Thursday, February 2, 2017

किन समाजवाद

अल्बर्ट आइन्स्टाइन
[यो लेख मूल रूपमा मन्थली रिव्यु (मई 1949) को प्रथम अंकमा प्रकाशित भएको थियो। पछि मन्थली रिव्युको पचासौं वर्षगाँठलाई मनाउन यस लेखलाई मई 1998 मा प्रकाशित गरिएको थियो। अनुवाद : संगीता खेवा]


यदि कुनै व्यक्ति जो कि आर्थिक र सामाजिक मुद्दाहरूको विशेषज्ञ होइन समाजवादको विषयमा आफ्नो मन्तव्य दिए के त्यसलाई उचित ठान्न सकिन्छ? मलाई लाग्छ कतिपय कारणहरूले गर्दा यसलाई उचित ठान्न सकिन्छ। पहिला यस्तो विषयलाई वैज्ञानिक ज्ञानको दृष्टिले विचार गर्नु पर्छ। यस्तो लाग्न सक्छ कि खगोल विज्ञान अनि अर्थशास्त्रबिच कुनै प्रणाली सम्बन्धी मौलिक अन्तर छैन, कारण दुवै क्षेत्रमा वैज्ञानिकहरू एउटा सिमित समुहको लागि सामान्य स्वीकार्य कानुनहरूलाई खोज्ने प्रयास गर्छ जसले यिनीहरूको सम्बन्धलाई अझै स्पष्ट पारि दिओस। 

तर खासमा यिनीहरूको प्रणाली सम्बन्धी अन्तर छ। अर्थशास्त्रको क्षेत्रमा सामान्य स्वीकार्य कानुनको खोजि गर्नु गाह्रो हुन्छ कारण आर्थिक तथ्य ति धेरै कारकहरूमा निर्भर पर्छ जसको छुट्टै मुल्यांकन गर्नु कठिन छ। यस बाहेक मानव इतिहासको तथाकथित सभ्य अवधिको शुरुवातदेखि जमा गरिएको अनुभवले बताउछ कि मानव सभ्यता ति तमाम कुरोहरूले प्रभावित र सिमित गरिएको छ जसको प्रकृति केवल आर्थिक छैन। उदाहरणको रूपमा हामी हेर्न सक्छौ इतिहासमा जुन प्रमुख राज्यहरूको स्थापना भएको थियो ति प्राय जितिएको भूमि वा राज्य हुने गर्थ्यो। जित्ने मानिसहरूले कानुनी र आर्थिक रूपले विशेषाधिकार प्राप्त गर्ने वर्गको रूपमा आफैलाई स्थापित गरे। उनीहरूले भूमिको स्वामित्वको एकाधिकार जब्त गरे साथै आफ्नै वर्गबाट एकजना पुजारी नियुक्त पनि गरे।

यी पुजारीहरूले जसको नियन्त्रणमा शिक्षा थियो, समाजको वर्ग विभाजनलाई एउटा स्थायी संस्था बनाईदिए साथै मूल्यबोधको यस्तो नियमहरू बनाए जसद्वारा त्यतिबेलाको मानिसहरू धेरै हदसम्म अन्जानमै आफ्नो सामाजिक व्यवहार निर्देशित गर्थे। तर यो ऐतिहासिक परम्परा त उहिलेको हो भन्नु व्यर्थ हो कारण अहिलेसम्म हामीले त्यो चिजलाई हराउन सकेका छैनौ जसलाई थोर्सटेन वेब्लेनले मानव विकाशको ‘हिंसक चरण’ भनेका छन्। माथि उल्लेखित आर्थिक तथ्यहरू त्यहि चरणसँग सम्बन्धित छन् र यी सभ्यताको अरु चरणमा लागु नहुनु पर्ने तर माथि भनिए झै हामीले त्यो चरण पार गर्न सकेका छैनौ। र यसैले समाजवाद, कारण समाजवादको वास्तविक उद्देश्य निश्चित रूपमा मानव विकाशको ‘हिंसक चरण’लाई पराजित गरेर त्यो भन्दा उन्नत समाजको पथमा अघि बढ्नु हो, आर्थिक विज्ञानले आफ्नो वतर्मान स्थितिबाट भविष्यको समाजवादी समाजमाथि अलिकति प्रकाश त हाल्नै सक्छ। 

