संगीता खेवा
संसारमा बढिरहेको सम्पतिको असमानता आजको समयमा समाजको स्थिरताको लागि ठुलो खतरा बनेर गइरहेको छ। विश्व ब्यांकले गरिबी हटाउने अभियानमा लागि पर्ने आवश्यकताको चर्चा गरेको प्राय तीन वर्ष बितिसक्दा पनि सम्पतिको खाडल अझै गहिरो हुँदै गइरहेको छ। जहाँ संसारको 1% मानिसले 99% सम्पतिको स्वामित्व राख्छ त्यो समाज कहिले पनि स्थिर हुन सक्दैन।
सम्पतिको असमनताको केही झलकहरू निम्नलिखित बुदाहरूमा देख्न पाइन्छ:
2015 देखि यता अति धनी 1% मानिसहरूकोमा संसारको सबैभन्दा बेसी सम्पति छ।
62 जना मानिसहरूको मा संसारको आधा सम्पति रहेको छ।
आउदो 20 वर्षमा 500 जना मानिसहरूले प्राय $2.1 ट्रीलियन आफ्नो सन्तानको नाममा गर्नेछन् जुन राशि 1.3 बिलियन जनसङ्ख्या भएको भारत देशको जीडीपी भन्दा पनि बेसी हो।
सबैभन्दा गरिब 10% मानिसहरूको आय 1988 देखि 2011 मा जहाँ $3 प्रति वर्ष बढेको छ त्यही सबैभन्दा धनी 1% मानिसहरूको आय त्यही अवधिमा 182 गुणा बढेको छ।
एक जना FTSE-100 CEO ले वर्षमा यति पैसा कमाउछ जति 10000 जना बंगलादेशी कपडा बनाउने मजदुरहरूले एक वर्षमा कमाउछन्।
Thomas Piketty को हालैको अनुसन्धान अनुसार US मा जहाँ विगत 30 वर्षमा मुनिलो 50% मानिसहरूको आयमा वृद्धि भएकै छैन त्यही माथिलो 1% मानिसहरूको आय 300% बढेर गएको छ।
भियेतनाममा देशको सबैभन्दा धनी मानिसको दैनिक आय गरिब मानिसको 10 वर्षको यौगिक आयभन्दा पनि बेसी छ।
यो असमताले समाजलाई दुई टुक्रा पारि दिन्छ जस्तो की आज देख्न पाइन्छ संसारको ध्रुवीकरण भइरहेको छ। यसले अधिकांश मानिसहरूलाई सन्त्रासमा बाँच्न बाध्य गराउछ। यसको लेखाजोखा राखेन भने यसले ठुलो विनाश गर्छ। आज पनि संसारमा प्रत्येक 9 जनामा एकजना मानिस भोकै सुत्नुपर्छ। 1990 देखि 2010 सम्ममा भएको विकास यदि गरिब मानिसहरूको निम्ति भएको भए 700 मिलियन मानिसहरू जसमा ज्यादा जस्तो महिलाहरू छन्, गरिबी रेखाबाट निस्की सकेका हुने थिए।
आज संसारमा विद्यमान संसाधन तथा प्राविधिको सठीक उपयोग गरेर चाहे भने चार भागमा तीन भाग अति दरिद्रहरूलाई बचाउन सकिन्छ। यसको निम्ति ट्याक्समा वृद्धि र सेनाको खर्चमा कटौती गर्नु पर्छ भन्ने शोधकर्ताहरूको धारणा छ। अब यो असमानताको केही कारणहरू नियालेर हेरौं—
Oxfam को रिपोर्ट अनुसार विगत 25 वर्षमा माथिल्लो 1% धनी मानिसहरूको आय, तल्लो 50% मानिसहरूको मिलिजुली आय भन्दा पनि बेसी भएको छ। यसरि दिन प्रतिदिन सम्पत्ति र पुँजी तल देखि माथि चुसिंदै गइरहेको छ, जसको गति भयावह छ। यसै सन्धर्वमा कोर्पोरेटहरूको भूमिका आउछ। कोर्पोरेटहरू सिधै मालिकको हितको निम्ति काम गर्छन्। 2015-16 मा ठुल्ठुला व्यवसायीहरूले धेरै नाफा कमाए। संसारको 10 वटा ठुला व्यवसायीहरूले कमाएको राशि 180 वटा देशको सरकारले कमाएको ट्याक्सको जम्मा राशि भन्दा पनि धेरै छ। बजार व्यवस्थाको लागि व्यवसाय जरुरी छ र यसको नाफालाई सबै मानिसको हितको निम्ति खटाइए, एउटा राम्रो समाज बनाउन सकिन्छ तर जब नाफा केवल धनीहरूको पुँजी अझ बढाउनको निम्ति मात्रै खटाइन्छ त्यति बेला यस्तो असमानता देख्न सकिन्छ।
