Sunday, June 19, 2016

समकालिन आदिवासी संवेदना

राजा पुनियानी


सभ्य र भ्यागुता
एउटा आदिवासी उखानमा भनिएको रहेछ, पोखरीमा वास बस्ने भ्यागुताले पोखरी सुक्ने गरी पानी खाँदैन। जुन आदिवासी कोखबाट आजको सभ्य समाज जन्मिएको हो, त्यही समाजले आज आदिवासीलाई कुल्चिएर विकासको बाटो खनिरहेको छ।तब सभ्य को ?सभ्य सभ्य हो वा भ्यागुता?
भारतमा झैँ नेपालमा पनि आदिवासी समुदायमाथि प्रताड़नाहरू भइरहेका खबर बाक्लिएर गएको छ। आखिर किन भइरहेको छ यस्तो ? धर्तीका आदि सन्तानको निम्ति आदिवासी हुनु भनेको विशेषाधिकार-बोधको कारण हुनुपर्ने तर अपराध साबित हुँदै आएको छ। विशेषाधिकार प्राप्त श्रेणीजीवीहरू खास विशेषाधिकार योग्यहरूलाई सके लाठी वा बन्दुकको कुँजा देखाएर जङ्गलतिरै ठेल्न उद्यत देखिन्छन्। यसले आदिवासी समुदायमा विशेषाधिकारप्राप्त श्रेणीप्रति घृणा बढ़ाउन नै मद्दत गर्ने हो। 
दीर्घकालदेखि सुषुप्त, शान्त र काँचो रहेको आदिवासी संवेदनाको के हुने हो अब? के यो पिटिएर हतियारमा फेरिएको फलाम हुने हो वा संसारकैसबैभन्दा पुरानो फलाममा खियाको जलप पर्ने हो?सवाल गम्भीर छ।
आदिवासी संवेदनालाई त परीक्षाको घड़ी हो नै। आदिवासी र गैर-आदिवासीमाझ खाड़लको गहिराइ बढ़ाउने सिस्टमको लागि पनि यो ठूलै चुनौतीको समय हो। किनभने, आदिवासी संवेदना अब सोझै राजनीति, साहित्य, समाजशास्त्र, सामाजिक मनोविज्ञान र अर्थनीतिसँग जोड़िन पुगिरहेको ऱ्याडिकल दिनकाल आएको छ। आदिवासी संवेदनाले अब राजनैतिक विश्लेषण, दृष्टिकोण र दिग्दर्शनको माँग गरिरहेको छ।
संवेदनाका भौतिक कारण र आधार छन्, जसलाई नकार्नु प्रकृतिकै अस्तित्वलाई नकार्नु जस्तै हुन जान्छ।आदिवासी संवेदना जुन जुन तत्त्वले निर्मित छ, त्यसको चरित्रले उन्नत समाजकै उन्नतिमा समेत आमूल हेरफेर ल्याउन सक्छ। अघिल्तिर जे देखिएको हो, त्यसको पछिल्तिर चिहाइए मात्र अघिल्तिर देखिएका दृश्यको सम्भावित माने निकाल्न सकिँदो हो। विभिन्न आन्दोलन र गतिविधिको रूपमा अघिल्तिर प्रकाशन पाएको आदिवासी संवेदनाको पछिल्तिर के छ, त्यसको अध्ययनले मात्र संवेदनाको अघिल्तिरको दृश्यचेत आउने हो।  

