Sunday, June 19, 2016

सम्पादकीय : मार्च-अप्रिल 2016

देश, देशप्रेम... 


निकै उथलपुथलको स्थितिबाट समय गुज्रीरहेको छ। भारतलाई समग्रतामा हेर्दा एकतिर चिजबिजको भाउ, डलरको बिनिमय मुल्य बढिरहेको छ भने अर्कोतिर असहिष्णुता र धार्मिक कट्टरवादको घिनलाग्दो उल्लास पनि बढदै गइरहेको थियो। अच्छे दिनको नारा लगाउँदै सत्तारुढ भएको शक्तिले आफ्नो विकासको मुखुण्डो क्रमैसंग खोलेर फासिवादी प्रवृत्तिको अनुहार देखाउन थालेको छ। तिनीहरुले खोजेको अँध्यारोतिर देशलाई यात्रा गराउनको निम्ति उच्चवर्ण हिन्दुत्ववादी स्लोगनहरू सँगै अब देशप्रेम, राष्ट्रवाद, भारतमाता बारे तिनीहरुले बनाएको मनपरी कन्सेप्टहरूलाई पहिलाको तितो बोडी झैँ निल्नुको फरमान जारि गर्न खोजिरहेको छ। 
तर हैदरावाद सेन्ट्रल युनिभर्सिटीमा रोहित भेमुलाको ‘हत्या’ देखि लिएर जेएनयु ‘काण्ड’— सबैमा एउटा सुनियोजित षडयन्त्र थियो जस्तो लाग्दैछ। इतिहास, समाजविज्ञान, अर्थनीति, दर्शनको आधारभूत कुराहरु बिर्सिएर के हामीलाई फासिस्टहरूको पाठ्यक्रम सिकाउने कोसिस चलिरहेको छ? तर हामी युक्तिसंगत, वैज्ञानिक, न्यायिक बाटोमा अडिग भएर हिड्नुपर्छ— यो समयको सङ्घर्ष हो।
हालैको सनसनीपूर्ण घटनाक्रमले कतिवटा विषयलाई किताबको पन्नाबाट जनता सामु व्यवहारिक तर्कको रुपमा उभ्याईदिएको छ। देश भनेको कोरिएको मानचित्र कि देशको आममानिस हो? देशप्रेम भनेको सत्तासीनहरूको नीतिप्रति अन्धो समर्थन कि देशको लागि दुरदर्शी अग्रगतिको बाटोलाई चिह्नित गर्नु हो? राष्ट्रवाद के हो र कुन राष्ट्रवादको नारा कसको हो? राष्ट्रियता भन्नाले कुन राष्ट्रियता— हाम्रो पुर्खादेखि बगेर आएको आ-आफ्नो राष्ट्रियताको धारणा कि माथिबाट लादिएको राष्ट्रियताको धारणा? यी प्रश्नहरूको एउटापनि एक शब्दमा भन्ने उत्तर छैन, सस्तो लोकप्रियता पाउनको लागि क्युइजको उत्तर जस्तै होइन कि सिधै एकैछिनमा कसैलाई देशप्रेमी वा देशद्रोही ठहराउन सकिन्छ। यस्तो गर्दा भिन्न मत, पथ, दृष्टिकोणले भरिएको हजारौ वर्षको हाम्रो समाजमा उब्जिएको ज्ञानसँग प्रताडना हुनेछ। किन चाहिँ हामी त्यस्तो मूर्खता देखाउनु?   
हालैमा जे.एन.यु. लिएर ल्छ्याप्रै विवादहरु चल्यो।भारतको कर्पोरेट मिडिया अनि सत्तासीन बि.जे.पी. अनि हिन्दु कट्टरपन्थी सङ्गठनहरु कतिजना माथि आरोप लगाएर, कतिवटा कुरा र नारा टिपेर सनसनी मच्चाएर समाजभरी नै एउटा डरलाग्दो ध्रुवीकरण गर्ने प्रयास पाऱ्यो। त्यसपछिको घटना सबैलाई थाह छ होला— न्यायालयमा केहिपनि सबुत पाइएन आरोपीहरू बारे, बरु बनावटी सनसनी मच्चाउनको लागि षडयन्त्र थियो भनेर सुन्नमा आयो। अचम्मको कुरा के हो भने थुप्रै मानिसहरु, यहाँसम्मकि यस क्षेत्रको व्यवसायिक मिडियाहरूले पनि शासकले जारी गरेको त्यही अफवाहलाई आत्मसात् गरेर जेएनयुको प्रतिवादी विद्यार्थीहरूलाई अपराधी ठहराउदै बयान जारि गरिदियो। 
