्तराष्ट्रिय नारी दिवस पालन गरे र नारीहरूले बाहिर काम गर्न पाउने अधिकार, प्रशिक्षण लिन पाउने अधिकार, सरकारी कार्यालयमा काम गर्न सक्ने र लैङ्गिक विभेदलाई निर्मूल पार्नु पर्छ भन्ने मागहरू अगाडी राखे। नारीहरूले मतदान गर्न पाउनु पर्छ भन्ने तर्क बोकेका लाखौँ पर्चाहरू जर्मनीको सडकहरूमा देखा पर्न थाले। त्यस्-ताक् जर्मनीमा नारीहरूको सहभागिता हेर्नलायकको थियो। भेटघाट चर्चा परिचर्चामा नारीहरूको भागीदारी सोचेको भन्दा कहीँ ज्यादा थियो। ३०, ००० जस्तो नारीहरू सडकमा नारा लगाउँदै जुलुस गर्थे जसको हिस्सा रसियाको समाजवादी नेत्री अलेक्जाण्ड्रिया कोलोन्ताई पनि थिइन्। यस्ता कैयौँ जुलुसहरूमा पुलिससितको मुठभेडमा कैयौँ नारी श्रमिकहरूको मृत्यु पनि भयो। जर्मनी र अन्य देशहरूमा यस्तो खैला-बैला भइरहेको बेला न्युयोर्कको एउटा कपडाको फ्याक्ट्रीमा आगो लाग्दा १४० जना नारी श्रमिकहरूको मृत्यु भयो। मर्नेहरूमा प्रायजसो यहुदीहरू र प्रवासी, इटालियन नारीहरू थिए कारण यिनीहरूनै अमेरिकाको श्रमिक नारीहरूको ठुलो हिस्सा थिए। सुरक्षाको कुनै व्यवस्था नभएकोले यी महिलहरू मर्नुपऱ्यो त्यसपछि श्रमिकहरूले सुरक्षित वातावरणमा काम र कानुनी अधिकारहरूको माग गर्न लागे।
प्रथम विश्व युद्ध पछाडि युरोपियन देशहरूमा जसरी जम्मै चिज-बीजको दाम द्रुत गतिमा बढ्न थाल्यो घरधन्दा गरेर बस्ने नारीहरू पनि त्यसबाट अछुतो रहेन कारण जीवन नै अस्थिर भएर उठेको थियो। श्रमजीवी नारीहरूले एउटा दोकान लुटेर र तोड फोड गरेर उनीहरूको जीवनस्तरमा सुधार आउने छैन भन्ने बोध आयो।सरकारको नीति बदल्नु पर्छ भन्ने आभास तिनीहरूलाई हुन थाल्यो। घरमै बस्ने नारीहरूले राजनीतिमा चासो लिन थाले र यस्तो काम बिस्तारै बदलदै गयो।
सन् १९१७ मा रसियामा नारीहरूले ‘‘रोटी र शान्ति’’ को निम्ति हड्ताल गर्न थाले र चार दिनमै जारलाई झुक्न कर लगाए। रसियाको सरकारले प्रथमपल्ट नारीहरूलाई भोट दिने अधिकार पनि ८ मार्चको दिन नै दिएको थियो। शोषित नारीहरूले पनि आफ्नो अमानवीय जीवनको विरुद्ध सडकमा ओर्लेका कैयौँ दिन सम्म खानको निम्ति, राजनैतिक अधिकारको निम्ति धरणाहरू दिए र जुलुसहरू निकाले। यसै सन्धर्भमा कोलन्ताईले भनेकाछन् –‘‘१९१७ श्रमजीवी नारी दिवस इतिहासमा स्मरणीय बन्ने छ कारण यही दिन रसियाका नारीहरूले सर्वहारा क्रान्तिको राँको बालेर संसारभरि आगो लगाईदिएका थिए’’।
