Saturday, February 13, 2016

कविता : रामसाइलीको कथा


कपिल तामंग

रामसाइली जन्मेको दिन सबैलाई थाहा छ।
बोनस पाउने बेला थियो....
र त्यो राति नै फ्याक्ट्रीमा ताला लगाएर
कमानबाट भागेका हुन् कमानका मालिक।

कनिका सरिको चामल
अनि हिट्टीको झोल(आटाको सुप)को आडमा
नौ महिना कोखमा हुर्केकी रामसाइली
हाड र छाला मात्रै की थिई।

प्रसव वेदना भोग्न नसकेर उसकी आमाले
उ जन्मने बितिकै आफ्नो प्राण त्यागेको हो
त्यसैले रामसाइलीले नाम भन्दा पहिले
अलिक्षिनीको उपाधि पाएकि हुन्।

बाउ रक्सीको ताल अनि क्षय रोगको खोकीसँगै
अन्योल परेर ओछ्यानमा पल्टी खाँदा
मामा-माइज्युले उसलाई पालेको हो।

अन्नको एक एक दाना
अनि फाटेको लुगाको एक एक पैसाको हिसाब राखे पनि
ऋणमा पर्ने थिएन होला उसका मामा-माइज्यु
यदि उसले गरेको घरेलु कामको मूल्य भई दिए।

तर यथार्थ भिन्नै थियो...
भान्साघर भित्रै हुर्केको रामसाइलीको
च्याप्टे मुहार, रक्तहिन गाला,
अनि निधाउरे आँखाहरूमा
जीवन जिउने आशाको आगो जलिरहेको हुन्थ्यो।

समय बित्यो वैश आयो...
रामसाइलीलाई पनि संसार हेर्ने,
तल्लो घरकी माइली
अनि क्षेत्री बाउकी छोरी पुतलीले जस्तो
गालामा लाली पोती घुम्न मन लाग्थ्यो
तर घरेलु काम
अनि बाउको स्यारमा नै दिन बित्थियो।

दिल्ली, केरेला जानेहरूको हुल
दिन दिन बढ्न थाल्यो
र गाउँ दिन दिन रित्तिन्दै गयो।
साथी-भाइ सबै परदेश लागे।

पल्लो गाउँकी काकी-माइज्युले
रामसाइलीलाई पनि लान्छु भने।
मामा-माइज्यु पनि माने।
“हेर घरमा एक-दुई पैसा आउँछ
तेरो बाउको औषधिको दाम पनि त
दिन दिन महँगो हुँदै जाँदैछ जा” भनी दिए।

आफूसँग भएको सानो पोका-पतेरो बोकेर
रामसाइली दिल्ली गएको आज चार वर्ष भयो
कहीँ कतै कुनै खबर छैन...

हिज सुने तल्लो गाउँको रामसाइली पनि
त्यसरी नै परदेशमा हराई रे ...
सायद उसको पनि कथा
यही रामसाइलीको जस्तै थियो की?

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...