दोश्रो कुरा, समाजवादले समाजलाई एउटा समाजिक-नैतिक उद्देश्य दिन्छ। जबकी विज्ञानले यस्तो उद्देश्यको निर्माण गर्न सक्दैन र यो भन्दा पनि ज्यादा यी उद्देश्यहरूलाई मानिसको मनमा गाड्न सक्दैन। विज्ञानले खुबसे खुब केहि उद्देश्यहरू प्राप्त गर्न हेतु साधनको आपूर्ति गर्न सक्छ। तर उद्देश्य केवल ति व्यक्तित्वहरूद्वारा नियोजित गरिन्छन् जसको नैतिक आदर्श खुबै उच्च हुने गर्छ अनि यी उद्देश्य यहि मृत पैदा भएनन् भने र महत्वपूर्ण र सशक्त छन् भने यी ति तमाम मानिसहरूद्वारा अप्नाइन्छन् र अघि बढाईन्छन् र यहि मानिसहरूले समाजको सुस्त विकासको निर्धारण गर्छन्। यसैले जब मानव समस्याहरूको कुरो आउछ त्यतिबेला यसलाई केवल विज्ञान वा वैज्ञानिक तरिकाले समाधान गर्ने र वैज्ञानिक भएकोमा वास्तविकतालाई बेसी बुझी पठाउने भ्रम देखि सावधान हुनु पर्छ। अनि केवल विषेशज्ञले मात्रै समाजको संगठनलाई प्रभावित गर्ने प्रश्नमा आफ्नो मन्तब्य दिन सक्छन भन्ने कुरोलाई मान्नु हुँदैन।

केहि समयदेखि असंख्य आवाजहरूले जोर दिएर कराइरहेका छन् कि मानव समाज सङ्कटबाट गुज्रीरहेको छ, समाजको स्थिरता गम्भीर रूपले छरपस्टि रहेको छ।  यस्तो अवस्थामा मानिसहरू तर त्यो समुह सानो वा ठुलो सँग सरोकार राख्दैनन् वा शत्रुताको भाव राख्छन् जससित तिनीहरूको सोझो सम्बन्ध छ। आफ्नो अर्थको वर्णन गर्नुको निम्ति मलाई यहाँ आफ्नो व्यक्तिगत अनुभव भन्नु दिनु होस्। मैले हालैमा एकजना बुद्धिमान तथा भद्र व्यवहार भएको व्यक्तिसँग युद्धको खतराबारे चर्चा गर्दैथिए, जसले मेरो विचारमा गम्भीर रूपले मानव जातिको अस्तित्वलाई खतरामा हाली दिनेछ। र मैले टिप्पणी गरे कि एउटा पुर्व-राष्ट्रिय संगठनले मात्रै हामीलाई त्यो खतरा देखि सुरक्षा दिन सक्ने छ। मेरो मन्तब्य पछाडी मेरो साथीले खुबै शान्ति र ठण्डा दिमागले मलाई भन्यो- “तिमी मानव जातिको लापत्ता हुनुको यति डरलाग्दो विरोध किन गर्छौ?”  

मलाई पक्का विश्वास छ कि आजभन्दा एक सदी अघाडी कसैले पनि यस्तो हल्का ढंगमा यस्तो बयान दिन सक्ने थिएनन् होला। यो एउटा यस्तो व्यक्तिको बयान थियो जसले आफैमा सन्तुलन पाउनको निम्ति कडा मेहेनत गरेका थिए अनि सफलता पाउने प्राय प्राय आशा त्यागी सकेका छन्। यो एउटा यस्तो मार्मिक एकान्त अनि पृथकताको कथन हो जसको शिकार आजको समयमा धरैजना मानिसहरू भइरहेका छन्। यसको कारण के हो? के यसबाट बाहिर निक्लिने कुनै बाटो छैन? यस्तो प्रकारको प्रश्न गनु सजिलो भए तापनि आश्वासन साथ यसको उत्तर दिनु खुबै साह्रो छ।  तरपनि मैले आफूले सकेसम्म कोशिश गर्नु पर्छ, तर मलाई थाहा छ कि हाम्रो भावना र संघर्ष प्राय विरोधाभासी अनि अस्पष्ट हुने गर्छ अनि यसलाई सजिलो र सरल विधिहरूद्वारा व्यक्त गर्न सक्न्दैन।

