राजा पुनियानी
धर्म अवमानना, कवितामार्फत नास्तिकताको प्रचार, मोबाइलमा नारीचित्र लिएको आरोपमा साउदी अरबले मृत्युदण्ड दिन लागेका प्यालेस्टिनी कवि कलाकार हुन् असरफ फयाद। 35 वर्षका फयादमाथि मनपरी रुपमा तोकिएको सजायविरुद्ध विश्वभरि प्रतिरोधको आवाज उठिरहेको छ।
तनावको जन्म
असरफ फयाद कविताका शालीन रूख हुन्। त्यो रूखको पनि मुख छ कि जस्तो। त्यो मुखमा अरबको सुस्केरा छ कि जस्तो। असरफ फयाद चित्रका गहिरो तलाउ हुन्। त्यो तलाउमा समेत घाउ छ कि जस्तो। त्यही घाउमा प्यालेस्टाइनको ऐय्या छ कि जस्तो।
त्यो रूख र तलाउवारि छ असरफको अफालिएको बेघर जीवन। त्यसदेखि पारि सुरु हुन्छ असरफको सपनाको इलाका। अरब र अमेरिकाको माझ असरल्ल असरफ। हल्लिरहेको फाँसीतिर हेरिरहेका एक अवाक कवि।
असरफ, जसले आफूजस्तै भूमिहारा-हरूलाई सपना देख्न लगाउँछन् आफ्नो माटोको, आफ्नो बाटोको जो कविता लेख्छन्। फुटबल हेर्छन्। चित्र बनाउँछन्।
जो प्यालेस्टाइनको गाजामा जन्मेका–हुर्केका हुन्। उनी जब साउदी अरबमा बास माग्छन्, सुराकी हो कि विद्रोही— डराउँछ अरब। असरफ, जसलाई नागरिकता नदिए पनि त्यही अरबलाई माया गर्छन् र अरब भने यसको सट्टा झुन्ड्याउन खोज्छ असरफलाई। उनको तनाव कविता भएर निस्कन्छ। यसरी कविता असरफको अपराध हुन्छ।
अन्ततः असरफलाई साउदी सरकारले मार्ने हुकुम दिएको छ। संसारभरि कविहरू असरफको पक्षमा कविता फलाक्दै गरेको अवस्था छ। विश्व समुदायलाई थाहा नहुन सक्छ असरफबारे। विश्व मानवअधिकार संठनहरूले आवाज उठाएका छन्— असरफलाई कविता लेखेकै अपराधमा नझुन्ड्याऊ ए साउदी।
असरफलाई मृत्युदण्ड सुनाउनुपछि साउदी सरकारको तर्क असरफले खारेज गरेको छ। सरकारको कानुनले ठान्छ, असरफले कविता लेखेरै धर्मको अवमानना गरेको छ। नास्तिकता फैलाएको छ। ऊ उद्दण्ड छ। उसले हाम्रा मान्छेले एक महिलालाई कुटेको भिडियो अनलाइन पोस्ट् गरेको छ। उसले हाम्रो इस्लामलाई मानेन।
कविता लेखेकै कारण अब असरफलाई हामी मार्छौं। मृत्युको सान्दर्भिकता कोट्याउँदै यता असरफले लेखे, ‘तिम्रो मूक खुन बोल्नेछैन र जबसम्म तिमी मृत्युमा गौरव प्राप्त गर्नेछैनौ र जबसम्म तिम्रो आत्मालाई मूर्खहरूको हातमा सुम्पिएको र गुप्ती घोषणा गरिरहनेछौ।’
राज्यको डर
हुन्छ के भने कवि झुन्ड्याइँदैपछि कविताको हाइट बढ्ने गरेको छ। खासमा कवि मारिएपछि नै कविता बाँच्ने गर्छ कविताले बाँच्ने पावर राखेको छ भने। कविता लेख्तैमा कुनै कविलाई मार्न लागिएको घटना यो पहिलो होइन।
