Sunday, June 19, 2016

अन्तर्राष्ट्रिय श्रमजीवी नारी दिवस पालन : तराई-डुवर्सको बन्द चियाबगानहरूमा 'आधा आकाश'

निकिता लामा

‘लाली गुराँस’ पत्रिका अनि ‘दृश्य समूह’ नाटक टोलीको स्थापना काल देखि नै हामीले सालेनी 8 मार्च, अन्तर्राष्ट्रिय नारी दिवसलाई कुनै न कुनै तरिकाले पालन गर्दै आइरहेका छौँ। कहिले हामीले नारी मुद्दामाथि सेमिनार अर्गनाइज गरेर यस दिनलाई पालन गऱ्यौँ भने, कुनै वर्ष यो दिवस मनाउन धारावाहिक रूपमा नारी सचेतनात्मक नाटक पहाड-तराई-डुवर्सको धेरै बजार र गाउँहरू बिचमा प्रस्तुत गऱ्यौँ। नारी मुद्दाहरुलाई उचित न्याय दिनुपर्ने मांग गर्दै धेरै अन्य सँग-संस्थाहरूको साथमा हामी कलकत्ताको हाते रिक्शा अनि ट्राम चल्ने सडकमा पनि घोक्रो सुकाउँदै कराएको नै हौ। तर यसपालि हामीले नारी दिवस डुवर्सका बन्द बगानका नारी मजदुरहरू औ चिया मजदुरहरुसंग पालन गऱ्यौँ।
हाम्रो भ्रमण 6 मार्च देखि नै शुरु भयो। बागडोगरा नजिकै बन्द रहेको पानीघट्टा चिया बगान हाम्रो पहिलो गन्तब्य थियो। चेली बेच बिखान विरोधी काममा धेरै वर्षदेखि लागिपरेकी पानीघट्टाकी सामाजिक कार्यकर्ता रंगु सौरियासँग मिलेर उक्त नाटक प्रदर्शनको कार्य सिद्ध भयो। नाटकको नाम ‘आधा आकाश।’ भोलिपल्ट 7 मार्च एकाबिहानै अलार्मको घन्टी सँगै उठेर हामी 8 जना साथीहरू सिलिगुडीबाट डुवर्स प्रस्थान भयौ। लगभग दिउँसो 1 बजे हामी डुवर्सको गेरगण्डा गाउँ पुग्यौ। त्यहाँ हामीलाई पर्खिरहेका गाउँलेहरूले स्वागत जनाए, हाम्रो निम्ति स्वागत गीत गाए। अहिले सबैलाई थाहा भएको कुरो हो, हरियो डुवर्स पुँजीको प्रदूषणमा निसास्सिरहेको छ। कोही वासिन्दाहरु आफ्नो परिवारको निम्ति रोजीरोटी जुटाउनु अन्य राज्यतिर पलायन भइरहेका छन् भने कोही नजिकको सुखा खोलामा गिट्टी कुट्दै, बालुवा चाल्दै पसिना चुहाएर रुखो जीवनलाई बगाउने कोसिसमा छन्। तर गरिबीले मारे पनि नयाँ दिनको आशामा बाँचीरहेका छन् त्यहाँका मानिसहरू।
अन्तर्राष्ट्रिय नारी दिवस पालन गर्नको निम्ति हामीले प्रस्तुतिको रूपमा तयार गरेका थियौँ नारी सचेतनामुलक नाटक ‘आधा आकाश’ साथै अन्य जनवादी गीतहरू। यसपालि विशेष ध्यान आकर्षकको रूपमा थियो हामीले तयार पारेका हस्तलिखित पोस्टरहरु जसमा आशावादी आवाजहरुलाई लिपिद्वारा गुन्जयमान गराउने हाम्रो अठोट कोसिसको प्रतिबिम्ब थियो।
गेरगण्डा गाउँमा कार्यक्रम प्रस्तुत गर्दा प्राय दर्शक नारीहरुनै थिए। उनीहरुसित  भएको अन्तरवार्ता एकदमै राम्रो अनि अनौठो पनि थियो। नारी श्रमिकहरूले आफ्नो पुरा दिनलाई कसरी सम्हाल्छन्, उनीहरूले झेलिरहेको दु:ख इत्यादिमा बातचित भयो। कोही धेरै आशा र उत्सुकता साथ हामीसित  बात गर्दै थिए भने कोही आफ्नो अनुहारमा परिस्थितिको प्रश्न चिन्ह झुन्डाएको जस्तै अन्ध्यारो अनुहार लिएर टुलुटुलु हामीलाई हेरिरहेका थिए।
त्यहाँ कार्यक्रम सिद्धिएपछि हामी अर्को गाउँतिर लाग्यौ, जसको नाम दुम्सिपारा हो। त्यहाँ पुग्दा-पुग्दै समयले डाडाँ काटिसकेको थियो। गाउँका दिदीहरू मानिसहरू भेला पार्न जुट्नु भयो भने हामी त्यहाँ हस्तलिखित पोस्टरहरु सजाउनु सुरु गर्‍यौ। लगभग 200 जना जति दर्शकहरुको भेलाले जोशपूर्ण वातावरण सृजना भयो। दुई-तीन वटा गीत गाएर नाटक प्रस्तुत गर्‍यौ। नाटक प्रस्तुति पश्चात् तथ्यचित्र ‘होलिडे’को प्रदर्शन भयो। यो ‘होलिडे’ तथ्यचित्रमा डुवर्सको तीनवटा  बन्द चियाबगानको अवस्था प्रस्तुत गरिएको छ।
दोस्रो दिन, 8 मार्च, हामी अर्को गाउँ हन्टुपारा तिर लाग्यौ। त्यहाँ पुगेर त्यस गाउँको बिचमा वासिन्दाहरु भेला पारेर हामीले नाटक प्रस्तुत गर्‍यौ। त्यहाँ नाटक प्रस्तुति सक्नेसाथ दर्शकहरूले माथिल्लो लाइनमा पनि नाटक प्रस्तुत गर्ने अनुरोध गरे अनि हामीले फेरी त्यहाँको प्राइमेरी स्कुलको मैदानमा नाटक प्रस्तुत गर्‍यौ। त्यहाँ छोटो कार्यक्रम सक्ने बितिकै सायद दर्शकहरूले नाटक निकै रुचाएको हुनुसक्छ, अर्को जगाह पनि कार्यक्रम गर्नु पर्ने अनुरोध गरे। उनीहरूको जोस र उत्साहलाई सर्हाना गर्दै फेरी तेस्रो चोटि नाटक अनि गीतहरू प्रदर्शन गर्‍यौ। यसरी हाम्रो तीनदिनको अभियान पनि समाप्त भयो।

हाम्रो तीन दिने अभियानले जन सचेतना ल्याउने कार्य के-कति गऱ्यो, त्यसको मुल्यांकण जरुरी छ तर यस पटक तराई-डुवर्स परिक्रमाले किनाराकृत जनसाधारण पनि नारी मुद्दामा संवेदनशील अनि नारी मुक्तिका सेनानी हुन् भन्ने अठोट विश्वास हामीमा कायम रह्यो। 

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...