Sunday, May 19, 2024

सत्तरी घण्टा साप्ताहिक कामको हल्ला किन?

सङ्घर्षरत मेहनतकश पत्रिकाबाट

धेरै विरोध भए पश्चात मोदी सरकारले चार लेबर कोड लागु गर्न सकेन। तर अन्य उपायहरू लगाएर विभिन्न प्रावधानहरू थोप्ने प्रयास अझ जारी नै छ। यसकै क्रममा पछिल्ला दिनहरूमा भारतका दिग्गज आईटी (Information Technology) कम्पनीका मालिक नारायण मूर्तिले भनेका थिए “देशको प्रगतिका निम्ति हरेक दिन 12 घण्टा र हप्तामा जम्मा 70 घण्टा काम गर्नु पर्छ।"

नारायण मूर्ति अनुसार आज भारतको उत्पादकता धेरै कम्ति छ अनि उसको प्रतिस्पर्धी चीन जस्ता राष्ट्र हुन्। यदि भारतले यस प्रतिस्पर्धामा टिक्नु छ भने उसले आफ्नो उत्पादकताको सङ्ख्यामा वृद्धि ल्याउनु पर्छ। यो काम देशका युवाले गर्न सक्छन्। कसरी सक्छन् भने हप्तामा 70 घण्टा काम गरेर यो कार्य सम्भव छ। नारायण मूर्तिले त्यो कुरा गरे जुन कुरा देशका पुँजीपतिहरूले लामो समयदेखि भन्न चाहिरहेका थिए। देशका मजदुर,श्रमजीवि बहुसङ्ख्यक जनताहरूले हप्तामा 70 घण्टाभन्दा अधिक काम पहिलेदेखि नै गरिरहेका छन्। दिनहुँ 12-12 घण्टा काम गरेर पनि यस्तो महँगाइका दिनहरूमा धेरै कम्ति ज्याला पाइरहेका छन्। देशका लगभग 94 % श्रमजीविहरू असङ्गठित क्षेत्रमा काम गर्छन् जसको जीवन स्तर निकै कमजोर र दयनीय रहेको छ। उनीहरू जसो तसो काम गरेर आफ्नो जीविका धान्ने गर्छन्। घर घरमा सामान पुर्‍याउने काम तथा डेलिवेरी गर्नेहरू छन्, ओला-उबरका ड्राइभरहरू छन्, खेतीपाती गर्ने मजदुरहरू छन्, कुल्ली काम गर्नेहरू छन्, रिक्सावाला, साना दोकानेहरू छन्। यस्ता काम गर्नेहरू करोडौँका सङ्ख्यामा छन्। यिनीहरूले धेरै परिश्रम र मेहनत गर्छन् तर खै उनीहरूको उपलब्धि ? 

दैनिक रुपमा सबैभन्दा धेरै समय काम गर्ने देशहरूका सूचिमा भारत 7औँ सथानमा पर्दछ। कानुनी हिसाबमा भारतमा 48 घण्टा प्रति हप्ता अर्थात्  दिनको आठ 8 घण्टा 6 दिनको कार्यदिवस र हप्तामा एकदिन छुट्टी हुने कानुन छ। यस्तो हुँदा हुँदै 12-12 घण्टा काम गर्न लगाइन्छ तर पनि भारतमा प्रति व्यक्तिको आयको औसतको मामिलामा 142औँ सङ्ख्यामा रहेको छ। नीदरल्याण्डमा हप्तामा 29 घण्टा, डेनमार्कमा 33 घण्टा, कनाडामा 32 घण्टा, ब्रिटेनमा 36 घण्टा, जर्मनीमा 34घण्टा, अमेरिकामा 36 घण्टा काम गरिन्छ तर यी देशहरूमा प्रति व्यक्तिको आयको औसत धेरै उन्नत नै देखिन्छ। वास्तवमा नारायण मूर्तिले जुन प्रतिस्पर्धाको कुरा गर्दैछन् त्यो प्रतिस्पर्धा पुँजीपतिहरू बीचको प्रतिस्पर्धा हो। हरेक पुँजीपति चहान्छन् कि म मात्र धनी बनुँ र मेरै वर्चस्व कायम रहोस्। अन्य पुँजीपतिहरूलाई प्रतिस्पर्धाबाट हपाउन चहान्छन् र अनेक दाउ पेच गर्छन्। यही पुँजीपतिहरूको व्यक्तिगत विकासलाई राष्ट्रको विकास भन्दै राष्ट्रवादको अवधारणा बनाइन्छ। मजदुर वर्गमाथि जुन शोषण जारी छ त्यसलाई राष्ट्रवादको खोल ओडाएर लुकाउने गरिन्छ। त्यो बाहिर देखिदैन।

पुँजीपतिहरूले बजारको प्रतिस्पर्धामा आएर आफ्नो वर्चस्व कायम राख्न थुप्रै तरिकाहरू अपनाउछन्। यस अतिरिक्त उनीहरू साझा रुपमा एउटा प्रमुख तरिका अपनाउँछन त्यो के हो भने न्यून भन्दा न्यून ज्याला अर्थात् हाजिरा दिनु अनि काम दिनु अनि कामको समय बढाउनु हो। यसो गर्नाले उनीहरूको मुनाफाको भण्डार बढीरहन्छ। 

वास्तवमा श्रमजीविहरूको दृष्टिकोण र न्यायिक ढङ्गले हेर्ने हो भने वर्तमान समयमा विश्वमा लगातार तक्निकी विकास भइरहेको छ साथै उत्तपादकताको सङ्ख्यामा पनि वृद्धि  भएको छ। अर्थात् कम समयमा मजदुरवर्गले धेरै उत्पादन गर्दैछन्। यस हिसाबले काम गर्ने समय अथवा कामको घण्टा कम हुन आवश्यक छ तर उल्टो यसलाई बढाउने कुरो ठिक होइन।

अनुवाद – समिर सुब्बा


***


No comments:

Post a Comment