के आदिवासी नाङ्गो छ?
पूरा नाङ्गै वा आधा नाङ्गै। लामा केश वा लट्टा परेका केश। जानवरका छाला बेह्रेका वा शिरमा चराको प्वाँख खिलेका। ट्वाल्ल हेरिरहेका वा लाटाको भङ्गिमामा ईशारा गरिरहेका। यस्तै चित्र आँखा सामु आउँछ जब आदिवासी शब्दको उच्चारण हुन्छ। तर आज सबै आदिवासी उस्ता छैनन् जस्तो टिभीले देखाउँछ वा किताबले वर्णन गर्छ। आदिवासीले धर्तीमा पहिलो पाइताला राखेको त हो तर आज ऊ समाजको गतिसँगै अघि अघि लम्किरहेको पनि सत्य हो। 
आदिवासी आज नाङ्गो छैन। उसले पनि प्रकृतिको नाङ्गोपन बिस्तार त्यागिरहेको अवस्था हो। अर्थात्, अन्यान्य समूह जस्तै ऊ पनि सभ्यतातर्फ पाइला चालिरहेको छ। 
विकसित समाजको सिस्टमले उसलाई सभ्य बन्ने निम्तो दिएको छ। त्यो निम्तोमा सिस्टमकै लाभ लुकेको छ। ऊ सभ्य बन्न चाहँदैछ आज। सभ्य बन्नुको आन्दोलन नै चलिरहेको छ। यसो गर्दा सिस्टमलाई दुइधारे लाभ छ। एक - नयाँ बजारले थप सस्तो श्रमशक्ति पाउनेछ। दुइ - नयाँ बजारले थप महँगो उपभोक्ता पाउनेछ। श्रमशक्ति र उपभोक्ताको यो दुइतरेली सामाजिक आवश्यकताले सभ्य बन्न लगाइरहेको आदिवासीको परिभाषा आजको समाजको परिप्रेक्ष्यमा परिवर्तित पनि भइरहेको छ यसर्थ।

ग्लोबलाइजेशनको युगमा आदिवासी  
ग्लोबलइजेशनले आदिवासीलाई सीमान्तीकृत गर्दैन। ग्लोबलाइजेशनले खासमा कुनै समुदाय विशेषलाई सीमान्तीकृत गरेको हुँदैन। जात, धर्म, समुदायको विभाजित धर्का ग्लोबलाइजेशनको निम्ति अड़चन हुन्छ।  
नयाँ विश्व बजारलाई आदिवासी चाहिएको हुने र आदिवासीले अनिश्चित आर्थिक बाटो पाए पनि आफ्नै पहिचान, आफ्नै पुँजी गुमाउन सक्ने अन्तर्विरोधी समीकरण निर्माणमा ग्लोबलाइजेशनको ठूलै भूमिका छ।ग्लोबलाइजेशनले छिटछिटो बजार निर्माण गर्छ। र बजारका लागि उपभोक्ता निर्माण गर्न पर्छ। उपभोग गराउनलाई सस्तो श्रमशक्ति चाहिन्छ। त्यसमा पहिले उपेक्षित र सीमान्तीकृत तब्कालाई समेत उसले छुट्टै कर्पोरेट पहिचान दिलाएर मूलधारामा ल्याउँछ। यसैले आदिवासी पहिचान के-को पहिचानको लड़ाइँ हो, त्यहाँ स्पष्ट हुन जरूरी छ। अर्को, पहिचानको लड़ाइँको दुश्मन को, साथी को, त्यो चिन्नु पनि जरूरी। यसो र सीमान्तीकृत, उपान्तीकृत, किनारीकृतको धारणा पनि बिस्तारै धमिलो र पातलो हुँदै गएको छ। आदिवासी सीमान्तीकृत नै छ त, यो पनि सवाल हो। यो सवालमा स्पष्ट भएर मात्र आदिवासी संवेदनाको अक्ष स्थिर हुन्छ र आदिवासी राजनीतिको पनि। खासैमा आन्दोलनको मूल लाइन के हुनुपर्ने हो, के के माग्नुपर्ने रके के त्याग्नुपर्ने हो, त्यो तय हुन्छ।
तथाकथित सभ्य बन्दा आदिवासीले पनि सभ्य समाजजस्तै प्रकृति-इतर चरित्र अप्नाउनुपर्ने हुन्छ। त्यसो गर्दा प्रकृतिमै रहेर प्रकृतिकै अङ्ग बनिसकेको उसलेव्यावहारिक रूपले प्रकृतिको संरचनादेखि बाहिर जानुपर्ने हुन्छ। ऊ ‘अप्रकृति’(नन-नेचर)बन्छ अब।  वा बन्न चाहन्छ। त्यो अप्रकृति र कृत्रिममा सुताभरको फरक होला। हक सम्बन्धित आदिवासी मागहरू कृत्रिमताका मागहरू हुन् यस अर्थमा। अर्थात् आदिवासी अब आदिवासी नरहने लड़ाइँमा हो। अर्थात् अब आदिवासी प्रकृति सङ्घर्षबाट पुँजीको सङ्घर्षमा छ। बजारू पुँजीले जल-जङ्गल-जमीनको अधिकारबाट वञ्चित गराएको आदिवासी त्यही आफ्नो मातृपुँजीको लड़ाइँमा छ। जल-जङ्गल-जमीनबाट योजनागत ढङ्गमा विस्थापित आदिवासी खोसिएको थोक फर्काइल्याउन जीउज्यानले लागेको छ आज। 