कोर्पोरेशनहरूले माथिल्लो तप्काको अधिकारी साथै मालिकलाई बेसी नाफा दिलाउनको लागि साधारण कर्मचारी र सबैभन्दा बेसी मजदुरहरूलाई शोषण गर्छ। मजदुरहरूलाई कम्ती भन्दा कम्ती ज्याला दिएर बेसी भन्दा बेसी खटाउनुनै यिनीहरूको उत्पादनको लगानी कम्ती गरेर बेसी मुनाफा कमाउने बाटो हो। जहाँ एउटै कम्पनीमा प्रमुख अधिकारीहरूको आयले आकाश छुन आटी सक्यो, त्यही साधारण कर्मचारी तथा मजदुरहरूको ज्याला मुस्किलले अलिकति बढेको होला वा कुनै कुनै मामलामा त घटेको पनि छ। उदाहरणको रूपमा भारतको एउटा प्रमुख इन्फर्मेशन फर्मको सीइओ ले त्यही कम्पनीको साधारण कर्मचारी भन्दा 416 गुणा बेसी तलब पाउछ। 1980 मा कोका किसानहरूले त्यसबाट बनिएको चकलेट बारको 18% पैसा पाउथे भने आज त्यो घटेर 6% मात्रै भएको छ। यसरि धनीहरू अझ धनी र गरिबहरू अझ गरिब हुँदै गइरहेका छन्। नाफा कमाउने नशामा पुँजीपतिहरू बधुवा मजदुरहरूलाई बढावा दिइरहेका छन्। अन्तर्राष्ट्रिय श्रम संस्थाले गरेको अनुमान अनुसार आज संसारमा 21 मिलियन मानिसहरू बधुवा मजदुरको रूपमा काम गरिरहेका छन्, जसले प्रत्येक वर्ष $150 बिलियन नाफा तैयार गरिदिन्छन्। भारतको कपास कारखाना तथा मिलमा यस्ता बधुवा मजदुरहरूको सङ्ख्या अनगन्ती छ विशेषगरी वरिपरि गाउँको गरिब केटीहरूलाई यस उद्धयोगमा खटाइन्छ फेरी यही कपास कारखाना सँग विश्वको ठुल्ठुलो कपडा बनाउने कम्पनीहरूको सोझो सम्बन्ध छ चीन, बङ्गलादेश, थाईल्याण्ड जस्ता देशहरूमा ब्रान्डेड कपडा बनाउने कारखाना छ जहाँ मजदुरहरूलाई अधिकतम मात्रामा खटाएर नाफा कमाइन्छ। वा अर्को अर्थमा यी बधुवा मजदुरहरूकै पसिनाले सबै ब्रान्डेड लुगाहरू बनिएको छ।
कोर्पोरेशनले ट्याक्सको चोरी गरेर पनि पुँजी थुपार्ने काम गर्छ। यिनीहरू ट्याक्स हेभन (जहाँ देशहरू कसले ज्यादा ट्याक्स ब्रेक, ट्याक्समा छुट वा कम्ती दरमा ट्याक्स काट्ने) जस्तो की पानामा पेपरमा उल्लेख गरिएको थियो वा स्विस ब्यांक इत्यादिमा पैसा लुकाएर देशको सरकारलाई न्यूनतम ट्याक्स तिर्छन्। त्यसै अनि कोर्पोरेट ट्याक्सको दर संसारभरीनै घट्दै गइरहेको छ। यसरि ट्याक्सको चोरी गरेर धनीहरू अझै धनी हुँदै गइरहेका छन्। 2014 मा विख्यात APPLE कम्पनीले आफ्नो युरोपियन नाफाको 0.005% को दरले ट्याक्स तिरेको थियो। जहाँ साधारण सरकारी तथा बेसरकारी कर्मचारीहरूले आफ्नो कमाइको निक्कै अंश ट्याक्सको रूपमा सरकारलाई जमा गर्छन्, त्यही यी धनीहरू आफ्नो आयको धेरै कम्ती अंश मात्रै ट्याक्सको रूपमा तिर्छन्। ट्याक्सको यस्तो चोरीले गर्दा देशलाई धेरै नोक्सानी सहनु पर्छ। जस्तै केनिया जस्तो गरिब देशले प्रत्येक वर्ष $1.1 बिलियन, कोर्पोरेशनहरूलाई दिइने ट्याक्सको छुटबाट गुमाउनु पर्छ। यो छुटको राशि यस देशको स्वास्थ्य क्षेत्रको निम्ति छुट्याइएको राशिको दुइगुणा छ-अनि यो देश यस्तो देश हो जहाँ प्रत्येक 40 जनामा 1 जना महिलाको प्रसवकालीन मृत्यु हुन्छ।
