Tuesday, April 29, 2014

हामी जित्नेछौँ एक दिन


झझल्कोमा कालजयी पिट सिगर 

राजा पुनियानी

आमाको गर्भबाट एकपल्ट जन्म लिन्छ मान्छेले। जीवनमा धेरैपल्ट जन्म लिँदो रहेछ त्यसपछि पनि तर उसले। आफ्नो प्रत्येक गीतको गर्भबाट एउटा नयाँ जन्म लिइरहने अमर गायक हुन् पिट सिगर। यसरी जन्म लिएपछि यिनको प्रत्येक गीतले कैयौँ भावना, कैयौँ विचार र कैयौँ मान्छेलाई जन्म दिन्थ्यो। दिइरहेको छ आज पनि। तिनको पार्थिव शरीरको अवसान केही दिनअघि भइसकेको स्थितिमा तिनको गीत-सङ्गीतको महत्त्वबारे झन्-झन् घोत्लिन प्रेरित भइराखेको छ विश्व समुदाय। 

“वी श्याल ओभरकम... (हामी जित्नेछौँ)” – यो विश्वप्रसिद्ध गीतले मर्दै-बौरँदै गर्ने हत्तु-हैरान जनतालाई एक न एक दिन जित्ने बलियो आशा, आत्मविश्वास र ऊर्जा दिएको छ। अन्तरराष्ट्रिय ख्यातिका गायकहरूले गाएको औधी लोकप्रिय यो सिगरलाई कालजयी बनाउने एउटा कालजयी गीत हो। सिगरको गीत गीतभन्दा बढ़ी हो भन्ने प्रमाण उनको यो गीतको विभिन्न भाषाका संस्करण र यसलाई लाखौँपल्ट चिया दोकान, कारखाना, भान्साकोठा, बाटाघाटा, जनसभा र युद्धमैदानमा गाइनुले दिन्छ। यसरी सिगरले गीतलाई प्रतिरोधको स्वर बनाए। हतियार बनाए। सिगरले सिद्ध गरेर देखाए कसरी जनतालाई गीतमार्फत् पनि शिक्षित तुल्याउन सकिन्छ। जनतालाई उसको पीड़ाको कारण खोज्ने, जनविरोधी नीति राख्ने व्यवस्थालाई हाक्की प्रश्न गर्ने, युद्ध गरेर र गराएर जनतालाई दुःख दिने देशलाई कठालो समात्ने, दमनको मुखमै प्रतिरोधको आवाज घन्काइदिने जन हतियारको रूपमा सिगरले तबसम्म कमुलो, दुर्बल र प्रभावहीन ठानिएको गीतलाई विचारको जमीनमा ठिङ्ग उभ्याइदिए। सरकार तर्सुञ्जेल। सत्ता बिच्कुञ्जेल।   

तिनको गीतमा त्यो शक्ति थियो जुन शक्ति एउटा बमभन्दा लाखौँ गुणा बलियो हुन्छ। जुन शक्ति एउटा मन जित्न, एउटा विचार फेर्न र एउटा विश्व पल्टाउन काफी हुन्छ। गीतलाई त्यो उचाइसम्म उकास्नु, जहाँबाट संसारका सारा पीड़ा, सारा शोषण र सारा लड़ाइँ एकसाथ देखिन्छन्, त्यो सिगरले बखुबी जान्दथे। किनभने तिनी थिए सच्चा गायक। किनभने तिनले कहिल्यै प्रसिद्धि चाहेनन्। कहिल्यै अन्धो छविको होड़मा परेनन्। तिनी थिए लो प्रोफाइलका गायक। तिनी थिए ठेट गायक। अमेरिकी लोक गीतका गायक। लोकका गायक। जनताका गायक।

विश्व थर्काउने गीतहरू सिगरले एउटा लोकबाजा बेञ्जोको कम्पनसँग गाउँथे। तिनको आवाज सुनेर जनतालाई ढुक्कको निद्रा लाग्थ्यो। सरकारको निद्रा हराउँथ्यो। सदा सादा पोशाकमा रहने र सादा जीवन बिताउने सिगरसँग बजार लजाउँथ्यो। लोभ टाढ़ा भाग्थ्यो। यसरी सिगर एउटा मान्छेभन्दा बढ़ी केही थिए। तर उनी मसीहा थिएनन्। थिए त केवल एक गायक। हुँदा हुँदै पनि उनी गीयकभन्दा बढ़ी भविष्यद्रष्टा थिए। स्वप्नद्रष्टा थिए। र थिए जनसैनिक। 

