Thursday, February 2, 2017

नयाँ बर्षमा 'न्यु इयर रेजलुसन', तर... चिया बगानको समस्या जस्ताको त्यस्तै

कपिल तामाङ

हजुर फेरी पनि मुद्दा चिया बगानकै छ। फेरि पनि त्यही चिया श्रमिकहरूको गुनासोको गाथा, त्यही निराशाजनक परिस्थितिहरूको विवरण। कोही पनि व्यक्ति जो चिया बगान सँग सम्बन्धित छैन उसलाई लाग्न  सक्छ कि लाली गुरासँमा चिया सम्बन्धित लेख मात्र धेर हुन्छ। हाम्रो हरेक अङ्कमा एउटा न एउटा चियाबगानको लेख त हुन्छ नै। किन पनि नहोस चिया उद्योग उत्तर बंगालकै एउटा प्रमुख औद्योगिक क्षेत्र हो। जसले भारतको आर्थिक-आयमा पनि ठुलो योगदान गर्छ। तर चिया बगानमा सय वर्ष देखि काम गर्दै आइरहेका श्रमिकहरूको जीवनमा भने केही ठुलो परिवर्तन आएको छैन। हामी, लाली गुराँस, खटिखाने मानिसहरूको कुरा गर्छौँ, तिनीहरूको जीवनको उत्थान अनि एउटा नयाँ समाज निर्माणको संकल्प राख्छौ। आज चिया उद्योग जुन प्रकारले एक पछि अर्को बगान बन्द हुँदै जानु र चालु बगानमा पनि अराजक स्थिति अनि त्यहाँका श्रमिकहरूको स्थिति दिन प्रतिदिन बिग्रदै जानु एउटा ठुलो चिन्ताको विषय बनेको छ। यसको गम्भीरता अनि यो मुद्दा माथि आम मानिसहरूको ध्यानाकर्षण गर्नु आज लालीगुराँसको प्रमुख उद्देश्य रहेको छ।

2000को दशक देखि धेरै नै चिया बगानहरू बन्द हुने या ज्याला ठिक रूपमा नदिने घटनाहरू एक पछि अर्को आउन थाल्यो। तर त्यो भन्दा अघि पनि परिस्थिति राम्रो थियो भन्न मिल्दैन। चिया श्रमिकहरूका लागि चियाबगान दास व्यवस्था भन्दा कम थिएन न आज सम्म नै छ। ब्रिटिशकालमा हट्टा-बाहारको प्रथा, स्वाधीन भारतमा गोलिकाण्ड— यो सब कथाहरू त हामी सबैले सुन्दै आएका हौँ। भारत स्वतन्त्र भएको 70 वर्ष पुग्न लाग्यो तर पनि चियाबगानका श्रमिकहरू भने जस्ताका त्यस्तै छन्। अझ अहिलेको परिस्थिति हेर्दा त झन् लाग्छ श्रमिकहरूको स्थिति अझ बिग्रिएको छ।

डुवर्सका कतिपय बगानहरू 2000 साल देखि बन्द हुन थाले। रेड बैङ्क, धेक्लापारा, बन्दापानी इत्यादि बगानहरू ती मध्ये थिए। ती बगानहरू आज सम्म बन्द नै छन्। केही विरोध, केही चर्चा भए पनि कुनै राम्रो परिवर्तन भने त्यहाँ आउन सकेन। त्यहाँका ज्यादा जस्तो श्रमिक पलायन भए भने त्यही बसोबास गर्ने श्रमिकहरूको स्थिति गम्भीर छ। सामाजिक कार्यकर्ता, एन.जी.ओं हरू केही सहायता अनि सहयोग गर्छन् तर त्यहाँका मानिसहरूको उद्धार भने भएको छैन। त्यसै क्रममा 2015 देखि डंकन कम्पनीको पहाड–तराई अनि डुवर्स लगाएर 16 वटा बगानमा पनि स्थिति बिग्रन थाल्यो। ठिकसँगले ज्याला नदिनु, पी.एफको पैसा जम्मा नहुनु, ग्राचुइटी नपाउने समस्याहरू देखिन थाल्यो। यो सँग सँगै पहाडको अल्केमिस्ट बगानहरूमा पनि यस्तै परिस्थिति शुरु भयो। ती बाहेक पानीघट्टा, जोगमाया, मानाबरी, केरन... एक पछि अर्को बगानमा गतिरोधको समस्या भइरहेको छ। 2016को दसैँ-तिहारको बोनस पनि सधैँ दिने 20% देखी घटेर 19% भयो त्यो पनि 55 वटा बगानहरू रुग्ण घोषित भएकोले केवल 8.5%को दरले बोनस दिने निर्णय भयो। अल्केमिस्टका श्रमिकहरूले त एक पैसा पनि बोनस पाएनन्। घोर विरोध भयो तर आश्वासन बाहेक केही पनि पाएनन् त्यहाँका श्रमिकहरूले। मानाबारी नामक एउटा सानो बगान डुवर्समा छ जहाँ दसैँ देखी श्रमिकहरूले ज्याला पाएका छैनन्। जसको विरोध पनि गरे तिनीहरू अझै गरिरहेका छन् तर सुनी दिने कोही छैन।

