Tuesday, April 29, 2014

रङमुक-सिडर्स चियाबगानको स्थिति बारे

सरकारी उद्योगहरु बिक्रीमा—
चिया बगानहरु लुटको निम्ति खुल्ला

लाली गुरासको रिपोर्ट



निश्चितरुपले परियोजना धेरै पहिले देखि नै तयार हुँदै थियो।

सन् २००७मा, दुबाईको सुल्तान आहमद बिन सुलेमान, डीपी वर्ल्ड ग्रुपको चेयरमेनले दार्जीलिङको केहि चिया बगानहरुको हेलिकोप्टरबाट आकस्मिक भ्रमण गरे। त्यस पश्चात उसको कम्पनीले पूर्व बंगालको पहिलो परियोजना — एउटा ‘सात तारे होटेल’ निर्माण गर्न पहाड़ कि रानी दार्जीलिङलाई रोज्यो। 

बागडोग्रामा एउटा प्राइवेट हवाई जाहाजबाट उतरेर डीपी वर्ल्ड ग्रुपको पाँच जना प्रतिनिधि दल सिक्किम सरकारको हेलिकोप्टरमा दार्जीलिङको पान्दाम चिया बगान, घुम नजिक रांगेरूंग अनि सोनादा मुनि रङमुक-सिडर्सको भ्रमण पनि गरे।

सात वर्ष पश्चात, यस वर्षको ‘गणतन्त्र दिवस’-मा, हामी ‘लाली गुरास’ पत्रिकाको दल सोनादा देखि फेद पैदल यात्रा गर्दै रङमुक-सिडर्स पुग्यौ। रङमुक-सिडर्स ती पाँच कमान मध्ये एक हो जसलाई वेसरकारीकरण गरेर प्राइभेट अथवा पि.पि.पि. (Private Public Partnership) मोडेलमा परिणत गर्ने निर्णय लिइएको छ। अमित मित्रले राज्यको वाणिज्य अनि उद्योग विभागको पद सम्हालेको दुई साता भित्रनै निजीकरणको पहिलो कदम चाल्यो। यी पाँच चिया बगान— दार्जीलिङ पहाड़को रङमुक-सिडर्स (७१९ हेक्टर), रांगेरूंग (१२० हेक्टर) र पान्दाम (३८२ हेक्टर) अनि डुवर्सको हिल्ला (७०९ हेक्टर) अनि महुवामा (६८३ हेक्टर) प्राय ३००० मजदूरहरु कार्यरत छन् जो निजीकरणको चक्करले प्रभावित हुनेछन्।  

सन् १९७६-मा WBTDC (West Bengal Tea Development Corporation)-ले दार्जीलिङ अनि डूवर्सको अस्त-व्यस्त भएको चारवाट निजी चिया बगानहरुलाई सरकारी बनायो। महुवा चिया बगानलाई पछि राज्यले नै विकाश गऱ्यो।

वर्तमान, रङमुक-सिडर्स चिया बगानमा प्राय १,९३१ मजदुरहरु कार्यरत छन्, पान्दाममा प्राय २६८, अनि रांगेरूंगमा १९९ जना। सरकारको रंग बदलिए पनि सरकारी औद्योगिक संस्थान बेच्ने नीति अनि मजदूरहरुको भाग्य माथि खेलवाड गर्ने चलन बदलेन। 

हाम्रो भ्रमणको मूल उद्देश्य त्यहाँको परिस्थिति बुझ्न अनि मजदूर अनि वासिन्दाहरुसँग बातचित गरेर बगानको म्यानेजमेन्ट अनि मालिकानाको निजी कम्पनीलाई हस्तान्तरणमा विचार जान्नु थियो।

रङमुक-सिडर्स चिया बगान सोनादा बजार देखि तलतिर पर्छ। रङमुक अनि सिडर्सको चिया पत्ती एउटै फ्याक्ट्रीमा तयार हुन्छ। यहाँ प्राय १९०० मजदूर कार्यरत छन्, जसमा ३५० रिक्त पदहरु अवकास पश्चात् भरिएको छैन। बगानको स्टाफहरुका ग्राचुईटी बिगत २८ महिना देखि अड्केको छ भने मजदुरहरुको पनि ११ महिना पुगिसक्यो। मार्च २०११ देखि सव-स्टाफ, सिनियर-स्टाफ अनि मजदूरहरुको एरियर अनि अन्य कोष लगायत जम्मा २.१५ कड़ोड रुपियाँ अड्केको छ। त्यहाँ साल २०१४-को दौराको पैसा पनि नपाएको थाहा लाग्यो। ज्याला पनि निजी चिया बगानको भन्दा छुट्टै छैन। रासन वितरण अनि अरु सेवाहरु जस्तै प्रोभिडेन्ट फन्ड नियमित रुपले चलिरहेको छ।     

