Sunday, June 19, 2016

कविता : साइरन

उमेश परियार


साइरनको पहिलो कर्कश ध्वनिले ब्युझाउँछ
थाकेर सुतेका आँखाहरू
भजनभन्दा पहिले बझ्छ बाइँचुरी
होइन
बाइँचुरीभन्दा पहिले बज्छ साइरन।

जब साइरन बज्छ
काँप्छ कोमल हात
अनि डड्छ रोटी
रगतभन्दा गाडा बन्छ चिया कित्लीमा

नानीहरूको आँखाबाट टिपेर सपना
आमाहरू
हाल्छिन् झोलीभित्र र कस्छे जोडले
र बोक्छिन थाप्लोमा
मानौं कुनै भक्तले इश्वर बोकिरहेछ
मानौं कुनै नागरिकले देश बोकिरहेछ
मानौं कुनै विद्यार्थीले किताब बोकिरहेछ
मानौं कुनै योद्धाले युद्ध बोकिरहेछ
मानौं कुनै कविले चेतना बोकिरहेछ
मानौं उसले एउटा सिङ्गो जीवन बोकिरहेछ।

उसको वैंशले नारायण गोपालको गीत गाउँदैन
सुनको काँडा तिमी देख्न सक्छौ भूपि
ती आमाहरूले होइन
जसको पाइतलामा बिझेको छ जीवन।

चियाको बुट्टाबुट्टाले छामेको छ उनीहरूको शरीर
र लुटेको छ पसिनाले उनीहरूको यौवन
झोलीभित्र हालेका नानीहरूको सपना जोगाउन 
त्यतिबेला धेरै गाह्रो हुन्छ
जतिबेला मालिकहरूले तौलिन्छ उसको मेहनत
जतिखेर मालिकले तौलिन्छ उसको भाग्य

त्यतिखेर बिर्सन्छन् पुछ्न निधारको पसिना
बिर्सन्छन् पाइलामा पसेको सुनकाँडाको पीडा
बिर्सन्छन् औंलाका गेंडागेंडाका दुखाई
त्यतिखेर उनीहरूको आँखा अर्जुन बन्छ
र देख्छ सुगा झैं त्यो काँटा।

जुन काँटाले कहिल्यै तौलिनै सक्दैन
धुलो खेलिरहेका नानीहरूको प्रतीक्षालाई
खुन छादिरहेको लोग्नेको पीडालाई
भुटुन फर्किरहेको निभेको चुलालाई
हजारहजार मरेका सपनाहरूलाई

यो साइरनको आख्यान यति खतरनाक छ कि
यो बज्दा पनि मरिरहेछन् आमाहरू
यो नबज्दा पनि मरिरहेछन् आमाहरू।


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...