तर अर्को तर्फ हेर्दा चिया उद्योगको आर्थिक-आय भने 2016मा सब भन्दा बेसी बढेको छ। राष्ट्रिय अनि अन्तर्राष्ट्रिय  डिमान्ड पनि बढेको छ। त्यसो भए किन बगानको हालत बिग्रेको त? यो प्रश्न सबैको मनमा अल्झेको छ। यसको पछाडि धेरै कारणहरू छन्। भारतमा नव-उदारवादी अर्थनीतिको आगमन, नयाँ  बगानहरूको बडोत्तरी, बट लिफ फ्याक्ट्रीको निर्माण— यी सब कारणहरू छन् जसले गर्दा चिया बगानहरूको हालत बिग्रिरहेछ। प्लान्टेशन लेबर एक्ट अनुसार जुन सुख-सुविधाहरू श्रमिकहरूले पाउनु पर्थ्यो ती सुविधाहरू कुनै पनि बगानमा पूर्ण रूपले दिएको त छैन नै बरु त्यसको सट्टामा क्यासमा नै दिने कुरा मालिकहरू गर्दै छन्। यो सब कुराहरू एक अर्का सँग सम्बन्धित छन्। नव-उदारवादी नीति अनुसार ओद्योगिक  क्षेत्रहरूबाट पर्मनेन्ट श्रमिकहरूलाई हटाएर ठिका श्रमिकहरू बढाउने नीति हुन्छ। जसको लागि यदि कुनै पनि पर्मनेन्ट श्रमिकको ती सुविधाहरूको बदलिमा केवल पैसा दिएर क्याजुलाईजेसन (casualization) गर्न सुविधा हुन्छ जो तिनीहरूको उद्देश्य हो। अचम्मको कुरा के छ भने यस काममा ठुलो मदत सरकारले मालिकहरूलाई गरिरहेका छन्। आज फूड सेक्युरिटी को नाम गर्दै वा 100 दिने कामको नाम गर्दै सरकारले ती सुविधाहरू बगानका क्षेत्रहरूमा गरी रहेका छन् जुन काम मालिकले प्लान्टेशन लेबर एक्ट-को अनुसार गर्नु पर्ने थियो। खाद्य सुरक्षा कानुन 2013 लागु भए पछि वेतन/ज्यालाको जुन हिस्सा राशनको रूपमा दिइन्थ्यो त्यसलाई गैरकानुनी ढंगले बन्द गरिएको छ। अझै फ्रिन्ज़ बेनिफिटको सट्टा पनि क्यास दिने कुरा पनि श्रमिकहरूमाझ मालिकहरू राखी रहेका छन्। जसले गर्दा भोलिको दिनहरूमा ठिका श्रमिक बाहेक कोही पनि हुँदैन चिया बगानमा अनि मालिकहरू अफ्नो मन मानी गर्न पाउने छन्। केही विरोध भए काम बाट निकालिदिनु पनि सजिलो हुनेछ मालिकहरूलाई साथै कुनै प्रकारको सुविधा पनि पुरा गर्नु पर्ने हुँदैन। यो नै मालिकहरूको उद्देश्य हो। जसले गर्दा आज चिया बगानका  मालिकहरू मनगढन्ते सङ्कट ल्याउन खोजी रहेका छन् । डंकनको बगानहरू मध्ये बाग्राकोट, नागेश्वरी अनि किलकट 2016 देखि चालु भयो अनि बीरपाडा अनि दुम्सीपाडा भर्खरै डिसेम्बर-जनवरीमा चालु भएको छ, त्यस बाहेक पहाडको रंगली-रंगलीयट अनि तराईको गंगाराम पनि 2016 देखि चालु भएको हो। तर यी सबै बगानहरूको समस्या भने ठिक रूपले समाधान भएको छैन। पुरानो बाकीहरू त मालिकले दिएका छैनन् अनि रोज पनि कोही बेला आउँछ अनि कोही बेला आउदैन। यसरीनै अल्केमिस्ट बगानको मालिक को हुन्? आज सम्म पत्तो लागेको छैन। धेरै समयदेखी पैसा नपाएर मजदुरहरु बगान छोडेर बाहिर कामको खोजीमा हिड्दैछन। अल्केमिस्टको धोत्रे र कालेजभेल्ली बगानहरूमा कम्ती मानिस अहिलेसम्म काम गरिरहेका छन भने पेशोक बगान त सम्पूर्ण गतिरोधको स्थितिसम्म पुगिसकेको छ। तराईको पानीघट्टा, डुवर्सको मानाबारी जस्ता सा-साना बगानहरू बन्द नै छन्। केरन बगान हालैमा बन्द भयो। चालु बगानहरूमा पनि बगानहरूको हेरचारमा कमी आएको छ जसले गर्दा बगान पनि नाश हुँदै गैरहेको छ। साथै श्रमिकहरू पनि धेरै मात्रामा पलायन भइरहेका छन्। तर चियाको डिमान्ड भने नयाँ बगान अनि बट लीफ फ्याक्ट्रीहरूले धेरै मात्रमा पुरा गरी रहेका छन्। 