आश्चर्यको कुरा, भारतको “राष्ट्रपिता” महात्मा गान्धीको हत्याको कलङ्कमा डुबेको बि.जे.पी.को मातृ-संगठन आर.एस.एस.-लाई जे.एन.यु.को स्लोगनहरुले किन पिरेलेको? मुजफ्फरनगर अनि गुजरातमा साम्प्रदायिक दङ्गा सृजना गरेर भारतीय नागरिक मुसलमानहरुलाई खेदी-खेदी मारेर ‘हिन्दु राष्ट्र जिन्दावाद’-को नारा लाउनु चै के चोखो राष्ट्रभक्ती हो? किन भारतीय राज्यसत्तालाई “आजाद कश्मीर जिन्दावाद”-ले जति पिरोल्छ त्यति खतरा मान्दैन “हिन्दु राष्ट्र, भारत माताकी जय”-को नाराले? आर.एस.एस.-को अखण्ड भारतको म्यापले नेपाल, भुटान, श्रीलंका, बंगलादेशलाई गाभेकोमा अन्तराष्ट्रिय राजनैतिक संकट विकाश हुन्छ भनेर किन आतिन्दैन भारतीय राज्य?
यो घटनाक्रमको उल्लेख गर्दा जहिलेपनि देश, देशप्रेमको कुरा आउँछ, त्यससितै आइहाल्छ गोर्खा जातिको ‘वीरता’को कुरा! हामी गोर्खा हौँ, त्यसले गर्दा वीर हौँ, अनि त्यसले गर्दा सीमाना रक्षाबाहेक हाम्रो लागि अरु कुनै सम्मानजनक काम नै छैन जस्तो! समस्त गोर्खा जातिलाई “वीर जाति”-को उपनाम दिएर भावुकताको प्रकोपको फाइदा दुवै त्यस्ताक ब्रिटिश अनि अहिले भारतीय शाषक वर्ग अनि गोर्खा मध्यम वर्गले उठाएको हो । यसैमा लुकेको छ दार्जिलिंग नागरिक समाज अनि समग्र गोर्खा जाति, राजनीति, साहित्य, इतिहासको पछौटेपन पनि। ‘वीर’-को पिंजडाबाट मुक्त हुने संघर्ष चल्दैछ गोर्खा समाज भित्र पनि। गोर्खाहरु अहिले परिभाषित ‘वीर’ मात्र होइन तर समान बहुपहिचानका धनि पनि हुन्। उ धान उमार्ने किसान हो, अनि दुनियाँ निर्माण गर्ने मजदुर पनि। उ पुरुषतन्त्र तहस-नहस गर्ने साहसी नारी हो भने उ सातै रंगलाई माया गर्ने समलैंगिक पनि हो। उ समाज बदल्ने क्रान्तिकारी हो भने उ संसार पढ़ने विद्यार्थी पनि। त्यसैले अहिले गोर्खा सिमा रुङ्ने ‘वीर’-बाट उ ‘मुक्त-गोर्खा’ हो जसको बहुसंख्यक परिभाषा अनि पहिचान छ।

राष्ट्रवाद, जातिको उन्मुक्ति, देशप्रेम अनि देशद्रोहको स्थापित परिभाषाहरू लिएर के हामी अझै एकपल्ट खुल्ला चर्चा गर्न सक्दैनौं? स्थापित राजनैतिक दलको हिंसा अनि भ्रष्टाचार, हिन्दु कट्टरपन्थीहरुको साम्प्रदायिक दंगा अनि दलित दमन, कर्पोरेटहरुको लुट अनि किसान आत्महत्या, मजदुरलाई शोषण र हेपाईले भरिएको राष्ट्रभक्तिको किताब हामी लाटोजस्तै पढ्दै जानु? कहिले सम्म?



No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...