भनिन्छ 12 वर्ष भनेको एक युग हो। हिन्दु ज्योतिषीय गणनामा देवताका लागि 12 हजार वर्षमा एक युग हो, तर मानिसका लागि भने 12 वर्ष हो। पल अनु पल गन्दै बित्छ मानिसको जुनी। घटना बहुल मानव जीवन। त्यसैले युग परिवर्तन गर्न 12 वर्ष नै पर्याप्त छ रे। समय बदलिरहन्छ। र समाज, सभ्यता अनि इतिहास परिवर्तन भइरहन्छ। तर कायम नै रहेको देखिन्छ एउटा नियम। एक यस्तो नियम जुन मानव सभ्यताको चालक शक्ति हो। प्रगतिको बाटोमा हिँड्छन् मानिस। र त सभ्यता अगाडि बढ्छ। समाज यात्रा गरिरहन्छ उज्यालोतर्फ।
हिन्दु शास्त्रको 12 वर्षे युगको अवधारणालाई हिन्दुत्वको वर्तमान होहल्लाबिच मानिलियो भने एक युग पार गर्न लागेका छौँ धर्मनिरपेक्ष हामी पनि। हामी भन्नाले लाली गुराँस समूह। अनि यो लाली गुराँस पत्रिका। सन् 2012 मा सुरु भएको हाम्रो पत्रिका तथा समूह आज यस हिसाबले युगान्तरको मुखमा छौँ। धेरै अनुभव बटुल्दै, धेरै उकाली-ओह्राली पार गर्दै, धेरै हरियाली र खैरोपन अङ्गाल्दै हामी यहाँसम्म आइपुगेका छौँ। अब बाह्र वर्षपछि युग बदलको दोबाटोमा उभिएर छोडी आएका युगलाई पछाडि फर्केर हेर्दा खुसी लाग्छ। सन्तोक पनि।
अन्यौलता पनि हुन्छ। प्रगतिको बाटो सरर मोटर गाडी जस्तै गुडेको भए सुर्ता थिएन। तर त्यस्तो सजिलो कहाँ हुन्छ त? 12 वर्ष अघि हाम्रो यात्रा थाल्दा के कस्ता थिए चुनौतीहरू? कस्तो थियो त्यसताक हामीले सोचेको बाटो? टक्कै एक छिन् रोकेर हेर्दा झलझली आउँछ त्यो समयको। एक युग अघिको समाजलाई सम्झिऊँ।
देशमा भ्रष्टाचारी सरकार थियो। राज्यमा परिवर्तनपछि आशा बेच्ने नयाँ सरकारले जनता कुल्चिने नयाँ बाटो र चलखेलको नक्सा कोरिरहेको थियो। युवाहरूको बेरोजगारी र पलायन थियो, विद्यार्थीहरूको शिक्षासम्बन्धी हजारौँ सङ्कट थिए, नारी उत्पीडन र पितृसत्तात्मक विचार थियो, मजदुरको कम ज्याला र धेर शोषण, किसानको दाम नपाएको पसीना, जातपातको भेदभाव र छुवाछुत, ठुलठुला राष्ट्रियताद्वारा ससानो राष्ट्रियताप्रति हेलचेक्र्याइँ थियो। अझ पनि के के छँदै थियो। तर सबभन्दा ठुलो कुरा हो यी हरेक कुराबारे सङ्घर्ष पनि थियो। अन्याय र असमानताले भरिएको समाजमा न्याय र समानताको पताका उडाउँदै जुन लस्कर आदि कालदेखि हिँडिरहेको थियो, हामी एक युग अघि त्यसकै पछि पछि बाटो लाग्यौँ।
तर प्रश्न उब्जिन्छ मनमा। दोधारले बाटो छेक्दै छ अचेल। के साँच्चै नै मानिसको बाटो प्रगतिकै बाटो हो? त्यस्तै हो भने त राजनीति तथा राजनेताहरूले त्यतैतिर हिँड्नु पर्ने हो। खै त? जुन पार्टीले सबका साथ सबका विकास भनेको थियो, जुन नेताले गरिब जनताको ब्याङ्क एकाउन्टमा पन्ध्र पन्ध्र लाख हालिदिने कुरा गरेको थियो, जुन सत्ताले अच्छे दिन ल्याउने कुरा गरेको थियो-- तिनीहरूले त ती कुराहरूबारे चुइँ बोल्दैनन्। देशको केन्द्रमा सत्तासीन सरकारले गणतन्त्रको रहलपहललाई धरी चकनाचुर पार्दै राजतन्त्रको समयको बानीबेहोरा देखाउँदै छ। राजा झैँ मयुरसित रमाउने, सुपरम्यानझैँ आकाश-पाताल छिचोल्ने, घुमक्कडझैँ देश-विदेश घुमिबस्ने यस्ता नार्सिसिस्ट प्रधानमन्त्री हामीले कहिल्यै देखेनौँ। तर यो त हिमशैलको टुप्पो मात्रै हो। देखिएको रौनकमुनि नितान्त घातक विचार छ। फासीवाद। जुन विचारले संसारलाई निल्न खोजेको थियो दुई विश्वयुद्धको बिचको चरणमा। हिट्लर-मुसोलिनीका नाम र कामहरू सुनेकै छौँ हामीले। नयाँ थरीको फासीवाद हो यो। उग्र-हिन्दुत्ववादी। ब्राह्मणवादी। त्यसकै रवाफसित बसिरहेको छ केन्द्रको दल र सरकार। देशको शासन प्रणालीलाई नै तान्दै छन् त्यता पट्टी। त्यसैले जम्मै राज्य सरकारहरूले यस राज्यको पनि त्यही प्रवृत्ति देखाउँदै छ। लाग्दैछ पछाडितिर हिँड्दै छ देशको शासन तन्त्र-- केन्द्र, वा राज्यहरू। र जनतामध्ये अन्धो केही भाग पनि। देश पछाडि हिँड्ने छाँट देखिँदै छ अहिले।
ख्याल गर्नुहोला, नजिकिँदै गरेको चुनाव अगाडि यसपालि विकास र रोजगारको आश्वासन सुनिएको छैन। जनआकाङ्क्षा र जनसुविधाको निकासको कुरा छैन। केवल उग्र हिन्दुत्ववादी जगजगी देखिँदै छ। राम मन्दिर, 370, तीन तलाक, एनआरसी...
जायज सङ्घर्षको बाटो बङ्गाएर, अधिकारको आवाजलाई दबाएर बेरोजगार युवा र गरिब जनतालाई श्मशानको शान्ति दिने यो व्यवस्था इतिहासको अन्त हो र?
एक युगमा यस्ता बदलाव देखियो। तर अर्को युग पक्कै यु-टर्न लिएर समानताको सुनौलो सपनातिर हिँड्ने छ। किनकि प्रगतितर्फै हिँड्छ समाज। हामी आशावादी छौँ।
No comments:
Post a Comment