सन् 624 मा कवि अल–नद्र–बिन हरिथ, उकबा बिन मुआइत, आसमा बिन्त मारवान, अबु अफाक, कब असरफको हत्यादेखि सुरु भएको कविहत्याको परम्परा आज असरफसम्म आइपुगेको हो अरबमा। यता नेपाल, भारतहरू पनि यो मामिलामा बेदाग छैनन्।
मकैपर्वदेखि कवि कृष्णसेन इच्छुक हत्यासम्म आइपुग्दा नेपालको शासकसत्ता पनि कविहत्याराको सूचीमा परेकै छ। भारतमा भर्खरै कुलबर्गीलाई फासिस्ट ताकतले हत्या गरेको छ। त्यसपछि भटाभटी साहित्य अकादमी पुरस्कार फर्काएर साहित्यकारहरूले भारतीय फासिस्ट सत्ताको ‘असहिष्णुता’ (धार्मिक र सामुदायिक) को प्रतिवाद जनाएका छन्। यो हत्याले भारतमा राज्यरोधी लेख्नेलाई उति सजिलो गरी बाँच्न नदिइने इसारा गरेको छ।
उहिलेदेखि नै कविहरू राज्यको आजन्म दुस्मन। प्लेटोले ‘कवि भ्रमको किसान हुन्’ भनेर हियाए। तब त्यही भ्रमको खेतीकारलाई सत्यको सबैभन्दा बलियो सिपाही किन देख्छ सत्ता ? उदेक लाग्छ जब पावरको उत्केन्द्र राज्यसत्ताको चेनमा कमजोर कडी उसले लुकाउँदा पनि ह्वांग देखापर्छ।
जब जब राज्य कमजोर बन्छ, ऊ तबतब खुँखार बन्छ। आदमखोर बन्छ। मान्छेको समय, खुसी, पसिना खाने राज्यले मान्छे नै खान थाल्छ। राज्य डराउँछ— शब्ददेखि। सबभन्दा बेसी शब्दभित्र लुकेको सपनादेखि। संसारकै हरेक मसिनो–मिहिन शब्ददेखि डराउँछ ऊ, जुन उसको बन्दुकको आवाजभन्दा सानो छ। किनभने कविले सपना देख्न सिकाउँछ, कवि राज्यका लागि कहिल्यै साथी भएन। कहिलेकाहीँ त राज्यको हातमा बिक्री भएकै कविले पनि जन्मजात बेहोरा देखाउन छाड्दैन।
बिक्री भएकै कवि पनि सपनाकै कुरा गर्छ। सपना देख्न नदिने ताकतको प्रतिरोध कविको धर्म बन्छ। अस्तित्वै नभएको ईश्वरको पूजा गर्ने धर्मलाई कविको गहिरो बुद्धिले जनताको मूर्खता र राज्यको फाइदा देख्छ। जब उसले यो पोल खोल्छ, ऊ धर्मकै आडमा टिकेको सत्ताको बुटमुनि हुन्छ।
‘अरबी संस्कृति अब लोप भयो’, अदुनिसले भने। अरबको भुइँ कत्ति कमजोर! बुझ्न यी नोटेड अरबी कविको यति आत्मस्वीकृति काफी लागेको हो। अदुनिस अरबी साहित्यमा रोमान्टिसिजमको मादक युगलाई तोडेर आधुनिक लेखन भित्र्याउने पायोनियर हेभिवेट हुन्— अंग्रेजीमा टिएस इलियटझैं। विश्वभरिकै पांग्राले गति गुमाउँछ यदि अरबले तेल नदिनु हो भने। विश्वलाई हिँडाउने अरब लंगडाइरहेको छ। एकातिर अमेरिकी दाउपेच अर्कोतिर धार्मिक कठमुल्लावाद।
