प्रकाश विश्व
नागरिक समाज वा ‘सिभिल सोसाइटी’, सुशील समाज, बुद्धिजीवी आदि शब्दहरू विगत केही वर्षदेखि बारम्बार चर्चामा आइरहेका छन्। आजको कथित उत्तरआधुनिक अवधारणाले त झन् यसलाई चर्चाको केन्द्रमा पुऱ्याएको छ। बुद्धिजीवी एवं समाज कल्याणमा उनीहरूको भूमिकाले नै समाजविज्ञानमा ‘सिभिल सोसाइटी’ भन्ने शब्दलाई जन्म दिएको थियो। राजनैतिक उथलपुथल, अस्तित्वमान राजनैतिक दलहरूका खोक्रोपन उदाङ्गो हुनेबित्तिकै बुद्धिजीवी र नागरिक समाजको भूमिका र आवश्यकताको आवाज उठ्छ। हाम्रो सन्दर्भमा गोर्खाल्याण्ड आन्दोलन होस् वा मदन तामाङ हत्याकान्डको विरोधमा जनता सडकमा ओर्लिएको बेला अथवा बंगालको सन्दर्भमा सिंगुर-नन्दीग्राम सङ्घर्षको समय होस् वा राष्ट्रीय परिदृश्यमा भ्रष्टाचारविरोधी आन्दोलनको बेला— नागरिक समाज तथा बुद्धिजीवीहरूका भूमिकाको कुरा समाजमा प्रखर रूपमा उजागर भएको थियो। ‘नागरिक समाज’ –को समाजवैज्ञानिक अर्थ वा भूमिका आममानिसलाई थाह होस् वा नहोस्, सङ्कटको बेला उनीहरू कतिपय बुद्धिजीवीहरूका बयान, टिप्पणी, सुझावहरू पर्खिबसेका हुन्छन्। आममानिसहरू ती बुद्धिजीवीलाई नै सिभिल सोसाइटीका प्रतिनिधि ठान्छन् चाहे विगतमा उनीहरूको भूमिका जस्तोसुकै होस्। पद-प्रतिष्ठाबाट प्रभावित पहिचानको उँचाइले गर्दा समाजमा कदर र सम्मान पाएका ती बुद्धिजीवीहरूलाई कुनै पनि आन्दोलनको बेलामा महत्त्वपूर्ण भूमिकामा हेर्न खोज्छन् आमजनता। सङ्घर्ष कुनै पार्टीको होस्, गठबन्धनको होस्, जनताद्वारा बनाइएका होस् वा जनतामाथि लादिएको होस्— यस्तो बेलामा सिभिल सोसाइटीको कुरा बारम्बार उठ्ने गर्छ। यसैले ‘सिभिल सोसाइटी’-बारे छोटकरीमा भए पनि चर्चा गर्नु सान्दर्भिक र समयसापेक्ष छ। यो अवधारणालाई सतहीबाट नहेरेर इतिहास र दर्शनको सन्दर्भसँग हेर्दा यसको महत्त्व र आवश्यकतालाई राम्रोसँग रेखांकित गर्न सकिन्छ।
नागरिक समाजको सैद्धान्तिक अवधारणा चाहिँ पश्चिमी समाजचिन्तनबाट जन्मिएको हो। नागरिक समाजको संज्ञा खोज्दा हामी एरिस्टोटलका लेखहरूलाई स्रोतको रूपमा हेर्न सक्छौँ। सुकरात, प्लेटो र सिसेरोको वैचारिक योगदान पनि यसमा कम छैन। त्यसबेला नागरिक समाजको धारणा राज्य वा राजनैतिक समाजको अर्थ जस्तो थियो, त्यो अहिलेको धारणाको ठिक विपरीत थियो। त्यसबेला साम्राज्यको विस्तारद्वारा राज्य संरचनाको विकासलाई सभ्यताको मापदण्डको ररूपमा हेरिन्थ्यो अनि त्यही नै थियो नागरिक समाजको अवस्थितिको माइलखुट्टी।
