कपिल तामाङ
चिया बगानका गतिरोध, मजदुरहरूका दयनीय स्थिति इत्यादि चर्चा उठ्न बित्तिकै हामी डुवर्सलाई हेर्छौं। तर पहाडमा अलकेमिष्ट ग्रुपद्वारा सञ्चालित धोत्रे, कलेजभेल्ली, समरीपानी, मिलिंग, बालासन, तुन्सुंग अनि पेशोक चियाबारीहरू पनि लामोसमयदेखि बिग्रिएको स्थितिमा छन्। 10000 करोडको कम्पनी हो अलकेमिष्ट ग्रुप, अनि त्यसको मालिक हो तृणमुल काँग्रेसको राज्यसभा सांसद के डी सिंह। कैयौं महिनादेखि डन्कन्स-गोएंका ग्रुपका डुवर्स-तराई स्थित चिया कमानहरूको अवस्था खबरकागज र अन्य माध्यमबाट आम जनतामाझ आइपुग्दा सनसनी भएको थियो। तर हेर्नुस त अलकेमिष्ट ग्रुपका चिया कमानहरूको पनि त्यस्तै स्थिति रहेतापनि सरकार पक्षबाट लामो समय सम्म कुनै पहल नै थिएन।
चिया उद्योगमा सङ्कट छ भन्ने झुठो धारणा फैलाएर चिया उद्योगबाट हात उचाल्ने काम त सन् 2000 देखि नै सुरु भएको हो, तर त्यसको ठुलो प्रभाव भने विगत दुई तीन साल देखि फेरी नयाँ तौरले स्पष्ट रूपमा देखापर्न थालेको छ। चिया उद्योगबाट जतिसक्दो लाभ लिने अनि मुनाफा सबै अन्य उद्योगहरूमा निवेश गर्ने प्रवृत्तिले नै चिया कमानहरूको स्थिति बिग्रिएको हो। डन्कनस अनि अलकेमिष्टको यो प्रवृत्ति बेसी स्पष्ट भएको छ भने अन्यथुप्रै चिया कमानहरू पनि यस स्थितितर्फ नै गइरहेको देखा पर्दै छ। अलकेमिष्टको 3 वटा बगान धोत्रे, कलेजभेल्ली अनि पेशोकमा भने गत 3 महिना देखि खर्च-तलब बन्द गरिदिएको छ। सन 2004 मा गुडरिक कम्पनीबाट अलकेमिष्ट ग्रुपले यी बगानहरू किनेको थियो। त्यतिबेलादेखि नै सानातिनो समस्या सिर्जना हुँदै आइरहेको हो। जसोतसो कमान चल्दै आए तापनि 2012 मा आएर झनै कमानको स्थिति बिग्रिएर गयो। श्रमिकहरूको रोज, कर्मचारीहरूको वेतन, अनि पाउनुपर्ने विभिन्न सहुलियतहरूको समस्या लिएर सहश्रम आयुक्तको आयोजनामा बैठक भएको थियो र त्यसमा कतिपय शर्तहरू मान्न मालिकपक्ष असहमत भएको थियो। यसै गरी पूजा बोनस समय मुताबिक श्रमिकहरूले पाउन सकेनन्। धेरैचोटी रोज, बेतन रोकियो। पीएफ जमा भएन। कतिपय थोक विपरीत समय वितरण गरियो। यसरी बगान चलाउने मालिकले न त बगान घोषितरुपमा बन्द गऱ्यो, न त राम्ररी बगान चलाउन प्रयास देखायो। अहिले यस्तो गतिरोधको स्थितिले गर्दा धोत्रे-कलेजभेल्लीको मात्रै 8 वटा डिभिजनमा 2584 श्रमिकहरू प्रभावित भएका छन्। उनीहरूले कमानमा पाउने रोजगार साथै अरू कुनै सहुलियत जस्तै रासिन, चिकित्सा इत्यादि पनि पाएका छैनन्। मजदुरहरूको पीएफ र ग्र्याचुइटीको पैसा पनि मालिकले जमा दिएको छैनन्। मजदुरहरूको भनाई अनुसार गत वर्ष त्यहाँको पहिलो पत्ति 15000 प्रति किलोमा बिक्री भएको थियो।