मानिस एक्कैसाथ एक्लो र सामाजिक प्राणी हो। एउटा एक्लो प्राणीको हिसाबले उ आफ्नो निजी इच्छाहरूलाई पुरा गर्ने अनि आफ्नो जन्मजात क्षमता विकसित गर्ने र स्वयं आफ्नो अनि आफ्नो खुबै छेउको मानिसहरूको अस्तित्वको रक्षा गर्ने कोसिस गर्छ। एउटा सामाजिक प्राणीको हिसाबले उ आफ्नो साथी मानिसहरूको सुखमा साझा हुने, उनीहरूको दुखमा सान्त्वना दिने, अनि आफ्नो जीवनको स्थितिमा सुधार ल्याउनको निम्ति अरू मानिसहरूको मान्यता र स्नेह हासिल गर्न चाहन्छ। मानिसको यहि चरित्र को विविध र प्राय परस्पर विरोधी लक्षणको अस्तित्व र विशिष्ट संयोजनलेनै मानिसको परिधि निर्धारित गर्छ जहाँ मानिसले आफ्नो अन्तरिक सन्तुलनलाई बनाई राखेर समाजको भलाईको निम्ति योगदान गर्न सक्छ।

मानिसको यी दुवै कर्मशक्तिको क्षमता र गुण अनुवांशिक हुन सक्ने कुरो एकदमै सम्भव हुन सक्छ तर, अन्तमा उभ्रिएर आउने व्यक्तित्वको गठन धेरै हदसम्म त्यस पर्यावरणमा भर पर्छ जसमा मानिस आफ्नो विकासको अवधिमा हुने गर्छ वा समाजको त्यस ढाँचा जहाँ उ ठुलो हुन्छ वा समाजको रिति जहाँ एकप्रकारको व्यवहारलाई सराहना गरिन्छ र अर्कोलाई घृणा। “समाज” को काल्पनिक मनोभावको अर्थ व्यक्तिगत मानिसहरूको निम्ति आफ्नो समकालीन अ आफु भन्दा पहिले पिढी संगको प्रत्यक्ष वा परोक्ष सम्बन्ध हो। व्यक्तिगत मानिस सोच्नु, महसुस गर्नु, प्रयास गर्नु वा आफै काम गर्नु सक्षम हुने गर्छ तर उ समाजमा यति बेसी निर्भर हुन्छ कि आफ्नो शारीरिक, बौधिक अनि भावनात्मक अस्तित्वनै समाजको परिधिमा बाँधेको हुन्छ र समाजको ढाँचाबाट बाहिर निस्केर सोच्न वा सम्झिन उनीहरूको निम्ति असम्भव हुन्छ। समाजले मानिसलाई भोजन, कपडा, घर, कामको उपकरण, भाषा, विचारको रुप अनि सोचको अधिकांश सामग्री प्रदान गर्छ; उसको जीवनको श्रम र ति लाखौ मानिसहरूको अतित र वर्तमान यहि सानो “समाज” शब्द को पछाडी लुकेको हुन्छ।  

