Thursday, February 2, 2017

'आकृति'को निम्ति मात्रै न्याय होइन, सबैको निम्ति सुरक्षित समाज चाहिन्छ

अम्बिका राई

प्रत्येक दिन झैँ स्कुल जान भनी हिँडेकी आकृति त्यस दिन घर फर्किनन्। न त त्यस दिन उ स्कुल नै पुगी। साँझसम्म पनि घर न फर्किंदा, उसको परिवार चिन्तित भएर यता उति आकृतिको खोजी गर्न भनी निस्किए तर आकृति भने कहाँ गई कसैले पत्तो लगाउन सकेनन्। 

केवल 16 वर्ष पुगेकी आकृति अम्बोटिया कमानकी (खरसांग) बासिन्दा थिई। 16 नवम्बर 2016 को दिन बिहान स्कुल गएकी थिई तर त्यहाँ बाट कता गई कसैलाई थाहा भएन। गाउँका मान्छे अनि पुलिस प्रशासनले पनि चारैतिर उसको खोजी गरिरहेको थियो। पुलिसले त यो तस्करी वा हत्या को आशंका गरेको थियो।

सोही घटनाको ठिक एक महिना वाद करबीर चिया कमानमा एउटा लास फेला पारियो। रमिते खोलाको नजिककैमा केटा केटीहरू खेलिरहेको बेला उनीहरूले छेउमा केही कुहेको जस्तो गन्ध पाए। त्यसपछि यता उति खोज्दा एउटा ढुङ्गा मुनिबाट केही लास जस्तो बाहिर निस्केको भेटाए अनि भेटाइसकेपछि पुलिस त्यस ठाउँमा आएर छान बिन गर्दा त्यो लास आकृतिको होला भनी आशंका गरे, त्यस लासको औलीमा औठी भेटाए त्यस औठीले गर्दा आकृतिको परिवारले त्यो मृत शरीरलाई चिन्हित गरे।

यस घटनाको छानबिन गर्दा 3 जना युवाहरूलाई दोषी भएको आशंका गरेर पुलिसले गिरफ्तार गरे। पछि गएर आकृतिको मृतक शरीर पोस्टमर्टेमको लागि पठाइयो। तर पुलिस प्रशासनको भनाइनुसार आकृतिको बलात्कार भएको थियो वा थिएन यस कुराको पत्तो लगाउनु सकिएको छैन। तब प्रश्न यहाँ उठ्छ कि उसको हत्या हुनको कारण के थियो??

यही घटना पछि लाली गुँरास समूहका 8 जना महिला सदस्य खरसांग बजारमा गई यस घटनालाई धिक्कार जनाउदै सारा बजार भरि पोस्टरिंग गरे। खरसांग पुलिस प्रशासनसँग पनि भेटघाट गरेर यस घटनामा छलफल गरियो र चाडोभन्दा चाडो छानबिन गरेर दोषीहरूलाई सजाय दिन माग गऱ्यो।

यो केवल आकृतिको घटना मात्रै होइन कारण यस्ता घटनाहरू त प्राय नै घटीरहन्छ। हिज अस्ति सिलिगुडीको दागापुर बगानमा एउटा आदिवासी केटीलाई बलात्कार गरी हत्या गरियो, यस घटना पछाडि अलिपुरद्वारमा पनि यस्तै बलात्कार र हत्याको घटना घट्यो। यी सब नारी विरुद्ध हुने घटनाको मुख्य कारण यो पितृसत्तात्मक समाज हो जहाँ नारीलाई समान दर्जा दिइदैन। उल्टै पीडितलाई दोष दिइन्छ घरी उसको चरित्रलाई, घरी उसको पहिरनलाई। त्यसैले नारीको मुक्ति यस समाज व्यवस्थाको परिवर्तनमै निहित छ। 

पर्चाहरूमा केवल आकृतिको निम्ति न्याय होइन तर सबै महिलाहरूको निम्ति सुरक्षित समाजको निम्ति मांगको आवाज थियो। यो घटना केवल आकृतिसँग मात्र घटेको घटना नभएर अरू यस्ता धेरै आकृतिहरू हाम्रो समाजमा छन् जो धेरै प्रकारका लैंगिक हिंसाको शिकार बनेका छन्। तब के केवल आकृतिको दोषीलाई मात्र सजाय दिएर हाम्रो कर्तव्य सकिन्छ ? हाम्रो मुख्य उद्देश्य केवल दोषीलाई मात्र सजाय दिनु होइन तर यस्तो समाज निर्माण गर्नु हो जहाँ कुनै प्रकारको लैंगिक हिंसाको लागि ठाउँ न होस्। यस्तो समाजको निर्माण गरौँ जहाँ आफ्नो लिङ्गको कारणले गर्दा कसैको मृत्यु न होस्। 

‘नारी हिंसा, नारी उत्पीडनको विरुद्ध आवाज उठाउ!’
‘सबै लैंगिग विषमताको विरुद्ध लडौं!’ । ‘पितृसत्ताको विरुद्ध  लडौं!’  




    

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...