कपिल तामङ
भारी बमबारीको आवाजले म ब्यूँझेँ। मैले मेरा आमाबाबुले “अमल! अमल!” भन्दै बोलाएको सुनेँ र जुरुक्क उठेर उनीहरूतर्फ दौडेँ। आमाको हात समात्ने प्रयास गर्दा हात चिप्लियो। उनीहरूले ‘अमल मऱ्यो’ भन्दै रोइरहेका देखेँ। म मेरो आवाजको चरम सीमामा चिच्याएँ: ‘म मरेको छुइन्! म यही छु!’ मैले उनीहरूलाई हल्लाउन खोजेँ तर मलाई कसैले ध्यान दिएनन्। मैले उनीहरूलाई मेरो ओछ्यानमा हेरिरहेको देखेँ। फर्केर हेर्दा मैले देखेँ मेरो जलेको लास।
21 वर्षीय प्यालेस्टिनी लेखक शुरुक डोघमोशको छोटो कथाहरूको पहिलो पुस्तकको यो अंश गाजा प्यालेस्टाइनबाट मृत्यु र अन्धकारको विषयवस्तुहरूलाई लिएर लेखिएको सिर्जनाको एउटा उदाहरण हो। माथिको अंश उनको I Was Killed At Around This Time कथा सङ्ग्रहको एउटा कथा I Found My Corpse-बाट लिएको हो। यो सङ्ग्रह धेरै यस्ता मृत्युका कथाहरूले नै भरिएको छ।
इजरायलले गाजामा प्यालेस्टाइनीविरुद्ध क्रूर युद्ध सुरु गरेको एक सय पचास दिनभन्दा बेसी भइसकेको छ। यस समयमा गाजामा लगभग 30,000 भन्दा बढी मानिसहरू मारिएका छन्। 60,000 भन्दा बढी मानिस घाइते भएका छन्, र गाजाका लगभग 23 लाख जनसङ्ख्या आफ्नो घरबाट विस्थापित भएका छन्। Oxfamको रिपोर्ट अनुसार गाजामा प्रतिदिन मारिने मानिसहरूको सङ्ख्या 21 औँ शताब्दीमा कुनै पनि 'द्वन्द्व (conflict)'-मा देखिएकोभन्दा धेरै बताइएको छ।
नोभेम्बरमा छोटो युद्धविराम सुरू भएको दिन, अबु जवादले 800 जना मानिसहरूलाई गाडिएको सम्झना गरे, जसमा धेरैजसो नानीहरू थिए।
“हामीले तिनीहरूलाई टुक्रा-टुक्रामा जम्मा गर्यौँ, तिनीहरूको शरीर यति प्वालहरूले भरिएको थियो कि इजरायली स्नाइपरहरूले तिनीहरूलाई टार्गेट प्राक्टिसको लागि प्रयोग गरे जस्तो थियो। अरूलाई उमालेको आलु जस्तै कुच्याएको थियो र धेरैको अनुहारमा ठूलो चोट लागेको थियो।”
अबु जवाद 64 वर्षीय एक मुसलमान लास दफनाउने कर्मी हुन्, गाजामा इजरायलको युद्ध सुरु हुनुभन्दा एक दशक अघिदेखि उनले त्यो काम गर्न सुरु गरेका हुन्। आज-भोलि उनले एक वर्षमा मर्ने भन्दा धेरै मानिसहरूलाई एक दिनमै गाड्दै आइरहेको छन्।
विगत 150 दिनमा भएका गाजासँग सम्बन्धित केही महत्त्वपूर्ण घटनाहरू हेरौँ। हमासको सेना शाखाले 7 अक्टोबरमा इजरायल माथि आक्रमण सुरु गरे जसलाई अपरेशन अल-अक्सा फ्लड भनियो।
गाजाबाट सिमाना पार गर्न र इजरायलमा आक्रमण गर्न प्याराग्लाइडर्स अल-कसाम ब्रिगेडहरूको वास्तविक भिडियो तत्काल विश्वव्यापी रूपमा प्रसारित भएको थियो। प्यालेस्टिनी योद्धाहरूले गाजा-इजरायल सीमा नजिक तीन ठाउँमा-- बिरी, केफर अज्जा किबुत्जेस अनि नोभा सङ्गीत उत्सवमा आक्रमण गरे। आक्रमणमा मारिएका इजरायली र विदेशीहरूको सङ्ख्याको अनुमानमा तलमाथि हुनसक्छ, तर हाल लगभग 1,100 जना मारिएका खबर छ। अन्य 200 भन्दा बढीलाई योद्धाहरूले गाजामा बन्धक बनाएर लगेका थिए।
