रूपेश शर्मा
विचारहरू
जब केवल विचार हुन्छन्
अस्पष्ट हुन्छन्
र प्रशंसनीय हुन्छन्।
विचारले जब व्यापकता पाउँछन्
योजनाहरूमा ढालिन्छन्
योजनाहरू
जब गतिशील बन्छन्
विरोध (आपत्ति)-हरूले टाउको उठाउँछन्।
— बर्टोल्ट ब्रेख्त
कविता वा साहित्यमा विचारको शक्ति बुझ्न विश्वप्रसिद्ध कवि तथा नाटककार बर्टोल्ट ब्रेख्तको माथिका पद्यांश निकै अर्थपूर्ण छन्। साहित्यमा 'विचारको निषेध' वा 'विचारको क्रीड़ा' आजकल फेसुनेबल बनेको छ। जसले जति आफूलाई 'विचार'- बाट निरपेक्ष राख्न सक्यो-त्यति शक्तिशाली, त्यति सौन्दर्यमय र त्यति शाश्वत! सापेक्ष विचारको कुरा गऱ्यो कि-'नारावादी'। विचारप्रतिको यो व्यभिचार पनि रोगात्मक आशक्ति नै भइसक्यो।
तर के विचारको यो 'निरपेक्षता' केवल आशक्ति मात्र हो? निश्चयै होइन। विचारहरू जब भौतिक शक्तिमा फेरिन्छन् त्यसबेला त्यसको सामर्थ्यले उथलपुथल ल्याउँछ। आफ्नै अस्तित्वसमेत दाउमा पार्छ। विचार शक्तिमा रूपान्तरित हुँदा त्यसले माग गर्ने शब्द र कर्मबीचको एकता जब नैतिक स्खलनतिर जान्छ, त्यसबेला कविले आफ्नै शब्दको सामर्थ्य झेल्न सक्दैन। आफ्नै शब्दको बलिवेदीमा चढ्न कति कवि 'इच्छुक' हुन्छन्? हो, आदर्शवान नैतिकता जब पतीत हुन्छ, त्यसबेला 'सुरक्षित अवतरण' खोज्नु औसत कुरा बन्छ। इतिहासमा सबै शक्तिशाली जीवन र पहाड़जस्तो गह्रौं मृत्युका अजम्बरी पात्र कहाँ छन् र! दुनियाँ फेर्न यसैले लरतरो आँटले हुँदैन, न लरतरो विचारले नै। विचारका शक्तिबीच जब भीषण टकराव हुन्छ- त्यतिबेला शाब्दिक-क्रीड़ाबाहेक खराब समाजलाई बदल्न सिन्का नभाँच्नेहरूसँग 'सल्लाहकार' बन्नुको आम विकल्पबाहेक अरू केही रहँदैन। आफ्नो 'विचार'-प्रति आस्था गुमाएका 'सुधीजन' आजकल अनेक शब्द-क्रीड़ा गर्छन्। विचारको आत्मासातीकरणले आफ्नै उत्सर्गको पनि माग गर्छ भन्ने बुझेपछि आफ्नो कायरता लुकाउन शब्दजाल बुनिन्छ- कविताले विचारको भारी बोक्नु हुँदैन, यो राजनीतिको गुलाम हुनुहुँदैन, कविता त मानव जीवनका यावत् समस्याहरूबाट मुक्त अन्तरआत्माको कलात्मक अभियव्यक्ति हो... आदि-इत्यादि। तर कवितामा कलाको भारीले विचारको उच्चता थिच्ने 'कवि'-हरू आफ्नो विचारको खेती भने लहलह सप्रियोस् भन्ने चाहन्छन् र त्यसका निम्ति न्वारानदेखिको बल लगाउँछन्। हो, विचारको यही 'छद्म' र 'खुल्ला' घर्षण नै साहित्यका 'सल्लाहकार' र 'कर्मयोगी'-हरूबीचको