यसैले यो स्पष्ट छ कि मानिसको समाजमा निर्भरता प्रकृतिको एउटा तथ्य हो जसलाई समाप्त गर्न सकिन्दैन, ठीक त्यसरीनै जस्तो कि कमिला र मौरीको मामिलामा हुन्छ। फेरी पनि कमिला र मौरीको जम्मै जीवनको सानो भन्दा सानो प्रक्रिया पनि कठोर परम्परागत प्रवृत्तिद्वारा निर्धारित हुन्छ, मानिसको सामाजिक जीवन र उसको अन्तरसम्बन्ध खुबै बद्लिने तथा परिवर्तन प्रति अति संवेदनशील हुन्छ। स्मरण रहोस् कि नयाँ संयोजन बनाउनु सक्ने क्षमता, मौखिक संचारको उपहारले मानिस बिच ति गतिविधिहरूलाई सम्भव बनाइदियो जुन केवल जैविक आवश्यकताद्वारा मात्रै निर्धारण हुन सक्दैन थियो। यी गतिविधिहरूले परम्परा, संस्था, संगठन, साहित्य, कला, वैज्ञानिक अनि इन्जिनियरिङ उपलब्धिहरूको रूपमा आफैलाई दर्शाउछ। यसलेनै बताउछ कि कसरी मानिसको आफ्नै आचरणले आफ्नो जीवनलाई प्रभावित पारिरहेको हुन्छ र यो प्रक्रियामा सचेत विचारको मुख्य भूमिका रहेको हुन्छ। 

मानिसले जन्मजात रूपमा आनुवंशिक गुण लिएर आएको हुन्छ, जैविक संरचना जुन दृढ र स्थिर हुन्छ जसमा मानिसको प्राकृतिक आवश्यकताहरू पर्छ। तर यस बाहेक पनि मानिसले आफ्नो समाजको माध्यमद्वारा संस्कृतिक संरचना सिक्छ। यहि संस्कृतिक संरचनामा आउने परिवर्तनले भविष्यमा मानिस र समाजको सम्बन्धमा असर पार्छ। आधुनिक मानव विज्ञानीहरूले प्रागैतिहासिक समाजहरूको तुलनात्मक अध्ययन गरेर के भनेका छन् भने मानिसको सामाजिक व्यवहार त्यस समाजमा निहित संस्कृतिक तथा संस्थागत ढाँचा अनुसार भिन्न भिन्न हुन सक्छ। यहि तथ्यमा विश्वास राखेर मानिसको अवस्था सुधार्नु कोशिश गर्ने मानिसहरू सामाजिक ढाँचा बद्लिए मानिसको अवस्था बद्लिने छ भन्छन् र मानिसले केवल जैविक आवश्यकतामा  भर परेर निर्दयी र कठोर भाग्य सहनु पर्दैन पनि भन्छन्। 

यदि हामीले आफैलाई मानिसको जीवन सन्तुष्टिले भरिएको बनाउनलाई सामाजिक ढाँचा र संस्कृतिक आचरणलाई कस्तो प्रकारले फेर बदल गर्नु पर्छ भन्ने प्रश्न गऱ्यौं भने हामीले सदैव याद राख्नु पर्छ कि कतिपय कुरा लाई फेर्न सकिन्दैन। जस्तो कि माथिनै उल्लेखित गरिसकेको छु मानिसको जैविक प्रकृति स्थिर हुन्छ। अझ बितेका केहि शताब्दिमा भएको तकनिकी र प्रविधिकीको उन्नतिले स्थायी व्यवस्था ल्याइ दिएको छ। यस्ता स्थानहरू जहाँको जनसंख्या तुलनात्मक बाक्लो छ र जहाँ अत्यन्त जरुरी माल सामानको अस्तित्व अपरिहार्य हुन्छ, त्यहाँ श्रमको कडा विभाजन अनि केन्द्रिकृत उत्पादक तन्त्र हुन अत्यन्त आवश्यक हुन्छ। त्यसैले पछि फर्केर हेर्दा हामीलाई थाह हुन्छ कि मानिस वा तिनीहरूको सा-सानो समुह जब स्वनिर्भर र सुखद हुने गर्थ्यो, त्यो समय गइसकेको छ। आजको मानव जाति उत्पादन र खपतको एउटा ग्रह समुदायमा बस्न थालीसकेको छ भन्दा अतियुक्ति नहोला। 