युक्तिवादको युगमा
पछिगएर युक्तिवादको युगमा राज्य र समाजको ऐतिहासिक संक्रमणको परिप्रेक्ष्यमा नागरिक समाजको अवधारणा युरोपेली चिन्तकहरूको रचनाका महत्त्वपूर्ण अङ्ग भएर देखापरे। थमस हब्स अनि त्यसपछि जन् लकका कृतिहरूमा राज्य र समाजलाई नागरिकहरूको सम्मतिबाट बनिएको सङ्गठित प्रक्रियाको रूपमा चिन्हित गरिएको छ। हब्सअनुसार, राज्य उद्भवअघि नै समान प्राकृतिक अधिकारको आधारमा प्रत्येक मानिसले के सोच्दथ्यो भने उसको आफ्नो विवेक र बुद्धिले जुन कामलाई उचित मान्छ, त्यो गर्ने अधिकार चाहिँ ऊसँग छ। यस्तो स्थितिमा प्रत्येक मानिस नै मानिसको शत्रु र प्रतिद्वन्द्वी हो। त्यसले गर्दा मानिस एकअर्कासँग डराउँछन्, एकअर्काद्वारा आक्रान्त हुन्छन्। यस्तो अराजक स्थितिबाट बाँच्नलाई मानिसहरूमा सहमति र सम्झौताको दौर शुरु भयो। यो सम्झौतालाई यथावत् राख्नलाई जुन केन्द्रीय जन-सहकारी संस्थामाथि जिम्मेवारी सुम्पिन्थ्यो, त्यो नै राज्य हो। त्यो हो सार्वभौमसत्ताको आधार। हब्सअनुसार, केवल सङ्गठित र दृढ राज्य व्यवस्थाभित्र नै ‘सिभिल सोसाइटी’-को स्थापना सम्भव छ। अर्कातिर, जन् लकअनुसार, प्राकृतिक अवस्थादेखि संक्रमणको शुरूमा नै व्यक्तिले पहिला समाज सृष्टि गरेर आफूलाई समाजप्रति सुम्पिएको थियो। त्यसपछि समाजले नै एउटा केन्द्रीय प्रबन्धक वा राज्यको स्थापना गऱ्यो। अर्थात्, लकअनुसार, प्राकृतिक अवस्था पछिकै सामाजिक अवस्था हो-‘सिभिल सोसाइटी’। विभिन्न विरोधाभास रहे तापनि यी दुवैका धारणामा निजी सम्पत्तिको अधिकारको कुरा थियो र त्यही निजी सम्पत्तिको रक्षा गर्नलाई नै व्यक्तिले सबैभन्दा पहिला एउटा केन्द्रीकृत प्रबन्धक स्थापनाको खाँचो महसुस गरेका थिए।
सिभिल सोसाइटी: धारणा स्पष्टीकरण
अठारौं शताब्दीमा औद्योगिक क्रान्ति हुनथालेपछि नागरिक समाज लिएर चासो निक्कै बढेर गयो। स्कटिस नवजागरणका प्रमुख सैद्धान्तिक नेता थिए एडम फर्गुसन। फर्गुसनले नै पहिलोपटक ‘सिभिल सोसाइटी’ भन्ने शब्द प्रयोगमा ल्याएका थिए। फर्गुसनको सिभिल सोसाइटीको धारणाबाटै पछिल्ला दिनहरूमा यसले थप विस्तार पाएको देखिन्छ। फर्गुसनअनुसार, सिभिल सोसाइटी सामाजिक कर्मको एउटा स्थिति हो, जहाँ मानिस सङ्गठित हुन्छ वा स्वतः सङ्गठित बन्छ।
हेगेलको विचार