संसारै थर्काइरहेको, हल्लाइरहेको सिगरको गीतको ऊर्जा नेपालमा पनि आइपुग्छ। रामेश, रायन र मञ्जुलको ‘राल्फा’ (“राजालाई फाल” – राल्फा शब्दको अनुमानित अर्थ) सिगरकै नेपाली संस्करण थियो भन्दा अत्योक्ति हुँदैन। 

अल्वेयर कामु, फ्राञ्ज काफ्का आदि अस्तितिववादी लेखकको रापले बलिरहेकी, गलिरहेकी थिइन् पारिजात यता। ‘शिरिषको फूल’-जस्तो कलात्मक उचाइ र विसङ्गतिवादी उपन्यास लेखेर प्रचण्ड प्रभावी सर्जक बनेकी पारिजात पनि पछि राल्फासँग जोड़िएपछि दार्शनिक प्रश्रय पाउँछिन्। 

जनताको पक्षमा आवाज बुलन्द गर्ने अमेरिकी जनवादी गायकहरू पल रब्सन, बब डाइलन, ब्रुश स्प्रिङ्ग्स्टिनहरूको प्रभाव जति जोरदार देखिन्छ राल्फा अभियानमा, त्यति नै टड़कारो देखिन्छ सिगरको। वास्तवमा डाइलन र स्प्रिङ्ग्स्टिन त सिगरकै सांस्कृतिक आलोकका झरिला उत्पाद थिए। राल्फाले नेपालमा आउनेवाला दिनको गहिरो र मिहिन सांस्कृतिक पृष्ठभूमिको जग बसाउनुमा जुन गुरुत्वपूर्ण भूमिका खेल्न सक्षम बन्यो त्यसमा सिगरको साङ्गीतिक-सांस्कृतिक दार्शनिकताको ठूलै अवदान भएको मान्नुपर्दछ। 

आफ्नो उज्ज्वल पेशेवर भविष्यलाई तिलाञ्जलि दिएर एउटा गितार र दर्जनौँ जनप्रेमी गीतको भिरेर राल्फा टोली गाउँ-गाउँ डुल्थ्यो। गाउँमै गाउँथ्यो, गाउँमै हिँड़्थ्यो, गाउँमै सुत्थ्यो, गाउँमै उठ्थ्यो। एउटा गाउँमा आफ्ना नितान्त नौला र झरिला गीत सुनाएपछि राल्फा अर्को गाउँ पुग्थ्यो। राल्फा सुन्न गाउँलेहरू पहिल्यै भीड़ लागेर बस्थे। राल्फालाई माया गरेर खाना पकाउने, उनीहरूलाई वास दिने होड़ै चल्थ्यो। राल्फालाई हेर्ने, देख्ने र सुन्ने लोभले गाउँका नानी, तन्नेरी र बूढ़ाबूढ़ी राल्फाको पदचाप सुन्न आतुर बन्थे। पछिबाट हुन त यी नै गाउँलेमध्येका केही धोकेबाजहरूले राल्फाको सुराकी पनि गरेको तथ्य पाइन्छ। राल्फाको अवसान हुन गए पनि नेपालको राजनैतिक कायापलटमा राल्फाले सांस्कृतिक गैंती चलाएको अस्वीकार गर्नै सकिन्न।

साम्राज्यवादी र युद्धवादी अमेरिकामा सिगरलाई ‘देब्रेपन्थी’ हुनुको ‘दाग’ लागेपछि तिनको रेकर्डिङ कम्पनीले लत्यायो। झ्यालखानमा थुनुवा समेत भए। त्यसपछि त सिगरको प्रसिद्धि झनै चुलिएर गयो। कलेजका विद्यार्थी, युवा समूहले तिनको गीत झनै सुन्न थाले। सिगर अब उनको सार्वजनिक प्रस्तुतिमै व्यस्त रहनथाले। नब्बे वर्षको उमेर नाघिसकेर पनि उनलाई श्रोताले सुनिरहन चाहे। उनलाई मिडियाले ‘स्टार’ खोजे पनि उनी रहिरहे जनताकै सादा गायक। अमेरिकाका युद्धप्रेमी राष्ट्रपति बील क्लिन्टनलाई त एक ठाउँ भन्न करै लाग्यो पनि – “सिगरसँग राज्यलाई डर हुन्छ। किनभने तिनी जे देख्छन् त्यही सोझै गाइदिन्छन्”।  

सिगर एक तारा हुन्। विश्व सङ्गीतको आकाशमा सदा चम्किरहने त्यो ताराले सदा जनतालाई बाटो देखाइरहने छ।  


No comments:

Post a Comment