अब त्यो बिन्दु आइसकेको छ जब हाम्रो समयको सङ्कट के हो भन्ने कुरोमा छोटकरीमा म केहि भन्न चाहन्छु। यो व्यक्तिको समाजसँगको सम्बन्धमा निर्भर छ। व्यक्ति समाजमाथिको आफ्नो निर्भरता लिएर दिनदिनै सचेत हुदै गइरहेको छ। तर उसले यो निर्भरतालाई सकारात्मक रूपमा एउटा प्राकृतिक सम्बन्ध, सुरक्षा दिने बलको रूपमा नहेरेर आफ्नो अधिकारहरूको बाधाको रूपमा वा आफ्नो आर्थिक अस्तित्वमाथि खतराको रूपमा हेर्छन्। यसबाहेक समाजमा मानिसको स्थान यस्तो बनिसकेको छ की उसमा निहित स्वार्थ र घमण्ड दिनदिनै बढिरहेको छ भने उसको समाज प्रतिको दायित्व जुन पहिला देखिनै कमजोर थियो दिनदिनै घटिरहेको छ। समाजको जुनै पनि तप्कामा रहेको मानिस आज यहि क्षयको प्रक्रियामा बढिरहेको छ। आफ्नै अहमको बन्दि भएको मानिस अन्जानमै असुरक्षित, एक्लो अनि जीवनको चोखो, सरल अनि सरस अनुभूतिहरू देखि वञ्चित छ। मानिसले आफैलाई समाजप्रति समर्पित गऱ्यो भने यो छोटो र हराइ जाने जीवनमा पनि अर्थ पाउन सक्छ। 

मेरो विचारमा पुँजीवादी समाजमा निहित आर्थिक अराजकतानै आजको दुष्ट्याईको श्रोत हो। हामी आफु अघाडी एउटा विशाल उत्पादकहरूको समुदाय देख्छौं जो कि एक अर्कालाई सामुहिक श्रमको फलबाट वञ्चित गर्न होडबाजी गरी रहेका हुन्छन्। सधै शक्ति प्रयोग गरेर होइन तर कहिले कानुनी रूपले स्थापित शाषकहरूको इमान्दार साथी भएर पनि। यहि सन्धर्भमा एउटा महत्वपूर्ण कुरा के छ भने- ति उत्पादनका साधनहरू अथवा उत्पादनको समस्त क्षमता जो पनि उपभोग्य वस्तु साथै थप पुँजी वस्तु बनाउन जरुरी छ, त्यो कानुनी रूपमा बेसी जस्तो खण्डमा मानिसको व्यक्तिगत सम्पत्ति हुने गर्छ। छलफलमा सुविधाको निम्ति उत्पादनको तन्त्रमा मालिकाना नहुने जम्मै मानिसहरूलाई म ‘श्रमिक’ भनिरहेको छु। हुन त यो शब्द को अर्थ सान्धर्भिक नहुन पनि सक्ला। उत्पादन प्रक्रियाको मालिकाना जसकोमा हुन्छ उसले भने श्रमिकहरूको श्रम किन्नु सक्छ। उत्पादन तन्त्रको प्रयोग गरेर श्रमिकहरू नयाँ मालसामान तैयार गर्छन् जो पछि गएर पुँजीपतिको सम्पत्ति भएर जान्छ। यो प्रक्रियाको मुख्य कुरो चाही श्रमिक ले कति नाफा पैदा गर्छ र उसलाई कति मुल्य दिइन्छ त्यसको सम्बन्धमा छ। 
अर्को कुरा श्रमको अनुबन्ध ‘मुक्त’ छ। यानिकी मजदुरले जुन वेतन पाउछ त्यसको मुल्य उसले उत्पादित गरेको वस्तुको मुल्यमा भर पर्दैन बरु उसलाई बाँच्नको निम्ति चाहिने सबैभन्दा कम्ति राशी साथै श्रमको बजारमा कतिको होडबाजी छ जसलाई पुँजीपतिहरू किन्न सक्छन् त्यसमा भर पर्छ। सिद्धान्तमा धरी मजदुरको जयला उसले उत्पादित गरेको वस्तुको मुल्यमा भर पर्दैन। बिस्तारै हेर्दै जाँदा निजी सम्पति कम्ति भन्दा कम्ति मानिसहरूको हातमा एकत्रित हुदैछ, त्यो आंशिक रूपमा पुँजीपतिहरू बिच रहेको होडबाजीले हुन सक्छ अनि आंशिक रूपले प्रविधिको विकास साथै श्रमको डरलाग्दो विभाजनले गर्दा हुन सक्छ जसले सा-सानो उत्पादनको एकाईहरूलाई हटाएर सिङ्गो विशाल उत्पादन एकाईको निर्माण गर्छ। यस्तो विकासको फलस्वरूप निजी पुँजीको आधिपत्य यस्तो बढेर जाँच की गणतन्त्र देशको राजनैतिक नेताहरूले पनि यो कुलीनतन्त्र तोड्न सक्दैन। यो सत्य हो कारण संवैधानिक समितिमा रहेका सदस्यहरूलाई राजनैतिक दलले नियुक्त गर्छ जसलाई फेरी पुँजीपतिहरूले आर्थिक सहायता दिन्छ वा अर्कै पाराले प्रभावित गर्छ। यसैले पुन्जिपतिहरूको भलाइको निम्ति सरकार सदैव तत्पर रहन्छ। यसैले गर्दा ‘जनताको प्रतिनिधित्व’ गर्न पर्ने राजनैतिक दलहरूले पचादिएको मानिसहरूको निम्ति केही गर्न सक्दैन। अझ वर्तमान स्थितिमा पुँजीपतिहरूले प्रत्यक्ष वा परोक्ष रूपमा समस्त संचार माध्यमहरू जस्तै प्रेस, रेडियो, शिक्षा आदिलाई आफ्नो नियन्त्रनमा राखेको छ। यस्तो स्थितिमा एकजना साधारण नागरिकलाई आफ्नो राजनैतिक अधिकारको उचित मुल्यांकन तथा उपयोग गर्न गाह्रो मात्र नभएर असम्भव भएर जान्छ। 