हेगेलले यो विषयलाई तर अर्कै प्रकारले व्याख्या गरेका छन्। ध्यान राख्नुपर्ने कुरा के हो भने, हेगेलको राजनीति र समाज-दर्शन मानवीय आत्माको नैतिक विकाससँग सम्पर्कित छ। आत्मा वा मनलाई सम्पूर्ण रूपमा बुझ्नको निम्ति मानिसलाई इतिहासको लामो बाटो हिडेर एउटा निर्दिष्ट पर्यायमा विकसित भएर आउनुपऱ्यो अनि एउटा ठुलो परिसर (समाज/राज्य) –को अंशको हिसाबले नै मानिस आत्माको पूर्णता बुझ्न सक्षम भएको छ। हेगेलअनुसार, निजी सम्पत्ति हो व्यक्तिको मूर्त अभिव्यक्ति, जो संसारमा आफूलाई चिन्न र बुझ्नका लागि आवश्यक छ। यस परिप्रेक्ष्यमा हेगेलले ‘सामाजिक मानिस’-को नैतिक अग्रगतिको बाटोमा तीनवटा सिँडी चिन्हित गरेका छन् : 1) परिवार 2) सिभिल सोसाइटी 3) राज्य। हेगेलअनुसार, मानवीय र सामाजिक विकासको यसक्रममा राज्य नै हो अन्तिम सिँडी। अनि ‘सिभिल सोसाइटी’ टिकिरहेको छ राज्यको परिसरमा। ‘सिभिल सोसाइटी’ एक्लैले मात्र सार्वजनिक स्वतन्त्रता आर्जन गर्न सक्दैन। यसको लागि राज्यको आवश्यकता पर्छ। राज्यले ‘सिभिल सोसाइटी’- द्वारा आफूले खोजेको सार्वजनिक गुणहरू टिकाइराख्छ। हेगेलका थप मान्यताअनुसार, आर्थिक जीवनमा मानिसले अरू सबै मानिसलाई आफ्नो छिमेकी वा एउटा साधनको रूपमा मान्दछ। यसैगरी, मानिसले त्यो सन्दर्भमा अरू सबै मानिसका चाहनालाई आफ्नो लक्ष्यमा पुग्ने हतियारको रूपमा उपयोग गर्न खोज्दछ। ‘सिभिल सोसाइटी’ भन्नाले सार्वजनिक परिसरमा यस्ता व्यक्तिहरूको सङ्घीयता हो, जो केवल आफ्नो जीवन पाल्न सक्षम छन्। तर उनीहरू अफ्नो जीवनमात्रै टिकाइराख्न सक्षम हुनाले यो सार्वजनिकता पनि एउटा अमूर्त कुरा मात्रै हो। उनीहरू एकजुट भएका छन् आ-आफ्नो आवश्यकताको दौरान-ऐनगत व्यवस्था अनि व्यक्ति र सर्वसाधारणको स्वार्थ हासिल गर्नलाई बनिएको बाहिरबाट आएको एउटा सङ्गठनद्वारा। हेगेलको सिभिल सोसाइटीको धारणामा तीनवटा कुरा महत्त्वपूर्ण रहेको छ— 1) व्यक्तिको चाहना अनि त्यसको आधारमा खुल्ला प्रतिस्पर्धा, 2) ऐन र न्यायपालिका अनि 3) एउटा प्रबन्धक, जसलाई राज्य भनेर चिन्न सक्छौँ।
व्यक्तिको चाहनाअनुसार यदि प्रतिस्पर्धाको बाटो खोलिन्छ भने त्यसले निश्चितरूपमा नै सृष्टि गर्नेछ कामको विभाजन, सम्पत्ति एकत्रीकरण अनि परिणामस्वरूप वर्ग विभाजन। यसरी नै हेगेलले वर्णन गरेको ‘सिभिल सोसाइटी’ वर्तमान समयको वैश्वीकरणको उदार प्रतिस्पर्धात्मक बजार अर्थनीतिभित्रको एउटा आदर्श ठाउँ हो। यो एउटा यस्तो स्पेस वा परिसर हो, जहाँ प्रत्येकको व्यक्तिगत स्वार्थ अरू सबैजनाको व्यक्तिस्वार्थसँग निरन्तर लडिरहेको हुन्छ।