‘अरबमा सब थोक धर्मले डिसाइड गर्छ’, अदुनिसले थपे। अरबको तेलमात्र संसारलाई काम लाग्ने भयो। बुद्धि, नीति, संस्कार, जीवनशैली अरबले न विश्वलाई दिनसक्छ न त उसले विश्वबाट पैंचो लिन्छ। तेलको कुवाले भरिएको अरब आज धर्मान्ध महाकुवामा फेरिएको हो। अरब चारैतिर यस्तो अदेख देवलले घेरिएको इलाका हो, जसको ‘जेनिथ’ उसको धर्ममा टंगिन्छ र ‘नादिर’ उसको जेहादमा।
एकताकाको विश्वको एकमात्र हिन्दु राष्ट्र नेपालमा त्यो एकमात्र हिन्दु राष्ट्र हुनुको जीवाणु बेलाबेला जागिबसेको हाउभाउ त्यहाँको समाजको गतिकीलाई हेर्दा पत्तो लाग्ने गर्छ। भारतमा पनि राष्ट्रिय स्वयंसेवक दलको फासिस्ट फिलोसफी हो भारतलाई पूर्ण हिन्दु राष्ट्र बनाउनु। देश कहिल्यै पनि कुनै एउटा धर्मको हुँदैन। भयो भने त्यो देश देश होइन कसाइखाना बन्छ।
इतिहासले यही देखाएको छ। धर्मयुद्ध हरूको इतिहास दोहोरिएको इतिहास हामीसँग छँदैछ। धर्मले सामन्तवादी रूढीतिर समाजलाई जाक्छ। सामन्तवादले समाजलाई कज्याएरै राख्छ। पुँजीवादी संरचनामा यही फ्युडल सामन्ती मूल्य दक्षिणपन्थी फासिस्ट भएर सक्रिय बनेको हुन्छ। नेपाल र भारत पनि अहिले यस्तै सामाजिक खतराको सम्मुखिन भएको वस्तुस्थिति छ। फासिस्ट ताकतले नै ल्याटिन अमेरिकी कवि लोर्कालाई लुड्काइदिएको हो।
धर्म र तेलको माखेसाङ्लो
‘गरिबीको मोसो पोतिदिनुसिवाय र त्यो दिन पेट्रोलले अरू क्यै हानि गर्ने होइन र जुन दिन अर्को तेलको कुवा खोजिनिकाल्नेको अनुहार अँध्यारो हुन्छ र जुन दिन जनताको उपयोगका लागि जीवन र तिम्रो मुटुमै घुस्छ तिम्रो हंशबाट अझ्झै बेसी तेल निकाल्न’, असरफले तेलको राजनीतिमाथि गहिरो व्यंग्य कसे कवितामा यसरी।
धर्मसँग गहिरो गाँसिएको छ तेल। धर्मले समाजलाई डाइल्युट पारिदिएको छ। मान्छेको बौद्धिकतामा धर्मले काँटी ठोकेको कुराको ठोकुवा पूर्वदेखि पश्चिमसम्मै छ। पश्चिममा हेराक्लिटसदेखि रसेल र नित्सेदेखि डेरिडासम्म। पूर्वी दर्शनमा चार्वाकदेखि बुद्ध र भगतसिंहदेखि हेनरी भिभियन डेरिजियोसम्म।
नास्तिकतालाई आतंकवाद घोषणा गर्ने अरबी मुलुकका राज्यले नास्तिकता, बुद्धिवादलाई वैज्ञानिक दृष्टिकोणमा लगाम लगाउन सकेको छैन। अतिधार्मिकताको ग्यासच्याम्बरमा थुनिएको अरबी जनता कि नास्तिक बन्दैछन् कि ‘नयाँ धर्म’ वा ‘नियोरिलिजन’को पक्षपाती बन्दैछन्। सन् 2010 को सुरुमा इजिप्टको तहरिर चोकबाट सल्किएको अरबी जनाक्रोशले लगभग सबै अरबी मुलुकलाई छोएको छ। ‘अरब स्प्रिङ’ नामले प्रसिद्ध यो अरब उभारले अरबी मुलुकहरू हल्लाइदिएको थियो।