द्वन्द्व हो; यथास्थितिवादी र परिवर्तनकामीहरूबीचको संघर्ष हो। विचारको यो द्वन्द्वबाट साहित्य कहिल्यै अछुत थिएन। आज पनि छैन। प्लेटोदेखि स्लोवोय जिजेकसम्म यो द्वन्द्व जारी छ। साहित्य गतिशील यथार्थको सौन्दर्यबोधात्मक अभिव्यक्ति हो। साहित्यलाई समाजको दर्पणमात्र मान्ने साहित्यकारहरूले यो गतिशील यथार्थलाई ठम्याउन सक्दैनन्। दर्पणमा हुबहु छवि देखिन्छ, साहित्यमा समाज त्यसरी आउँदैन। समाजको सपाट चित्रण वा फोटोग्राफी साहित्य हुँदो हो त यसले आफ्नो महत्त्व धेरै अघि नै गुमाइसकेको हुनेथियो। सामाजिक द्वन्द्वको उच्चतम स्वरूपलाई साहित्यमा पक्रन नसक्ने साहित्यकारहरू फोटोग्राफीको टेक्निकलाई समातेर 'कला'-को हौवा पिट्छन्। उनीहरू फोटोग्राफी र चित्रकलालाई एउटै फ्रेममा ढाल्छन्। कलामा विचारको निषेध गर्ने यो एउटा भद्दा चलाकी हो, जसलाई एउटा अबोध बालकले पनि 'राजा नाङ्गो'-को भाकामा सहजै देख्न सक्छ।
विचारविहीन सौन्दर्य कागजको फूलसरह हुन्छ, त्यसमा जीवन्तता हुँदैन। गुलाफको फूल इन्द्रियजन्य सौन्दर्य हो अर्थात् आँखा लोभिने सौन्दर्य। गुलाफको फूलमा भावनात्मक र संज्ञानात्मक सौन्दर्यबोध थपिएन भने त्यसमा कलात्मक सुन्दरता स्खलित हुन्छ। उदाहरणको रूपमा, हप्तादिनदेखि खान नपाएकी प्रेमिकालाई प्रेमीले गुलाबको फूल दियो भने त्यसमा उसको माया दर्शिँदैन। बरू यसबाट आफ्नो उपहास गरेको भन्दै प्रेमिका झन् विक्षिप्त बन्छे। त्यहाँ इन्द्रियजन्य सौन्दर्य काम लाग्दैन। भावनात्मक र संज्ञानात्मक (वैचारिक) बोध भएको प्रेमीले त्यहाँ रोटी लिएर जान्छ नकि गुलाफ। लुइ चौंधौको यस्तै सौन्दर्यउपहास आज विश्वमा हेयको विम्ब बनेको छ। केकले भोक नै मेटाउने भए पनि रोटी खान नपाएका मजदुरहरूलाई 'केक खाऊ' भन्ने उनको कथन उपहासको पराकाष्ठा हो। यसैले मुक्तिबोधले कलामा 'संवेदनात्मक ज्ञान' र 'ज्ञानात्मक संवेदना'-मा जोड़ दिएका छन्। उनका अनुसार, 'आत्मचेत' हुनाका लागि 'विश्वचेत' जरूरी छ। परिमार्जित चेतनाबाट नै कला थप सौन्दर्यबोधी बन्छ।