पहिचान र पुँजी
अन्तिम रूख मरेपछि, अन्तिम नदीमा बिख हालेपछि र अन्तिम माछा पक्रिएपछि मात्र हामी पैसा खान सक्तैनौँ भन्ने भेउ पाउनेछौँ। रेड इण्डियन आदिवासी लोकोक्तिले यसो भन्छ। भारत लगायत अन्यान्य आदिवासीप्रधान मुलुकमा आदिवासी समुदायलाई आफ्नै थात-थलोबाट लखेटिने वा जमीनबाट विस्थापन गरिने दर निक्कै माथि छ। भारतको झारखण्ड, उड़िस्सा, पश्चिम बङ्गाल, आन्ध्रप्रदेश, मध्यप्रदेश र पूर्वोत्तरका राज्यहरू आदिवासीबहुल छन्। जहाँ ‘विस्थापन’ र ‘विकास’-माझको अन्तर्विरोध चर्को छ। ठूला र मझौला देशी-विदेशी कर्पोरेट घरानाहरूको सत्ताको आड़मा अनुप्रवेश त्यहाँका आदिवासीको रोजीरोटी र पहिचानको सङ्कट भएर चुलिएर गएको छ।केही ल्याटिन अमेरिकी र अफ्रिकी मुलुकमा झैँ भारतमा आदिवासी आन्दोलन माओवादी आन्दोलनसँग पनि जोड़ेर हेर्ने गरिएको छ किनभने सिस्टमको कमजोर जोड़मा नै माओवाद फस्टाएको सत्य छ।  
पहिचानको लड़ाइँमा पनि छ ऊ। पहिचानको कन्सेप्ट वास्तवमा मातृपुँजीको मानसिक प्रतिफलन हो। अर्थात् उसको आफ्नै पुँजीको। अर्को शब्दमा, आदिवासी एउटा अर्को पुँजीको नाम हो, जुन पुँजी विश्व बजारको पुँजीको समानान्तर हिँड़्ने चाहनामा छ।
आदिवासी डिस्कोर्स भनेको पुँजीको एउटा अर्को चरित्रको छलफल हो।किनभने कुनै जाति वा गोष्ठी स्थिर छैन। जाति र जातिसँग सम्बन्धित, समुदाय र समुदायसँग सन्बन्धित समस्त विम्ब, प्रतीक, मिथ, रीति, अर्थनीति, थातथलो निरन्तर गतिमान छ। कुनै समुदाय वा जातिको पहिचान पनि त्यसै र स्थिर छैन। रहँदैन। यसोसले एक समयको आदिवासी अब त्यो अर्थमा आदिवासी छैन जुन अर्थमा ऊ पहिले पहिले थियो। यहाँनेर डार्विन काम लाग्छन्। उनको ‘अस्तित्वको निम्ति सङ्घर्ष’ सिद्धान्तअनुरूप मानिस आदिकालदेखि नै निरन्तर चलाचल (एक्सोडस) -को अवस्थामा छ। यही एक्सोडसले त्यो विशेष समुदायलाई सरलता पनि दिन्छ र जटिलता पनि। सरलता जीविकोपार्जनको सन्दर्भमा। जटिलता पहिचानको सन्दर्भमा। डायस्पोरा-को धारणा पनि यस धारणासँग कतै न कतै जोड़िएको छ।  
दुनियाँको कुनै पनि देश वा प्रान्तको कुरा लिउँ, मूलधारामा आउनुको उसको लड़ाइँ भनेको नै सभ्यको लहरमा दरिनुको लड़ाइँ हो। सभ्य हुनुको लड़ाइँमा कहीँ व्यवस्थाले नै उसको लड़ाइँको प्रायोजन गरेको छ कहीँ व्यवस्थाले उसको लड़ाइँ कुल्चेको छ। नेपालको सन्दर्भमा, व्यवस्थाले उसको लड़ाइँलाई थ्रेटकै रूपमा हेरिरहेको निश्चित छ। आज नेपालको साहित्यमा, संस्कारमा, जीवनमा आदिवासी शब्द उपेक्षाको दृष्टिले होइन एकैसाथ कौतुहल, सम्मान र सरोकारको धरातलबाट हेरिन्छ।साहित्यिक र सत्तागत शिविरहरूमा  मात्र नभएर आम जीवनमा पनि आदिवासी आज गम्भीर डिस्कोर्सको विषय हो।

