लेखनाथ छेत्री
09 फरवरी 2016 को दिन दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालय क्याम्पसमा एक कार्यक्रमको निम्ति विद्यार्थीहरू भेला भएका थिए। 'डाकघर बिनाको देश' नामको यस कार्यक्रमको दुई मुख्य कुराहरु थिए— अफजल गुरुको फाँसीको विरोध र कश्मीरको आत्मनिर्णयको अधिकारलाई समर्थन।
जवाहरलाल नेहरु विश्वविद्यालय विचारको एक ठुलो फाँट हो जहाँ अनेक एंगलका विचारहरू आपसमा तर्क गर्न निस्कन्छन्। बढ्दो मार्क्सवादी चेतसँग अगाडि आइरहेको विद्यार्थीहरू बन्दुकको नोक अगाडि सास फेरिरहेको कश्मीरको आजादीको कुरा गर्नु कुनै खास कुरा होइन। यस्तो देश जसको संविधानले अभिव्यक्तिको स्वतन्त्रतालाई नागरिकको अधिकार मान्छ, त्यहाँ अफजलको फाँसीमाथि प्रश्न उठाउनु कुनै आश्चर्यजनक कुरा लाग्दैन। यसमाथि खुलेर अगाडि आउने अवकाशप्राप्त न्यायाधीश ए.पी.शाह, जस्टिस मारकण्डेय काटजु अनि अरुन्धती रोय जस्ता बौद्धिकहरुले ल्याएको तथ्यहरूलाई निधार खुम्चाएर नकार्न ठिक नहोला।
साधारण किसिमको लाग्ने यो कार्यक्रम तर सोचेजस्तो साधारण भएन। अगाडि गएर यसले एउटा व्यापक उथलपुथल निम्त्याउनु थियो।
भोलिपल्ट रातको नौ बजे टेलीभिजन सेट खोलेर बस्दा न्युजआवरमा अर्नब गोस्वामी सधै झैं हल्ला गरिरहेको थिए। यसचोटि उनी सधैभन्दा धेर कर्कस स्वरमा अघिल्लो दिनको कार्यक्रम आयोजक उमर खालिदलाई मार झापिरहेका थिए। उमर जवाब फर्काउने मौका पर्खंदै चिउँडोको दाह्रीमा हात दलिरहेका थिए।
मैले दिनभरिको समाचारबाट काटिएर यस बहसको सबभन्दा अहम हिस्सा मिस गरिसकेको थिएँ। वास्तवमा जी न्युजले त्यसदिन दिउँसो केहि फुटेजहरू प्रसारित गरिसकेको थियो। देशद्रोही नारा लगाएको ती भिडीयो फुटेजहरूमा अघिल्लो दिनको कार्यक्रमको लेबल थियो।
सियाचिनको हिउँ-पहिरोमा पुरिएको सैनिकहरूको मृत्युले देशमा बनिएको संवेदनशील माहौलबीच अन्य न्युज च्यानल अनि सोसियल मिडियाको पखेटा पाएर यो आगो जसरी फैलिएपछि यो देशलाई लगभग दुई भागमा बाँडीसकेको थियो— एकापट्टि देशभक्त अनि अर्कोपट्टि देशद्रोही।
मानिसहरू देशद्रोही विरुद्ध गाली बकिरहेका थिए। यहीं तनावपूर्ण माहौलबीच जी न्युजले प्रसारण गरेको भिडीयोको आधारमा बिना अनुमति क्याम्पसभित्र पसेको पुलिसले छात्रसंघको अध्यक्ष कन्हैया कुमारलाई समातेर लगे।
भोलिपल्ट बिहान, जहाँ देशको गृहमन्त्री राजनाथ सिंहले सार्वजनिक रूपमा जेएनयुको त्यस कार्यक्रमलाई एक फर्जी ट्वीटको आधारमा पाकिस्तानको आतंकवादी हाफिज सइदसँग जोडे। अर्कोतिर विश्व हिन्दु परिषदका एक बुद्धिजीवीले 'देशद्रोही नारा' पिट्ने कन्हैयाको जिब्रोको पाँच लाख रुपियाँ बोली लगाइरहेका थिए। सट डाउन जेएनयु नामको हावा सोसियल मिडियाबीच चलिरहेको थियो।
यसपछिको एक एक घटनाहरूलाई उल्लेख गरिए यो एक बेहद लामो किस्सा बनिन सक्छ। तर एउटा लामो पत्र सार्वजनिक गरेर यहींबीच पत्रकारिताबाट राजिनामा दिने जी न्युजको पत्रकार विश्वदीपक उल्लेखयोग्य छन्।