हालैमा केन्द्र सरकारको नोटबन्दीको घोषणा पछि मजदुरहरूलाई वेतन, उत्साह भत्ता, ओभरटाइमको ज्याला, सुत्केरी भत्ता, बिरामी भत्ता आदि सबै प्राप्त गर्नुमा खुबै कठिनाई भइरहेको छ। पाउनुपर्ने राशी सहि समयमा पाइएको छैन। त्यसैगरी अचानक बैक अकाउन्टद्वरा ज्याला भुगतान गर्ने निर्देशले उनीहरूलाई सङ्कट तर्फ धकेली रहेको छ। 

समस्त शिडीउल्ड इम्प्लोयमेन्टहरूमध्ये चिया उद्धयोगको ज्याला सबैभन्दा कम्ति छ। यहाँ बेसिजसो नारी मजदुरहरू छन् अनि ‘नो वर्क नो पे’ नीतिको आधारमा काम गर्ने दैनिक मजदुरहरू छन्। उनीहरूले जुन नगदी राशी पाउछन् त्यो हो दैनिक सय रुपियाँ। भन्नु पर्दैन की यसबाट उनीहरूको न्युनतम खर्च पनि टर्दैन र तीन चार घण्टाको लागि लाग्ने अस्थायी बजारमै त्यो पैसा सकिने गर्छ। 

चिया उद्योग एउटा श्रम-बहुल अनि कृषि आधारित उद्योग भएको हुनाले यहाँ अस्थायी कर्मदिवसको संख्या अनिश्चत हुने गर्छ, स्थायी मजदुरहरूको नियुक्ति पनि एक जस्तो हुँदैन, फलस्वरूप उनीहरूको मजदुरीको अंश अनि कुल आय पनि समय साथ साथ बद्लिने गर्छ। यसैले कुनै कुनै समय ज्याला दिने समयमा नाना प्रकारको विवादहरू खडा हुने गर्छ जसको समाधान पनि आवश्यक छ। 

अधिकांश चिया बगान अफ्ट्यारो अनि दुर्गम ठाउँहरूमा स्थित छन्, यस्तो स्थानमा बैंक सेवा पनि सिमित छ तथा धेरजसो मजदुरहरूको पहुच देखि टाढा छ। यस्तो हालतमा आवश्यक तैयारी बिना तथा समस्याको सामग्रिक समाधान नगरिकनै अचानक वर्तमान रितिको बद्ली बैंक-खाताको माध्यमले ज्याला दिने व्यवस्था कहिले पनि सफल हुन सक्दैन, यो व्यवस्थाले चिया मजदुरहरूको जीविकालाई भरि संकटमा हाल्नु सक्छ। फेरी याद राख्नु पर्छ यहाँ अधिकांश मजदुरहरू एससी, एसटी अनि ओबीसी अर्थात् आर्थिक-सामाजिक रूपले पछाडीएको वर्गका मानिसहरू हुन्। सम्पूर्ण अपरिचित परिस्थितिमा यी मानिसहरू सजिलैसित ठगबाजीको शिकार हुन सक्छन्। 

जबसम्म कम्पनी, सरकार अनि बैंक अधिकारीहरू मिलेर बगान कार्यलयमा बैंक शाखाको स्थापना गरेर निर्धारित पेमेन्ट डे-मा आफ्नो जिम्मेवारीमा अनि मजदुरहरूलाई सुविधा होस् यस्तो किसिमले ज्याला प्रदान गर्ने व्यवस्था साथै प्रत्येक कर्मदिवसमा बैंकिंग सेवाको व्यवस्था सुनिश्चित हुँदैन, तबसम्म अचानक ज्याला/वेतन लिएर सङ्कटको समाधान हुँदैन। बगानको कार्यलयबाट नियमित रूपले विशेष अन्तरालमा ज्याला प्रदान गर्ने व्यवस्था जस्तै साप्ताहिक, पन्द्रह इत्यादिमा अन्तरिम ‘खर्च’ दिएर महिनामा तलब दिने जुन व्यवस्था थियो त्यसलाई फेरी चालु गरेर बाकी पैसा सबै तिर्ने व्यवस्था गर्नु जरुरी छ। यस्तो परिस्थितिमा हामी आम मानिस अनि सचेत नागरिकहरूको ठुलो भूमिका हुन्छ। सरकारलाई यस विषयमा केही ठोस कदम लिन बाध्य गराउनु अनि श्रमिकहरूको हितमा काम गर्दै तिनीहरूको साथमा खडा हुन हामी सबै सचेत मानिसहरूलाई आग्रह गर्छौँ।

No comments:

Post a Comment