स्वतन्त्रता, गणतन्त्र, धार्मिक सहिष्णुताको मुद्दामा मान्छे सडक निस्केका हुन्। कविता त्यहाँ नाराजस्तै पढियो जुलुस र सभातिर। कविता कत्ति मानव उपयोगी हुनसक्छ भन्ने लिटमस टेस्टमा कविता यसरी पास भयो।
यता तेल पनि धर्मजस्तै डिसाइडिङ फ्याक्टर हो, जसले अरबलाई विश्वकै टुँडिखेल बनाएको हो। यो त्यही अरब हो जसले विश्वलाई सत्याको धारणा दियो। यो त्यही अरब हो जसले अल्जेब्रा, अल्केमी, गिटार, कम्पास दियो। जसले युरोपको रेनेसाँलाई बाटो देखाएको हो। यो त्यही अरब हो जसले आज कविलाई चोरझैं झुन्ड्याउँछ।
कवि जो मानव संवेदनाको रखवाला हो, आज अरबी कट्टरताको दुस्मन भयो। धर्मले सबभन्दा ठूलो हानि समाजलाई के गरेको छ भने यसले मान्छेलाई तार्किक हुनबाट रोक्यो। युरोपमा सन् 14 देखि 17 शताब्दीसम्म चलेको रेनेसाँ वा पुनर्जागरण आन्दोलनले समाजलाई अघि बढाउन केही गाँठी कुरा अघि ल्याएको थियो।
रेनासाँले छिनोफानो गरेका केही सिद्धान्तमध्ये एउटा यस्तो थियो, ‘जुन कुरा विज्ञानले पुष्टि गर्न सक्छ, त्यो समाजको लागि ठीक छ। जुन कुरा विज्ञानले पुष्टि हुँदैन, त्यो पनि समाजका लागि ठीकै छ। तर जुन कुरा विज्ञानले पुष्टि वा अपुष्टि दुवै गर्न सक्दैन, त्यसको पछि लाग्नु समय बर्बाद गर्नु हो।’ भगवान् यस्तै पुष्टि वा अपुष्टि नभएको कल्पना हो जसले मान्छेलाई डिस्टर्ब गरिरहेको हो।
तेलले गर्दा नै अरब राजनीतिक अक्ष भयो, जसको वरिपरि विश्व घुम्छ आज। प्यालेस्टाइनको गाढा घाउ क्यान्सर भइसकेको छ। गाजापट्टीमा दिनहुँको इजरायली बमबारी सामान्य भएको अवस्था छ। यहुदी प्रभुत्वको उग्रभावनाको नाममा जायोनिजम फैलाउने इजरायलले अरबको इस्लामलाई गोलाबारुद लगाएर चुनौती दिइरहन्छ।
अरबी धार्मिक कट्टरताले मान्छेलाई बममा पनि फेरिदिएको छ। तेलमा आतंकवादको पनि धुरी गाडिएको छ। प्यालेस्टाइनको विवादित माटोमा युद्धहाट छ विश्वशक्तिहरूको। अमेरिका इजरायल र अरबलाई लडाएर फाइदा लुट्ने ताकमा छ सधैं जसले सबभन्दा बढी तेल हत्याउँछ। जसले संसारको महँगो बोइङ बेच्छ, उसैले हावाईजहाज उडाउन सबैभन्दा सस्तोमा ग्यासोलिन तेल किन्नु छ।
अरबको आँखा धर्मको पट्टीले बाँधिएपछि अरबमा बाहिरकाहरू र भित्रकाहरूले जे गर्दा पनि हुने भयो। संयुक्त राष्ट्रसंघको बुइ चढेर अमेरिकाले आज अरबमाथि जुन हिंस्रक ढलिमली गरिरहेको छ, त्यसलाई उसले शान्ति भनेर ठप्पा लगाएको छ। संयुक्त राष्ट्रसंघले सन् 1948 मा इजरायल देशको घोषणा गरेयता प्यालेस्टाइन–अरब संघर्ष झनै चर्किएर गएको हो।
