Tuesday, April 29, 2014

पहाड़लाई फर्केर हेर्दा


थेन्डुप लामा

“आन्दोलनको बेला....”

“अझै सानो स्वरमा भन्, यो दोबाटोको पनि कान छ, बाटो तल्तिर गाउँकाहरू घास काट्दैगरेको हुन्छ।”  
म बाटो माथिको अम्लिसोको झ्याडमा लुकिरहेको थिए, हामी लुकामारी खेल्दैथिए।

“त्यसको बुवा क्या त अनि जङ्गल भाग्दा यहाँ पनि सी.आर.पी.एफ. पसेको।”— काकीले मधुरो स्वरमा भन्दै थिइन् बडीलाई।

“काकी किन?”— मैले सोधे।

“बाहिर जा, सानो भएर ठुलाहरू गफ गर्दै गर्दा बिचमा बोल्छ।”

आन्दोलन, काटमार, जङ्गल, रात, खदुवा, खुकुरी, घर, आगो, गोलीकाण्ड, सी.आर.पी.एफ., रेट, १४४ धारा, ४० दिनको बन्द, हरियो, रातो अनि कता-कता गोर्खाल्याण्ड पनि.... यस्ता शब्दहरू पहिलो चरणको गोर्खाल्याण्ड आन्दोलन सुनसान भए पश्चात् जन्मेका नानीहरू अनि आन्दोलन कालका ‘कोक्रोका नानीहरूले’ आफ्नो बाल्यकालमा सुने तर किशोर अवस्था सम्म पनि पर्याप्त मात्रामा सुन्न पाएनन्। ठुला-बड़ाहरूले यी शब्दहरू सानो खुस्खुसे आवाजमा बोल्थे। यही शब्दहरू बाल मस्तिष्क र मन भित्र छापियो। केहीको अर्थ सोझो थियो, बुझ्यो पनि तर कति शब्दहरूले मनमा काल्पनिक आकार लिँदै गयो। “सुनाखरीको फूल कस्तो होला” कविता जस्तै आन्दोलन भनेको मेरो निम्ति बतासले कालो धुवाँ उडाई पर्यावरणलाई प्रदुषित गरेको, जसको प्रभावले पुरा समाज नै मात्तिन्छ अनि समाजमा मच्चिन्छ हिंसा, त्रास अनि खरेटीले हाहाकार।

धमिलो आफ्नै कल्पनामा अर्थहरू बुनेर हिड्दा हिड्दै एकदिन अचानक तामाङ र सुब्बाहरू अनुसूचित जाति बनेको खबर पाए। फाइदा हुन्छ हरे पुरै गोष्टीको भनेर गाउँका शिक्षित दाज्युले भने। सबै जाति वा गोष्ठीहरूले आ-आफ्ना समावेश राख्न व्यस्त छन्। त्यहाँ आफ्नो भाषा, संस्कृति, संस्कार बचाउने कुरा गरिन्छ। बचाउने उपकरणको पनि खोज भएछ। आकाशबाट खसेझैं सुन्दर टल्कने भेषभूषाको परिचय भयो, लगाउनुपर्ने निर्देश आयो अचानक। हाम्रा पुर्खाहरूले लगाएका हरे। हाम्रा पुर्खाले यो पोशाक लगाएर चियाको पात टिप्दै गरेको कल्पना गरे। धनी हुन् उनीहरू हामी त दर्जीले ज्यालाको दाम तोक्दै तर्से। दशैं र तिहार मान्न नहुने हरे हामीले। माम-मेमेले त्यसो भए त्यस चाडलाई किन मनायो खण्डन भएन कतै पनि। खाली एउटै कारण बुद्धिष्ट हरे हामी। तर कहिले देखि बुद्धिष्ट? कि बौद्धधर्म अंगालेको भन्दा अघिको जन-जीवन अपनाउनु पर्ने हामीले, शङ्काले घेऱ्यो मनलाई। तर विडम्बनाको कुरा के भने त्यही बुद्धिष्टले ‘सानो जात’-को केटासँग विवाह गऱ्यो भनेर पुरा गाउँ समाजलाई आफ्नो ज्यूदो छोरीको घेवा खुवाए, लामाहरूले भूत खेदे, ढ्यांग्रो कसेर पिटे, समाजबाट बहिष्कार गरे। गाउँमा अम्बेडकर बस्दैनन्, तर ढ्यांग्रो तयार छ फेरी अर्को घेवाको निम्ति। राजनैतिक माहोल गरम छ, खाली जात-जातिमा सीमित, अब गोष्ठीले मात्र नभएर त्यस्ताकका सत्ताधारी पार्टीले पनि छैटौँ अनुसूचीको तोफा पहाड़लाई दिने भए। सबै ट्राइबल, सबै खुसी हुने अरे। 

