प्रशिल तामाङ
बङ्लादेशको अर्थतन्त्र द्रुत गतिमा विकास भइरहेको छ। कपडा उद्योगहरूले यसको आर्थिक वृद्धिमा महत्वपुर्ण योगदान राख्छ। कपडा तथा गार्मेन्टको निर्यात विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत हो। तर पश्चिमी ब्रान्डहरूका लागि लुगा बनाउने यहाँका न्युन ज्याला पाउने मजदुर उचित ज्यालाका लागि सङ्घर्ष गरिरहेका छन्। अस्तिको नोभेम्बर-डिसेम्बरमा यो सङ्घर्ष दह्रो रूपमा चर्केको थियो।
बङ्गलादेशका गार्मेन्टस् मजदुरहरूको पीडा र सङ्घर्ष निकै पुरानो हो। सन् 2013मा राणा प्लाजा कपडा फ्याक्ट्रीको भवन धस्केर 1134 जनाको मृत्युपश्चात् निकै उथलपुथल देखियो। धेरै पश्चिमी देशहरूले सही व्यवस्थापन नभएसम्म गार्मेन्टस् नकिन्ने कुरा गरेका थिए। सन् 2018-19मा फेरि पनि सङ्घर्षको लहर देखियो। तर समस्याको समाधान भएको छैन भनेर वर्तमान सङ्घर्षले औँल्याएर देखाउँदैछ।
सन् 2022को हिसाब अनुसार चीनपछि बङ्लादेश नै संसारको दोस्रो बृहत् रेडिमेड गार्मेन्टसको निर्यातकारी हो। त्यस साल बङ्लादेशको कुल व्यापारिक निर्यातको 85% नै रेडिमेड गार्मेन्टसको निर्यात थियो। अर्कातिर धेरै सालको सङ्घर्षपछि सन् 2018मा बङ्लादेशका गार्मेन्ट मजदुरहरूको मिनिमम वेज 8000 टाका अर्थात् 6050 भारू हो भनेर तय भएको थियो। यहासम्म पुग्नलाई सन् 2006मा 16वटा कारखानामा आगजनी वा सन् 2013 को राणा प्लाजा प्रकरणपछिको विरोध प्रदर्शनको महत्वपूर्ण भूमीका थियो। 2006मा बङ्गलादेशको राजधानी ढाकास्थित विभिन्न औद्योगिक क्षेत्रका प्राय: 4 हजार कारखानाका लगभग 18 लाख गार्मेन्ट मजदुर एकैसाथ व्यापक हडतालमा सामेल भएका थिए।
कम ज्याला र बढ्दो वेरोजगारी विरुद्ध यी मजदुर र औद्योगिक उपनगरका अन्य मजदुरहरूले मैमनसिंह, गाजीपुर, नारायणगन्ज, आशुलिया आदि सहरहरू जोड्ने राजमार्गतर्फ साथै निर्यात प्रशोधन क्षेत्रहरूमा लगातार विरोध प्रदर्शन गरे।
यसैबीच विरोधलाई रोक्नका निम्ति सरकारले व्यापक दमनको सहारा लियो। यस्ता विरोधहरूमा धेरै मजदुरले ज्यान गुमाए भने घाइते मजदुरहरूसँगै हजारौँलाई जेल हालियो। धेरै मजदुरलाई कामबाट बर्खास्त गरियो। नव उदारवादको घातक नीतिले तमाम खटिखाने श्रमिकहरूको जीवनमा नकारात्मक असर गरिरहेको छ, केवल मालिक पक्षलाई मुनाफा वृद्धि गर्नमा प्रमुख भूमिका निर्वाह गरिरहेको छ।
विश्वको दोस्रो ठुलो कपडा निर्यातकारी बङ्गलादेशको 3500 कारखानाहरूले देशको वार्षिक निर्यातमा 55 बिलियन डलरको लगभग 85 प्रतिशत हिस्सा ओगटेको छ। लिवाइज, जारा र एच एन्ड एम लगायतका फेसनमा विश्वका धेरै शीर्ष नामहरूलाई भने बङ्लादेशका मजदुरहरूले आपूर्ति गर्दछन्। तर यी 40 लाख कामदारहरूमध्ये धेरैको अवस्था दयनीय छ, जसमध्ये अधिकांश छन् महिलाहरू। उनीहरूको दैनिक हजिरा 276 टाकाबाट सुरु हुन्छ।
बङ्गलादेशमा रेडीमेड गार्मेन्ट मजदुरहरूका लागि सरकारले 1 डिसेम्बर 2023मा न्युनतम ज्याला बढाएर मासिक 12,500 टाका घोषणा गरेको थिए। तर मजदुरहरूले कानुनी रूपमा अनिवार्य भनिएको न्युनतम ज्यालाको हिसाबले 23,000 टाका माग गरिरहेका छन्। बङ्गलादेशको न्यूनतम परिश्रमिक वोर्डले फास्ट फेसन क्षेत्रका मजदुरहरूका लागि 8000 टाका दर तोकेको पाँच वर्षभन्दा बढी भइसक्यो। अनि सन् 2023 मै नयाँ न्युनतम ज्याला लागू हुने कुरा थियो। त्यसैले नै मजदुरहरू सङ्घर्षरत छन्। यस्ता प्रकरणहरूले इतिहासलाई प्रगतितर्फको रेखीय यात्रा मात्र होइन भनेर देखाउँछ। बरु, यो त दुई पक्षहरूबिचको सङ्घर्ष हो। वर्ग सङ्घर्ष हो-- बङ्गलादेशी मजदुर र विश्वव्यापी शासक वर्गद्वारा समर्थित कारखाना मालिकहरूको। यसले एकको लागि लाभ अर्कोको लागि घाटाको प्रतिनिधित्व गर्दछ।
***
No comments:
Post a Comment