रोटीको परिधिबाहिर
धर्तीका ब्याकवर्ड ठानिएका आदिवासीहरूको डिस्कोर्समा केही नयाँ र केही ताजा थोक छ भन्ने ठम्याइ वर्तमान समय सचेत कवि, बौद्धिक र मिडियाजीवीहरूमा देखिएको हो। केही साहित्यकारहरू त आदिवासी चेतलाई नै लेखनको आधार बनाएर केही उल्लेखनीय कृति सृजनामा लागिपरेका छन्, जसले लेखनमा समेत एउटा नयाँ आग्रहको विकास गरिरहेको छ। साहित्य मात्रकै निम्ति पनि यो शुभलक्षण भएर छ। चिन्तनको फाँटछुट्टै आदिवासी सौन्दर्यसम्म पुगिसकेको छ। 
सवाल मात्र नाङ्गोनाङ्गै बस्ने, भोकभोकै बस्ने, काँचो मान्छेहरूको छैन। जसले सामान्य जीवन जिइरहेका छन्, उनीहरूको जीवाइको सार्थकताको सवाल मुख्यतः अघि ल्याइएको हो। सार्थकताको सवाल सामान्य नागरिकले पाउनुपर्ने अधिकारको तुलनात्मक स्थितिसँग नै मूलतः गाँसिएको छ। त्यसपछि अन्यान्य समूह र विशेषतः तुलनात्मक तवरमा उन्नत समूहले आदिवासी समूहलाई हेर्ने तरिका (दृष्टिकोण) र गर्ने व्यवहार (एटिट्युड) -को सवाल पनि मुख्य छ। आजको आदिवासी केवल खानु पाउने, स्वस्थ रहनु पाउने, पढ़लेख गर्नुपाउने मूलभूत नागरिक हक माग्दैन तर साँच्चीकै सम्मानित जीवन बाँच्न पाउने हकलाई बुलन्द गर्ने मूडमा छ। 
रोटीको सवाल अद्यापि ठूलै छ। तर यसको परिधिदेखि बाहिर निस्किएर पनि हेर्नु खोजिरहेको आदिवासी समुदायहरूको चेतना दीर्घकालिन सङ्घर्षको अचानोमा अर्जापिएको थाहा पाइन्छ। आफ्नो हक पाउने लड़ाइँको लमाइ-चेत र कठिनाइ-बोध आदिवासीलाई सैद्धान्तिक तवरमा नभए पनि चेतनाको तल्लो र संवेदनको भित्री कोठामा भएर रहेकै हो। र त ऊ थाक्दैन हक मागेर मागेर। 
आदिवासी सङ्घर्षको इतिहास पल्टाउनु हो भने उसको लड़ाइँ आफ्नै अनुज पुस्ताका समुदायहरूसँग रहिआएको पाइन्छ। जुन अनुज पुस्ताले उसकै धरोहरलाई उसकै विरूद्ध हतियार उज्यायो। उसको प्रकृतिप्रेम, प्रकृतिमैत्री र प्रकृतिबोधी ताकतको अपहरण गरी पछिल्लो पुस्ताका गोष्ठीले तयार गरेको कथित एडभान्स्ड सिस्टम त्यही माउ समूहको दुश्मन बन्यो।प्रकृतिकै सन्तति सभ्य समुदाय जब आदिवासीको दोहन र दुश्मनीमा लाग्यो तब प्रकृतिकै विरोधी खेमामा उभियो।प्रकृतिदेखि बाहिर हुनै नसक्ने सभ्यता प्रकृतिभित्रै अजनबी छ। आदिवासीको सबैभन्दा चहकिलो पक्ष छ - ऊ अझ्झ पनि प्रकृति हो। आदिवासी रोटीको परिधिबाहिर निस्कन खोजिरहेको भए पनि प्रकृति अझ उसकै छायाँ भएर हिँड़्छ।