मार्क्सको सोचाई
कार्ल मार्क्सले तर हेगेलको राज्य र सिभिल सोसाइटीको पारस्परिक सम्बन्धलाई विपरीत दृष्टिकोणबाट हेरेका छन्। मार्क्सको भनाइअनुसार, राज्य वास्तवमा सिभिल सोसाइटीमाथि निर्भर छ। किनभने प्रत्येक समाजको वर्ग विभाजनको असर राज्यको गठनमा स्पष्टरूपमा प्रतिबिम्बित हुन्छ। यसरी आर्थिक विषयहरूसँग ‘सिभिल सोसाइटी’ प्रत्यक्षरूपमा सम्बन्धित छ। राज्य र नागरिक समाजलाई प्रतिस्थापित नगरीकन मार्क्सले यी दुवैलाई नै पुँजीको स्वार्थ रक्षा गर्ने संस्थाको रूपमा हेरेका छन्। सङ्घर्षको बाटोमा श्रमिकवर्गले सर्वहाराको अधिनायकत्व स्थापना गर्नेछन् अनि यसरी राज्य मुक्त हुनेछ। मार्क्सअनुसार, सर्वहारा क्रान्तिको बाटोबाट नै पुँजीरक्षक ‘सिभिल सोसाइटी’-लाई समाप्त पार्नुपर्छ। मार्क्सले आफ्नो भौतिकवादी अवधारणाको व्याख्दा गर्दै अन्य भौतिकवादसँग त्यसको पार्थक्य यसरी छुट्टाएका छन्— “पुरानो भौतिकवादको दृष्टिकोण हो ‘नागरिक समाज’; नयाँ भौतिकवादको दृष्टिकोण हो मानवीय समाज वा सामाजिक मानवजाति (social humanity)”, अर्थात् आफ्नो मानवीय समाजको दृष्टिकोणबाट मार्क्सले पुँजीको समाज वा नागरिक समाजको आलोचना गरेका छन्, जो बृहत् विश्व मानवसमाजको हितमा छ।
मार्क्स-एंगेल्सको विश्लेषणपछि राज्य-सम्बन्धित चर्चामा ‘सिभिल सोसाइटी’-को कुरा धेरै दिनसम्म शिथिल भएको थियो। मार्क्सीय चिन्तनले नै राज्य, समाज, अर्थनीति — सबै क्षेत्रमा एउटा अभूतपूर्व धरातल प्रस्तुत गरेको थियो। यसको विपरीत ‘सिभिल सोसाइटी’-को रूपमा कुनै दह्रिलो विकल्प वा व्याख्या आउन सकेन।
ग्राम्सीको व्याख्या
नागरिक समाज सम्बन्धित सैद्धान्तिक चर्चाको आधुनिक पर्यायमा हेगेलीय र मार्क्सीय विचारको संश्लेषण भयो- इटलीका चिन्तक अन्तोनियो ग्राम्सीका लेखहरूमा। ग्राम्सीले मार्क्सीय धारणाभित्रबाट नै यस्ता कतिपय आयाम अगाडि ल्याएका थिए जो हालैमा चलिरहेको सिभिल सोसाइटी सम्बन्धित चर्चामा पनि हाबी छ। ग्राम्सीको राज्य, राजनीति, समाज सम्बन्धित चर्चाको ठुलो अंश सिभिल सोसाइटीमाथि नै केन्द्रित छ। ग्राम्सीय धारणाको व्याख्याको क्रममा ‘हेजिमनी’ वा वर्चस्व, ‘सामाजिक गठबन्धन’ र ‘बुद्धिजीवी’-बारे बारम्बार चर्चा आउने गर्छ। ग्राम्सीको सिभिल सोसाइटीको धारणाबाट अहिले चर्चाको केन्द्रमा छ बुद्धिजीवीहरूको सन्दर्भ। बुद्धिजीवीको भूमिका र स्वरूप व्याख्या गर्दै ग्राम्सीले लेखेका छन्, समाजको माथिल्लो दर्जामा दुईवटा स्तर छ— 1) सिभिल सोसाइटी वा सामान्यतया निजी भनेर चिनिएका संस्थानहरूमा समावेश, 2) पोलिटिकल सोसाइटी वा राज्य।