विश्व दादा अमेरिकाको इसारामा चल्ने इजरायलको ‘जायोनिजम’ र धर्मान्ध अरबको दीर्घ लडाइँले लाखौं प्यालेस्टाइनीलाई यताको न उताको बनाएको हो। तेलको धन्दाको निम्ति पश्चिमा शक्तिशाली देशहरू अरबी प्रान्तमा धर्मयुद्धको फसल लगाइरहन्छन्। ‘तेलमार्फत नै तिमी प्रतिरोध गर्छौ’, असरफले लेखे।
धर्मको अफिम
अहिले पनि यो संसार धर्मको अफिममा लट्ठिएको संसार हो। धर्मको नाममा पशुको त बलि दिइन्छ दिइन्छ, कविको पनि बलि दिइन्छ। धर्म र कविमाझ गहिरै खाडल रहिआएको छ। धर्मको भुइँमा कविको शब्दफरुवा पर्छ। खनिँदै गएपछि धर्मको आन्द्राभुँडी फ्याङफुङ हुन्छ। धर्म धर्म रहँदैन जब कविले त्यसमा प्रश्नको रातो बोट रोप्छ। धर्म राज्यको पिँध अड्याउने टेको छर्लंग देखाउँछ तार्किक प्रश्नहरूले।
भगवानको अस्तित्व छ भने पनि जीवनको अर्थ छिचोल्नु उति सजिलो छैन– असरफले भने। प्यालेस्टाइनी रेफ्युजीका छोरा फयाद सउदी अरबमा बस्छन्, नागरिकताबिना। उनलाई नागरिकता दिइँदैन पनि। किनभने साउदी अरबका लागि सिरिया, लेबनान, जोर्डन र प्यालेस्टाइनी क्षेत्रका आप्रवासीलाई साउदीले सधैं टेडो आँखाले हेरेको छ।
समकालीन उन्नत विश्वदृष्टिकोण पो भित्र्याउलान् कि भन्ने डरले साउदी कठमुल्लाहरू यी मूलथलोविहीन आप्रवासी हरूलाई आ श्रय दिँदैनन्। असरफ यही संकीर्ण कठमुल्ला कोपभाजनमा परेका छन्। असरफले एउटा कवितामा लेखे, ‘भनिएको थियो, यतै घरबार बसाउनू। तर तिमीहरूमध्ये कोहीकोही सबैसबैका दुस्मन हौ र त्यसैले ऐले नै यो ठाउँ छाडहिाल।’
असरफ नक्सा पनि बनाउँछन्। अरबलाई एसियासँग जोड्ने अरबी प्रायद्वीपको किनारस्थित बन्दरगाह सहर जेद्दा अरब संसारको केन्द्र थियो– तेलको खोजी नभएसम्म। त्यहीँको कलाकार समूह ‘एज अफ अरबिया’ वा ‘अरबको किनार’का सदस्य थिए उनी। त्यहीँबाट इस्लामबाहेक अन्यान्य धर्मसँग अरबको सम्पर्क हुन्थ्यो।
भारत र सोमालिया जाने जहाज त्यही बन्दरगाहबाट छुट्थे। चित्रकलाको माध्यमबाट विश्वका अन्यान्य चित्रकारहरूसँको उनको संगत अरबको निम्ति खतरा थियो। ‘फ्रिदा कालोको जुँगा’ कवितामा असरफ भन्छन्, ‘म सान्त्वना खोजिरहेको छु, तर जसरी म चाहन्छु र त्यसरी मैले तिम्रो ओठको व्याख्या गर्न स्थितिले अनुमति दिँदैन।’
कविताले चर्कै चिमोट्छ
