Sunday, June 19, 2016

कविता : साइँला बाजे

शैलीका छेत्री


1.
चियागाछ स्याहर्ने साइँला बाजेको हात
चियाकम्पनीले काटिदियो।

त्यही चोटमाथि पनि स्वार्थी चियाकम्पनी
छर्किरहेछ एसिड र मारिरहेछ हरियो सपना।

साइँलाबाजेको पीडागीत केवल कथा होइन
चियाबगानको यस्तो सङ्गीत हो
जो चिया गाछले गाउँछ मुट्ठी उठाएर
जब यो पीडागीत गाउँछन् हरेक गाछले
तब व्युझिन्छन् सुतेका मानिसहरू।

साइँलाबाजे त्यही गाछ हुन्
जो गाइरहेछ निरन्तर कम्पनीको विरुद्ध।

त्यही गीतले उघ्रन्छ
चियाबगानको क्षितिज विस्तारी
विद्रोही लालिमा छाउँछ आकासमा
जब जब साइँला बाजे गाउँछ
चियाको रङमा डुबेर
श्रमिकको गीत
तब तब कम्पनीले उठाउँछ हतियार
र साइँला बाजेको शब्दमाथि प्रहार गर्छ
साइँलाबाजेको जिब्रो थुत्छ।

तर कम्पनीलाई थाहा छैन
साइँलाबाजे चियाको फूल हो
पात हो, जरा हो, हाँगा हो,
चियाको बुटा बुटा हो
जसले समवेत गाउँछ श्रमको गीत।

2.
साइँला बाजेको चिहानबाटै उम्रिएको छ
फेरि एउटा नयाँ कलिलो चियागाछ
जसले फुलाएको छ
चन्द्रमाको उज्यालोमा चम्किने
सिलवर टिपको दुई पात एक सुइरो।

त्यसैलाई चुँडेर कम्पनी खेलिरहेछ मृत्युखेल
विश्वबजारको चम्किलो बसन्ते पसलपसल
आलिशान बिल्डिङको कपकपमा खसिरहेछ
साइँला बाजेको रगत।

एघार हजार रूपियाँ प्रतिकिलोग्राम
साइँलाबाजेको जिन्दगीको दाम हो
एकसय पचहत्तर रूपियाँ

ए मालिक
अब चिहानबाट व्युँझिएर उठ्नेछ यीशु योद्धा
र उद्वार गर्नेछन् साङ्लीमा कसिएका चियागाछलाई।

सुन, त्यो धुन फेरि सुनिँदैछ
साइरनभन्दा चहकिलो।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...