ग्राम्सीअनुसार, बलिया गुटहरूद्वारा समाजमा वर्चस्व विस्तारबाट नै समाजको यो दुईवटा स्तर एकत्रित हुन्छ। फेरि राज्य तथा सरकारद्वारा समाजमा प्रत्यक्षरूपले वर्चस्व र आदेश-निर्देश कायमभित्र पनि यो दुईवटा स्तरको सम्बन्ध छ। ग्राम्सीले स्पष्टरूपमा भनेका छन्— राज्यविरुद्ध परिचालित पहिलो आक्रमणलाई ‘सिभिल सोसाइटी’-ले नै सम्हालीदिन्छ। यस क्रममा सिभिल सोसाइटी हो-पोलिटिकल सोसाइटी वा राज्यको ढाल। जतिबेला राज्य कुनै पनि कारणले हल्लन थाल्छ, त्यतिबेला त्यसको पछाडिबाट अगाडि आएर उभिहाल्छ सिभिल सोसाइटीको दह्रिलो आकार। यहाँ राज्य हो बाहिरको घेराबन्दी मात्रै, जसको पछाडि छ दह्रिलो गढ। राज्यले सिभिल सोसाइटीलाई घेरिएर सुरक्षा दिन्छ। ग्राम्सीले कतै पनि राजनैतिक समाज र राज्यभित्र फरक देखेका छैनन्। कतैकतै त सिभिल सोसाइटी र राज्य एकै हो भनेर पनि व्याख्या आएको छ। ग्राम्सीको दृष्टिकोणबाट सिभिल सोसाइटीबारेमा उनको विचारलाई सरल संज्ञामा सीमित गर्नु सजिलो काम होइन। बृहत्तर समाज र राज्यभित्रको पारस्परिक असर अनि निरन्तर लेनदेनको यथार्थलाई मध्यनजर गर्दै सिभिल सोसाइटी र राज्यमध्ये कुनै निर्दिष्ट र सीमान्तकृत सम्बन्ध निर्देश गर्नु निक्कै कठिन काम हो। किनभने तथाकथित गणतान्त्रिक देशमा व्यक्तिले प्राय: नै यो विभाजन रेखालाई नागिदिन्छ। अर्थात् सिभिल सोसाइटीमा रहे तापनि क्षमता र वर्चस्वमा भागीदारी लिनलाई उसले पोलिटिकल सोसाइटीमा उसको द्वैत उपस्थिति पनि सिर्जना गर्छ। फलस्वरूप, ऊ एकतिर वर्चस्वको अधिन हुन्छ, अर्कोतिर आफै वर्चस्ववादी बनिँदै जान्छ। क्षमताको लोभले गर्दा व्यक्ति सिभिल सोसाइटीबाट पोलिटिकल सोसाइटीमा पस्न सक्छ। ग्राम्सीको विचारअनुसार, समाजको सुपर स्ट्रक्चर (उपरीसंरचना)-भित्र नै सिभिल सोसाइटी विद्यमान हुन्छ अनि यो सुपर स्ट्रक्चर नै समाजमा व्यापकरूपमा सांस्कृतिक तथा वैचारिक सोच पुनरुत्पादनको स्रोत हो। ग्राम्सीको सिभिल सोसाइटीको धारणामा वर्चस्व वा हेजिमनीको कुरा निकै जोडतोडले आउँछ। ग्राम्सीले आफ्नो हेजिमनीको धारणालाई उपयोग गरेका छन्- वैचारिक आधिपत्यबाट राजनैतिक आधिपत्य विस्तारलाई व्याख्याको निम्ति। आधिपत्यवादी एलिटहरूले लोकप्रिय संस्कृति, मिडिया, शिक्षा, धर्म— सबै उपयोग गर्छन् आफ्नो अडानको वैचारिक वैधता तयार पार्नको निम्ति।