वस्तुको वस्तुतालाई उपेक्षा गर्दै आदर्शवादी ढंगमा संसारको व्याख्या गर्नेहरू भन्छन्- 'फूलको आँखामा फूलै संसार, काँड़ाको आँखामा काँड़ै संसार।' यो भनाइले चेतनालाई सर्वोपरि ठान्छ र वस्तुगत पक्षको निषेध गर्छ। आत्म (चेतना) र वस्तुबीचको अन्तरसम्बन्धबाट मात्र सौन्दर्य र आनन्दबोध सम्भव हुन्छ। चेतना भनेको मस्तिष्कमा विद्यमान पदार्थकै एउटा गुण हो भन्ने कुरा आदर्शवादीहरू चटक्क बिसर्छन्। आफ्नो भित्री चिन्तन र एकोहोरो सोचबाट मात्र विचार उत्पन्न हुनेभए आज संसार यो ठाउँमा आइपुग्ने थिएन। शरीर प्रकृतिकै एउटा अशं हो र यसमा निहित चेतना यसको गुण। घातक रोग लागेका रोगीहरू मनोबल उच्च भएर मात्र बाँचेका होइनन्। सही उपचार, निदान विधि र रोग-प्रतिरोधात्मक क्षमताको विकास नहुने हो भने उनीहरू बाँच्न सक्दैनन्। यद्यपि रोगीको आत्मबलले पनि यहाँ काम भने गरेकै हुन्छ। तर शरीर-विज्ञानबारे अनभिज्ञ मानिसहरू एकपक्षीय तर्क गर्छन्। चेतनाले वस्तुलाई प्रभावित पार्दछ भन्ने कुरा पनि यहाँ बिर्सन हुँदैन। रामविलाश शर्मा भन्छन्- “ सही विचारको निम्ति मानव-चेतना र बाह्य जगतबीचको सम्पर्क आवश्यक हुन्छ। यसकारण ज्ञानको आधार मनुष्यको प्रत्यक्ष अनुभव हो। आफ्नो व्यवहारबाट नै मनुष्यले आफ्नो ज्ञानलाई समृद्ध बनाउँछ।'' विद्वानहरूको भनाइ छ- 'ज्ञानको सर्वोपरि उद्देश्य कर्म हो। कर्मबिनाको ज्ञान निरर्थक छ।' ज्ञानको जतिनै उँचाइ भए पनि त्यो कर्ममा अवतरण गर्न सकेन भने कागको कुइरो भएर हावामा कावा खानु उसको नियति बन्छ। कर्मबिनाको ज्ञानको समाजमा यस्तै दुर्गति हुन्छ। यस्ता 'ज्ञानी' आफै एक्लिन्छन्। तर जब यही ज्ञानले कर्ममा अवतरण गर्छ, त्यसबेला यो भीषण घर्षणबाट पनि गुज्रनुपर्छ। 'ज्ञान'-कै विकासको निम्ति पनि यो घर्षण अपरिहार्य हुन्छ। भ्रष्ट, खराब, शोषणयुक्त समाजलाई नफेरेसम्म 'आफू भलो त जगतै भलो' हुँदैन। खराब समाजलाई बनाउन तथाकथित 'ज्ञानी' मानिसहरू भौतिक रूपमै निष्क्रिय भइदिएकाले पनि आज यति सभ्य, विद्वान, पठित र सुधीजन बसेको भनिएको समाजमा चौतर्फी अत्याचार र अनिष्ट व्याप्त छ। उनीहरूका ज्ञानले कर्मको उपेक्षा गरेकोले यस्तो भएको हो। दर्शन वा चेतना जब भौतिक शक्तिमा फेरिन्छ, त्यसबेला विपरित शक्तिहरूबीच भीषण संघर्ष चर्किन्छ। महान् आदर्शहरू व्यवहारमा उत्रन नसक्दा स्खलित हुन्छन् तर सामान्य जीवन नायकत्वमा फेरिन्छन्। सारा यथास्थिति भंग हुन्छ। व्यवहारबिनाको ज्ञान धर्मराउँछ। बुद्धिजीवीहरू संघर्षबाट पलायित बन्छन् अनि अवसरवादले जन्म लिन्छ। साहित्यको विशाल फाँट पनि यो सामाजिक यथार्थबाट अछुत रहन सक्दैन। यतिबेला युगको विरोधलाई उपेक्षा गर्ने साहित्यकारहरू स्वयं समाजबाट