बढ्दो प्रमाणहरू अनुसार इजरायलले अक्टोबर 7 मा आफ्ना धेरै मानिसहरूलाई मारेको हुन सक्छ भन्ने भनाई पनि आइरहेको छ, जसमा प्यालेस्टिनी लडाकुहरूलाई बन्धकहरूसँग राखिएको घरहरूमा हेलिकप्टर मिसाइल फायर र ट्याङ्कका गोलाहरू प्रहार गरिएको थियो। यसमा इजरायली सिपाहीहरू साथै बाँचेकाहरूको गवाहीहरू समावेश छन् जो त्यस घटनाक्रममा उपस्थित थिए।
सबैजना खासगरी इजरायलीहरू चकित परेका थिए कि यी लडाकुहरूले कसरी यति घातक आक्रमण र यति ठूलो निगरानी गरिएको सीमामा प्रवेश गर्न सके भनि। पछि पत्तो लाग्यो कि इजरायली सेना र गुप्तचरबाट धेरै सुरक्षासम्बन्धी बिफलता भएको थियो। प्रधानमन्त्री नेतान्याहुलाई कथित रूपमा धेरै पल्ट हमास वा अन्य समूहहरूले इजरायलमा ठुलो मात्रामा आक्रमण गर्न सक्ने चेतावनी दिइएको थियो, तर यी चेतावनीहरूलाई बेवास्ता गरियो।
प्यालेस्टाइनीहरू विरुद्धको युद्ध इजरायलीहरूबिच लोकप्रिय साबित भएको छ, तथापि तिनीहरूको सेनाले गाजामा बन्धकहरूलाई घर ल्याउन असक्षम बनेको नेतान्याहु सरकारको पक्षमा ठूलो राजनीतिक बाधा पनि बनेको छ। युद्धको दस दिनभित्रै हामीले गाजा शहरको अस्पतालमा डरलाग्दो हमला देख्यौँ। अक्टोबर 17मा अल-अहली “ब्याप्टिस्ट” अस्पतालमा भएको हमलामा झन्डै 500 जनाको मृत्यु भएको थियो। इजरायली बमबारीमा आफ्नो घर गुमाएपछि हजारौँले अस्पतालमा शरण लिएका थिए। हमलामा घाइते भएकाहरूको भने अस्पतालमा उपचार भइरहेको थियो। अस्पतालमा बम बिष्फोट अन्तर्राष्ट्रिय कानुन अनुसार युद्ध अपराध मानिन्छ।
प्यालेस्टाइनी लडाकूहरूले अस्पतालमा गलत फायर गरेको र गलत तरिकाले गोली चलाएको इजरायलले दाबी गरेको छ। तिनीहरूले अत्यधिक शंकास्पद प्रमाणको अडियो र भिडियो क्लिपहरू जारी गरे जसले उनीहरुको दावीलाई समर्थन गर्छ भन्ने भान छ।
यसमा, अमेरिकी राष्ट्रपति बाईडेन सहित इजरायलका सहयोगीहरूले पनि अस्पतालको हमला बारे इजरायलको दाबीलाई नै विश्वास गरे। जब अस्पतालमा आर्मीले नियन्त्रण गरेपछि, हमासको कमाण्ड र नियन्त्रण केन्द्रको कुनै प्रमाण निस्किएको थिएन, न त कुनै बन्दी वा लडाकुहरू भेटिए। लगत्तै इजरायलले, फेरी गोलाबारुद अझ क्रुर तरिकाले गर्न सुरु गर्यो र त्यसपछि अन्य अस्पताल, शरणार्थी शिविर, पूजा गर्ने ठाउँ र विद्यालयहरूमा प्रहार चलिरहेकै छ। इजरायलले गाजामा नयाँ जोशका साथ बमबारी गर्न फर्केपछि प्यालेस्टाइनीहरूलाई बाँकी विश्वले उनीहरूको वास्ता नगरेको महसुस गरिरहेका छन्।
इजरायलले प्यालेस्टाइनीहरूमाथि खुल्ला मृत्युदण्ड, सामूहिक चिहानबाट शवहरू चोर्ने, चर्च जानेहरूलाई निगरानी गर्ने, पत्रकारहरूलाई बन्दी बनाएर यातना दिने जस्ता अपराधहरू गर्दै आएको छ। दक्षिण अफ्रिकाको प्यालेस्टाइनसँग ऐक्यबद्धताको लामो इतिहास रहेको छ र आजको चलिरहेको युद्धमा पनि उनीहरूले ऐक्यबद्धता जनाउँदै इजरायलबाट आफ्ना सरकारी डिप्लोम्याटिक कर्मचारीहरूलाई हटायो, र त्यहाँ तत्काल युद्धविरामको लागि मात्र होइन, तर स्वतन्त्र प्यालेस्टाइनको लागि आग्रह गर्दै दक्षिण अफ्रिकाका शहरहरूमा विशाल विरोध प्रदर्शनहरू गर्दै आएका छन्।