अस्ट्रेलियामा प्रथम पल्ट १९२७मा नारी दिवस पालन गरियो, दोकानमा काम गर्ने केटीहरूको निम्ति ८ घण्टा काम, टुक्रामा काम होइन, बेकारिको लागि एउटा स्थिर भत्ता र पुरा ज्यालामा वार्षिक छुट्टीहरू इत्यादि मांग राखेर नारी दिवस मनाइयो। यसको अर्को वर्ष १९२८ मा सिडनीमा २५ मार्चको दिन व्यापक जुलुस निकालियो जसमा सि.पि.ए. कि सदस्या एड्ना राईना पनि उपस्थित थिइन असले पछि बाट एउटा लेखमा यसो लेखेकी थिइन ‘‘लेनिनको प्रत्येक भान्साघरमा काम गर्ने जम्मै नारीहरू राजनीतिज्ञ हुन्।’’ यसको एक वर्ष पछाडि काठमिस्त्रीहरूको पत्नी र परिवारलाई लिएर बैठक गरियो, कारण यिनीहरू त्यतिखेर हड्तालमा थिए। प्रथम नारी दिवस पालनको ५० वर्ष पछाडि १९६०मा ७३ वटा प्रतिनिधिहरूले कोपेनहेगेनमा नारीको राजनैतिक, आर्थिक र सामाजिक अधिकारहरूको समर्थनमा घोषणापत्र जारी गरे।
शताब्दी पुरानो सङ्घर्षहरूबाट गुज्रदै नारीवादी चिन्ताले ठोस रूप लिन थाल्यो। यसरी लण्डनमा १९७० को श्रमजीवी नारी दिवसको उपलक्ष्यमा नारीहरूले कामको समान सुयोग, नानीहरूको हेरचारमा सहयोग र सुरक्षित गर्वपातको सजिलो पहुच इत्यादि मागहरू राखे। शाहको शासन शेष भए पछि १९८२ को यही दिन इरानका नारीहरूले बुर्का लाउन देखि अस्वीकार गरे।
सय वर्ष भन्दा पनि पुरानो नारी दिवसको इतिहास तर आज धमिलिएको छ। पुँजीपतिहरू यो दिनलाई पनि पुँजी कमाउने माध्यमको रूपमा प्रयोग गरिरहेछन्। शृंगारका सामग्रीहरूमा छुट दिनु, आधुनिक पहिरनहरूमा छुट इत्यादि दिएर नारीहरूलाई अझ साज-सज्जा र फेशन पटि ढल्काउनुमा यिनीहरू पछि हट्दैनन। अहिले विश्व भरि नारीहरूलाई स्वतन्त्रता दिएको जस्तै गरेर झन बेसी शोषण गरिन्दैछ। एकापटी नारीहरू माथि यौनजन्य शोषणहरू दिन प्रतिदिन बढ्दै छ अर्को पटी झुटो स्वतन्त्रताको नाममा नारीलाई नंग्याउने चलन प्रशस्त देख्न पाइन्छ, विज्ञापनमा नारीको अर्धनग्न शरीरलाई वस्तु सरह प्रस्तुत गरिन्छ र यसरी नारी शरीरलाई बजारीकरण गरेर पुँजीपतिहरूले अत्यधिक नाफा कमाइरहेकाछन्। अहिले राम्रा लुगा लगाउने र सौन्दर्य प्रशाधनको बडी मात्रामा प्रयोग गर्ने नारीहरू मात्र सचेत र आधुनिक छन् भन्ने धेरैको धारणा रहेको छ तर यही कुरा नै वास्तवमा उनीहरूको निम्ति ठुलो बन्धन हो भन्ने कुरा उनीहरूलाई थाहा हुदैन। यसोसले नारी दिवसको इतिहास र यसको उदेश्यलाई कहिले भुल्नु हुदैन कारण नारी दिवसको उदेश्य सदियौँ देखि उत्पीडित र शोषित नारीहरूको शारीरिक र मानसिक उन्मुक्ति हो ।
No comments:
Post a Comment