राज्यीय स्तरमा वर्चस्व विस्तारको प्रचेष्टाको यो द्वन्द्वान्तमक सिद्धान्तले बिसौं शताब्दीको पहिलो चरणमा उपनिवेशवादविरोधी धेरै मुक्तिसङ्ग्रामलाई प्रभावित गरेको थियो। ग्राम्सीले नागरिक समाजभित्र खटिखाने मानिससँग संलग्न-बुद्धिजीजी (अर्गानिक इन्टेलेक्चुयल) -हरूको उद्भवको सम्भावना देखेका थिए। एशिया-अफ्रिका-ल्याटिन अमेरिकाको जातीय मुक्तिसङ्ग्राममा धेरै नेताहरूले यसप्रकारका बुद्धिजीवीका रूपमा आफ्नो भूमिका निभाउने कोशिश गरेका थिए।
अल्थुसर: आधार र अधिरचना
अझ पछि गएर मार्क्सवादी चिन्तक लुई अल्थुसरले जुन प्रकारले आइडियोलजीकल स्टेट एपरेटस् भन्ने कुरालाई व्याख्या गरे, त्यसलाई पनि यस सन्दर्भसँग जोड्नु उपयुक्त देखिन्छ। अल्थुसरअनुसार, राज्यले जनतामाथि वर्चस्व कायम गरिराख्न दुइथरिका राज्यीय साधन अपनाउँछ— रिप्रेसिभ स्टेट एपरेटस् वा दमनकारी राज्यीय साधन अनि आइडियोलजीकल स्टेट एपरेटस् वा वैचारिक राज्यीय साधन। पुँजीवादको शुरुको बेलामा दमनकारी व्यवस्थामाथि आक्रोशित जनतालाई सम्हाल्नका लागि सत्ता राज्यीय साधनहरूमाथि नै बढी निर्भर हुन्थ्यो। तर समयसँगै पुँजीवादी विचार विकसित हुँदै गयो र वैचारिक रूपमा यो दमनकारी व्यवस्थाप्रति नै जनताको अनुमोदन जुटाउनको निम्ति र दमन-उत्पीडनद्वारा मात्रै होइन, जनताको लोकप्रिय समर्थनद्वारा नै व्यवस्थालाई कायम राख्ने प्रयास बढ्दै गयो। यसक्रममा नै पुँजीवादले आफ्ना विचारहरूलाई समाजका सबै क्षेत्रमा फैल्यायो र समाजको अधिरचना वा सुपरस्ट्रक्चरमा आफ्नो विचारको वर्चस्व कायम गऱ्यो। सुपरस्ट्रक्चर वा अधिरचना भन्नाले समाजको धर्म, दर्शन, संस्कृति, राजनीति, शिक्षा आदि बुझिन्छ। यो सुपरस्ट्रक्चरले नै कुनै एउटा व्यवस्थाको आधार वा ‘बेस’-लाई अर्थात् यस खण्डमा पुँजीवादी आर्थिक व्यवस्थालाई यथावत राख्नमा मद्दत पुऱ्याउँछ। यो सुपरस्ट्रक्चरमा सामान्यत: जुन आर्थिक व्यवस्था वा आधार कायम छ त्यसलाई सहयोग पुऱ्याउन विचार नै बसेको हुन्छ। तर जनउभारको बेलामा, उथलपुथलको बेलामा निश्चय नै सुपरस्ट्रक्चरमा विरोधी विचारको कदर हुनथाल्छ। यसरी बेस र सुपरस्ट्रक्चरले एकअर्कालाई प्रभावित पनि गर्नसक्छ। यो पारस्परिक प्रभावलाई ओभरडिटरमिनेशन भनिन्छ। यद्यपि मार्क्सवादी सिद्धान्तको मूल कुरा आधार र अधिरचनाबीचको सम्बधलाई लिएर आ-आफ्नै किसिमको व्याख्या हुँदै आएको छ। 