अनुहारमा मिहिन जुँगाले रेखामात्र के कोरेको थियो, प्रशान्त तामाङ इन्डियन आइडलको मञ्चमा गीत गाएको देखे। पुरा पहाड़ले फोन कल र एस.एम.एस.-द्वारा भोट दिनथाल्यो। प्रशान्तलाई तामाङको सन्तानको रूपमा कसैले हेरेनन् गोर्खे सन्तान भनी अंगाले। अघिको त्यो बुद्धिष्ट मान्छेले गाउँको दोकानमा छोरीले भाउचर किन्दै गरेको देखे। गोर्खाले गोर्खालाई जितायो। गाउँमा सबै फेरी गोर्खा भयो। पहाड़मा फेरी एकता जन्मियो। पहाड़को राजनैतिक हावाले नयाँ सास फेर्दैछन्। बाल्यकालमा सुनेको त्यो धमिलो शब्दहरू सडकमा जोड-जोडले चिच्याएको सुने। शोषण र दमनको कथा छात्ती पिटीपिटी मान्छेहरूले भन्दैछन्। दुई दशकसम्म आफूभित्र बचाएर राखेको गोर्खाल्याण्ड शब्दलाई मान्छेहरूले बम पड्केको आवाजमा उच्चारण गर्दैछन्। आन्दोलनको घोषणा भयो। म तर्सिए, मेरो दिमागको आन्दोलन! वृद्धहरूलाई ८६-को खौफले सतायो। अधवैंसे, नारी र युवाहरूमा जोशको वेग चल्यो। एकदिन त्यही सानो हुँदा लुकामारी खेलेको दोबाटो हिड्दै थिए, केही नानीहरूले गोर्खाल्याण्डको नारा लगाएको सुने।  

पहाड़मा सडकले जनसमुद्र थुपारे, आन्दोलनकारीहरूका भोकले भोक-हड़ताल। खानेले फेरी कोक्रोका नानीहरूका भविष्यको कसम पनि खाए। आन्दोलन बिक्री नहुने वचन पायो जनताले... बदलिमा जनताको भरोसा। आन्दोलनको विचार जो मेरो मनमा थियो त्यसले नयाँ चित्र कोरिसकेको थियो। अब अठोट छु— आफ्नो अधिकार हत्याउने एउटै बाटो हो आन्दोलन। आफ्नो अधिकार माग्ने भाषा हो आन्दोलन, आन्दोलनले नै देखाउछ व्यवस्थाको चरित्र। आन्दोलनले नै छुट्याउछ दोस्त अनि दुश्मन।  पुलिस, सी.आर.पी.एफ र अन्य अर्धसैनिक बलहरू आन्दोलन दबाउनु खटाएको छ राज्य अनि केन्द्र सरकारले। हुकुमको जवाब छैन भन्ने मनोस्थिति भएका रोबर्टहरूले अन्धा-जस्तो  जनता माथि लाठी बर्साए, गोली ठोके। घोषणा— नयाँ तोफा पहाड़लाई। दार्जीलिंङ राजनैतिक हत्याको कारखाना हो भन्दा कसैले सहमति नगर्लान् तर यस्तै हुँदो आएको छ। विरोधी दलका नेताको दिनको उज्यालोमा नै हत्या भयो। आन्दोलनले पहिलो झट्का यही खायो, निश्चय नै त्यो तोफाले त  गतिविधि नै बिगायो। आन्दोलन शेष, जनतालाई धोका, र पहाड़ले नयाँ व्यवस्था कायम गऱ्यो। 

