Sunday, June 19, 2016

टोटो जाति विलुप्ति सङ्कटमा

विवेका गुरुङ

हिमालयको फेदतिर अलीपूरद्वार जिल्लामा, जहाँ भुटान र पश्चिम बंगालको सीमाना पर्दछ त्यहाँ स्तिथ छ टोटोपाडा नामक एउटा सुन्दर सानो गाउँ। त्यस टोटोपाडामा बास छ पृथक् आदिवासी समूह 'टोटो'हरूको। प्राय: जसो उनीहरूलाई बर्मामा मङ्गोल जातिका भनी वर्गिकृत गरिन्छ कारण उनीहरूको भाषा टिबेटो-बर्मिज कुलदेखि उत्पन्न भएको हो। 
टोटोहरूले आफूलाई हिन्दु भनी पहिचान दिन्छ तर उनीहरूको दुई वटा छुट्टै भगवान् छन्। पहिलो, ‘इश्प’— पुरुष देवता जो भुटानका पहाडमा बस्छ भन्ने विश्वास छ, जो अप्रसन्न भए गाउँमा रोग र कष्ट ल्याउछ। दोस्रो हुन् देवी ‘छिमा’ जसले रोग-कष्ट र समस्याहरूबाट गाउँको रक्षा गर्छिन्। यी दुवैलाई प्रसन्न गर्नको निम्ति टोटोबासीहरू पशुको बलि, अन्नको थुप्रो र ‘इयु’ नामक गाउँले मदिराको भोग दिन्छन्। मानवशास्त्रीक अध्ययनद्वारा यो स्थापित भएको छ कि टोटो संस्कृति र भाषा टोटो जनजातिमध्ये मात्र पाइन्छ र छिमेकी राजबंशी, कोंच, मेच या भुटानका सारछोप जनजातिहरू भन्दा यी स्पष्ट रूपले भिन्न छन् ।
स्थानीय अध्ययन अनुसार उनीहरू सक्रिय किसान होइनन्। यिनीहरूमध्ये कोदो र सुपारी उमारेको भने पाइन्छ। गाई, बाख्रा, कुखुरा, इत्यादि जन्तुहरू पाल्ने गर्छन्। आफ्नो जीविका चलाउनको निम्ति केही टोटोबासी दिनहुँ 2-3 घण्टाको सवारी गरी भुटान क्षेत्रतिर ठिकामा काम खोज्न जान्छन्।  टोटोहरूलाई देशको सबैभन्दा पृथक् प्राचीन इन्डो-भुटानीस् आदिवासी समुदाय भनी मानिएको छ। आज उनीहरू हाम्रो चर्चाको विषय बनेको छ किनभने टोटो जाति पूर्ण रूपमा मासिने भयनीय सम्भावना छ। यो समस्या मुख्य रूपमा उनीहरूको विवाहको ढाचा र धेरै मात्रामा शिक्षाको अभावले गर्दा भएको भन्ने धारणा छ। 2011-को जनगणना अन्तर्गत टोटो जातिका जनसङ्ख्या 5,237 मात्र थियो जसमा 2,709 पुरुष र 2,528 महिला छन्। 
टोटो जातिको यो विलुप्त हुने समस्या उनीहरूको सगोत्र विवाह व्यवस्थाले अझ गम्भीर बनाई दिएको छ। उनीहरूको यो परम्परामा वैवाहिक सम्बन्धको सन्तानहरू बिच विवाह हुने चलन छ र यस्तो चलनले गर्दा टोटो जातिको अस्तित्वलाई अझै खतरा पुगेको हो कारण तिनीहरूको सन्तान अपाङ्ग जन्मिने सम्भावना रहन्छ। टोटो जातिका प्रचलित वैवाहिक सम्बन्धबाट जन्मेका धेरैजसो सन्तान 'थालासेमिया' नामक अनुवंशिक रोगको शिकार हुने खतरामा रहन्छ। यो रोगले ग्रस्त शरीरमा रगत् उत्पादन हुँदैन जसको कारण रोगीलाई बचाउनको निम्ति सठीक अन्तरालमा रोगिलाई रक्तदान गर्नु पर्दछ। यो रोग आनुवंशिक स्वभावको हुनले आउँदो पुस्ताहरू पनि पूर्ण रूपले रोग-प्रभावमुक्त छैनन्। 
