गुञ्जन राणा
११ डिसम्बर २०१३, भारतको मानव अधिकारको निम्ति एउटा कालो दिन हो। यस दिन देशको सर्वोच्च न्यायालयले कुनैपनि समलिङ्गी व्यवहारलाई एउटा दण्डनीय अपराध हो भन्ने घोषित गर्यो। औपनिवेशिक कानुन ३७७ धारा अनुसार गे वा लेस्बियन लैङ्गिक सम्बन्धको सजाय आ-जीवन कैद सम्म हुन सक्ने भयो। यो कालो कानुनले सबै समलिङ्गीहरूलाई नै अपराधीको संज्ञा दियो। अर्को शब्दमा समलिङ्गीहरूलाई समाज प्रदुषित पार्ने फोहोर भनियो।
शुरुमा मानसिक रोगीको संज्ञा पाएका समलिङ्गीहरुले विस्तारै संसारभरिमा अधिकार प्राप्त गर्न थालेका छन्। सन् २००९ मा दिल्ली उच्च अदालतले दण्डसंहिताको प्रकृतिको नियम विपरित शारीरिक सम्बन्ध स्थापना गर्ने कुरामा प्रतिबन्ध लगाउने दफाले आधारभूत अधिकार उल्लङ्घन गर्ने भनी निर्णय गरेपछि भारतमा समलिङ्गी शारीरिक सम्बन्धले कानुनी रूप प्राप्त गरेको थियो। तर, सर्वोच्च अदालतले दिल्ली उच्च अदालतको उक्त निर्णयले सन् १८६० मा ब्रिटिस उपनिवेश कालमा पारित भएको कानुनको अधिकारलाई उल्लङ्घन गरेको बताउँदै उक्त कानुन अझै कायम राख्न निर्देश दियो। सिधै नभने पनि यो कानुनले मुख्यत समलिङ्गी (होमोसेक्सुयल), पारलिङ्गी (ट्रान्ससेक्सुयल), उभयलिङ्गी (बाइसेक्सुयल) मानिसहरुका यौन पसन्द, यौन व्यवहार माथि राज्यको हस्तक्षेपलाई स्थापित गर्दछ। यतिमात्र होइन, अदालतले सन्तान उत्पादनको निम्ति चाहिने शारीरिक सम्बन्धको निर्दिष्ट रुप बाहेक पुरुष र नारी मध्ये शारीरिक सम्बन्धको अरु सबै रुप माथि प्रतिबन्ध लगाइदियो। यो केवल समलिङ्गी माथि होइन, सबै माथि नै नयाँ हस्तक्षेप हो। आ-आफ्नो एकदमै व्यक्तिगत जीवन माथि यसरी निगरानीको धेरै विरोध भयो ठाउँठाउँमा।
१८ औ शताब्दीसम्म समलिङ्गीलाई मानसिक रोगी भनिन्थ्यो। सन् १९९० मे १७ तारिखका दिन विश्व स्वास्थ्य संगठनले समलिङ्गी, तेस्रोलिङ्गीलाई मानसिक रोगीको सूचिबाट हटायो। त्यसपछि उनीहरुले अधिकार पाउन थाले भने समाजमा लुकेर बस्नेक्रम पनि पातलिंदै गयो। समाजमा महिला र पुरुष गरि दुई लिङ्गमात्र भएका मानिस हुन्छन् भन्ने पुरानो मनोगत सोचबाट समाज मुक्त हुदैछ।
समलिङ्गीहरू तिनीहरू हुन्, जसले आफ्नै लिङ्ग भएको व्यक्ति संग यौन अथवा प्रेम सम्बन्ध राख्छन्। ‘प्रेमले लिङ्ग हेर्दैन’— भन्ने स्लोगन यो आन्दोलनमा धेरै शक्तिशाली भएर आयो। वैज्ञानिक रूपमा यो प्रमाणित भइसकेको छ कि समलिङ्गी हुनु कुनै अप्राकृतिक कुरो होइन, वैज्ञानिक शोधहरूले पशुहरुको प्रजाति जस्तै किरा, माछा एवं स्तनधारी प्राणीहरु पनि शामिल छ— हात्ती, डल्फि़न, भालु, भैसीहरुमा पनि समलैङ्गिक सम्बन्ध पाएको छ। समलैङ्गिकता मानव यौनक्रियाको पनि एक प्राकृतिक हिस्सा हो। चिकित्सक वा मनोवैज्ञानिक नजरबाट समलैङ्गिक हुनु सामान्य हो। विपरीत लिङ्गी जस्तै हो। अरू प्रकारहरुका उल्लेख हामी माथि गरेकाछौं। जसको पुरुष-नारी दुवै सँग प्रेम र यौन सम्बन्ध हुन्छ त्यसलाई उभयलिङ्गी भनिन्छ। अनि पारलिङ्गी वा ट्रान्ससेक्सुयल हुन् तिनीहरू जो शारीरिक रूपमा एक प्रकारको भएपनि मानसिक रूपमा आफुलाई अर्को बुझ्छन्। यसबाहेक छन् जो शारीरिक रूपमा पुरुष वा नारी कुनैपनि नभएर तेस्रोलिङ्गी वा इन्टरसेक्स।