निजी सम्पतिको मालिकाना भएको अर्थनीतिलाई दुइवटा मुख्य सिद्धान्तहरूले बयान गर्न सकिन्छ। प्रथम: उत्पादनको साधन वा पुँजी निजी मालिकहरूको हातमा हुन्छ, जसलाई उनीहरू आफ्नो इच्छानुसार कहिँ पनि कहिले पनि लगाउन सक्छन्। अनि दोस्रो: श्रमको अनुबन्ध मुक्त छ। निश्चयनै यस सन्दर्भमा शुद्ध पुँजीवादी समाज भन्ने कुनै वस्तु छैन। विशेष रूपमा यस कुरामा ध्यान दिनु जरुरी छ की मजदुरहरूले लामो अनि कडा राजनैतिक सङ्घर्ष गरेर मजदुरहरूको केही श्रेणीको निम्ति ‘मुक्त श्रम अनुबन्ध’ को अलिक राम्रो रुप तयार गर्नमा केही हदसम्म सफल भएका छन्। त्यसैले सबै मिलाएर वर्तमान अर्थव्यवस्था ‘शुद्ध’ पुँजीवादभन्दा अलग्ग छैन। उत्पादन नाफाको निम्ति गरिन्छ, उपयोगको निम्ति होइन। कुनै यस्तो प्रविधन पनि छैन की काम गर्न समक्ष वा काम गर्न इच्छुक सबै मानिसहरूको निम्ति सदैव रोजगार तैयार रहोस्। त्यसैले ‘बेरोजगारहरूको एउटा सेना’ सधैं हुन्छै हुन्छ। यसो हुँदा मजदुर लगातार आफ्नो काम हराइ पठाउने डरमा जिउन बाध्य हुन्छ। बेरोजगार तथा कम्ति ज्याला पाउने मजदुरहरूले लाभदायक बजार तैयार गर्न नसक्ने हुनाले उपभोग्य वस्तुहरूको उत्पादन घटाइन्छ जसले गर्दा साधारण मानिसले धेरै कठिनाईहरूको सामना गर्नु पर्छ। प्रविधिकीको विकासले मजदुरहरूको कामको बोझलाई कम्ति गर्नु त् होइन बरु बेरोजगारीलाई झन् बढावा दिन्छ। पुँजीपतिहरू बिच रहेको प्रतिष्पर्धा र बेसी भन्दा बेसी नाफा कमाउने प्रवृत्तिनै पुँजीको संचय र उपयोगको अस्थिरता र असमानताको जिम्मेवार हुन्छ र यसले बेला बेला ठुलो आर्थिक मन्दी ल्याउछ। पुँजीवादीहरूको यस्तो असिमित होडबाजीले श्रमको अनावश्यक व्यव गराउछ साथै मानिसहरूको चेतनालाई कुँजे बनाई दिन्छ जस्तो की मैले माथिनै बयान गरिसकेको छु। यहि चेतनाको कुँजेपनानै पुँजीवादको सबैभन्दा डरलाग्दो कुप्रभाव हो। हाम्रो समस्त शिक्षा व्यवस्थानै यस कुप्रभावको चपेटमा छ। छात्रहरूमा यसले प्रतियोगिताको चरम भावनालाई जगाउने काम गर्छ, अनि यी छात्रहरू आफ्नो भविष्य उज्ज्वल बनाउन आर्थिक सफलतालाई पछ्याउन थाल्छन्। 