2009-मा कलकत्ता स्तिथ नेताजी सुभास चन्द्र बोस केंसर अनुसन्धान संस्थानद्वारा अविवाहित टोटोहरूका रक्त जाँच गरियो र जाँचको परिणाम अनुसार तिनीहरूमध्ये 15%-मा 'थालासेमिया' वाईरस रहेको पाइयो। भारतीय मानवशास्त्रीक समाजद्वारा अर्को आश्चर्यजनक तथ्य थाह लागेको छ कि टोटो जातिका औसत जीवनकाल हालैमा घटेर 35 वर्ष भएको छ, जुन अवधि लगभग 'थालासेमिया' रोगिको जीवनकाल जतिनै हो। 
टोटो जातिको विलुप्त हुदैं गएको प्रक्रियालाई योगदान गर्ने अर्को गम्भीर कारण हो उच्च शिक्षाको कमी। 1990-मा टोटोपाडामा प्राथमिक पाठशाला स्थापित भएको थियो र 1995-मा उच्च बिध्यालय लगायत छात्रावास। तर यी आधारभूत विकासहरू अरू असुविधाहरू जस्तै खराब बाटो व्यवस्था, पानीको कमी, दुर्बल बिजुली व्यवस्था, न्यूनतम स्वास्थ्य सुविधा, इत्यादि कारणहरूको बोझले उचित रूपमा कार्यरत हुन सकेन। टोटो परिवारहरूका कमजोर आर्थिक अवस्थाको कारण पनि उनीहरूले आफ्नो नानीहरूलाई उच्च शिक्षाको निम्ति बाहिर पठाउन सकेका छैनन्। मात्र 2013-मा पश्चिम बंगाल सरकारले टोटो समुदायबाट स्नातक उपाधि प्राप्त प्रथम महिला सुश्री रितालाई उत्तर बंगालको पछौटे वर्ग वेलफेर विभागमा सामाजिक कार्यकर्ताको उपाधिमा नियुक्त भएको घोषणा गरेका थिए। मानवशास्त्र वैज्ञानिकद्वारा गरिएको सर्वेक्षणले टोटो समुदायको अस्तित्वलाई अर्को झट्का दिएको छ। टोटोको भाषामा अध्ययन गरेर यो थाह लाग्यो कि टोटो समुदाय आफैँभन्दा पनि अझ गम्भीर सङ्कटमा तिनीहरूको भाषा छ किनभने तिनीहरूको भाषामा लिपिको अभाव छ र धेरै मात्रामा नेपाली र बंगाली भाषाले प्रभावित छ। सकारात्मक दिशामा यो नमुना छ कि एक टोटो सदस्य धनीराम टोटोले दुईवटा किताबहरू टोटो भाषामा बंगला लिपिले लेखेका छन्। एउटा किताब ‘लोकस्वर’ टोटोहरूको लोक संस्कृति बारेमा छ भने अर्को किताब ‘उत्तर बंगाल लोकपथ’ लोक कथाहरू बारे छ। 
यस्तो सङ्कटहरू माझ पनि सबै आशा मर्न दिएको छैन टोटो समुदायका सदस्यहरूले। शिक्षामा जोर दिन थालेका छन् फल्स्वरूप स्नातक उपाधि प्राप्त गर्ने टोटोहरूको क्रम बढ्दै गएको छ। ग्रामीण बैङ्कका कार्यकर्ता भक्त टोटो, टोटो शब्दकोष सङ्कलन गर्ने प्रक्रियामा छन्। स्नातक उपाधि प्राप्त गरेकाहरूले टोटो संस्कृति संरक्षण गर्न भाषा, इतिहास र परम्पराहरूको विकास गर्ने अभिलाषा लिएका छन्।
टोटो समुदायबाट यो शिक्षा लिन सकिन्छ कि आफ्नो संस्कृति बचाउन महत्त्वपूर्ण छ। तर सँग-सँगै यसलाई गहिराईमा बुझ्न जरुरी छ कि कुन तत्वहरू परिवर्तन गरिनु पर्ने हो, त्यसलाई तिनीहरूले ठम्याउनु सकुन्। यस्तो विलुप्त हुन आँटेको जनजातिको संरक्षण तिनीहरूको मात्र नभएर हामी सबैजनाको जिम्मेवारी भएर जान्छ। त्यसैले, संरक्षण र विकास चेतनातमक रूपमा एक साथ जानु पर्छ।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...