Thursday, February 2, 2017

कविता : उठौँ भुइँमान्छेहरू

छेवाङ योञ्जन 







(पश्चिम बङ्गालको, भाङ्गड़मा 
सङ्घर्षरत किसान 
अनि क्रान्तीकारी साथीहरूलाई 
समर्पित कविता)

जो कोहीलाई निशाना बनाएर
यदि कसैले ताकिरहेको छ भने
जो कोहीलाई शिकार बनाएर
यदि कोही जङ्गल पसेको छ भने
सम्झनुहोस्
त्यो हाम्रै देश हो।

यदि कसैले हाम्रो बगैँचा मिच्दैछ भने
यदि कसैले हाम्रो खेत चोर्दैछ भने
यदि कसैले हाम्रो पेटमा
अग्निज्वाला फुकिरहेको छ भने
सम्झनुहोस्
त्यो हामीले सम्मान गरिरहेको
हाम्रै कानुन हो
जसको अन्धो आँखा अघि
हर बखत झुकी रह्यौँ हामी

हाम्रो आवाजको मुस्लोहरूमा
अश्रु ग्यास फ्याँकेर
उत्सव मनाइरहेको छ गणतन्त्र
हाम्रो चेतनामा सङ्गिन घोपेर
नाचीरहेको छ गणतन्त्र

हामी उभिएको जमिन खोस्न
यतिसम्म पागल भएको छ
यो देश, कानुन र गणतन्त्र
हेर त !
हाम्रो विचारहरूमा पेट्रोल छर्छ यो देश
हाम्रो नाराहरूमा माचिस पार्छ यो देश

हाम्रो पाइलाहरूमा काँटी ठोक्छ कानुन
हाम्रो मुठ्ठीहरूमा बन्दुक ताक्छ कानुन

हाम्रो गीतहरूमा बारुद फ्याक्छ गणतन्त्र
हामीले ल्याएको बिहानीहरूलाई
अँध्यारो ओढाई रहन्छ
पागल गणतन्त्र।

तर यो देश बुझ्दैन
माटोले मुठ्ठी उचालेको दिन
कसरी भत्किने छ संसद भवन
माटोमा उभिनेहरू एक भएको दिन
कसरी चुडिने छ कानुनको भद्दा साङ्ग्लो।

यो देशलाई
पटक्कै थाहा छैन कि
उसैले भाङ मिसाएको
गणतन्त्र पिएर
बौलाउने छन् अब देशकै

भुइँमान्छेहरू।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...