मलाई पुरा भरोसा छ की यी सबै दुष्टयाईहरूलाई खतम पार्ने एउटै बाटो छ त्यो हो समाजवादी अर्थव्यवस्थाको स्थापना, साथै यस्तो शिक्षा व्यवस्था जसको उद्देश्य व्यक्तिगत मात्र होइन तर समाजको उद्धार हुनेछ। यस्तो अर्थव्यवस्थामा उत्पादनको मालिकाना समाजको हातमा हुनेछ अनि जसको उपयोग योजनाबद्ध रूपमा गरिने छ। एउटा योजनाबद्ध अर्थव्यवस्था जहाँ मानिसको आवश्यकता अनुसार उत्पादन गरिने छ, जहाँ समस्त काम गर्न योग्य मानिसहरूलाई काम दिइने छ अनि प्रत्येक पुरुष, नारी तथा बच्चाको जीवनको जिम्मेवार समाज हुनेछ, जहाँ शिक्षाको काम एउटा मानिसको आफ्नो योग्यता बढाउनको साथसाथै उसको अन्य मानिसहरू प्रतिको दायित्वबोध बढाउन हुने छ।  

तैपनि, यो सुनियोजित अर्थव्यवस्था अहिलेसम्म समाजवाद होइन भनेर सम्झनु आवश्यक छ। यस्तो सुनियोजित अर्थव्यवस्था पूरा व्यक्तिगत दासत्व पनि  हुन सक्छ। समाजवाद को उपलब्धिले केही अत्यन्तै कठिन सामाजिक-राजनीतिक समस्या समाधान गर्नुपर्छ: जस्तै राजनीतिक र आर्थिक शक्ति को दुरगामी केन्द्रीकरणलाई हेरेर नोकरशाहीलाई कसरी शक्तिशाली र निरङ्कुश बन्नदेखि रोक्न सम्भव छ?  कसरी व्यक्तिगत हीतको अधिकार सुरक्षित राख्दै र नोकरशाही शक्तिको  एक लोकतान्त्रिक तोड दिने आश्वस्त दिन सकिन्छ?

संक्रमणको यो वर्तमान समयमा समाजवाद को लक्ष्य र समस्या बारे स्पष्टताले सबैभन्दा ठूलो महत्त्व राख्छ। किनकी वर्तमान परिस्थितिमा यी समस्याहरू को मुक्त र अविकृत चर्चा एक शक्तिशाली निषेध अन्तर्गत आएको छ, म यो पत्रिकालाई  एउटा महत्त्वपूर्ण सार्वजनिक सेवा ठान्छु।

No comments:

Post a Comment