उपेक्षित हुन्छन्। यसैले आफ्नो अस्तित्वकै खातिर पनि उनीहरू यो स्वर लेख्न बाध्य बन्नुपर्छ। आजको उपभोक्तावादी युगमा पुँजीवादले विचारलाई रूपबाट अलग्याएर कसरी त्यसको समेत व्यापार गरिरहेको छ भन्ने कुरा बुझ्न धेरै माधापच्ची गरिरहनु पर्दैन। अमेरिकाको निर्देशनमा बोलिभियाली सैनिकले 9 अक्टोबर, 1967मा विश्व क्रान्तिका नायक चे ग्वेभाराको हत्या गऱ्यो। आज त्यही अमेरिका 'चे मेनिया' सिर्जना गरेर उनका टी सर्ट, स्टीकर, पोस्टरहरूको विश्वव्यापी बजार गरिरहेको छ। चे-ग्वेभाराको बारेमा फिट्टो नजान्नेहरू पनि आफ्नो छाती र ढाड़मा उनको नक्सा भएको टि सर्ट लगाउँछन्। को हो भनी सोध्यो भने जवाफ दिन्छन्- 'चेकोभ्रा'। चे उन्मादमा फँसाइएका युवाहरूलाई यसभन्दा बढ्ता जान्ने हुन दिइँदैन। केही सचेत युवाहरू जब चे-का विचारहरूप्रति घोत्लिन थाल्छन्, त्यतिबेला उनीहरू सत्ताको कोपभाजन हुन्छन् अनि उनीहरूलाई भिराइन्छ अनेकौं 'बिल्ला'। विचार कति बलवान। विचारबाट चे-ग्वेभारालाई नियोजित रूपमा यस्तरी अलग्याइन्छ कि उनी 'दाँत र नङ्ग्रा नभएका बाघसरह' बन्छन्। स्वाभाविक छ, बाघको शक्तिको यसप्रकारको क्षयीकरणले उसलाई 'बाघ' हुनुको प्रतिनिधित्व दिलाउन सक्दैन। विचारको यो योजनाबद्ध 'निरस्त्रीकरण' संसारकै लागि खतरनाक छ। किनभने यस्तो 'डिजाइन'-ले मान्छेलाई उसको सामर्थ्यबाट अलग्याएर निरीह जन्तुसरह बनाउँछ, जो आफूअघि हुँदैगरेका सबै कुरा मुकदर्शक बनेर हेरिबन्छ-जस्तो कि कसाईका अघि काट्न बाँधिएको खसी। विश्वका सबै क्रान्तिकारी दार्शनिकहरूको विचारलाई आज पुँजीवादले यस्तै 'निष्क्रिय आदर्श'-को भट्टीमा भुटिरहेको छ अर्थात् संसारका सबै ठूल्ठूला विश्वविद्यालयमा पढ़ाइने मार्क्स, लेनिन, माओहरूलाई एकाडेमिक विमर्शबाट उम्कन दिइँदैन। पुँजीवादी सत्ताले नै घोकाइरहेका यी दर्शनहरू जब कर्ममा फेरिन खोज्छन्, त्यहाँ निषेधाज्ञा लागू हुन्छ। विचार कति बलवान। यो टकराव मूल रूपमा आर्थिक र राजनैतिक सत्तामा बढ़ी घनीभूत देखिए तापनि साहित्य, कला, संस्कृति, सिनेमा, शिक्षालगायत ज्ञानानुशासनका जम्मै क्षेत्रमा विद्यमान हुन्छ। जुन साहित्य ज्ञान र कर्मबीचको एकात्मक सम्बन्धबाट पन्सिन्छ, त्यो साहित्य कालजयी हुन सक्दैन। 'विचार'-प्रति यति विचार नपुऱ्याउनेहरू 'विचार' भएर पनि निरीह र शक्तिहीन हुन्छन्।
No comments:
Post a Comment