1890मा नै फ्रेडरिक एंगेल्सले यसलाई यसरी स्पष्ट पारेका थिए-“इतिहासको भौतिकवादी धारणाअनुसार वास्तविक जीवनको उत्पादन र पुनर्उत्पादन नै अन्ततोगत्वा ऐतिहासिक प्रक्रियाको निर्णायक तत्त्व हो। न मैले, न माक्सले नै यसभन्दा बढी कहिल्यै भनेका थियौँ। यदि कसैले आर्थिक तत्त्व नै मानौँ एकमात्रै निर्णायक तत्त्व हो भन्दछ भने उसले आफ्नो यस भनाइलाई एउटा निरर्थक, अमूर्त तथा खोक्रो वाक्यमा फेरिदिन्छ।” एंगेल्सले त्यतिबेलै आधार र अधिरचनाबीचको द्वन्दात्मक सम्बधनमा जोड दिँदै भनेका थिए-“… कतिपय अवस्थामा त उपरीसंरचनाका विभिन्न तत्वहरूले नै सम्बन्धित सङ्घर्षको तरिकालाई आधारभूत रूपमा निर्धारण गरिरहेका हुन्छन्।” स्पष्टै छ, आधार र अधिरचनासम्बन्धी मार्क्सवादी अवधारणाको मूल प्रस्थापनाकै विभिन्न तरिकाले अपव्याख्या गरिँदै आएको छ।
उपसंहारमा
यहाँ नागरिक समाजको सैद्धान्तिक अवधारणाको ऐतिहासिक पृष्ठभूमिको आधार केलाउनुको अर्थ हो- अधिरचनामा विचार फैलाउने काममा नागरिक समाजको भूमिका रेखांकित गर्नु। हाम्रो चारैतिर रहेका सिभिल सोसाइटीअघि अहिले यही सबैभन्दा ठुलो चुनौती छ। इतिहास र दार्शनिक विचारहरूमा सिभिल सोसाइटीले धेरैजसो सत्ताको पक्षमा अडान लिन्छ भन्ने कुरा छ। तर यसको व्यतिक्रम पनि हुनसक्छ। हाम्रो समाजको सुपरस्ट्रक्चरमा कुन कुराहरू फैल्याउनको निम्ति बुद्धिजीवीहरूले आग्रह गर्छन्? जनतामाथि चलिरहेको आर्थिक, जातिगत, राजनैतिक दमन-उत्पीडनविरुद्ध जनताको लहरमा उभिनु कि ऐन-कानुन-संविधान-नियमबद्धताको कुरा गर्दै विद्यमान शोषणयुक्त व्यवस्थाप्रति नै आस्था व्यक्त गर्नु? हाम्रो जातीय उत्पीडन, चियाबगान तथा अन्य क्षेत्रका मजदुरहरूमाथि भएका शोषणलाई हाम्रा बुद्धिजीवीहरूले मुक दर्शक भएरमात्र हेर्न सक्दैनन्। उनीहरूले दुईमध्ये एकमा आफ्नो पक्षधरता स्पष्ट गर्नैपर्छ, यहाँ तेस्रो विकल्पको कुनै गुञ्जाइस छैन। छनौट उनीहरूको हो- अर्गायनिक बुद्धिजीवी भएर जनताको सङ्घर्षमा लामबद्ध भई सबैखाले शोषण र अत्याचारको विरोध गर्ने कि अन्यायपूर्ण सत्ता र शासकको पक्षधर भएर बस्ने। तर उनीहरूका ‘अडान’ इतिहासमा पक्कै दर्ज हुनेछ।
No comments:
Post a Comment