कोर्पोरेटहरूको यस्तो व्यवहार पछाडि दुईवटा कारक तत्त्व रहेको देखिन्छ, ती हुन् हिस्सादारहरूलाई कम्ती समयमा बेसी भन्दा बेसी नाफा दिने लक्ष्य। यसको अर्थ मालिकहरूको निम्ति अत्यधिक नाफा कमाइ दिने झुकाव। 1970 को ब्रिटेनमा हिस्सादारहरूलाई 10% नाफा फर्काइन्थ्यो भने आज त्यो अंश 70% पुगेको छ। यस मामिलामा भारतको छवि त्यति चकिलो नभए तापनि कतिपय कोर्पोरेशनहरू हिस्सादारहरूलाई 50% सम्म नाफा दिँदैछन्। र यो दर दैनन्दिन बढीनै रहेको छ। अब यो हिस्सादारहरू को हुन् त? निश्चयनै धनी मानिसहरू कारण यिनीहरूले नै ठुल्ठुला कम्पनीहरूमा निवेश गर्न सक्छन्। यिनीहरूनै राम्रो वित्तीय सुझाव लिन सक्ने स्थितिमा हुन्छन् जो की अरू मानिसहरूको पहुचको बाहिरको कुरो हो। पैसाले पैसा कमाउछ भने झैँ धनीहरूको आय यसरि बढ्दै जान्छ।
अर्को हो क्रोनी क्यापिटलिज्मको उत्भव। कोनी क्यापिटलिज्मको अर्थनै त ठुला व्यवसायी र सरकारमाझ रहेको बन्द र निकट सम्बन्ध हो। Oxfam को रिपोर्ट अनुसार धेरैवटा व्यावसायिक क्षेत्र जस्तै- वित्तीय, खननकार्य, लुगा उत्पादन, दबाई उत्पादन इत्यादि कोर्पोरेशनले आफ्नो शक्ति र प्रभावको बलमा देशीविदेशी सरकारलाई यस्तो नियम-कानुन बनाउन लगाउछन् जसमा की तिनीहरूको नाफाको श्रोत बगीरहोस। उदाहरणको रूपमा नाइजेरियामा रहेको तेलको कोर्पोरेशनले सरकारबाट उदार ट्याक्स ब्रेक पाइरहेको छ। क्रोनी क्यापिटलिज्मले धनीहरूलाई फाइदा गराउछ कारण सा-साना व्यापारीहरू एकक्षत्र पुँजीसित लड्न सक्दैनन् र नाफा कमाउने होडबाजीमा टिक्न सक्दैनन्। ब्राजिलमा संसारको तेस्रो सबैभन्दा धनी मानिस कार्लोस स्लिमले सबै मोबाइल फोनको 70% साथै स्थयी फोन लाइनको 65% कब्जा गरेको छ जुन त्यस देशको 2% GDP बराबर छ।
संसारको समस्त पुँजी आज बढेर $255 ट्रीलियन पुगिसकेको छ। 2015 देखि यता यस सम्पत्तिको आधा जस्तो पुँजी केवल 1% धनी मानिसहरूको हातमा छ। यस वर्षको आंकडा अनुसार आठ जना अति धनी मानिसहरूको हातमा आज $226 बिलियन रहेको छ जुन संसारको आधा मानिसहरूको पुँजी बराबर छ। समग्रमा यो डरलाग्दो असमानताको पछाडिको सत्यलाई सबैले याद राख्नुपर्छ। की यही 1% धनीहरू पुँजीवादको इतिहासको सच्चा नायकको रूपमा रहेका छन्। यही समयमा मध्यमवर्गको उत्पति हुन थाल्यो जसको वेतन साधारण मजदुरभन्दा धेरै गुणा बेसी हुन्छ र जसले केही सम्पति किन्न सक्छ र अझै पुँजी थुपार्ने होडबाजीमा लाग्छन्। पैसाको होडबाजीले देशको राजनैतिक समिकरणमा साधारण जनताको भागीदारी घट्दै गइरहेको छ। फेरी मतदाताको हैसियतले जनताले आफ्नो बात पनि राख्न सक्दैनन् कारण सरकार त धनी पुँजीपतिहरूकै इसारामा चल्छ।
यसरि पुँजीको असमानताको खाडल बढेको बढेकै छ। जति जति क्यापिटलिज्म बढ्दै छ र मजदुरहरूको शोषण बढ्दैछ यो असमानता बढ्दै नै जानेछ। यस अर्थनीतिमा अति धनीहरूको निम्ति आशा र खटिखाने मानिसहरूको निम्ति निराशा छ। यसैले यस्तो समाज व्यवस्थाको विरोध गरेर राम्रो समाज बनाउने काम पट्टि लाग्नु आज सबै जनताको जिम्मेवारी हो। यसैले सारा संसारकै गरिब र मेहेनती मानिसहरू एक भएर सङ्घर्ष गर्न जरुरी छ।
No comments:
Post a Comment