शब्द, नाम र इतिहास
समकालिन आदिवासीको चित्र समकालिन सामाजिक धरातलमै खिँच्नु जायज हो। 
आदिवासी शब्द आफैमा जति एन्थ्रोपोलोजिकल छ उत्तिकै इकोनोमिकल र पोलिटिकल पनि। राजनैतिक यसकारणले कि आदिवासी आदिवासी नै रहँदा आदिवासी शब्दको उत्पत्ति नै भएको होइन। आदिवासी आफैले आफ्नो निम्ति राखेको सामुदायिक शब्दनाम पनि होइन यो। आदिवासी नामकरण त पछिल्लो समयको मानव समुदायले सभ्य हुँदै गएको स्व-परिभाषा तयार गरेपछि भएको हो। 
सभ्य कोलम्बसले अमेरिकाकै सबैभन्दा पुराना रैथानेलाई विश्वसामु चिनाए‘रेड इण्डियन्स’नामले। उनीहरू आफैले आफ्नो निम्ति राखेको नाम त ‘बियोथुक’ थियो।‘ए-आनिनिन’ (सेतो माटोका वासिन्दा)- लाई फ्रेञ्चले ‘ग्रोस भेन्त्रे’ (भुँड़े मान्छे) नाम राखे।‘अत्तिकामेकु’ (सेतो माछा भएका मान्छे)-लाई किन फ्रेञ्चले ‘तेते दे बोउले’ (घण्टाउके) भने, कुनै सूत्र छैन।‘मेस्क्वाकी’ (रातो माटोका मान्छे)-लाई अङ्ग्रेजले ‘फक्स इण्डियन्स’ (भारतीय स्याल) भन्ने के खाँचो थियो, बुझिँदैन। नेपालमा स्वायत्त ‘लिम्बू’-लाई केन्द्रिय सत्ताले प्रयोग गर्न कसरी ‘सुब्बा’ बनाए, त्यो सबैलाई थाहा छ। 
समाज र प्रकृति दुइ विपरीत ध्रुवहरूको अन्तर्घात र अन्तर्क्रियामा अघि बढ़्दछ।  कथित असभ्यहरू अर्थात् आदिवासी सभ्यहरूको विपरीत ध्रुव हुनपुगे।  सभ्यलाई समाजको श्रेष्ठताको दर्जा दिलाउन तयार पारिएको शब्दावली पनि हो यो।
नामकरण, शब्दावलीदेखि इतिहासलेखनसम्म अनादिवासीको नियोजन रहेको हुँदा आदिवासी संवेदनाको चित्र अपूरो रहने हो। कथित उन्नतहरूद्वारा थोपिएको इतिहासले निर्माण गरेको आदिवासी संवेदनामा आदिवासी वास्तविकताको कति पुट छ, भन्न गाह्रो छ। आदिवासीको सपना, इच्छा, आकाँक्षा समेत बजारले तय गरिदिइरहेको आजको भयानक स्थितिमा उसको संवेदनाको प्युरिटी कति होला, चिसो गरी छुन्छ प्रश्नले।राजनैतिक हक प्राप्तिको निम्ति होस् वा आफ्ना कथा, धुन, सङ्घर्ष, सपना, मौखिक धरोहरहरूलाई संरक्षित गर्न होस्, उसले आफ्नो इतिहास अब आफै लेख्न जरूरी रहेको देखा पर्दैछ। 
चाखलाग्दो कुरा के भने आदिवासी इतिहासको यो पुनर्लेखन पुनर्लेखनभन्दा बढ़ी नवलेखन हुनेछ।यसरी इतिहास ठीक गरेपछि वर्तमान र भविष्य आफै ठीक हुँदै जाने हुन्। जब समय ठीक हुन्छ, तब संवेदनाको पनि तह मिल्ने हो। 

No comments:

Post a Comment