अझै दुइवटा शब्दको अर्थ यहाँ बुझ्नुपर्छ— सेक्स र जेन्डर। सेक्स एक व्यक्तिको शारीरिक तथा जैविक ढाँचा हो, जसले उसलाई पूरुष वा स्त्री बनाउछ भने समाजले उस माथि केही रितीरिवाज पनि थपिएको छ। कसरी सामाजिक आचरण गर्ने, कस्तो लुगा लगाउने इत्यादि। जेन्डर शब्दको केही निर्दिष्ट अनुवाद नेपालीमा छैन, हामी यसलाई लिङ्ग चेतना भन्नसक्छौ। अर्थात् शारीरिक विशिष्टता माथि आधारित नभएर एकजना मानिस उनको हुर्केने क्रममा कुन रूपमा आफुलाई हेर्न खोज्छन् — नारी वा पुरुष— कुन लिङ्गको सोच्छन्। अर्थात् कुनैपनि व्यक्ति सेक्स अनुसार पुरुष भएतापनि उनले आफुलाई नारी सोच्छन् भने उनको जेन्डर नारी नै हुन्छ। थर्ड जेन्डर अर्थात् यी दुइवटा मध्ये कुनैपनि नसोच्ने मानिसपनि हुन्छ।
यहाँ समाजले थोपीदिने क्रम चल्छ। समाजले कुनैपनि व्यक्तिको सेक्सको आधारमा नै उनको जेन्डर पनि निर्धारित गरिदिन्छ। बलपूर्वक यो गर्दा व्यक्तिको इच्छाले कुनैपनि महत्व पाउदैन। समाजले बनाएको रीतिरिवाज देखि कुनै व्यक्तिको सेक्स र जेन्डर अलग भए उसलाई हास्यास्पद ठहराईदिन्छ अथवा उ माथि उत्पीडन चलाउछ।
प्रकृतिको यस्तै क्रममा एक पुरुष शारीरिक रूपमा पूरुष भए पनि उसलाई पुरुष नै मन पर्न सक्छ, अथवा त्यो पुरुषले अर्को पुरुषसँग यौन सम्बन्ध राख्न सक्छ। त्यसैगरी एक नारीले अर्को नारी सँगनै शारिरिक अथवा मानसिक सम्बन्ध राख्न सक्छ। ३७७ धाराले समलिङ्गी मात्र होइन अरू अन्यको जीवनमा पनि हस्तक्षेप गरेको छ। प्राकृतिक सेक्स बाहेक अरु कुनै प्रकारको सम्भोगमा प्रतिबन्दित गर्ने यस धाराले बुढेसकालको लैङ्गिक जीवनमा मा पनि प्रश्न चिन्ह खडा गरेको छ भने प्राकृतिक सेक्सको जुन परिभाषा तयार भएको छ त्यसलाई प्रचलित मनोविश्लेषक फ्रोइडको मनोंलैङ्गिक विकाशको चिन्तालाई मान्यता दिनु हो भने यस धारा अनुसार मानव समाज नै अपराधी हो।
कोर्टको यस्तो आपत्तिजनक सुनवाईले सबै रंगको राजनीतिज्ञहरुबाट अनौठो-अनौठो टिप्पणी सुन्न पाइयो। धार्मिक कट्टरवादीहरूले यस रायको पक्ष लिंदै समलिङ्गी सम्बन्धलाई देशको धर्म र संस्कृतिमा अस्वीकृत गरेको बताए तर यसै भूमिको ऐतिहासिक महल र सुर्य मन्दिर, खजुराहो मन्दिरहरुको भित्तामा समलैङ्गिक सम्बन्धहरु खोपिएको छ। आफ्नो शरीरको मालिक व्यक्ति आफैँ हुने र आफ्नो शरीरको उपयोग यौनक्रियाको लागि कसरी उपयोग गर्ने भन्ने कुरा पनि व्यक्तिको आफ्नो स्वायत्तताको विषय हुने हुनाले नितान्त व्यक्तिक स्वायत्तताको विषयमा समाज वा राज्यले हस्तक्षेप गरी नियमित गरिरहनु आवश्यक हुँदैन।
आफ्नो अङ्ग र आफ्नो स्वभावहरु आफ्ना निजी वैशिष्ट्य हुने हुनाले तिनले कुनै अयोग्यता सिजना गर्ने नभई तदनुकुल तिनको प्रयोग वा प्रचलन गर्न पाउनु सम्बन्धित व्यक्तिको नैसर्गिक हक हो।
समलैङ्गिक सम्बन्द सम्भोगमा मात्रमा सीमित नभएर व्यक्तिको इच्छारुपी जीवन शैली पनि हो। समलैङ्गिकहरुलाई अप्राकृतिक र सामाजिक अपराधी भनेर स्वीकृति नदिनु अनि बन्दी बनाएर राख्नु मानव अधिकारको हनन हो।
No comments:
Post a Comment