Sunday, May 19, 2024

आन्दोलनवादी

नारायण काफ्ले 


 म आन्दोलनवादी। मेरा गुरुले मलाई लगाइदिएको ट्याग। समाजको शान्ति भङ्ग गर्ने अराजक तत्व। नेता भइटोपल्ने। सायद, बिनाकामको एउटा
टेप रेकर्डर। सफल हुने बाटोमा सङ्घर्ष गर्नु साटो सहुलियत खोज्दै हिँड्ने अल्छे पात्र।
  जीवनलाई बुझ्ने सङ्कीर्ण विचारयुक्त जन्तु। जीवनको सुन्दर पाटोलाई देख्न नसक्ने अन्धो मानसिकता बोकेको दरिद्र म। चारजना अन्धाले हात्ती छामेजस्तो मेरो अध्ययन। कुवाको भ्यागुताले संसारको व्याख्या गरेजस्तो मेरो चिन्तन। कुवाबाटै अँजुलीमा उगाएको पानीजस्तो मेरो प्रयास। अँजुलीबाट चुहिँदा चुहिँदै सकिन लागेको सरिताजस्तै मेरो ज्ञान। अन्त्यमा बचेको बगरसरह सुख्खा हत्केलाझैँ मेरो भविष्य। 'दुखले दुखलाई आकर्षित गर्छ सुखले सुखलाई'- वहाँको प्रवचन। म खुसी हुनै नचाहने दुखी मान्छे, म खुसी हुनै नसक्ने दुखीया - वहाँको निष्कर्ष। वहाँको निष्कर्षमा व्यवस्थाको गन्ध। 

'एत्ती केही छुनै हुन्न, बुर्कुसी मार्न थालिहाल्छ' कसाईले काटिन लागेको खसीलाई देखाउँदै यसो भन्दा हामी कसाईप्रति सहानुभूति जनाउँछौँ। होइन र? निरिह जन्तुहरूको गर्दन ङ्याकेर उसको छटपटीलाई अराजक भन्न कति सहज छ। उसका प्रत्येक छटपटीका कसरतले लात लाग्दा विचरो ङ्याक्ने मान्छेलाई लात लाग्यो होला। उसका छटपटीले सयद ङ्याक्ने व्यक्तिलाई कत्ति थकायो होला। यस्ता थुप्रै आधार छन् जसको प्रमाण गर्दन ङ्याक्ने व्यक्तिले आफ्ना चोट देखाएर दिन सक्छ। प्रमाण भए निसाफ उसकै गोजीको रूमाल। परबाट हात बाँधेर हेर्ने मुक दर्शकलाई घाँटी अठ्याएकोभन्दा धेरै छटपटी नै देखिन्छ। जे देखिन्छ उही प्रतिक्रिया। आफु सहज ठाउँमा उभिएर अप्ठ्यारोबारे अड्कल गर्दाको मजा, त्यो अप्ठ्यारो पार गर्ने उपायका सुझाव हात बाँधेर बर्बराउँदाको सन्तुष्टि। यही नै हो यथार्थ मेरो समयको। हात बाँधेर उभिएका, बसेका, हिँडेका, डुलेका अनेक जीवित मूर्तिहरूका भुलभुलैयाबाट निकास पाउन प्रयासरत म। म गर्दन थिचिएको सखी। उसको छटपटी मेरो अन्तर्मनको सादृश्य। मेरो गर्दन थिचिरहेको समय। मेरो गर्दन कुल्चिएर शान्ति सन्देश बाँडिरहेको समय। सन्देश सुनिरहेका जोर-हातबँधुवा मान्छेका भिँड। सन्देश सुन्न पाउनु अघि नै चिसिएका शान्त लासहरू। लासको थुप्रो कुल्चिएर उभिएको शान्त युग। त्यही युगको इतिहास पढाउँदै मेरा गुरु। म डेस्कमा बसिरहेको उनको चेला। 

मेरा गुरु महान। उच्चताको भर्‍याङ चढिसकेपछि तल देखिने सबै दृष्य पुड्का। मेरा गुरु अग्ला। उहाँको ज्ञान अझै अग्लो। गुरु चढेकै भर्‍याङ चड्ने चेलाहरूको भिँड। तानातान र होडबाजी। एउटै मात्र भर्‍याङ। चेला अनेक। माथि चढ्न सक्ने सभ्य। उसलाई स्वागत भव्य। तल देखिने भिँड। भिँडभित्र म। भिँडको हल्ला। हल्लाले गुरुलाई डिस्टर्ब। प्रिय पाठक! तपाईँ नै मेरा गुरु। मेरा गुरु महान।

म एकादेशको नागरिक। मेरो देशमा राजाको सुशासन। दुई हात र दुई पाउका भरमा पिठ्युँलाई आसन थापेर बसेका नागरिक। त्यो कुर्सीमा विराज्ने एक्लो मौसुफ। मौसुफका चौतर्फी सुरक्षाका हतियार। मौसुफको बैठकले किचिएका नागरिक। नागरिकका नतमस्तक शिर। मेरो राजालाई तारीफ मनपर्छ। उहाँको स्तुति गाए झनै असल। खबरदार! ढाड किचिएकाले आवाजमा निष्ठा कम नहोस्।  त्यसैले मेरो देशमा हजारौँ, लाखौँ भजन गाउने ओठहरूको भिँड। कति प्रिय राजा। ती सुमधुर सङ्गीतका हल्लामाझ पनि म एक्लो स्वर उनको कानमा बिझ्ने गर्छु।  मेरो खस्रो बोली। मेरो राजालाई म बोलेको मन पर्दैन। मेरो बोलीको एउटै झिल्काले सल्किन पाए दन्दनी हल्ला बल्ने छ। राजाको आसन ढल्ने छ। सायद राजालाई यसैको डर छ। त्यसैले मेरो बोली आन्दोलन। म राजाको दुश्मन। राजाको निर्देशन गुरुलाई। गुरुको नतमस्तक प्रतिउत्तर-'मेरो राजा महान।' 

म आन्दोलनवादी। मेरो स्वीकारोक्ति। आफुले भोगेको परिस्थिति र देखेको समाज असमान र अन्यायपूर्ण रहेकाले यसलाई बदल्नु पर्ने आवश्यकता मेरो बुझाई। यसमा मेरो जे भूमिका सम्भव छ निर्वाह गर्न तयार म।  चाहे जीवनका सुनौला उमेर उत्सर्ग गर्नु परोस। चाहे यी अथक कसरतका फल तत्क्षण मिलोस, नमिलोस। चाहे प्रयासका प्रत्येक झिल्काले सल्किन चोइटा पाउन, नपाउन। प्रयासका झिल्काको निरन्तर सिर्जना। एउटा न्यायपूर्ण र समताको आदर्शयुक्त समाज निर्माणको लक्ष्य। यस महान लक्ष्यप्रति म पूर्ण आशावादी। यस महान कार्यमा म सहभागि। यसै कार्यक्रममा जोडिँदै परिवेशमा विद्यमान असङ्ख्य जडतालाई तोड्ने मेरो आह्वान। क्रान्तिको आह्वान। यस महान यात्रा रेखाको म केवल एक थोप्लो विन्दु। थुप्रै थोप्लाहरूको हातेमालो। एउटा किरमिर रेखा। म जस्तै अघिका विन्दुमा जोडिँदै रेखाको निरन्तरता निर्माण गर्ने मेरो क्षीण प्रयास। म पछिको विन्दु को? तपाईँ आन्दोलनवादी की नाइँ?

***


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...