नारायणप्रसाद काफ्ले
कुनै एक लेखकले जतिनै प्रगतिशील विचार लिएर साहित्य सृजना गरे पनि त्यसको प्रभाव पर्ननसक्नु यतिखेर सबभन्दा ठुलो चुनौती र विडम्बना भएको छ। सामाजिक विकृति र विसङ्गति,आममानिसमाथि हुनेगरेका अन्याय-अत्याचार र शोषण,राजनैतिक प्रपञ्च आदिलाई देखेर अचेलघरि धेरै रचनाहरू लेखिन्छन्। तरै पनि त्यसको प्रभाव कहीॅ कतै प्रत्यक्ष परिहालेको देखिन्न। यस्ता विकृति र विसङ्गत माहोलमा निरन्तर बढोत्तरी भइरहेको छ। जसले गर्दा लेखकमा केही आॅच आउने गरेको र नयाॅ पुस्ताका प्रगतिशील लेखकहरू हतोत्साही बन्नपर्ने स्थिति लेखापर्ने गरेको पनि देखिन्छ। परिवर्त्तनको हुङ्कार गर्नेहरूलाई पनि केहीहदसम्म सोॅच्न बाध्य गराउनथालेको सुनिन्छ।
प्रगतिशील विचारमा लेखिएका हाम्रा धेरै रचनाहरू औपचारिक मञ्चमा नै सीमित रहने गरेकका छन्। जसलाई लक्षित गरी लेख्यो उसैको समकक्ष पुग्न नसकेको पनि लेखकहरू गुनासो गर्छन्। जुन गुनासोमा हामी नयाॅ सहमत र सामेल छौॅ। आज गरिबी र अरू समस्यामा जिल्लिएर बाॅच्नेहरूको सङ्ख्या कति छ कति तरै पनि उनीहरूको हक अधिकार र न्यायका प्रसङ्गमा लेखिएका रचनाहरू सफल बन्न सकेको देखिन्न। नलेख्नेहरू यस अर्थमा ठान्ने गर्छन् -प्रभावहीन नलेख्नु। उनीहरूको भनाइ ठम्याई केही हदसम्म युक्तिसङ्गत छ तर लेखकको धर्मको निम्ति भने पुरै असान्दर्भिक र औचित्यहीन। किनभने लेखकहरू, कविहरू, कलाकारहरू भनेका विचारका वाहक हुन्। विचारका योद्धा हुन्। जुन युद्धमा होमिएपछि दूरागामी लक्ष्यभेदन मुख्य अभीष्ट हुन जान्छ। जसले युद्ध त्याग्नु भनेको उनीहरूले वहन गर्ने समाज परिवर्त्तनका दायित्वबाट सरासर पछि हट्नु बराबर हो। हामी जस्ता नयाॅ पुस्ताका लेखकले झनै मनन गर्नुपर्ने विषय भनेको यीनै हुन्।
समय /समाज जसरी परिवर्त्तनशील छ उसरी नै यसको संरचनामा परिवर्त्तन भइरहेको देखिन्छ। जुन संरचनामा बसेर त्यसलाई आममानिसहरूको हकहीतार्थ अवधारणामा परिणत गर्नु अहिलेको नयाॅ पुस्ताका लेखकको निम्ति सबभन्दा ठुलो चुनौती बन्दैछ।
जुन वर्गलाई लेखकहरू, कविहरू आदि आफ्ना विचारलाई आममानिसहरू समक्ष पुर्याउन चाहन्छन् आज त्यही समूह नै अशिक्षित नै छन्। अहिलेको व्यवस्थाले अशिक्षालाई निर्मूल गर्ने जति नै प्रयास गरे पनि त्यो समग्रमा असफल नै रहेको देखिन्छ। पुजीवादी व्यवस्थाका परिवर्तित रूपहरूले ती समूहलाई निरन्तर कुरुप बनाउनमा कुनै कसर छाडेको छैन। सचेत र सजग भएर बाॅच्नेभन्दा धेरै चिन्ता गर्ने भएका छन् कसरी जिउने। अभावै अभावमा जीवन यापन गरिॅदा विशाल समूह उन्मुक्तिको चेतनादेखि नै वञ्चित रहनुपर्ने स्थिति अनि प्रगतिशील लेखक कविहरूले निर्वहन गर्नुपर्ने भूमिकाबीच आकाश र पातालको फरक बन्दैछ। जसले गर्दा आजका नयाॅ पुस्ताले के कस्ता मार्ग अवलम्बन गर्नुपर्ने भन्ने विषयमा अन्योलता बढ्दैछ। विचारका नयाॅ पुस्तालाई अहिले विभिन्न पुजीवादी प्रायोजनाद्वारा प्रायोजित मञ्चहरूमा सीमित राख्ने कुचाल र प्रयासहरू सफल बन्नथालेको देखिन्छ। जसले नयाॅ पुस्ताका हामी लेखकहरूलाई हाम्रो काम भनेको सीमित सृजना हो कुनै पनि पीडित दलितवर्गका जनान्दोलनमा सहभागिता नरहे पनि हुन्छ भन्ने विचारको पृष्ठपोषक बन्दै गइरहेका छौॅ।
नयाॅ पुस्ताका लेखकहरूलाई प्रतिबद्ध र इमान्दार लेखक बन्न नदिने पुजीवादद्वारा प्रायोजित धेरै कुचाल र कुचक्रहरू यत्रतत्र फैलिएको देखिन्छ। साहित्य समाज आदिलाई पर्गेल्न विभिन्न औचित्यहीन वाद र सिद्धान्त अनि त्यसको भारी बोकाइबाट हड्याङ फुस्काउने माध्यमहरू बग्रेल्तै छन्।
आजका नयाॅ पुस्ताका सबै लेखकहरू उति कमजोर धरातलबाट खडा भएका छैनन् जति पुजीवादी अवधारणाबाट इक्रान्त बनाउने सिलसिलेवार प्रयासहरू गरिॅदैआएका छन्। पुजीवादी सोॅचले हामी यस पुस्ताका लेखकहरूलाई आममानिसहरूकासितको सरोकारदेखि हटाएर सीमित समूहमा सम्मिलित भएर बाॅच्ने अभ्यासमा अभ्यास्त गराउने कोसिस जारी छ। तर हामीमा रहिआएको सृजनात्मक गतिविधि अनि आममानिसहरूको सङ्घर्ष र त्यसमा प्रत्यक्ष सहभागितालाई बढी महत्त्व दिने दिशामा अघि बढ्नसक्यौ भने अहिले पनि हाम्रो समाजप्रतिको दायित्व र सृजनात्मक धरातल उस्तो कमजोर छैन जतिको पुजीवादले बनाउन खोजिरहेको देखिन्छ।
No comments:
Post a Comment