विश्वका अधिकांश भाग यस युद्ध बारे मौन रहँदा पनि धेरै ठाउँमा प्यालेस्टाइनको सङ्घर्षसित एकवद्धता देखियो, र दक्षिण अफ्रिकाले भने सबैभन्दा बलियो कदम लियो। 29 डिसेम्बरको दिन इजरायलले प्यालेस्टिनी जनता, विशेष गरी गाजामा नरसंहार गरेको आरोप लगाउँदै उनीहरूले अन्तर्राष्ट्रिय अदालत (ICJ) मा मुद्दा दायर गरेको घोषणा गरे। वेस्ट ब्याङ्कका प्यालेस्टाइनीहरूले दक्षिण अफ्रिकी स्वतन्त्रता सेनानी र पूर्व राष्ट्रपति नेल्सन मन्डेलाको मूर्तिसामु भेला भएर आफ्नो कृतज्ञता जनाए। त्यस दिन दक्षिण अफ्रिकाको सुनुवाइमा खासै नयाँ भनाई केहि थिएन तर त्यो भावनात्मक दृश्य थियो, जहाँ विश्व अदालतमा सुनिएको थियो र विश्वव्यापी श्रोताको साथ धेरैलाई गहिरो रूपमा न्यायतर्फ एक पाइला सरेको जस्तै महसुस भयो।
इजरायलले यो नरसंहार गरिरहेको कुरालाई अस्वीकार गर्दै भन्यो उनीहरूले कुनै व्यक्तिलाई होइन, तर इजरायलीहरूविरुद्ध नरसंहार गर्ने उद्देश्य राखेको विशेष सङ्गठनलाई उन्मूलन गर्न खोजिरहेका हुन्। ICJ को इजरायलले वास्तवमा नरसंहार गरिरहेको छ भन्ने निर्णय प्रतीकात्मक छ। इजरायलले तत्काल युद्धविराम गर्नदेखि लिएर ICJ ले यसको विरुद्धमा गरेको कुनै पनि निर्णयलाई बेवास्ता गर्न सक्छ, गरिरहेको छ। तर दक्षिण अफ्रिकाले यस मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा ल्याएकोले सबैजना बसेर नरसंहार भएको हेरिरहने छैनन् भन्ने देखाउँछ, अनि प्यालेस्टाइनीहरूलाई, विशेष गरी गाजामा बस्नेहरू एक्लै छैनन् भनेर बुझाउँछ।
तरपनि, इजरायलले गाजामा हमला गर्न र यसका बासिन्दाहरूलाई मार्न छोडेको छैन। सकिँदै गइरहेको 'सुरक्षित क्षेत्रहरू'मा बाँचेका ती लाखौँ मानिसहरूको भविष्य भने अझै पनि अस्पष्ट छ। के तिनीहरूलाई प्यालेस्टाइनबाट पूर्ण रूपमा निष्कासन गर्न सकिन्छ? के तिनीहरू पुनः हमलाबाट मारिनेछन्, वा बढ्दो सङ्कटमा भोकै बस्नेछन्? वा संसारको सबैभन्दा शक्तिशाली देशहरूले अन्ततः इजरायल र यसको आक्रमणलाई रोक्न कार्य गर्नेछन्?
अबु जवाद भन्छन् “मेरो लागि, मारिएकाहरू अझै जीवित छन् र हामी मृत भइसकेका छौँ किनभने हामी बिस्तारै मरिरहेका छौँ। यहाँ जिउनुको कुनै साधन छैन; न पानी, न खाना, न बिजुली, न शान्ति, न केही पनि। के यो जिउनु हो?”
अझ उनी भन्छन् “यो नरसंहार बन्द गर! हामी शान्तिमय जीवन चाहन्छौँ। म एकै समयमा भोक र युद्धसँग लड्न होइन, सुरक्षित रूपमा घर जान चाहन्छु।”
***
रेफरेन्स:
Fear and loathing in Gaza: Tales of a life under siege, Middle East Eye
Gaza War Day 100: Some of the biggest stories so far (newarab.com)
No comments:
Post a Comment