नेपाली अथवा गोर्खा, लाप्चे र भुटिया— पहाड़को तिन आदि वासिंदाहरू हुन्। अरू सबै जातिहरू गोर्खा राष्ट्रियताको घेरामा आफूलाई सुरक्षित राखेका छन् भने लाप्चे र भुटियाले बेग्लै पहिचान कायम गरेको छ। अल्पसंख्यक लाप्चेहरूले आफ्नो भाषा र संस्कृतिको संरक्षण अनि समुदायको आर्थिक विकाशको निम्ति लड्दै आएका हुन्। यति खेर ममता दिदीले लेप्चा डेभेलपमेन्ट बोर्ड गठन गरिन्। लाप्चेहरूले “भाग्यविधाता” भनी अपनाए दिदीलाई तर वास्तवमा भित्रबाट जडा काटेको अनुभाव पुरा पहाड़ले नै महसुस गरे। १८९०मा लर्ड कार्जनले जसरी बंगाल विभाजन गरी शाषण कायम गरेका थिए त्यही नीतिलाई पहाड़मा लागु गर्न मात्र उत्रेका हुन् सुश्री ब्यनेर्जी, किनभने कुरा सोझो छ, बंगाल यस्तो राज्य हो जहाँ टोटो जस्ता आदिवासी जसको १२ परिवार मात्रले अस्तित्व बचाईराखेका छन्, उनीहरूको समस्याको निम्ति सत्ताधारी पक्षबाट केही ठोस काम भएको छैन। लाप्चे र गोर्खाहरूकै निम्ति पनि भारत स्वतन्त्र भए पश्चात् कहिले पनि कुनै व्यवस्थापनको काम सरकार तर्फबाट भएन।  पहाड़का विभिन्न समुदाय बिच फाट लिएर साम्प्रदायिक सन्त्रास फैलाएर आन्दोलनलाई बाधा दिनु हो मुख्यमन्त्रीको मकसद।

अवसरवादीहरूको कमी छैन, हेर्दा मान्छे नै ठग हुन्छ। बंगाल सरकारको षड्यन्त्रले अझै एक कदम कामयाबी हासिल गरेँ जब पहाड़का विभिन्न समुदायले लाप्चेहरूका जस्तै विकाश बोर्ड चाहिन्छ भन्ने हल्ला पिटे। तामाङ युथ एसोसिएसनले कामयाबी हासिल गरे, तामाङ डेभलपमेन्ट बोर्ड गठन हुने भयो। तर यसले झन् जमिन मुनि गाडेको गोर्खाल्याण्डलाई सय फिट तल पुरिदिए। गोर्खाल्याण्ड शब्दको अस्तित्व कुनै एउटा बोर्डमा त्यतिकै धमिलो छ जति मैले बाल्यकालमा सुनेको मधुरो आवाज थियो। समय फेरी फर्केर त्यही गएको हो कि क्यारे जुन बेला सबै समुदायका सङ्गठनहरूका एउटै मुद्दा थियो— ट्राइबल, ट्राइबल, ट्राइबल। घरीघरी शङ्का लाग्छ मेरो उमेर मात्र बढेको होला समय-काल त्यही फर्केको होला। अहिले दिदीको चाल एकदम दूधको दूध पानीको पानी भएको छ, मुखमा राम राम बगलीमा छुरा बोक्ने “भाग्यविधाता”-ले सेवा र सुविधाहरूको साटो राजनैतिक फाइदा कमाउदैछन्। तामाङ युथ एसोसिएसनले खुल्ला रूपमा दिदीको राजनैतिक पार्टीलाई लोकसभा चुनावमा सघाउने घोषणा एउटा उदाहरण हो। अनि अझै राज्यले तामाङ बोर्डको अधिनस्थ सबै गोर्खा समुदाय रहनेछन् भनेर जुन अधिसूचना जारी गरेको छ त्यसले त झन् विभाजनको बोली बाहेक अरू केही बोलेको छैन। अहिले राज्य मन्त्री-मण्डलले पहाड़़का दस समुदायहरूलाई अनुसूचित जनजातिमा गाभ्ने निवेदन केन्द्रलाई पठाएका छन्। तर पहाड़वासीलाई गोर्खाल्याण्ड वा विकाशको मुद्दा, कुन ज्यादा महत्वपूर्ण छ?—यस्तो प्रश्न स्वाभाविक रूपमा उठ्दैछ। जनजाति भएर मेरो गरिब लाप्चे काकीको छोराले के काम गर्दैछ?— सोध्नुहोस उहाँलाई। तपाईंको मनमा उदाहरण आयो होला कि तपाईंको छिमेकी जनजातीकी छोराले आरक्षित कोटामा अफिसर बन्यो भनेर। तर उहाँ त समाजको लाखौमा एक हो— हामीलाई चाहेको लाखौमा लाख। उहाँको शिक्षा व्यवस्थित थियो, शिक्षाको खर्च जुटाउन सक्थ्यो अभिभावकले। हाम्रो समाजमा के बहुसङ्ख्यक मानिसले शिक्षाको खर्च जुटाउन सक्लान्, सरकारी पाठशालाको भरोसा कसरी गर्नु हामी?       