जबकि ती तीनवटा कमानहरुबाट प्रतिवर्ष चार लाख बराबर चिया पत्ति बिक्री हुने गर्छ। तर अहिले रहल सबै खर्चपात मिलाएर 10 करोड 45 लाख 35 हजार रुपिया रकम बाँकी पुगिसकेको छ। यसपालि मजदुरहरूले त्यही पहिलो पत्ति टिपाइको काम बहिष्कार गरेर मालिकमाथि दबाउँ दिने बाटो पक्रेका थिए। चाखलाग्दो कुरा के हो भने यहाँका चियापत्तीहरु विदेशमा अमेरिका, जर्मनी, अनि अन्य देशहरूमा उच्च दाममा बिक्री भएतापनि यहाँको कमानहरुमा दिनप्रतिदिन यस्ता संकटहरुले मजदुरहरूलाई चुसीरहेका छ।यस्तो कहालीलाग्दो स्थिति झेल्दा-झेल्दै अन्तमा त्यहाँका श्रमिकहरूले विरोध जनाउदै फ्याक्ट्री-गेट मिटिंग गरे अनि आउने चुनावलाई ध्यानमा राखेर सरकारलाई दबाब दिने निर्णय लिए अनि यस विषयलाई लिएर त्रिपक्षीय बैठकको माँग गरे नभए भोट वहिष्कार गर्ने घोषणा गरे। धेरै मिटिंगहरूमा मालिकपक्षको अनुपस्थिति पश्चात् 30 मार्चमा सिलिगुडी-जलपाईगुडी लेबर कमिसनरको अफिसमा त्रिपक्षीय बैठक सम्पन्न भयो। सो मिटिंगको सम्झौतामा अलकेमिष्ट सञ्चालित चिया कमानका गत डिसेम्बरको तलब-खर्च 7 अप्रिल, जनवरीको तलब-खर्च 5 मई, फरवरीको तलब-खर्च 5 जुन अनि मार्चको तलब-खर्च 5 जुलाई भित्रमा प्रदान गरिने छ अनि रहल विषयमा 13 अप्रिलमा त्रिपक्षीय बैठक हुनेछ भनी निर्णय भयो।
डन्कन्सको एउटै बगान छ पहाडमा, त्यो हो रंगली-रंगलियट। डन्कन्सको डुवर्स-तराई स्थित बगानहरूमा पोहोर सालको अप्रिल देखि जुन गतिरोधको स्थिति चलिरहेको थियो त्यसमा कतिवटा बगान भर्खरै चालु भयो भने कतिवटा त्यस्तै अन्योलताको स्थितिमा छ। पहाडमा रहेको रंगली-रंगलियट बगान तर जसोतसो गरेर यस अवधिमा चालु नै थियो। तर सन् 2015 को रोजवृद्धिको बेलादेखि यहाँको श्रमिक-कर्मचारीहरूले वर्धित ज्याला जुन एरियरको रूपमा पाउनुपर्ने, त्यो पाएका छैनन्। यहाँका 53 जना स्टाफको फरवरी सम्म पाउनुपर्ने राशि 16.23 लाख रुपियाँ रहेको छ।
बन्द कमानको वा यहाँसम्मकी चालु बगानको पनि श्रमिक माथि शोषण-उत्पीडनको स्थितिले पलायन हुने, रोजगारको समस्या, कुपोषण अनि अकालमृत्युको दर बढेको छ।मालिकको शोषण अनि लापरवाहीको कारण आम खटीखाने मानिसको जीवन भताभुङ्ग भएको छ। विद्रोहको आगो निभाउन धर्म-प्रचारक संस्था, एनजीओहरू छ्याप-छ्याप्ती गाउँ कमानहरूमा पसेका छन्। शोषणलाई पूर्व जन्मको पाप वा आत्मा-असन्तुष्टिको नाम दिएर वा दुई किलो चामल, दाल अनि मुराइ-भुजामा सन्तुष्ट हुन सिकाइन्छ। मानिसहरूको हतासाको आगोले हावा पक्रन थालेको छ, शोषणको गाग्री भरिसकेको छ। त्यसैले शोषण अनि अत्याचारको कुण्ठाहरू कुनै पनि दिन विस्फोट हुन् सक्छ।
No comments:
Post a Comment