Saturday, February 13, 2016

सम्पादकीय : जनवरी-फेब्रुवरी २०१६

खै ऐन ?

चियाबारी बन्द सँगै चियाश्रमिकहरूका दुर्दशाको दिन आरम्भ हुन्छ। मालिकले कसैको डरनभर मनमौजी ढङ्गले कमान बन्द गर्ने सिलसिलालाई ईन्धन दिँदै  चियाश्रमिकलाई रातारात दिशाहीन तुल्याईरहेछ। भनिन्छ, यो देश विधिको शासन भएको न्यायपूर्ण देश हो। तर, देशको न्यायिक नजरले खै किन चियाश्रमिक माथिको मालिकी अपराधलाई देख्दैन। ठिमठिम नसही घस्रितस्रि जीवन धानिरहेको चियाश्रमिकहरूलाई त्यही घस्रिने मेलो पनि बुच्याईदिनु, जीवन जोतेर कमाएका ग्र्याच्युटी, एलआइसी र अरू जम्मा पचाईदिनु, भोकमरी, अभाव र पलायन प्रकोप ओइराईदिनु के यी मामुली अपराध हो? किन यस्ता हृदयहीन अपराधीहरूलाई कारबाही गर्न कानुन अघि सर्दैन? किन राज्य संयन्त्र नागरिकको कहाली प्रति विचलित बन्दै मालिकवर्गलाई लईनमा ल्याउने कदम उठाउदैन? अरे, जो चोर, उसैको ठुलो स्वर भनेकै पारा छ! श्रमिकमारा मालिकलाई किन यत्रो कर्तुतका बावजुद कानुन र कानुनका संरक्षकहरूले महा अपराधी घोषणा गर्दै कारागारको चिसो भुइँमा पुर्याउने तत्परता देखाउदैन? मालिकवर्गको नोक्सान र पीरमा मर्माहत हुँदै आर्थिक राहत दिने शासकवर्गको नियत दिनौंदिन प्रस्टिन्दैछ। यो समान न्यायको देश कम मात्स्यन्याय प्रधान देश हो। विधिको होइन, बलको शासन छ यहाँ। 
केन्द्र र राज्य सरकार दुवै आफूलाई खटिखाने जनता प्रति बफादार भन्ने दाबी गर्छन्। खटिखाने जनताको दुर्दिन दूर गर्ने स्मार्ट देश बनाउने सपना बाड्छन्। तर त्यो सबै भन्ने कुरा न हो, गर्ने कुरा अर्कै, सत्यापित भइरहेछ। मालिकको पहुँच अघि सत्ताको पावर गडुल देखि साँप लट्टे झैँ लट्टिनुले के दर्शाउँछ— यो देश-पुँजीपति वर्गको हो न कि खटिखाने जनताको! यो बन्द चियाबारीहरू भारत भित्र पर्दैन? सानोतिनो मुद्दाहरू टिपेर गम्भीर बन्दै (बनी टोपल्दै) रडाको मच्चाउन सक्ने पावर दल नेता र सामाजिक कार्यकर्ताहरू भोकमरी देशन झैँ फैलिएको चियान्चलको व्यथा वेदना पटक्कै सुन्दैनन्।
यहाँ मान्छे मर्नु कुकुर मर्नुभन्दा मूल्यहीन छ। मानौं, चियाबारीको मान्छे मान्छे होइनन्। प्रधानमन्त्री चियाको किस्सा सुनाएरै सत्तामा पुग्यो। चियाको गुनगान गर्दै देशदुनिया चाहरे। तर चिया दिवाना मोदिजी चिया श्रमिक प्रति किन संवेदनहीन, सिक्किमको माटोमा जैविक खेती सप्रेको देखेर मख्ख पर्ने मोदिजी पहाड-तराई र डुवर्सको माटोमा चिया मरिरहेको पटक्कै देख्दैनन्। न ममता सरकार न मोदी सरकार दुवै चिया समस्या प्रति अगम्भीर छन्, बेपर्वाह छन्। यसै त कङ्ग्रेस सिपिएमले पालेर पोसेर बलियो बनाएको मालिक अहिले ताकतवर बनेर जे मनपर्यो त्यही गर्दैछन्। अरे मालिक नकाम भए हटाऊ, आफै कमान चलाउ। हुतिहारा शासक चुन्नुको नतिजाले हो, न आफू अधिग्रहण गर्छ न छोड्न बाध्य गर्छ। मालिकको ऋणले ढाडीएरै सय खुन माफ मनमा जप्दै दुर्दशाका कारकलाई काँखी च्यापी बसेको छ सरकार। 
सोझा दानव जन्माउने कोख हो भनेका थिए हृदय चन्द्रसिङ प्रधानले। चिया श्रमिक पनि प्रतिशोध र सङ्घर्षको बाटोमा हिडेर राहत र आहत ओढी  भाग्यलाई कोस्ने प्रवृत्तिको भएकोले अपराधी मालिकको अघि महा उपसर्ग थपिएको हो। अब महा अपराधीलाई मास्दै आफै मालिक बन्ने सपनामा सङ्घर्ष गर्नुको विकल्प छैन। जिते अमरावतीको बास, हारे चपरीमुनिको वास। जिन्तेलाई संसार, हार्नेलाई चिसो भुँइ। 
हुन त यो लेख पढ्दा पाठकलाई साह्रै आक्रामक लाग्न सक्ला तर गत केहि महिनामा धेरैजना चिया मजदुरहरूका भोक र बिमारीले भएको मृत्यु भएको देख्दा सबैको गिदीमा रगत चढ्नु स्वाभाविकनै हो जस्तो लाग्छ।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...