कविता अवश्यै पनि भावना, संवेदना, आभासहरूको समष्टि रूप हो। कविता यी सँगसँगै विचार, व्यंग्य, विद्रोहहरूको पनि व्यापार हो। कविताको व्यंग्यले चिमोट्छ चिम्टाले भन्दा कडा। सोयिंकाको ‘टेलिफोन वार्तालाप’, ब्रेख्तको ‘जेनेरल तिम्रो ट्यांक एक बलियो गाडी हो’, देवकोटाको ‘पागल’, कालीप्रसाद रिजालको ‘हमरी बिटियाको नत्था तोडिदिनुस्’, श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’, राजेन्द्र भण्डारीको ‘इस् पढ्छु तेरो कविता’, मनोज बोगटीको ‘काफरे अमेरिका’ यसखाले कविताका नमुना हुन्।
क्राइस्ट र मोहम्मदको माझ मान्छे
धर्म अर्थात् धारण गर्नु। तथाकथित नैतिकता धारण गरेर थाकेको बोझिल समाजलाई कविले जब सपनाको जुनेली दिन्छ तब राज्य डराउँछ किनभने राज्यलाई टिकाउने संस्थाहरूमध्ये धर्म एक बलियो लामो रेसको घोडा हो, विशेष गरी अरबजस्तो धार्मिक कठमुल्लावादी मुलुकतिर। पश्चिम जसरी क्राइस्टको काँधमा चढेर पूर्वभन्दा अग्लो हुनुको दावा गर्छ त्यसरी नै पूर्वचाहिँ मोहम्मदको हत्केलामा बसेर पश्चिमलाई धम्की दिन्छ।
हटिङ्टनले काटेको दुईफ्याके विश्वमोडलको अड्कल ठीक होलाहोलाझैं छ। पश्चिमी र पूर्वी गोलाद्र्ध एकार्काका सम्पूरक नभएर चिरकालीन बैरी भएका छन्। ब्ल्याक राइटिङलाई विश्वमञ्चमा बलियो उभ्याउने कवि सोयिङ्का भन्छन्, ‘किन एक मुठी घातकहरू बसेर अरूको नाममा मरणको फरमान जारी गर्छन् ? ’ मारिने फतवाको कारण वर्षौं निर्वासन भोगिरहेका तसलिमा नसरिन र सलमान रुस्दी बहुचर्चित लेखकहरू हुन्।
‘धर्म व्यक्तिगत प्रतिज्ञा हो। आस्थाको कुनै पनि कानुनलाई हामीले मान्नु हुँदैन जसले हाम्रो आस्था अरूको भन्दा माथिल्लो हो भन्ने ठोकुवा गर्छ’, वोले सोयिंकाले भने। असरफको मुक्तिको पक्षमा उनको अगुवाइमा भइरहेको पदयात्रामा कड्किए, ‘हामीले बेग्लै आस्था मान्यौं भन्दैमा हामीलाई मारिनु, यातना दिइनु वा कैद गरिनु हुँदैन। हामीले केही पवित्र पाठलाई हाम्रो जीवनमाथि विजयी बनायौं।’
कविको चाह
बचाउने कोसिसहरूका बीच असरफ मारिन्छन् नै भने पनि उनका कविताले मान्छेलाई अरबी, प्यालेस्टाइनी, यहुदी हुनुको परिधिबाहिरको मान्छे हुने सपना देख्न सिकाइरहनेछ नै। मान्छेले मान्छे हुनुको लडाइँ अझ बाँकी रहेको बोध तब झन् चर्को हुन्छ जब कविताको कालीगढले ज्यानकै बाजी लगाएर कविता लेखिरहेको हुन्छ। आखिर असरफलगायत संसारको हरेक फौलाद कविले बर्तोल्त ब्रेख्तकै भाषामा आफ्नो कविताबारे सुन्न चाहेको हुन्छ, ‘तिम्रो पञ्जा देखेर र डराउँछन् नराम्रा मान्छे र तिम्रो शान देखेर रमाउँछन् राम्रा मान्छे। यही चाहनेछु सुन्न म आफ्नो कविताबारे।’
No comments:
Post a Comment