यस बगानको ऐतिहासिक पृष्टभूमि हेर्दा, यो बगान स्वतन्त्रताको पश्चात पनि सन् १९८१ सम्म जर्मन मालिकको अधिनमा थियो। तर जब मालिकले सरकारलाई कर अनि मजदूरहरुलाई ज्याला तिर्न सकेको थिएन,  दार्जीलिंङमा नै जन्मेका अनि हुर्केको जर्मन मालिक जेफ्री जोन्सटनको संदिग्धपूर्ण हत्या भयो। त्यसपछि सरकारले चियाबगानको जिम्मा लियो। 

सरकारले बिक्री गर्नुको त्यहि पुरानो बहानाहरु दिदैछ। भारी मात्रामा बगानलाई क्षति भएको बयान सरकारले भन्दैछ तथा म्यानेजमेन्टले एक हेक्टर प्रति मजदुरको संख्या ज्यादा भएको कारणले बगानमा नियुक्तिको समस्या आएको बताउदैछन्। सरकार पक्षबाट यस बगानका मजदूरहरुले अरु सरकारी विभागमा कामकाजको अवसर पाउनेछ अनि स्वैच्छिक अवकास (VRS) पनि रोज्न सक्नेछ भनि बताएको छ। हामीले यस्तै नीतिहरु वामफ्रन्टको जमानामै देखिसकेका छौ जहाँ सैकडौ सरकार चालित संस्थानहरु हावामा छु मन्तर गरियो अनि ब्रिटिस सरकारको DFID बाट प्राप्त पैसा द्वारा चल्यो VRS स्किमद्वारा श्रमिकहरुको छटाइ। 

त्यही कथा हावामा फैलिरहेको छ। पहिले सरकारी संस्थानहरुको खराब व्यवस्थापनको अफवाह, त्यसपछि कर्मचारी तथा श्रमिकहरुको निलम्बन, पाउने सहुलियतहरु घटाई अनि आखिरमा निजी खेलाडीहरुको हातमा उपहार। २००७मा सुल्तानले जस्तै, यसपाली जय श्री ग्रुप, अम्बोटिया ग्रुप, बगारिया ग्रुप अनि एन्ड्रु युलले यी पाँच चियाबगानहरुको निवेशक बन्ने इच्छा जाहिर गरेको छ।  

यहाँको केहि श्रमिक अनि सिनियर टेक्निसियनहरु संग बात गर्दा, यहाँ बहुमतमा भएको गोजमुमो अनुमोदित ट्रेड यूनियनले बगानको निजीकरणको विरोध गरिरहेको छ भन्ने थाहा लाग्यो अनि मजदूरहरु पनि निजीकरणको विरोधमा नै छ भन्ने पत्तो लाग्यो। 

तर यस मतको विपरित विचारहरु पनि केहि मजदूरहरुबाट सुन्नमा आयो। उनीहरुको भनाइमा सरकारी प्रबन्धकहरुको हेलचेक्र्याइँले नै यो स्थिति भएको हो अनि यस स्थितिमा कठोर प्रबन्धन नै यस चुनौतीको जवाब हो। यस वक्तव्यको जुनै इशाराले पनि निजीकरणको भाषा बोलेको पाइन्छ। उनीहरुले २००८ देखिको अचल नियुक्तिको प्रक्रिया पनि खुल्ने आशा पोखे। उनीहरु बगान प्राइभेट भए पछि लगतै हुने लाचार र भयङ्कर दुर्दशाको स्थितिबाट अचेत छन्। प्राइभेट कम्पनीहरु जुन नाफा मात्रको उद्देश्य लिएर चल्छ, तिनीहरु नाफाको थोपा थोपाको लोभले श्रमिकहरुलाई अहिलेसम्म गरेको शोषण भन्दा कुनै कम हुँदैन।  

अर्को क्रामाकपा अनुमोदित ट्रेड यूनियन जुन अल्पसंख्यक छन् उनीहरुको प्रतिनिधिहरु संग भेट नभएको कारणले राय जान्न पाएनौ तर उनीहरुले कुनै कदम चालेको पनि पत्तो लगेन।

बहुमत ट्रेड यूनियनका स्थानीय नेताहरूले भनेको अनुसार सबै कुरा हेड-अफिसमा नै ठिक गरिन्छ अनि उनीहरुको पक्षबाट गर्ने केहि छैन। यो सुन्दा अचम्म लाग्नु स्वाभाविक हो।  यस कुराले श्रमिकहरुलाई आफ्नो मुद्दाबाट नै टाढा बनाउदैछ जुन तिनीहरुको जीविकासँग सम्वन्धित छ। पुरा बगानमा हामीले कुनै रुपको पनि विरोध देखेनौ— न विरोधको नाममा एउटा पनि पोस्टर; बरु चियाबारी शिकारीहरुलाई लुटको निम्ति खुल्ला राखेको जस्तै हामीलाई लाग्यो।



No comments:

Post a Comment