पहाड़मा अहिले सुविधावादी प्रलोभनहरूले जन-जीवनको वास्तविक मांग र अधिकारलाई बादलले झैँ छोपेको छ। यस झमेलामा कसैले पनि खटिखाने मान्छेले के भोगिरहेको छ, सोच्दैन। सबै समुदायमा एउटा कुरा सामान्य छ— हेपिएका खटिखाने मेहनती वर्ग।  शिक्षा, स्वास्थ्य, रोजगार जस्ता मुलभुत अधिकारको स्थिति नाजुक छ। खटिखाने मेहेनती जनतालाई महंगाइले हमला गरेको गरेकै छ। श्रम कानुनको उल्लंघन गरी श्रमिकहरूका शोषणमा युग-युग देखि जुटेका छन् म्यानेजमेन्ट र मालिक वर्ग। आवाज बन्दुकको गोलीमा शून्य भई घाटीमा अड्केको छ। हरियो सुनले श्रमिकको हरियो जीवन लुटिसक्यो, बाकी रहेका एक एक कत्रा खून र पसिना पनि पिउदैछ शासकहरूले। नारी तस्करी, बलात्कार, अवहेलना समाजमा दैनिक घटना बन्दैछ। युवाहरू रोजगारको समस्याले घरबाट टाड़ा परदेशमा काम गर्न जानुपर्छ इत्यादि इत्यादि.... अब समय सापेक्ष कदम चाल्ने पालो छ मेहनतीहरूको। तर यहाँ फेरी गोर्खा हिरोको जन्म भएको छ। उहाँ भन्दा विद्वान गोर्खा समाजमा कोही छैन। डुबेको नाउँलाई बचाउने भएको छ। पराइ लाखौमा एक, बिचरा हाम्रो गरिब समाज। दुनियाको इतिहासमा कतै पनि एउटा सिंगों व्यक्तिले सामाजिक परिवर्तनको चक्रलाई घुमाउन सकेको छैन। सामाजिक परिवर्तन हुनुमा समाजको बहुमत हिस्साले भागीदारी निभाएको छ।  हाम्रो समाजमा पनि यदि बहुमत मेहनतीहरूले परिवर्तनको जरुरी ठान्छ भने, व्यक्ति केन्द्रित, साम्प्रदायिक, सुविधावादी, सुधारवादी राजनीतिलाई थुकेर आफै सङ्गठित भएर आफ्नो लडाइँ लडनुपर्ने स्थिति छ। 

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...