अचम्मको कुरा के लाग्छ भने, कन्हैयालाई राष्ट्रवादको नाममा मिडियाद्वारा ट्रायल गरेर देशद्रोही साबित गरिनुलाई सार्वजनिक रूपमा खतरनाक प्रवृत्ति मानेर विश्वदीपकले राजिनामा दिएपछि जेएनयु प्रकरणको एपिसेन्टर ती भिडीयो फुटेजहरूको स्रोतबारे कसैले जी न्युजमाथि संदेह गरेनन्। वास्तवमा कुनैपनि घटनामाथि आममान्छेको मनोविज्ञान मिडियाले निर्धारित गर्छ।
राज्य वा कर्पोरेटद्वारा प्रायोजित मिडिया सत्ताप्रति आफ्नो धर्मको पालन गर्न कुनैपनि झुट कुरालाई जनता अगाडि सत्य प्रमाण गर्न लागिपरेका हुन्छन्। आम मान्छेको क्रिटिकल सोंच नष्ट गर्ने यी मिडियाहरूको ध्येय हुन्छ। स्थिति अझ खतरनाक हुन्छ, जब देशको अन्य लोकल मिडियाहाउसहरू राज्यद्वारा प्रायोजित यी मिडियाहरूले अगाडि ल्याएका घटनाहरु साभार गरेर ल्याउँछन्।
ग्वेबल्स हिटलरको एक सल्लाहकार थिए जो उनका झुटहरूलाई निरन्तर जनता अगाडि ल्याएर सत्यको रूपमा स्थापित गर्ने काम गर्थे।
आज कन्हैया अनि उनका साथीहरु उनिहरुमाथि लागेको आरोप अदालतद्वारा गलत साबित भएपछि पनि उनीहरुलाई अझ देशद्रोही मानेर बस्ने मान्छेहरूको एउटा ठुलो समूह छ। यो यिनै ग्वेबल्सरुपी मिडियाहरूको कामको असर हो।
जेएनयु प्रकरणलाई एक व्यापक रूप दिन सरकारले गरेको मेहनत स्पष्ट रूपमा अगाडि आउँछ। यो पुरा प्रकरण भारतीय जनता पार्टी अनि यसको छात्र संगठन अखिल भारतीय विद्यार्थी परिषदद्वारा प्रायोजित हो, अनि त्यसको पछाडि राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) थियो— अब आएर यसो भन्नु कुनै हिच्किचाहट महसुस हुँदैन।
हैदरावाद युनिभर्सिटीको एक दलित छात्र रोहित भेमुलाको (आत्म)हत्यापछि विद्यार्थीहरूबीच बनिएको सरकार विरोधी माहौल अनि नन् नेट फेलोशिप अन्त गरेपछि विद्यार्थीहरूको सहभागितामा चलाइएको अकुपाई युजीसी आन्दोलन— यी दुई घटनाहरू सरकारद्वारा जेएनयु प्रकरण प्रायोजित गरिनुको पछाडि कारक तत्वहरू लाग्छन्।
राष्ट्रीय स्वयंसेवक सङ्घजस्ता कट्टर ब्राह्मणवादी हिन्दुत्वको विचार बोक्ने सङ्गठन सरकारको रेखदेखमा आफ्नो आइडियोलोजीको बिउ हरेक संस्थाहरूमा रोप्न लागिपरेको बेला, यिनीहरुको निम्ति सबभन्दा ठुलो बाधा हो देशको विद्यार्थीहरूमा बढ्दो मार्क्सवादी चेतना। हिन्दुत्वमा आधारित फासीवाद यिनीहरु कुनै हालतमा पनि सहन तैयार छैनन्। जवाहरलाल नेहरू विश्वविद्यालय जसलाई लेफ्टिस्टहरूको गढ मानिन्छ, त्यहीं राष्ट्रवादलाई लिएर यस्तो प्रकरण हुनु यसैले जायज लाग्छ।
जवाहरलाल नेहरू विश्वविद्यालयमा चलेको पुरा प्रकरणपछि केहि महत्वपूर्ण सार निस्किएको छ।
यो पुरा प्रकरणको प्रायोजन गर्नेहरुले जुन राष्ट्रियताको कुरा गरिरहेका छन्, आजका विद्यार्थीहरु यसको सर्टिफिकेट थापेर आफू यस देशको नागरिक हुनमा गर्व महसुस गर्दैनन्। उनीहरुले बुझाएको राष्ट्रवादको आँखा फुटेको छ ताकि कसैले देख्न नसकून् कि यो देश वास्तवमा कस्तो छ, को को यसका नागरिक हुन् अनि कसरी यस देशमा मान्छेहरू बाँचिरहेका छन् अथवा कसरी यस देशमा नागरिकहरू लाचार भइ मर्नु परिरहेको छ।
आजको जिम्मेवार नागरिक उनीहरूलाई एक सोझो उत्तर दिन तैयार छन्— कि यो देश कुनै एक विचारको दास भएर रहन सक्दैन। व्यापक विचार र आजादीको खुला फाँट— जहाँ सबैले आफ्नु विचार अभिव्यक्त गर्न पाउन्, यहीं यस देशको परिचायक हुनेछ।
No comments:
Post a Comment